~निर्मोही व्यास~
ढले आदर्शका मेरा सहारा बर-पीपल
ओत लाग्न कहाँ जाऊँ ? कहाँ तापूँ म शीतल ?
दधीची-शिविका निम्ति छन् ताता झीर आज झन्
पासो थापेर जो चारो छर्छन्, ती दानवीर छन्
हुँदै छ सुनको लंका अब ध्वस्त दिनैदिनै
यो विभीषणको वंश जति फुदो छ उत्ति नै
विजेताको यहाँ पाउ चुम्न संसार धाउँछ
‘मामा’ भनी चमेराले गुण-गान सुनाउँछ
सत्यको पक्षमा लाग्ने भो आँखाको कसिङ्गर
लखेट्छ पाइलैपिच्छे मुख बाई अजिङ्गर
अचेल दिउँसै ब्वाँसा बाटो ढुक्छन् कुना बसी
भने झन् कसरी हिँड्नु यहाँ साँझ परेपछि ?
आएको छु म धाएर छायामा बोधिवृक्षको
बलोस्—निभोस् यहीँ मेरो अब जीवनको दियो !!!
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ७०)