कविता : गाई र उत्तरआधुनिक चितुवा

~हरिहर तिमिल्सिना~

सँगै अंकमाल गर्दै
चितुवा र गाईले एउटै पोखरीको पानी पिए भने
चितुवा, चितुवा नहुन सक्छ
गाई, गाई नहुन सक्छ ।

गाईले दूध दिन्छ
चितुवाले दूध दिँदैन
चितुवाले गाई मार्छ
गाईले चितुवा मार्दैन
चितुवाले मासु खान्छ
गाईले मासु खाँदैन ।

हिजोसम्म
सुकेका पात र चैतको जंगललाई आगोले निलेझैँ
निल्यो धेरै निर्दोष बाछा, पाठा र छाउराहरू
चितुवाले,
ज्यानसित खेल्ने गाईरूपी चितुवालाई
बुझाइरह्यो गाईले रगत, पसिना, इनाम र समर्पण
आखिर जति गरे पनि
चितुवा, चितुवा नै हुन्छ
पछाडिबाट प्रहार गर्नु उसको धर्म हो ।

म अफसोचमा परेको छु
चितुवा नित्य स्   नान गरेर
ईश्वरभक्तिमा लीन हुन थालेको छ
चितुवालाई हिंसा मन पर्दैन
शुद्ध शाकाहारी भएको छ ।

गाईलाई भन्दा बढी
चितुवालाई चिन्ता छ गाईको सुरक्षाको
चितुवाको ज्यान गाईमा पूर्ण समर्पित छ
चितुवा फेर िपनि गाईको अंगरक्षक भएको छ ।

गाई किन चितुवाको यति नजिक भइरहेछ
घुटघुटी थुक निल्दै चितुवाले
गाईको अंग मुसार्दा पनि
किन पूर्ण भरोसा छ गाईलाई चितुवामाथि !
कतै गाईले चितुवासित
आफ्नै बाछाको सौदा गरेको त छैन ?

-सुडाल-९, भक्तपुर

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३४७)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.