~कृष्णभुषण बल~
कुन बतासले उडायो यसरी, पत्करझैँ पानीमा तैरिएको छु
कुन हतारको बाढीले बगायो यसरी, आफन्तहरू हेर्दै बगेको छु।
सानो लहरले पनि बगाउन सक्छ मलाई, छाल नैकिन चाहियो र
जसले पनि घाँटीमा बल्छी अल्झाउन सक्छ मलाई, जाल नै किन चाहियो र,
तैपनि षड्यन्त्रका काला हातहरू घाँटी निमोठ्न तम्सेका छन्
तैपनि तिनलाई पहाड बनाएर सुरुङ खन्न केही आँखाहरू उठेका छन्।
कुन बगैँचामा खडेरी खाएर टाक्सिएका होलान् ती मेरा कलिला फूलहरू
कुन गोरेटोमा बाटो बिराएर हिँडेका होलान् ती मेरा अबोध आँखाहरू
खै,
कति दिन परदेशी भएर बाँच्नुपर्ने हो यसरी
डाँडाबाट लडेको ढुङ्गा नै भए पनि कतै एउटा अडिने ठाउँ हुन्थ्यो होला
मन त हो मान्छेको कमलो छ यसै पनि कहाँ लगेर बिसाउने होला ।
(स्रोत : कविता सङ्ग्रह “भोलि बास्ने बिहान” – २०४१ बाट सभार)