~लक्ष्मण नेवटिया~
देशको व्यथाले पोलेको छातीमा,
विदेशिको फुली झुन्ड्याएर,
दशगजा को दक्षिण पट्टी उभेको,
दार्चुलाको दिल बहादुरका आँखा
आफ्नो विवशताले टल्पलाएका छन्।
एक निमेष पनि स्थिर न रहेको मन
दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा।
आफ्नै आमाका अहितका
अलिखित विदेशीका आदेशहरुले
झन उसको आहत भावनामा
कोट्याइ कोट्याइ घाउ लाउने काम गर्दैछ।
आसुका बाछिटाहरु धर्तीमा पोखिएका छन्।
लरबराएका उसका ओंठहरुबाट बिस्तारै
ध्वनित भएको छ स्वर
आफ्नी आमाको स्वाभिमानलाई
आफै घाइते बनाउने किन म कसैको दास हुने?
बिस्कुन आँगनमा सुकेझैँ
उसले जति लुकाउने प्रयास गर्दा पनि
लुकाउन गाह्रो भएको छ
गालामा सुकेका अविरल धाराहरु।
उ व्यथित भै सोध्दैछ
आफ्नै अन्तस्करण संग
प्रत्येक नेपालीका लागि कहिले प्रकट होला
त्यो चिरप्रतिक्षित सुअवसर
मात्र आफ्नै माटोका लागि मर्ने-
आफ्नै माटोका लागि बाँच्ने।
स्यालुट नेपालीले नेपाली बाहेक
अरुलाई किन हान्ने?
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)