कथा : सम्झौता

~नारायण पोखरेल~

यहाँ कसैको छोरी , कसैको दिदि, कसैको बहिनि बिहे गरेर अपरिचित घरमा गएर कसैको बुहारि कसैको भाउजु त कसैलाई आफ्नो जिवन साथिको रुपमा मान्ने चलन छ । त्यहि चलनलाई पछ्याउदै मैले पनि स्मारिका सँग बिहे गर्न बिहे मण्डपमा बसिरहेको छु । रातो सारी मा सजिएकी, हातभरी चुरा लगाएकी । बिहेको पुजा गर्दा पनि चुराको छ्याई छ्याई आवाजले भरीपुर्ण भएको थियो बिवाह मण्डप । त्यस माथि हातमा मेहन्दी लगाएकी । मेहन्दिको रंग भने खैरो रहेछ । मेहन्दिको रंग पनि रातो हुन्थ्यो त शीर देखी पाउ सम्म एकै कलर मा देखीन्थीन होला उनी । रातो घुम्टो ले स्मारीका को अनुहार छोपिएको थियो । मेरो मन मा भने उसको यो अवस्थाको अनुहार हेर्ने तलतलि लागिरहेको थियो । यस अघी पनि नदेखेको त होईन उनको अनुहार । केटिसँग कुरा गर्नुपर्छ भन्दै कोठामा हुलिदिएका थिए दुई चार दिन अगाडि । त्यति बेला नै दर्शन गरेको थिएँ अनुहारलाई । कालो कपाललाई दुईचुल्ठि बाटेकि , चम्किलो मुहारमा अलिअली लाज ले झन राम्री देखिएकी थिइन । अलिकति डराएकि जस्ति पनि देखिन्थिन् । खै पहिलो भेट भएर होला त्यति धेरै बोल्न नखोजेकि उनी । उनको मन्जुरिको स्विकृति लिन धेरै बेर गन्थन गर्नु पनि परेको थिएन । पहिलेको जस्तै त पक्कै पनि छैनीन् होला आज ? मनमा उनको अनुहार लाई कल्पना गर्दै छु । तर बिडम्बना कल्पना मा पनि त्यहि पहिलेको अनुहार नै देखा परिरहेको छ ।

“उनले पनि के सोँचिरहेकि छीन् होला त ? ” यो पनि सोच्न बाध्य भएँ । के म सँग बिवाहमा बाँधीएर खुशी होलिन् त उनी ? घर परिवार छोडेर अर्को परिवार मा घुलमिल हुन सक्लिन् त उनी ? के मैले उनलाई सुख दिन सक्छु होला त ? यति सोच्दा सोच्दै “सिन्दुर लगाइदिनु पर्यो , सिन्दुर लगाइदिने बेला भयो ।” भन्दै पण्डित बसेको ठाँउबाट नै अलि ठुलो स्वर ले चिच्याए । र सिन्दुर लगाउने काम पनि समाप्त भयो । कस्तो चलन हो यो ? दुई चिम्टी सिन्दुर ले अर्काकी छोरी लाई आफ्नो बनाउने ? मन मा प्रेम छैन भने आगोको सात फेरो ले प्रेम जगाउछ होला र ? आखीर मान्छेको मन नै हो , जहाँ जस्तो अबस्थामा पनी मोड्न सकिन्छ । यसै गरी बिहेको सबै कामहरु सकियो । र बिदा हुने बेला भयो । बिदा भएर घर तिर प्रस्थान भयौ । हर्षउल्लास छाईरहेको थियो सबैको मन मा । तर उनी भने निरास थिईन् । सायद उनलाई जन्मघर छोडेकोमा नरमाइलो लागेको थियो होला । सबैजना गित गाउने नाच्ने गर्न लागे । खुशी त म पनि हुनुपर्ने तर म खुशी हुन सकेको थिइन। उनको निरासापनले मलाई खुशी दिन सकेन । मनभित्र निरासापन र खुशीको घमसान युद्द चलिरहेको थियो ।

म पनि उपहाँसको हाँसो मन्द मुस्कानले मुस्कुराइ रहेको थिएँ । यत्तिकैमा घर पुगियो । घरमा दुलहि भित्राउने काम पनि पुरै सम्पन्न भयो । बेलुकि हामी कोठामा दुईजना मात्र भयौ । र मेरो उनलाई यो अबस्थामा देख्ने ईच्छा पुरा हुदै थियो । र म उनको छेउमा पुगेँ , घुम्टो मैले निकाल्नु मात्रै के साहास गरेको थिएँ उनी आफुले नै घुम्टो पल्टाईदिईन् । बल्ल उनको त्यो बिहेमा सजिएको अनुहार देख्न पाएँ । उनको अनुहार पहिले देखिएको भन्दा केहि भिन्न देखिएको थियो । आँखामा गाजल देखिन्थ्यो , कपाललाई पनि केहि रंगाएको जस्तो देखिन्थ्यो । ओठमा गुलाबि रंग को लिपिस्टिक लगाएकी , गालामा केहि रातो धब्बा जस्तो देखिने । अनुहार पुरै लज्जास्पद र निरासापन ले छोपिएको थियो । कपालको केहि धर्साहरुले आँखाको भाग छोप्नै लागेको जस्तो देखिन्थ्यो , यसले अझै सुन्दरता लाई प्रगाढ बनाउन सहयोग गरिरहेको थियो । उनको मनमा केथियो त्यो मैले पत्तो पाउन सकिन ।

म भने कुराको सुरुवात कसरि गर्ने भन्ने सोचिरहेको थिएँ । मैले ” कपडा चेन्ज गर्ने होईन ? ” भने । उनले ढोका तिर हेरीन् र संगै आफ्नो सुटकेस तिर पनि हेरिन् । उनका आँखा को ईसारा दृष्टि मैले बुझे र म कोठाबाट बाहिरिएँ । केहि बेर बाहिर बसेर म पुन कोठामा प्रवेश गरेँ । स्मारिका बिहेको कपडा चेन्ज गरेर सामान्य कपडा कुर्तासुरुवाल लगाएकि थिईन् ।उनले त्यति बोल्ने बिचार नगरेको हुँदा हामि सुत्न लाग्यौँ । भित्ताको आड लगाई अलिकति सिरकको छेउ च्यापि उनी कुनोतिर फर्किएर सुतेकि थिईन् र म छेउतिरै उनैको स्टाईल ले सुतिरहेको थिएँ । अर्को दिन म उठ्नु भन्दा पहिले नै उठेर उनी आमालाई सघाउन किचन तिर लागिछीन् । सधैजस्तै अंधेरि लाई धपाउदै उज्यालो हुनुनै थियो भयो । प्राकृतिको नियम नै हो , कस्ले छेक्न सक्छ र ? तर उज्यालो भित्रीएपछि को क्षणहरुमा केहि बदलाव देखिएको थियो । सधै अबेर सम्म सुतिरहन्थेँ ।

सधैँ आँमाले अबेरसम्म सुतिरहँदा ” कति अबेर सम्म सुतिरहन्छस् उठ उज्यालो भयो चिया राखिदिएकी छु टेबल मा पिईहाल झट्ट ।” भन्ने आवाजले उठ्ने गर्थे । र मुखलाई पानिले पखाल्नु सम्म नभ्याई चिया पिउने गर्थेँ । तर आज अलि फरक भयो , आज भने मेरो श्रिमति , अग्निलाई सात फेरो लगाएर बनाएको श्रिमति दुई चिम्टि शिन्दुरको भरमा अँगालिएकि श्रिमति स्मारिका ले चिया लिएर आईन् । सानो आवाज , सुमधुर आवाज ले म सुतेको ठाँउ नजिकै आएर ” चिया पिउनु ” भन्दै थिईन् । म ब्युझिएँ । पहिले आमाले राख्ने ठाँउमा नै छ चिया तर त्यहाँ सम्म बोकेर ल्याउने मान्छे फरक । मैले श्रिमतिको (स्मारिका ) अनुहार तिर हेरे, तर अनुहार मा लाज सँगसँगै को निरासताको धर्सो प्रकष्ट देखेँ । लाग्यो त्यो निराशता र लाज को धर्सो मेटाउन मलाई केहि समय लाग्छ । जति जति बेला म उनलाई खुशी बनाउन अगाडि बढ्न खोज्छु त उनको त्यो निरासता रुपि अनुहार ले पछाडि धकेलिदिन्छ , म आफैलाई निरास बनाईदिन्छ । कहिले काँहि उनको मुहारमा मुस्कान् देखिदा पनि सँसार नै हाँसेजस्तो लाग्थ्यो र जब जब उनी निराश देखिन्थिन् त सँसार नै निराश भएजस्तो , बातावरण नै निराश भएर सुन्य भएजस्तो लाग्थ्यो ।केहि दिन , केहि हप्ता गर्दै बिहे गरेको पनि एक महिना पुगेछ । उनको अनुहारमा अलिकति खुसी देखिन थाल्यो। उनको हसिलो अनुहार देख्दा लाग्थ्यो मौसम हाँसिरहेछ , वातावरणमा बाहार आईरहेछ , बसन्त छाईरहेछ र यो मौसम यो सँसार नै उज्यालो र रमणीय लागिरहेछ । मेरो लागि उनको त्यो खुशीको मुस्कान पनि यो दुनियालाई रमणीय बनाउने एक हिस्सा जस्तो लाग्छ । सायद सामान्य तरिका ले घुलमिल भएर होला उनी । अब सबै संग हासेर उज्यालो अनुहार बनाएर बस्थीन् र म सँग पनि ।जन्मैदेखी मान्छेहरु एक आपसमा परीचित त कहाँ हुन्छन् र ? कोहि सम्बन्धहरु पनि जन्मैदेखी कहाँ हुदोरहेछन् र ? सम्बन्धहरु बनाउने , मान्छेहरुसँग परिचित हुने सबै सबै आफुभित्र निर्भर हुदो रहेछ । मलाई पनि उनको त्यो निरास अनुहार त्यो निरासापन मन लाई खुसी र सुखि बनाउन बर्षौ लाग्छ जस्तो लागिरहन्थ्यो तर अह त्यसो भएन स्मारिका मैले सोँचे भन्दा छिटै हाम्रो परिवार मा घुल्मिल भइन्।

जब म उनलाई खुसी देख्थे कुनै रेस मा प्रथम भएर अवार्ड लिएर बसेको जस्तो भान हुन्थ्यो । उनलाई खुशी बनाउन हरेक क्षण लागिपरेको थिएँ अवार्ड पाए सरोबर नै भयो । बिहे गरेको एक महिना बितेछ उनलाई खुसी देखेर पत्तै पाइन । यतिन्जेल हामी कतै गएका थिएनौ त्यसैले हामी पनि अरु जस्तै बिहे पछि केहि दिनको लागि भ्रमण जाने निर्णय गरियो । आफ्नै घरमा रहन्थिन् त अझै खुशी हुन्थि होला तर उनी मेरो घरलाई आफ्नो घर मानेर बसेकि थिईन् । हामि पोखरा पुग्यौ । त्यहाँका रमणिय ठाँउहरुको रमणिय वातावरण लाई रमणिय तवरले नै घुमघाम गरियो । पाँच दिन त्यहाँ घुमघाम गरियो र फेरि हाँमी घर तर्फ प्रस्थान गरियो । अब केहि उत्सुकता जागिरहेको छ मेरो मन मा । मेरो मन मेरो सम्पुर्ण जिन्दगि त अब उनैको हातमा सुम्पिएको छु । अब परिवारिक कुरा अनुसार अब हामिलाई सन्तान आवस्यक पर्ने भयो ।

स्मारिका पनि अब परिवारमा पहिले भन्दा अलि बढी नै घुलमिल हुन लागेकि थिईन् । मैले स्मारिका सँग पनि परिवारको चाहना को कुरा इनडाइरेट्ली बताएको थिएँ । मैले त्यो प्रस्ताब राख्दा स्मारिका लाजले भुतुक्कै भईन् । मेरो अनुहार मा नहेरि भुई तिर हेरिमात्र रहिन् । उनको नाजवाफ ले नै मलाई स्विकृति को संकेत दियो । त्यसको केहि दिन पछि केहि असजिलो जस्तो भएछ क्यार स्मारिका लाई , अनि हस्पिटल गएर चेक जाँच गर्दा स्मारिका को रिजल्ट पोजेटिभ आयो जुन हामिले चाहेका थियौ । परिवारले खोजे जस्तै भयो । मेरो मन यति खुसी भयो कि बयान गर्न सकिन । हामि सरासर घर तिर लागेर घरमा सबै जनालाई खुशीको कुरा सुनायौ । बुवा आमा पनि सँसार नै हात पारेजस्तै गरि खुशी हुनुभयो । स्मारिका ले गर्ने हर कामहरुमा म सहयोग गरिरहेँ ताकि उनलाई कुनै पनि अप्ठेरो काम गर्नु नपरोस् । यो सबै खुशी को भेल मैले ल्याएर समुन्द्र बनाईदिएँ घरमा । केहि दिन प्रस्चात म बिहान उठेर चिया पिई बाथरुम गएर आफ्नै रुममा बसिरहेको थिएँ । सायद स्मारिका ले किचन मा आफ्नो मोबाईल लिएर जान भुलिछन् क्यार । मोबाइल मा म्यासेज को घन्टी बज्यो मैले उनको मोबाईल हेरेको मात्र के थिएँ मलाई एकैपटक उनका मेसेजहरुले छागा बाट खसेजस्तो बनाइदियो । निल्नै लागेको प्रेमलाई उकेलेर फ्याकु जस्तो लाग्यो । मेसेज मा स्मारीका र उसको प्रेमि सँगको वार्तालाप थियो ।

– ” तिमि मलाई छोडेर अन्यत्र आफ्नो जिवन बसाउन सक्दिनौ , यो म हुन दिदिन स्मारिका ।”

-स्मारिका ” अब म तिम्रो हुन सक्दीन , म खुशी छु मलाई धेरै माया गर्नुहुन्छ मेरो श्रीमान ले “

-” के मैले माया दिन सक्दिन र ? मैले खुशी दिन सक्दिन होला त स्मारीका ? “

– स्मारीका ” हो तिमि मलाई माया गर्छौ , मलाई खुशी दिन सक्छौ , म अब बिहे भएकी महिला हुँ म सँग धेरै जिम्मेवारी अँगालिएको छ , कसैलाई श्रीमानको रुपमा अँगालेकी छु । म अब श्रीमान को लागि होईन मेरो कोखबाट हुर्कदै गरेको बच्चा को लागि भएपनि खुशी हुनु पर्छ । तिमि मलाई मेसेज गरेर पुराना दिनहरु याद नदिलाउ ..!! सक्छौ आफु पनि खुशी हुने एक बाहाना खोज , एक नयाँ जिन्दगि शुरुवात गर ।”

– ” कति सजिलै भन्छ्यौ है नयाँ जिन्दगि सुरु गर , खुशी हुने बाहाना खोज ..!! , र ठिक छ तिमि खुशी रहीछौ , र अझै खुशी रहनु म तिम्रो जिन्दगिबाट हटिदिन्छु तर यसको मतलब यो पनि होईन कि म तिमिलाई माया गर्दिन , मैले धेरै माया गर्छु त्यसैले तिम्रो खुशीको लागि म तिम्रो अगाडि आउदिन , कहिले मेसेज पनि गर्दिन.!! “

यो मेसेज देखेर म आफुलाई नै सम्हाल्न सकिन । स्मारीका को निरास अनुहार को राज बल्ल आज थाहा पाएँ । म कस्तो बेबकुफ मान्छे कोहि महिला बिहे गरेर अर्को घरमा जान्छन् त सिर्फ घर छोडेको दुख मात्र हुन्छ होला त ? कि उनिहरुलाई अरु कुनै पनि समस्या ले सताएको हुदैन होला त ? यो मेरो अन्तर्मुखी दिमाग ले पहिले भेटाउन नै कहाँ सक्यो र ? अब म के गरु ? म यो कुरा घरमा अरुलाई भन्न पनि सक्दिन थिए । अब मैले स्मारीका लाई उनको प्रेमिसँग को कुरा पनि गर्न सक्दिन थिए , किनकी उनको पेटमा हुर्कदै गरेको बच्चा त मेरो नै हो । र पनि अब अलि निरास बनेकी छीन् स्मारीका त्यासैले अब मैले उसलाई खुशी राख्नु पर्छ । पेटमा हुर्कदै गरेको बच्चा को लागि भएपनि मैले यो कुरा लुकाउनै पर्छ । त्यसैले मैले त्यो मोबाईल त्यहि जस्तो अबस्थामा थियो त्यस्तै अबस्थामा नै छोडिदिएँ । जस्तो कि मैले कुनै पनि कुराहरु थाहा नपाएको जस्तोगरेँ ।जीवन आखिर सम्झौता त रहेछ स्मारिका ले मेरो लागि प्रेम त्यगीन् नयाँ जीवन को सम्झौता गरिन् मैले उनको प्रेम जानेर पनि नयाँ जन्मिन लागेको हाम्रो बच्चा को लागि अन्जान जीवन सम्झौता गरे । अनि म हाम्रो बच्चा र हाम्रो भविस्य को मीठो कल्पना गर्दै आफ्नो कार्य ब्यस्थता बढाउन थालेँ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.