~प्रकाश सुनुवार ‘निराकार’~
युगान्तकारी इतिहास संगालेको हाम्रो मिलनले
कहिल्यै अन्त्य नहुने हाम्रो प्रेमलाई
एउटा भ्यालेण्टाइन रोज साँचेको छ
शक्तीशाली छ त्यो रोज
संबेदनशील पनि त्यत्तिकै छ
हामी माझका उतारचढाबहरुलाई समथर उर्बरभुमि बनाइदिन्छ
क्षणिक बिछोडमा उर्लेर उठेका ज्वालामुखिहरुलाई शितल बनाइदिन्छ
मनमा चलेको आँधिबेहरीलाई निस्तेज पारिदिन्छ ।
संबेदनशील आँसु र चित्कारहरुलाई
बेचैन अनि घायल मनहरुमा गाढिएका घाउहरुलाई
बल्झिन नदिन
हामी पनि उत्तिकै नरम अनि कोमल भएर
आज भ्यालेन्टाइन रोज संगै प्रस्तुत भएका छौं
हामीहरु गुलाबहरु हौं ।
आँखाका परेलीबाट उर्लिएको
चित्कार अनि पिडाको गुरुत्वाकार्षणले
हामीलाई आकर्षित गरेर गन्तव्यको नजिक पुराएको छ
मिलनको आभाषलाई ताजा राखेको छ
बिछोडको हुरीले धकेलेर
दासत्वको कालकोठरीमा कोचिएको हाम्रो प्रेम
भाबबिवहल भइरहेको यो बेला
अँध्यारोलाई चिरेर उज्यालो तर्फ उन्मुख हुन
आँखाहरुलाई चौतर्फी चलायमान वनाउन खाजिरहेका छन् ।
पत्रपत्र भएर थाक लागेको बिछोडका पिडा बोकेर
मनलाई रित्तो बनाएर हिंडेको
समय अनि अविश्वासका पर्दाहरुलाई
उन्मुक्तिको लागि उठेका तरंगहरुले
च्यात्दै छताछुल्ल वनाइदिएर
संघर्षको रुपलाई परिवर्तन गरिदिएको छ
ठोस गन्तब्यको निक्र्योल गरेको छ ।
अहिले हामी शान्त छौं
हामीले वन्दुकको नालबाट गोलीहरु साटिरहेका छैनौं
हामीले वन्दीहरु साटिरहेका छैनौं
अहिले हामीहरु सवैले रोज समातेका छौं
आपसमा आदानप्रदान गर्दैछौं
हामी शक्ति संचय गरिरहेका छौं
हामी शक्तिशाली हुंदैछौं
शान्तिले शक्तिशाली बनाउंदै लगेको छ हामीलाई
यहि शक्तिको कारण
कोही हामीवाट आत्तिएर बिकर्षित हुन्छन् भने
र हाम्रो मुल विषयहरुमा केन्द्रित हुन चाहन्नन् भने
रोजहरुको आत्मबिश्वास अझ शक्तिशाली भएर
ति बिकर्षित मनहरुको नजिक पुग्ने छौं ।
(१४ फरबरी २०१३, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)