नेपाली उपन्यास : दुई घुम्ती

~सञ्जीवनी शर्मा~

दुई घुम्ती | नेपाली उपन्यास | सञ्जीवनी शर्मा


‘ति निष्ठुरी हेमन्त अंकल नआएर के भो त अन्टी ? म पालिहाल्छु नि तपाईंलाई । किन फिक्री मान्नुहुन्छ हजुर ? तपाईं त मेरो सर्वथोक हो । आवश्यक पर्‍यो भने तपाईंलाई मात्र होइन महिमालाई पनि सबै सुरक्षा दिनेछु ।’ कपिलले १२ वर्ष हुँदा दिएको मर्द वचन झलभली सम्झन्छे, लुनी । नभन्दै उही कपिलसँगै लुनीकी छोरी महिमाको शुभविवाह सम्पन्न भयो । लुनीले बिहेमा आएका आफन्ती र जन्तीको सामु रहस्य खोलेकी थिई । ‘कपिलले सानैमा गरेको वाचा पूरा गरेकामा अब म ढुक्क छु । आज मेरो सपना साकार भएको छ । मेरो तपस्या पूरा भएको छ । मैले हुर्काएका, बढाएका, पढाएका र मैले संस्कार दिएका मेरा सन्तान भावी जीवनको शुरु गर्दैछन् । यहाँभन्दा खुशी म कहिले हुन सक्छु र !’

सानैमा छाडेर उसको लागि राम्रो पठनपाठन र परिवारको भविष्यको लागि एक वर्षको उमेरमै उसकी आमा इजरायल गएपछि कपिल मातृ विछोडमा परेको थियो । गएको दुई तीन महिनासम्म आमाले फोन गर्थिन् । तर पछि उनको अत्तोपत्तो भएन । न त फोन न अन्य सञ्जाल मार्फत बेलाबेलामा सम्पर्क । कतै कसैको फन्दामा परेर हो कि वा अरु कसैसँग सुईंकुच्चा ठोकेर हो ओजस्वी सबै माध्यमबाट छुट्टिएकी थिई । ओजस्वीले छाडेर गएको झोकमा नरेन्द्रले अर्की भित्र्याउलान् कि भनी ठान्नेहरू कम थिएनन् । तर उनले अर्की ल्याउने आँट गरेनन् । श्रीमती फर्केर आउँछे कि भन्ने आशमा उनले ओजस्वीलाई सौता हाल्न चाहेनन् । छोराले आमा सम्झेर न्यास्रो मान्छ कि भनेर नरेन्द्रले उसलाई महिनाको एकपटक सालीकहाँ पुर्‍याउँथे त कहिले साली पनि कपिलको मायाले आइदिन्थी । तर सधैं त्यस्तो सम्बन्ध कहाँ कायम रहन्थ्यो र ! छोराको न्यास्रो मार्ने भन्दै आफ्नो प्यास मेटाउने नरेन्द्रको चाला हो भन्दै मेलिनाको भिनाजुसँग अबैध सम्बन्ध भएको शंका गर्नेहरू पनि कम थिएनन् । तर छोराको कसम खाएर नरेन्द्र आफू बारबार कति नै चोखिन सक्थे र ? समाजको अघि के गर्न सक्थे उनी ? दुई वर्ष अघि मात्रै बिहे भएकी आफ्नी प्यारी सालीको घरजम बिग्रन्छ कि भन्ने पिरले उनले छोरालाई सानीमा कहाँ लगी आमाको झल्को मेटाउने क्रम घटाउँदै गए ।

तर पनि कपिललाई आमाको मायाको चाहना बढ्दै थियो । उसको जिद्दीसँग केही जोड नचल्ने भएकाले नरेन्द्रलाई कसरी कपिललाई खुशी बनाउने भन्ने हरदम चिन्ता लागिरहन्थ्यो । कपिललाई आमाको ज्यादा चाहना भएपछि नरेन्द्रले उसलाई आफ्नी आमा भएको गाउँको घर लगेर दुई चार दिन राख्थ्यो । हजुर बुबा र हजुर आमाको मायामा फुरुक्कै हुन्थ्यो कपिल । गाउँको घर गई हजुर बुबा, हजुर आमा र फुपुहरू भेटेपछि उसले केही न्यास्रो कम मानेको जस्तो भएको थियो । उ गाउँमा हजुर आमासँग एक्लै बस्न सक्ने अवस्थामा पनि थिएन । घर बुबा टिबीको नियमित औषधि सेवन गर्ने र आमाले बुबालाई एक्लै छाड्न नसक्ने अवस्था भएकाले पनि नरेन्द्रले कपिललाई गाउँको घर बुबा आमाको जिम्मामा छाड्न सक्ने अवस्था थिएन । उता दुबै बहिनीहरू अपाङ्ग हुँदा कपिलको स्याहार सुसार गर्न उनीहरूलाई बजारको डेरामा ल्याउन सकेन । चाडवाडको बेला र अक्कल झुक्कल अरु बेला पनि गाउँको घर गएर फर्केपछि त्यसको केही दिन न्यास्रो मेटिएर हो वा सबैको मायाले हो कपिल आमा भेट्न जाने जिद्दी गर्न छाड्दै थियो ।

कपिल ३ वर्षको भएपछि नरेन्द्रले उसलाई नजिकको विद्यालयमा भर्ना गरिदिएका थिए । सहरमा बालबालिकाको अपहरण हुने र बाटोमा दुर्घटना हुनसक्ने भन्ने कारण देखाउँदै आफ्ना बच्चा विद्यालयमा छोड्न र घर ल्याउन अभिभावक स्वयं विद्यालयमा जानुपर्ने बाध्यकारी नियम बनाएको थियो विद्यालयले । त्यसकारण आफ्ना बालबच्चा विद्यालय पुर्‍याउन र लिन जान टोलका सबै अभिभावक सँगसँगै पैदल आउजाउ सामान्य जस्तै थियो । त्यसरी आउँदा जाँदा एक आपसमा मिल्ने बच्चाका बाबुआमाले एक अर्काको अनुपस्थितिमा विद्यालयबाट बच्चा बुझेर घर ल्याइदिने क्रम शुरु भएको थियो । नियमित रूपमा आफ्नो बच्चा लिन जाने अवस्था नहुँदा छिमेकी वा मन मिल्ने साथीलाई आफ्नो बच्चा ल्याइदिन आग्रह गर्नुपर्ने केही बाध्यात्मक अवस्था आइपर्दा विद्यालयलाई लिखित सूचना दिनुपर्ने हुन्थ्यो । अनि विद्यालयले सम्बन्धित बाबुआमा वा अभिभावकको पत्रसहित बच्चा बुझेको हस्ताक्षर गराई बच्चा पठाइदिने व्यवस्था गर्न थालेको थियो ।

कपिललाई विद्यालय ल्याउ लैजाउ गर्दा नरेन्द्रको लुनीसँग हिमचिम बढ्दै गयो । उनी पनि महिमालाई विद्यालय ल्याउ लैजाउमा नरेन्द्रसँग नजिकिंदै थिइन । एउटै कक्षा र समुहमा भर्ना भएका महिमा र कपिल अत्यन्त मिल्ने बालसखा थिए । डेरा एकैतिर भएकाले मात्र होइन आनीबानी उस्तै भएका उनीहरू एक अर्कासँग छुट्टिन चाहन्नथे । लुनी वा नरेन्द्र जो लिन गएपनि कपिल र महिमा अत्यन्त खुशी भई घर फर्कन राजी देखिन्थे । छोरा छोरीकै मित्रता देखेर लुनीले घरीघरी नरेन्द्रलाई भन्ने गर्थिन्, ‘दाइ, यिनीहरूले हाम्रा सारा दुःख बिर्साइदिन्छन् हगि !’ ‘हो त नि, यी त साँच्चिकै हाम्रा दुःखका साथी बनेर आएका छन्,’ नरेन्द्रले हाँ मा हँ मिलाउँथे ।

एक वर्षकी छोरी काखमा हुँदा हुँदै पति विदेशीएपछि एउटी तीन वर्षकी छोरी लिएर सहरमा भाडामा बसेकी लुनी पनि आफ्नो पतिको प्रतिक्षामा थिइन । परन्तु न त उनको फोन न फेसबुक कतैबाट सम्पर्क हुन पाएको थिएन । दुई वर्ष भइसक्यो छोरीले बाउ देख्न खोज्छे तर उनको अत्तोपत्तो केही छैन । यता माइत आमा बितेपछि बाबुले कान्छी आमा बिहे गरेका थिए । माइत दाजुभाइ थिएनन् न त दिदी बहिनी नै । आफ्नो उमेरकी कान्छी आमा काँचो तिजु जस्ती टर्री थिइन । त्यसैले माइत गएर मनको बह पोख्ने उनको कोही थिएनन् । बाबुले माया गर्न त गर्थे तर कान्छी आमाको अगाडि उनको केही लाग्दैनथ्यो ।

दुबैका उस्तै पिडा भएका हुँदा पनि नरेन्द्र र लुनीको संगत मिलेको थियो । यद्यपि मलेशिया, कोरिया, साउदी, कतार, बहराइन जस्ता देशमा आफ्नो श्रीमान भएका महिला टोलमा थिए, उनीहरू कहिले मेसेन्जरमा भिडियो मार्फत गफिएका हुन्थे त कहिले फेसबुकका फोटा अपलोड गर्ने अनि तिनैमा टिप्पणी गर्दै रमाएका हुन्थे । कहिले भाइबर त स्काइपीमा व्यस्त महिला देख्दा लुनी उदास देखिन्थी । त्यस्ता महिलासँग लुनीको संगत सुहाउँदो थिएन । अनि काखको बच्चा छोडेर श्रीमतीलाई विदेश पठाउने पति टोलमा शून्यकै संख्यामा थिए भन्दा अतिशयोक्ति हुने छैन । देब्रे खुट्टा खोच्याएर हिंड्ने अनि आँखा पनि कम देख्ने नरेन्द्र पेशाले वकिल भए पनि त्यति राम्रो कमाइ नभएकै कारण पत्नीलाई विदेश पठाएर यहाँ बच्चा स्याहारेर बसेका थिए । कहिले काँही पत्रपत्रिकामा लेखेर आउने आम्दानी, केही देवानी मुद्दाहरूको बहसमा सहभागी भएवापत साथीहरूले छुट्याउने भागले मात्र नपुगेपछि श्रीमतीले इजरायल जाने स्वर्ण अवसर आएको भन्दै जाने चाहना राख्दा उनले के नै भन्न सकेका हुन् र ?

लगभग एकै समयमा रहेछ कपिलकी आमा ओजस्वी र महिमाका बाबु हेमन्त विदेशिएको । किन उनीहरूको चिठी चपेटा, भाइबर, स्काइप, मेसेन्जर, फेसबुक, इमेल, फोन केही पनि आउन सकेन ? उता ‘मामु खोइ ?’ भन्ने कपिल र ‘बाबा खोेइ ?’ भन्ने महिमाको उत्तर दिन नरेन्द्र र लुनीलाई पटकै पिच्छे के कति बहाना बनाउनु पर्ने होला ?

एक दिन महिमाले लुनीलाई भनी, ‘मामु, मामु ! कपिलको मामु छैन । तपाईं उसको मामु भइदिए हुन्न ? बिचरालाई मामु भन्न कति रहर लाग्छ ?’ मैले त उसलाई भनिदिएकी छु, ‘अब देखि मेरो मामु तिम्रो पनि मामु ।’ कपिलले पनि आफ्नो बाबु नरेन्द्रलाई भन्यो, ‘बाबा, बाबा ! त्यो महिमाको बाबा छैन । तपाईंलाई उसले ‘बाबा’ भनेर बोलाए ‘हजुर छोरी’ भन्नुहोस् है ।’ ‘मामु’ वा ‘बाबा’ को साटो उनीहरूले ‘अन्टी’ वा ‘अंकल’ भन्न लगाउन सक्थे तर दुबैले त्यसो गरेनन् । आखिर सल्लाह पनि गरेका होइनन् उनीहरूले । लुनीले छोरी महिमा र नरेन्द्रले छोरा कपिलको बालमनोविज्ञानमा असर नपरोस् भनेर पनि सम्बन्धको आयामलाई नयाँ रूपमा स्वीकार गरेका हुनुपर्छ ।

शुरुमा त छोराछोरीको अनौठो तर आकस्मिक बालसुलभ आग्रह सुनेर दुबै फसादमा परेका थिए । बच्चाहरूले अर्को बरौनी गर्न त लागेनन् भनेर दुबै अचम्म मान्दै थिए । नरेन्द्र र लुनीले आफूहरू बीचको सम्बन्ध जे भए पनि छोरा छोरीको आग्रहलाई इन्कार पो कसरी गर्न सक्थे उनीहरू ! त्यसैले उनीहरू एक अर्काका बाबु आमा भनिन तयार भए । बाध्यताले स्वीकारे पनि अन्तर्मन देखि चाहे पनि अब उनीहरू अब एक अर्काको परिपुरक बन्दैथिए । अब देखि कपिलले आमा पाएको थियो र महिमाले बाबु । दुबै अत्यन्त खुशी थिए । कपिल आजभोली लुनीको घर बस्न थालेको थियो । उ लुनीसँगै सुत्न थालेको थियो । तर महिमा अलि दुःखी थिई किनकी उ बाबाको काखमा सुत्न पाएकी थिइन । उसले नरेन्द्रलाई टिठलाग्दो पाराले भनेकी थिई, ‘हजुर मेरो बाबा भए त मलाई काखमा राखेर सुत्नु हुने थियो । हाम्रै घर बस्नु हुने थियो । हजुर मेरो बाबा रहेनछ ।’ महिमाको यस्तो मनैछुने कुरा सुनेर नरेन्द्रको मनमा एक प्रकारको गम्भीर भावना पैदा भयो । उसले लुनीसँग लामै कुरा गर्‍यो । लुनीले पनि मनमा त्यस्तै विचार गरेकी रहिछ तर त्यस सम्बन्धमा नरेन्द्र सँग कुरा गर्ने मौका मिलेको रहेनछ ।

‘के रे ? छोराछोरीको खुशीको लागि लिभिङ टुगेदर !’ एकछिन आनाकानी गरेर लुनीले भनी, ‘ठिकै छ त नि ! तपाईं त्यसै भन्नुहुन्छ भने मैले पनि के भन्नसक्छु र खोइ !’ नरेन्द्रको प्रस्तावलाई लुनीले पनि नाइनास्ती गर्न सकिन । आखिर उसैले नरेन्द्रसँग त्यसरी बस्न चाहेकी थिई । नरेन्द्रको शारीरिक विषम अवस्थाको उसलाई कुनै पर्वाह थिएन । आखिर शारीरिक चाहना भन्दा पनि छोरीको भविष्यलाई प्रमुखता दिएकी लुनीलाई ‘के खोज्छस् काना, आँखो’ जस्तो भएको थियो ।

लिभिङ टुगेदरमा बस्ने सहमति भएपछि नरेन्द्र र लुनीले आफूहरू पहिले बस्ने गरेका दुबै डेरा मध्ये एउटा डेरामा बस्ने निर्णय गरे । एउटा स्थानीय शिक्षकको घरको दोस्रो तल्लामा रहेको जस्ताको छानो भएको कोठामा बस्दै आएको नरेन्द्रले घरवेटीलाई अर्को कोठा खाली गर्न अनुरोध गर्‍यो । सँगै बस्ने निर्णय भएको एक हप्ताभित्र नरेन्द्रले लुनीका आमा छोरीलाई बुधबारको दिन पारी भित्र्यायो । लुनी मात्र होइन कपिल, महिमा मात्र होइन नरेन्द्र सबै जना खुशी भए । छोरा छोरी दुबैले बाबु आमालाई धेरै धन्यवाद दिए । अब उनीहरू बेग्ला बेग्लै घरबाट विद्यालय आउने जाने गर्नु नपर्ने भो । खाना पनि लुनीले बनाउने भइन । नरेन्द्रका पनि सुसे घरधन्दामा भुल्ने दिन गएका थिए ।

एउटा उदार शिक्षकको घरको पहिलो तल्लाको एक जोडा कोठामा बसेर शुरु गरेको लिभिङ टुगेदरले कालान्तरमा कपिल र महिमा अर्को पुस्ताको लागि श्रीमान र श्रीमती बनेर आफ्नो वंश धान्नेछन् भनेर नरेन्द्र र लुनीले सायदै सोचेका थिए होलान् !

लुनीका आमा छोरी थपिएपछि जेनतेन दुई जनाको लागि गुजारा गरिराखेको नरेन्द्रको अब दैनिक खर्च बढेको थियो । उसको आर्थिक दायित्व बढेको थियो । उता घरमा बिरामी बाबु, अपाङ्ग बहिनीहरू प्रतिको कर्तव्य र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने त छँदै थियो । छोरा छोरीको मुहारमा खुशी राख्न बाबु आमाको कर्तव्य थपिएको थियो । आइतबार बिहान छोराछोरी विद्यालय पुर्‍याएर डेरा फिरेपछि भाँडा चुलो गर्दै गरेकी लुनीसँग नरेन्द्रले भने, ‘हाम्रो आर्थिक अवस्था अत्यन्त कमजोर छ । यसरी त सहरमा टिक्न सकिन्न, लुनी । के गर्ने हो भन्ने बारे बेलैमा सोचेर अघि नबढ्ने हो भने पछुताउनु सिवाय केही हुने छैन ।’

लुनीले भनी, ‘तपाईंका साथीहरूले ल फर्म खोलेका छन् । त्यहाँ गएर साथ माग्नुस् न । कसरी नदेलान् ? आखिर तपाईंको जनसम्पर्क राम्रै छ । पत्रपत्रिकामा पनि लेख्नुहुन्छ । धेरैजनाले तपाईंलाई चिन्छन् र प्रशंसक पनि धेरै नै छन् । अझ महिला सम्बन्धी मुद्दा त तपाईंले जति बलियो गरी अरु कसैले उठाएको पाउँदिन । जानुस् महिला अधिकार र सार्वजनिक सरोकारका मुद्दामा हात हाल्नुस् । कसरी कमाइ नहोला ?’

‘अहिले जस्ता तस्ता वकिलको त पेशा संकटमा छ । राजनीतिक पार्टीको आडमा मुद्दा लिने र न्यायाधीशलाई ठूलो बिटो भेटी चढाएर मुद्दा जित्ने क्रम व्याप्त छ । पार्टीका न्यायाधीश र वकिल भएको बेला हामी जस्ता सर्वसाधारणको के मूल्य हुन्छ ? मुद्दा नै आइपुग्दैनन् हामीछेउ । कुनै पार्टीका पिछलग्गु नभएका हामी जस्ता बबुराले कहाँ पाउने मुद्दा ? मुद्दै नपाएपछि कसरी कालोकोटको इज्जत धान्ने ? बिना मुद्दा अदालत वरिपरि गरिरहन पनि लाजमर्दो हुन्छ । पहिले द्वन्द्वका कारण पेशा चौपटमा पर्‍यो त अहिले यो गणतन्त्र आएपछि त झन यो पेशा धरापमा परिरहेको छ । पेशागत व्यवसायिकताका रूपमा गरिखाऔं भन्ने वातावरण निर्माण हुन सकिरहेको छैन । बरु मेरो साथी प्रवेशले म्यारिज ब्यूरो खोलेको छ । काम गर्न मन लागे यता आउनु नि भनेको थियो । त्यतै जानुपर्ला । आजभोली कोरिया, चिन र अन्य विदेशी मुलुकमा बिहे गरेर जाने केटीहरूको संख्या बढ्दो छ भनेर अस्ति भर्खर अखबारमा आएको थियो । त्यसरी बिहे गर्न चाहनेको व्यवस्था गर्ने व्यवसाय कसरी नचल्ला त ?’

‘नरेन्द्र, के छ खबर ? आउ बस । घर र गुजारा कस्तो चल्दै छ ? श्रीमतीको केही अत्तोपत्तो फेला पर्‍यो ?’ बाहिर सडक छेउ बसेर पुसको घाम ताप्दै गरेको प्रवेशले एउटा कुर्चीतिर संकेत गर्दै भन्यो ।

‘के भनुँ र खोइ, प्रवेश ? खबर त मेसेन्जरबाट दिएकै थिएँ । तिम्रै सुझावले लुनीसँग लिभिङ टुगेदरमा छु । छोराको लागि पनि एउटी महिला नभई नहुने । उ साह्रै खुशी छ । लुनीका आमाछोरी पाएपछि मेरो खोजी गर्दैन । मलाई पनि धेरै बोझ कम भएको छ । आखिर ओजस्वी सम्पर्कमै छैन । बरु कसरी उसको खोजी गर्ने होला ? यसरी बेपत्तै त हुनुपर्ने होइन । कहाँ गई होली ? कुनै दुष्ट र दुर्जनले लगेर गुपचुप राखेको होला । मलाई त शंका लागेको छ,’ नरेन्द्रले मलिन स्वरमा भन्यो ।

‘पिर नमान, नरेन्द्र । तिम्री ओजस्वी मात्र होइनन् यहाँ धेरै महिला बेपत्ता छन् । ति धेरै नेपाली चेलीबेटीको उद्दार गर्ने उद्देश्य राखेर धेरै संस्था खोलिएका छन् । हामी उनीहरूसँग अवश्य पनि सहकार्य गर्न सक्छौं । बरु तिमी पनि हामीसँग मिलेर काम गर । अवश्य पनि एक दिन ओजस्वीलाई फेला पार्न सकिनेछ । उनी फर्केर नेपाल आउनेछिन् ।’

सँगै पढेको र मन मिल्ने साथी प्रवेशले त्यति भनेर आग्रह गरेपछि नरेन्द्र कसरी उसलाई पिठ्यँ फर्काएर हिंड्न सक्थ्यो र ? आखिर उसलाई पनि भिरिने ठाउँ चाहिएको थियो । उसले आमाले भनेको सम्झियो, ‘काम सानो ठूलो हुँदैन । राम्रो अड्डा चिनेर छिर्नु । एक दिन अवश्य सफलता हात पर्छ ।’ उसको निर्णय सुनेर साथीले उसलाई त्यसको सम्पूर्ण जिम्मेवारी सुम्पिंदै भन्यो, ‘नरेन्द्र, तिम्रो भविष्य यस ब्यूरोको सफलतामा भर पर्दछ । कसरी यसलाई फलाउने फुलाउने हो, राम्ररी सोचेर गर्नु है ।’

‘अवश्य ! मलाई तिमीले दिएको जिम्मेवारी पूरा गर्नेछु र तिम्रो विश्वासलाई कहिल्यै डगमगाउन दिने छैन ।’ नरेन्द्रको यो प्रतिवद्धता सुनेपछि प्रवेश विश्वस्त भयो । ब्यूरोकै महिला कर्मचारीले बनाएको रातो चिया पिएर दुबै आफ्नो गुँडतिर लागे ।

लुनीको नरेन्द्रसँगको लिभिङ टुगेदर राम्रै चल्दै थियो । बच्चाहरू पनि राम्ररी पढ्दै थिए । दुबै जना कक्षाका उत्कृष्ट छात्र छात्राको रूपमा सुपरिचित हुँदै गइरहेका थिए । अतिरिक्त क्रियाकलाप, खेलकूद र विद्यालयमा हुने अन्य कार्यक्रममा कपिल र महिमा कहिल्यै छुट्दैनथे ।

एक रात लुनी राम्ररी सुत्न सकिरहेकी थिइनन् । उनलाई आफ्नो विदेशिएको पति हेमन्तको याद आएछ होला सायद । उ सोच्दै थिइ होली, ‘कुन दुष्टको फन्दामा परेर कुन बिरानो मुलुकमा हराइरहेको होला ? कति हण्डर खाइरहेको होला ? यति साह्रो निर्मोही त हुनै नपर्ने । कसरी यस्तो हुन पुग्नुभयो होला ? उसले मनमनै कल्पना गरिरहेकी थिई । कतै अर्के केटीसँग लागेर मलाई त भुल्नु भएन ? जो सँग लागेर जति गल्ती गरेपनि यहाँ आइदिए कस्तो हुन्थ्यो होला ?’

कपिलले लुनी नसुतेको देखेर सोध्यो, ‘के भयो मामु ? हजुर अझै पनि सुत्नु भएकै छैन । हेर्नुस् त भित्ताको घडीमा १२ बज्न थालिसकेको छ । यसबेला सम्म पनि हजुरलाई निद्रा लागेन ? त्यसो भए म एउटा कथा भन्छु । अनि तपाईं सुत्नुपर्छ । हुन्छ ?’ लुनीले विगतका रातहरू सम्झी जहिले उसले कपिल नसुत्दा उसले कम्तीमा दुई वटा कथा भन्ने गर्थी र उसलाई बल्ल निद्रादेवीको काखमा सुम्पन्थी । आज उही कपिल लुनीलाई कथा भनेर सुत्न आग्रह गर्दै थियो । कसरी नकार्न सक्थी कपिलको आग्रहलाई लुनी जबकि त्यति नम्र र मिठो अनुरोध गर्दै थियो उसले । निद्रादेवीलाई तत्काल बोलाउने औषधि नै दिन्छु कि जस्तो गरेको थियो कपिलले ।

संयोग पनि त्यस्तै जुर्‍यो जब कपिलले श्रवण कुमारको कथा भन्दै थियो, लुनी निदाई । उसलाई त्यस्तै छोराको खाँचो थियो र त्यो खाँचो कपिलले पूरा गर्नेमा उ विश्वस्त थिई । कपिल पनि लुनीको अत्यन्त ख्याल गथ्र्यो । घरीघरी उसले मनमनै सोच्थी ‘मैले नपाएर के भो र ? मेरो साह्रै ख्याल गर्छ । मेरी छोरीसँग पनि साह्रै मिल्छ । अझसम्म यिनीहरू चर्को स्वर गरेर झगडा गरेको थाहा पाएकी छैन । कदाचित महिमा र कपिलको जोडी बनेछ भने पनि यसलाई स्वीकार गर्नुपर्छ । आखिर यिनीहरूलाई छुटाउने दुष्प्रयास भयो भने मेरो त्याग र तपस्या सबै खेर जानेछ । यस्तो सुन्दर जोडी यो धरतीमै हुनेछैन कुनैबेला ! स्वर्गबाटै पठाइएको यस्तो अनुपम जोडीको लगनगाँठो कस्ने दिन आएमा नरेन्द्रले पनि यसको बिरोध कसरी गर्लान् त ? अवश्य पनि नगर्लान् । उनी पनि बच्चाहरूको खुशीमै आफ्नो खुशी देख्छन् । उनले त्यो नदेखेको भए यो सहरमा म कसरी टिक्थेँ होला ? नरेन्द्रले मलाई साथ नदिएका भए मैले कति भयानक दिनहरू कटाउँदै आफ्नो र छोरीको ज्यान पाल्नु पथ्र्यो होला ! त्यस्तै मैले ति शारीरिक अपाङ्ग नरेन्द्रलाई साथ नदिएको भए कपिलको हाल के हुन्थ्यो ? उनी कसरी मातृस्नेह सहित त्यो सानो बालकको पालनपोषण गर्थे होलान् ? हाम्रो सम्बन्ध पनि ढुंगाको भर माटो र माटाको भर ढुंगा भएको छ । जे जसरी भए पनि सहरमा हामी सम्मानपूर्वक बाँचेका छौं । समाजको हामीप्रतिको दृष्टिकोण बदलिएको छ । पहिला कुरा काट्ने र आँखा तर्नेहरू अहिले हाम्रा प्रशंसक भएका छन् ।’

लुनीले धेरै कुरा मनमा खेलाइरहेकी थिई । नरेन्द्रका र आफ्ना चाहना पूरा गर्न सधैं तत्पर कपिल देखेर उसमा श्रवण कुमारको गुण र पितृभक्ति भएको महशुश गर्दैमा लुनी निदाउन पुगिछ । कपिलले यसरी कथाको बिट मार्न लाग्दै थियो, ‘…..तिर्थ लैजान जाँदा जाँदै बिच बाटोमा तिर्खाएका बाबुआमालाई पानी ल्याएर प्यास मेटाउने प्रयास स्वरूप खाली घडा कुवामा डुबाउँदा सिकार खेल्न गएका अयोध्याका राजा दशरथले शब्दभेदी बाण प्रहार गर्दा श्रवण कुमार घाइते भई मृत्यु उसको अकालैमा ज्यान जान पुग्यो । आफ्नो प्यारो छोराको अकालैमा मृत्यु भएको खबरले शोकाकुल श्रवण कुमारका अन्धा बाबुआमा आफ्नो प्राण त्याग गर्न लागिरहेका थिए ।’ कपिलले श्रवण कुमारको कथा अन्त्य गर्नुपूर्व लुनीलाई ‘मामु, त्यसपछि के भयो होला ? ल भन्नुहोस् त तपाईं’ सोध्दै गर्दा लुनी त पहिल्यै निदाइसकेकी थिई । उसले आफूले छोराको त्यसरी अकालमा मृत्यु भई पुत्र बियोग भएको कथाको अंश सुन्न नचाहेकी हुन सक्थी वा निद्रादेवीको चाँडो आगमनले उसलाई त्यस्तो दुःखान्त अन्त सुन्नबाट परै राखेको हुनसक्छ ।

एक दिन विद्यालयबाट फर्केर आएर नास्ता खाँदै गर्दा कपिलले भन्यो, ‘मामु, मामु ! ऊ तल्लो घरको दिदीले भनेको हजुर त मेरो मामु होइन रे ! हजुर त महिमाको मात्र मामु हो रे ! मेरो मामु त इजरायल जानु भएको छ रे ! भोली पर्सी आउनु हुन्छ रे ! म त मान्दिन है त्यो कुरा ! हजुर नै हो मेरो मामु ! अर्काले भन्दैमा म कसरी पत्याउन सक्छु र ? मैले पत्याउँदिन भनेर त्यो दिदीले उहाँको मामुसँग मेरो मामुले पिकनिक खान गएको फोटो पनि देखाउनु भएको थियो । मान्छे यस्तो पनि गर्छन् है, मामु ?’

महिमाले बेलुका सुत्नु अघि नरेन्द्रसँग जिज्ञासा राखी, ‘बाबा, बाबा ! ऊ पल्लो घरको दादाले भनेको हजुर त मेरो बाबा होइन रे । कपिलको मात्र बाबा हो रे । मेरो बाबा त म एक वर्ष हुँदा कोरिया जानु भएको रे । उहाँ नआउञ्जेल हजुर मेरो ममीसँग बस्नु भएको रे । हो र बाबा ? त्यो दादाले त मेरो बाबालाई पनि देखेको कुरा गर्नु भएको थियो । अनि पल्लो घरको अंकलसँग मेरो बाबा बसेर खिचेको फोटो पनि देखाउनु भएको थियो । के हजुर मेरो बाबा हुनुहुन्न र ? हामीलाई पाल्ने, पढाउने सबै काम गर्ने हजुर मेरो बाबा नभए त्यो विदेश गएर उतै हराउने मान्छे कसरी मेरो बाबा हुन सक्छ र ?’

बच्चाहरूले राखेको जिज्ञासा बेलैमा सम्बोधन गर्नुपर्ने कुरा लुनीले नरेन्द्रलाई सम्झाई । कतिपयले उनीहरू विवाहै नगरी यत्रो लामो समयसम्म सँगै बसेर समाज दुषित पारेको र खराब संस्कार शुरु गरेको भन्ने आरोप पनि लगाएका थिए । त्यो कुरा पनि भनेर बच्चाहरूलाई भड्काउने यो समाजका कैयौं खराब चरित्र भएका मानिसको अगाडि यस्तो जटील सम्बन्ध अनि जीवनको बारेमा छोराछोरीलाई बेलैमा प्रष्ट जानकारी नदिंदा पछिका दिनहरूमा उनीहरूको आफूलाई हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ भन्ने सवालमा लुनी साबधान थिई । त्यसैकारण उनीहरूले त्यही बेलुका कपिल र महिमालाई साथमा राखेर दुबै जनाले सत्य तथ्य कुरा गरे । उनीहरूको लालनपालन र पढाइ लेखाइका लागि लिभिङ टुगेदरमा आठ वर्षदेखि बस्दै आएको प्रष्ट पारे । आफ्ना अभिभावकले त्यस्तो कठिन परिस्थितिमा एक अर्काको साथ पाएका कारण आफूहरू राम्रोसँग खान लाउन, बस्न र पढन लेख्न अनि समयमै स्वास्थ्य उपचार पाएको कपिल र महिमा दुबैले राम्ररी थाहा पाए । कुनै दिन बाबु आमाको अभाव खड्किन नदिइकन बच्चाहरूलाई हुर्काउने क्रममा समाजले उनीहरूलाई हेर्ने हेय दृष्टि सहेर गरेको त्याग र समर्पण बच्चाहरूलाई बताएपछि कपिल र महिमाले बाबा आमा दुबैलाई धेरै धन्यवाद दिए । त्यस्ता बाबुआमा पाएकोमा आफूहरू धन्य भएको र आगामी दिनमा पनि बाबा आमाको उस्तै त्याग र समर्पण रहने अपेक्षा गरेका थिए ।

बुबाआमाको साथमा नै परिवारको विकास हुने भएकाले जसरी सम्बन्धहरू कायम छन् त्यसरी नै अघि बढ्न छोरा छोरी राजी भएपछि नरेन्द्र र लुनीले आफूहरूको सँगै बस्नुपर्ने बाध्यता तिनै छोराछोरीको अनुरोधमा उनीहरूकै अनुरोध तथा आग्रहमा सिर्जना भएको र बच्चाहरूले त्यसलाई बुझिदिएको भन्दै महिमा र कपिललाई धन्यवाद दिए । छोराछोरीले पनि आगामी दिनमा जस्तो सुकै परिस्थितिमा साथ दिने वाचा गरे । उनीहरूले आफू बेग्ला बेग्लै थर भएका कारण एउटै दम्पतीका सन्तान नभएको पनि थाहा पाएका थिए । महिमाको थर नेपाल थियो भने कपिल पन्थी थरको थियो ।

‘बाबु नानी हो, आज तिमीहरूले आफ्नो वास्तविकता थाहा पायौ । अब तिमीहरू सँगै बस्ने कि बेग्ला बेग्लै बस्ने भन्छौ ? हामी त्यसै गर्छौं ।’ बाबु आमाले यस्तो भनेपछि कपिलले महिमाको मुखतिर हेर्‍यो र महिमाले कपिलको मुखतिर । एकछिन एकआपसमा हेराहेर गरेपछि उनीहरूले एकै स्वरमा भने, ‘अहिले जसरी बसिएको छ, त्यसरी नै बस्ने । मामुले र बाबाले मिलेर हामीलाई कुनै चिजको अभाव हुन नदिने । हामी अरु कसैको लहैलहै वा वाहियात कुरामा नलागी आफ्ना बाबा मामुले भनेको कुरा मान्ने ।’

लुनी आफ्नी आमा होइन भन्ने तथ्य थाहा पाएपछि कपिलले उसलाई अन्टी भन्न थालेको थियो । त्यो पनि लुनीकै आग्रहमा । तर महिमाले भने नरेन्द्रलाई बाबा नै भनेर सम्बोधन गर्थी । सत्य कथाको उदघाटन भएपछि अझ उनीहरूको मातृ पितृ स्नेहमा कुनै कमी आएको थिएन, बरु अझ बढ्दै थियो ।

एक रात लुनी कत्ति सुत्न सकिन । उसले आफ्नो देवर अशोक मलेशियाबाट बुटवल आएको थाहा पाइ । फेसबुक मेसेन्जरमा आफू भेट्न आउँदै गरेको भाउजुलाई पूर्वसूचना दिएको थियो अशोकले । दाइले छाडेर गएपछि आज लगभग दर्जन हिउँद आए गए तर त्यो परिवारले आफ्नो अत्तोपत्तो नगरेको र अहिले आएर देवरले भाउजु र छोरीको चासो राख्दा लुनीको मनमा हुरी चल्यो । ‘कसरी देवरसँग भेट्ने ? कहाँ भेट्ने ? कतिबेला भेट्ने ? आफ्नो नरेन्द्रसँगको लिभिङ टुगेदर सम्बन्धको बारेमा देवरले थाहा पाए के गर्ने होलान् ?’ भोलीपल्ट आफ्नो डेरा भएको स्थान मणिग्राममा आउनु भनेकी लुनीले देवरको आगमनले आफ्नो भविष्य अन्योलमा पर्ने हो कि भनेर चिन्ता गर्दै थिई ।

रातको १२ बजिसकेको थियो । कपिल आफ्नो पाठ पढेर विज्ञानको परियोजना कार्य गर्दै थियो । सधैं मस्त निदाउने लुनीलाई आज यता पल्टिने उता पल्टिने, घरी मोबाइलमा फोटा हेर्ने, घरी युट्यूबमा बिमा कुमारी दुराको ‘फुल्यो निमपत्ता’ भाकाको गीत धेरै बजाएको, नारायण रायमाझी, झलकमान गन्धर्ब, यम बराल, दीप श्रेष्ठ, शम्भु राई लगायतका चर्चित कलाकारका बिरही भाकाका गित बजाएर स्वर बाहिरै चर्कै सुनिने गरी सुन्दै गरेकी लुनीलाई देखेर उसले भन्यो, ‘अन्टी, किन नसुत्नुभएको अझैसम्म ? बिरामी पर्नुहोला । भोली बिहान महिमा र म बिहान सातै बजे स्कुल पुग्नु छ । फेरि भोली बिहान हामी भोक्कै जानुपर्ला नि ! आउँदा दिनमा केही समस्या परे हजुरको म छँदैछु । ति निष्ठुरी हेमन्त अंकल फर्केनन् भनेर किन सुर्ता गर्नुहुन्छ ? म छँदैछु नि तपाईंलाई जसरी पनि जहाँ लगेर पनि सुखसित पाल्नेछु । महिमालाई र मलाई छुट्याउने कुनै सम्झौता नगर्नुहोला ।’ १२ वर्षको बालक कपिलले यसरी पाको मान्छेको जस्तो कुरा बुझेर आफ्नो चिन्ता कम गर्न वाचा गरेको सुनेर ‘मेरो प्यारो छोरा । मेरो प्यारो कपिल !’ भन्दै घम्लङ्ग अँगालो हालेर कपिलको गालामा धेरै फेरि म्वाइँ खाएकी थिइ लुनीले ।

‘महिमाको आफ्नो काका आउँदैछन् ? के नै भन्लान त ? के नै गर्लान त ? खोइ अन्टी केही माखो मार्लान् जस्तो त लाग्दैन मलाई ! आजसम्म कुनै मतलब नगर्ने ति पाल्पालीको किन सुर्ता गर्नुहुन्छ ? हिजो हाम्रो लागि हजुर र हजुरको लागि हामी नभएका भए आज हाम्रो के हाल हुँदो हो ? त्यस्ता दुःखका दिन केही वास्ता नगर्ने परिवारका कोहीसँग पनि हजुर डराउनु हुँदैन है, अन्टी । आउने भनेपछि ति अंकल आउँछन्, जान्छन् । अरु केही हुँदैन । तपाईं बिनासित्ती टाउको दुखाउनु हुन्छ । छाडिदिनुहोस् यी सबै वाहियात कुरा !’

‘मैले शंका गरेकी छु उनी महिमालाई लिन आउँदैछन् । कदाचित उनले महिमालाई लगे भने के गर्ने होला ?’ लुनीले चिन्ता व्यक्त गरी ।

‘महिमालाई लाने रे ? त्यो त कुनै हालतमा हुनै दिन्न म । मेरी महिमालाई कसैले मसँग छिनेर लान सक्दैन । उही पनि महिमा सात कक्षामा पढ्दै छ । उसको पढाइ बिगार्ने कसको तागत ?’ कपिल जंगियो ।

अशोक नेपाल समयमै आए । उनलाई भाउजु बसेको डेरा चिन्न त्यति कठिनाइ परेन । वस्तीकै चर्चित शिक्षकको घर रहेको र बिहे नगरीकन अर्कै लोग्ने मान्छेसँग छोरीसँगै बसेकी विशेष महिला हुँदा पनि टोलमा सबैले लुनीलाई चिन्ने हुँदा बाटोमा सोध्दै उ बिहान ११ बजे डेरामा आइपुगे । लुनी देवरको प्रतिक्षामा थिई । चौध वर्ष अघि देखेको देवरलाई आज एक्कासी देख्दा उसलाई अचम्म लागेर आयो । एक छिन दुबैले हेराहेर गरे । २५ वर्षे लक्का जवान देवरलाई देख्दा उसलाई हेमन्तको याद आयो । त्यही उमेरमा पाल्पाको माडीबाट डेढ सय जना जन्ती लिएर बुटवल फूलबारीमा आफूलाई लिन हेमन्त बेहुलो भएर आएको सम्झी । अनुहार पनि काटीकुटी उस्तै । बोली त कानमै गुञ्जिने । हेमन्त दुब्लो र ख्याउटे थिए भने अशोकको भने भरिएको शरिर थियो । उनीहरूको बिहे हुँदा त्यतिबेला अशोक जम्मा ११ वर्षका हुँदा हुन् । आज तिनै अशोक आफ्नो दाजुको परित्यक्त परिवार खोज्दै मलेशियाबाट पाल्पा माडी फर्की भाउजुको दुःख सुख बुझ्दै थिए । आफ्नो दाजुसँग बसेको एउटा ठूलो र पुरानो तस्बीर भाउजुको सुत्ने कोठामा झुण्डिराखेको देखेर उनले बाटोमा मान्छेले गरेका थरीथरीका कुरा बिर्सने प्रयत्न गरे ।

भोकाएर आएका देवर अशोकलाई लुनीले खाना लगाइदिई । दुबैले विगतका दुःखसुखका कुरा देखि भेट्दासम्मका सबै कुरा गर्न भ्याए । लुनीले हेमन्तको अनुपस्थितिमा आफूले अपनाउनु परेको बाध्यता कुनै धक नमानी देवरलाई बताइ । भाउजुको कुरा एकटकले सुनेको अशोकले भन्यो, ‘सत्यवती, कुन्ती, अम्बिका, अम्बालिका जस्तै पवित्र नारी तपाईं हो, मेरी भाउजु । म कुनै शंकाको घेरामा तपाईंको बाध्यतालाई पार्न सक्दिन । तपाईं धन्य हुनुहुन्छ, भाउजु ।’ हुन पनि दाजु नै नभएपछि र उनीहरूको परिवारले काखमा एउटी नाबालक छोरीसहितकी अबलाको हेरविचार गर्ने कुनै व्यवस्था नगरेपछि एउटा विकल्प रोज्नुपर्ने थियो । अशोकले भन्यो ‘सबैभन्दा उत्तम विकल्प रोज्नु भएछ, भाउजु । तपाईंलाई बधाई छ । बरु नरेन्द्र दाइ कुन अफिसमा हुनुहुन्छ ? भेट्न पाए हुन्थ्यो ।’

लुनीले नरेन्द्रले काम गर्ने म्यारिज ब्यूरोमा लगेर दुबै जनाको बीच चिनाजानी गराइदिई । एकआपसमा चिनाजानी भएपछि अशोकले नरेन्द्रलाई आफ्नो लागि एउटा उपयुक्त जोडी खोज्न आग्रह गर्‍यो । नरेन्द्रले पनि भन्यो, ‘तपाईं भन्नुहुन्छ भने म तपाईंले मन पराएकी केटीसँग थोरै खर्चमा बिहे गराइदिन सक्छु ।’ एल्बममा उपलब्ध केटीहरूको फोटा र फेसबुक, ट्विटर, इन्स्टाग्राम र मेसेन्जरमा उपलब्ध फोटाहरू र तिसँग सम्बन्धित सबै विवरण केलाएपछि अशोकले एउटी केटीसँग जोडी जमाउने सुर कस्यो । केटी पक्षलाई झिकाइयो । उनीहरू आएपछि लुनीले आफ्ना देवरका तर्फबाट कुरा गरी । दुई दिनपछि विहे गर्ने सवालमा अशोकले आफ्ना घरका सदस्यहरूलाई फोनमार्फत जानकारी दियो । उनीहरूको स्वीकृतिमा उसले मन्दिरमा लगेर बिहे गर्‍यो । बिहेमा दुलाहा र दुलही बाहेक लुनी, महिमा र केटी तर्फबाट उसका बुबा आमा, दाजु भाइ र एक जना साथी उपस्थित थिए । महिमा खुशी थिई तर कपिल नआएकोमा उसले दुःख मनाउ गरेकी थिई ।

अशोकको बिहे भइसकेपछि महिमाको आफ्नो काकासँग आवतजावत धेरै बढेको थियो । उ काका काकी पाएकोमा फुर्केकी थिई । काकीले पनि अत्यन्त माया गर्ने हुँदा उसलाई काकाकोमा आवतजावत बढेको थियो । पछि काका कामको सिलसिलामा मलेशिया लागेपछि काकी र महिमा बस्न थालेका थिए । काकीसँगै बसेर महिमाले माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट श्रेणीमा सफलता हासिल गरी । बुटवलकै नाम चलेको न्यू होराइजन विद्यालयमा माध्यमिक तहको गणित शिक्षकको रूपमा कार्यरत प्रियाले भतिजीलाई विज्ञान पढाएर इन्जिनिअर बन्ने सपना पूरा गर्न थप प्रेरणा दिइरहेकी थिई ।

यता महिमा आफूहरूलाई छाडेर काकीसँग बस्न गएपछि कपिल अत्यन्त दुःखी भएको थियो । तर महिमा शनिबार र बिदाको मौका पारेर आमा भएठाउँ आउने भएको हुँदा उ केही शान्त देखिन्थ्यो । उसले एकपटक भनेकी थिई, ‘कपिल सधैं सँगै बस्दा भन्दा छुट्टिएर बस्दा कस्तो हुन्छ भनेर मैले यसो गरेकी हुँ । म पनि कहाँ यस्ती माया गर्ने मामु बाबा र तिमी जस्तो मिल्ने साथी छाडेर कहाँ जान सक्छु र ? उता अन्टी एक्लै भएको हुँदा ‘अंकलले सँगै बस्नु है, छोरी’ भन्ने आग्रह गरेको हुँदा उता बसेकी मात्र हुँ । तिमीलाई त म यो जुनीमा त के कुनै जुनीमा पनि छाड्न सक्दिन । भगवानले मेरो लागि तिमीलाई यहाँ पठाउनु भएको हो । तिमीबाट म कहिल्यै छुट्टिने छैन ।’

१२ कक्षाको नतिजा प्रकाशन हुने बित्तिकै पुल्चोक क्याम्पसमा स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको लागि प्रवेश परीक्षा सञ्चालन भएको थियो । दुई दिनपछि नतिजा प्रकाशन भयो । कपिलको शीर्ष ३ र महिमाको शीर्ष ५ नम्बरमा नाम निस्केछ । दुबै जना खुशी भई एक अर्काको अँगालोमा बेरिएर खुशी साटासाट गरे । अब कपिलले सुरुङ सम्बन्धी सिभिल इन्जिनिअरिङ र महिमाले जलविद्युत सम्बन्धी सिभिल इन्जिनिअरिङ पढ्ने निधो गरिसकेका थिए । छात्रबृत्तिमा पढ्न पाउनेमा पनि पाँच जनाभित्र नाम निकाल्न सफल भएकोमा दुबैलाई सामाजिक सञ्जाल र पत्रपत्रिकामा बधाई दिनेको लर्को थियो । बुटवल टुडेको एक अंकमा उनीहरूको नाममा पहिलो पृष्ठमै बधाईको शुभकामना सन्देश छापिएको थियो ।

छोराछोरी पाटनस्थित पुल्चोक इन्जिनिरअरिङ अध्ययन संस्थानमा पढ्न जाने भएपछि लुनी र नरेन्द्रले सबै विषयमा छलफल गर्न आवश्यक ठाने । लुनी गएर डेरामा खाना पकाइदिने र लुगाफाटा धोइदिने कि मणिग्राममा नरेन्द्रसँग बसेर अफिस चलाउने ? के गर्ने भन्नेमा दोधार थिए उनीहरू । ‘एकपटक छोराछोरीलाई त सोधौं । के भन्छन् ? अनि सोही अनुसार सबै व्यवस्थापन गरौंला’ लुनीले भन्दै थिई । नरेन्द्रले भने, ‘म आजभोली अलि बिरामी छु । मेरो स्वास्थ्य बिग्रँदै गइरहेको छ । अफिस नचले कसरी बच्चाहरूको खर्च र यहाँको सबै खर्च धान्ने ?’

‘सकेसम्म हामी छात्रावासमा बस्छौं । खर्च पनि कम लाग्छ । त्यो सम्भव भएन भने हामी एउटा कोठा लिएर बस्छौं । यता हजुरहरू अफिस चलाउने र हाम्रो खर्चको जोहो गर्ने काम गर्नुहोस् । अबका चार वर्ष त तपाईंहरू जसरी पनि हाम्रो खर्च जुटाउन लाग्नैपर्छ । तर हाम्रो कत्ति पिर नमान्नु । हामी मिलेर बस्छौं र सकेसम्म घाँटी हेरेर हाड निल्ने प्रयत्न गर्नेछौं,’ कपिलले भन्यो । महिमाले कपिलको प्रस्तावमा सहमति जनाउँदै थपि ‘अब तपाईंहरु हाम्रो सुर्ता गर्न छाड्नुहोस् । हामी जहाँ गएर पनि आफ्नो पढाइ लेखाइ र अन्य काम गर्न सक्षम भएका छौं । त्यो पनि काठमाण्डौ धेरै टाढाको ठाउँ होइन । फोन, फेसबुक, मेसेन्जर, भाइबर सबै छन् । हामी सम्पर्कमा रहिरहने छौं । आवश्यक परेका बेला हजुरहरूको साथ, सहयोग र आशिर्वाद लिने नै छौं ।’

महिमा र कपिलले यसरी आफ्नो परिपक्वता प्रदर्शन गरेकोमा लुनी र नरेन्द्र दुबै खुशी देखिन्थे । उनीहरूको पढाइ लेखाइ, आनीबानी, शिष्ट व्यवहार सबै आदर्श थिए । दुबै जना आँखाको नानीमा राखेपनि नबिझाउने पात्रको रूपमा स्थापित भएका थिए । अझ रूपमा भन्ने हो भने उनीहरू चल्तीका कुनै मोडल भन्दा उम्दा थिए । यसले लुनी र नरेन्द्रको लिभिङ टुगेदरलाई मान्यता मात्र दिएको होइन उनीहरूलाई समाजमा एक उदाहरणीय जोडीको रूपमा स्थापित गर्न सफल भएको थियो । बाध्यतावस भएपनि कायम गरी अघि बढेको कसैको सम्बन्ध राम्रो काम गर्न साधक हुन्छ र समाजमा नयाँ आयाम स्थापना गर्न कामयावी हुन्छ भने त्यस्तो सम्बन्ध कायम गर्ने पात्रहरूलाई समाज विकासका बाधक मान्ने हाम्रो पुरातन सोच बदलिनु पर्दछ । सामाजिक सम्बन्धका आयाम कुनै स्थिर रेखामा खोज्न सम्भव छैन भन्ने कुरा पनि महिमा र कपिलका अभिभावकले हिंडेको बाटोबाट प्रष्ट हुन्छ ।

कपिल र महिमा पुल्चोक क्याम्पसको छात्रावासमा बस्न थालेका थिए । त्यसले गर्दा खर्च पनि अपेक्षाकृत कम हुने नै भयो । यसबाट परिवारमा आर्थिक भार कम भएकै थियो तर नरेन्द्र बेलाबेलामा बिरामी हुँदा आर्थिक रूपमा उनीहरू दुर्बल हुँदै थिए । तथापि लुनी र नरेन्द्रले हिम्मत नहारी अघि बढिरहेका थिए । प्रवेशले पनि चाहिंदो सहयोग गर्दै आएका थिए ।

माघको ३ गते सोमबार एक दिन म्यारिज ब्यूरोको कार्यालयमा एक जोडी अधबैंसे आइपुगे । नरेन्द्र बिरामी भएकाले लुनी पनि उनको साथ कार्यालय जान थालेकी हुँदा त्यस दिन कार्यालयमै नरेन्द्रसँगै थिइन । उनीहरू आफ्ना कागजात लिएर आएका थिए र भन्दै थिए, ‘आजै कार्यक्रम सक्ने गरी काम गरिदिनुहोस् । ढिलाई नहोस् । बरु शुल्क पचास प्रतिशत थपेर लिनुहोस् । काम आजै हुनुपर्छ नि !’ कागजात तयार गर्दै जाँदा लुनीले आफ्नो पतिको नाम, थर र बतन मिल्ने पुरुष फेला पारिन । अनि महिलाको कागजात तयार गर्दै जाँदा नरेन्द्रले आफ्नी श्रीमतीको नाम, थर, वतन मिल्ने महिला फेला पारे । दुबै जना छक्क परे । उनीहरू नक्कली कागजात तयार गर्नका लागि आवश्यक सम्पूर्ण प्रमाण तयार गर्ने क्रममा रहेछन् ।

यी नाम, थर र वतन भएका अनि तीन पुस्ते सबै मिल्ने मान्छे हामी दुई हुँदा हुँदा पनि तपाईंहरू किन यस्तो किर्ते र जालसाजी गरी ठग्न खोज्दै हुनुहुन्छ ? तपाईंहरूलाई त प्रहरी बोलाएर थुन्नु पर्छ । यति भनेर नरेन्द्रले फोनसेटमा प्रहरीको नम्बर डायल गर्दा गर्दै सो पुरुषले भन्यो, ‘पहिले पहिले यस्तो किर्ते र जालसाजीपूर्ण काम यहाँबाट हुँदै आएको र यसपाली पनि होला भन्ने आशमा हामीहरू आएका हौं ।’ ‘त्यस्तो वाहियात र मिथ्या आरोप लगाएर आफू उम्कने दुष्प्रयास नगर्नुस् । बिना प्रमाणको मिथ्या कुरा गर्नुहुन्छ भने तपाईं अहिल्यै पुलिसको फन्दामा पर्नुहुन्छ । तपाईंहरूलाई अहिल्यै प्रहरी लगाएर थुनिदिन्छु नि फेरि !’ नरेन्द्रले धम्कीको भाषामा बोले ।

त्यसको तीन दिनपछि नरेन्द्रलाई एउटा फोन आयो । उ एउटा दस्तावेज तयार गर्दै भएकाले लुनीले फोन उठाइ । फोन गर्नेवालाले भन्दै थियो, ‘हेमन्त नेपाल र ओजस्वी पन्थी बेपत्ता भए, फर्केर आएनन् भन्नुहुन्थ्यो नि, यहाँ आइपुगेका छन् । भेट्ने भए प्रशान्ति म्यारिज ब्यूरोमा आइहाल्नुहोस् ।’ ‘हुन्छ, हामी तत्काल आइहाल्छौं,’ लुनीले भनिन । नरेन्द्रले तत्काल रिक्सावालालाई बोलाए । कार्यालय सहयोगीलाई आफ्नो जिम्मेवारी सम्झाएर लुनीसँगै उनी त्यतातर्फ लागे । पाँच मिनेटभित्रै प्रशान्ति म्यारिज ब्यूरोमा पुगेका नरेन्द्र र लुनीले दुई दिन अघि आफ्नो स्मृति म्यारिज ब्यूरोमा आफूहरूको नाममा नक्कली कागजात बनाउन आएका तीनै अधबैंसे जोडी हतार हतारमा कार्यालयबाट बाहिरिंदै गरेको देखे ।

‘किन यस्तो गर्दैछन् यी मान्छे ? अचम्मै लाग्दैछ ! कहिले बेपत्ता भएका हाम्राका नाममा त कहिले हाम्रो नाममा नक्कली कागजात बनाउने दौडधुप गर्दैछन् । लाग्दैछ, ठूलै रकम हात पर्नेवाला छ । नत्रभने यस्तो दौडधुपमा किन यो जोडी लागिरहेको छ ?’ नरेन्द्रले लुनीतर्फ फर्केर अचम्मित हुँदै सोध्यो । जब उनीहरू प्रशान्ति म्यारिज ब्यूरोभित्र प्रवेश गरे, त्यहाँको सञ्चालक प्रशान्तले भन्यो, ‘तपाईंहरूको पुनर्मिलन गराई खुशी फर्काइदिउँ कि भनेको त नक्कली जोडी पो रहेछ, नरेन्द्र सर । भागि हाले नि । तपाईंलाई बोलाउँछु भन्दा मेरो पच्चीस हजार शुल्क नै गुम्यो । तर ठीकै छ । किर्ते जालसाजी केसमा पर्न सकिन्थ्यो । धन्न बचियो !’

आखिर हेमन्त नेपालको नाममा लुनीको श्रीमानले पासपोर्ट बनाएर गएको लुनीलाई दिनको घाम जस्तै छर्लङ्ग छ र ओजस्वी पन्थीको नाममा आफैंले पासपोर्ट बनाएर भिजा हानेर पठाएको नरेन्द्रलाई झलझली याद आइरहेको छ । उ कसरी भुल्न सक्थ्यो आफ्नी प्यारी ओजस्वीलाई आफ्नो नाता प्रमाणित गरेको अनि त्यसै नाम थर जोडेर नागरिकता, पासपोर्ट बनाएको !

माघ ३ गते स्मृति म्यारिज ब्यूरो र माघ ६ गते प्रशान्ति म्यारिज ब्यूरोमा आएको उक्त जोडी माघ १० गते अर्पिता म्यारिज ब्यूरोमा पुग्दा प्रहरीको फेला परेको समाचार बुटवलका सबैजसो स्थानीय पत्रिका र राष्ट्रिय दैनिकहरू अन्नपूर्ण पोष्ट अनि नयाँ पत्रिकामा प्रकाशित भएका थिए । यस्तो ठगि गर्ने गिरोहका बारेमा सामाजिक सञ्जालमा भाइरल नै भइसकेको थियो । रहस्य बुझ्दै जाँदा लुनी र नरेन्द्रले त्यो अधबैंसे जोडी हेमन्त र ओजस्वीको नक्कली जोडी बनेर फाइदा लिने दाउमा रहेको सिबिआईको अनुसन्धानले पत्ता लगाई पक्डेर लगेको थाहा भयो । नेपाल जस्तो देशमा पनि लिभिङ टुगेदरको उदाहरणीय जोडीको रूपमा स्थापित भई महिमा र कपिललाई उत्कृष्ट विद्यार्थीका रूपमा शिक्षा दिक्षा, शिष्टाचार, नम्रता, अनुशासन, चरित्र र संस्कारले गुणवान, नीतिवान र चरित्रवान आदर्श विद्यार्थीको रूपमा उत्पादन गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै युरोपेली युनियनले आदर्श जोडीलाई दुई करोड रूपैया एकमुष्ठ दिने कुरा कहाँबाट थाहा पाएछन् र त्यस्ता किर्ते कागज तयार पार्न सहरका म्यारिज ब्यूरो धाउँदै आएका रहेछन् ।

त्यसको एक महिनापछि फरबरी १४ तारेखको दिन भ्यालेन्टाइन डे को अवसर पारेर महिमा र कपिलका अभिभावक लुनी र नरेन्द्रलाई ‘आदर्श लिभिङ टुगेदर जोडी’को रूपमा सम्मान गर्ने उद्देश्य स्वरूप आएको चार करोड रूपैया बुझ्न उनीहरूलाई स्थानीय सरकारमार्फत युरोेपेली संघको पत्र आयो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भ्यालेन्टाइन डे को अवसर पारेर सर्वोत्कृष्ट लिभिङ टुगेदर जोडीको सम्मान गरिने कार्यक्रम रहेछ । पन्ध्र वर्ष भन्दा बढी लिभिङ टुगेदरमा जमेको र कुनै समय पनि सम्बन्धमा दरार नआएको जोडीलाई सम्मान गर्ने कार्यक्रममा बुटवलबाट यस वर्ष नरेन्द्र र लुनी सम्मानित र पुरस्कृत हुने कार्यक्रम रहेछ ।

एउटा भव्य कार्यक्रमबीच नरेन्द्र र लुनीलाई युरोपेली संघको तर्फबाट महामहिम राजदूत माइरा मोराको हातबाट प्याजी रङको गुलाब फूलको गुच्छा सहित दुई दुई करोड रूपैयाको स्ट्याण्डर्ड चार्टड बैङकको चेक हस्तातरण भएको समारोहमा नेपालका परराष्ट्र मन्त्री, परराष्ट्र सचिव लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । महिमा र कपिललाई उक्त कार्यक्रममा बोलाइएको रहेछ । आफ्ना आमाबाबुले आदर्श लिभिङ टुगेदर जोडीको रूपमा सम्मानित भएकोमा उनीहरूमा पनि हर्षको सीमा रहेन । आँखाबाट हर्षाश्रु झार्दै दुवैले एक अर्कालाई अँगालो हालेर खुशी साटे । उत्कृष्ट जोडीको रूपमा बोल्दा नरेन्द्र र लुनीले आफूहरूको यात्रा सफल बनाउन महिमा र कपिलको ठूलो हात रहेको कुरा प्रष्ट पारेका थिए । विदेशिएका पति पत्नीको पिडामा बाँच्न बाध्य पुरुष र महिलाको सन्तानको बाबु आमासँगै बस्ने चाहना पूरा गर्न बाध्यताले शुरु भएको लिभिङ टुगेदर यसरी टिक्दा समाजलाई फाइदा हुने उनीहरूको धारणा थियो । आफूहरू यस समाजको विषम परिस्थितिसँग जुधेर सम्बन्धलाई यहाँसम्म ल्याइ पुर्‍याउन सफल भएको हुँदा सम्बन्धमा सामुहिक स्वार्थ सहित समर्पण भाव हुनुपर्ने कुरामा जोड दिए ।

यता बुटवलबाट इन्जिनिअरिङ अध्ययनको लागि पुल्चोकको छात्रावासमा बसेर अध्ययन गर्दै गरेका महिमा र कपिलको चार वर्षे इन्जिनिअरिङ पढाइ पूरा भएको थियो । त्रिभुवन विश्वविद्यालयले उनीहरूलाई दिक्षीत गर्दै थियो । दिक्षान्त समारोहमा अभिभावकको रूपमा नरेन्द्र र लुनी पनि पुगेका थिए । त्यो दिन उनीहरूका सन्ततीले स्नातकोपाधी हासिल गर्ने दिन भएकाले पनि घर परिवारमा खुशीयाली छाएको थियो । दिक्षान्त समारोहमा स्मृति म्यारिज ब्यूरोका सञ्चालक प्रवेश रेग्मी पनि पुगेका थिए । उनको छोरा सचिनले पनि इन्जिनिअरिङमै स्नातकोपाधी हासिल गरेको थियो ।

आर्किटेक्ट इन्जिनिअरिङमा स्नातकोपाधी हासिल गरेको सचिन महिमासँग बिहे गर्न महिरहत्ते गरिरहेको देखिन्थ्यो र उसले आफ्नो बुबालाई महिमालाई दुलही बनाएर भित्र्याउन के के गर्न सकिन्छ, सो गर्न अनुरोध गरेको थियो । महिमाले उसको दिल चोरेकी थिई । तर उसले महिमाको दिल चोर्न सकेको थिएन । महिमाको दिलमा कपिल बाहेक को हुन सक्थ्यो र ? महिमालाई मन पराउने धेरै केटाहरू उसले कपिल बाहेक अरुलाई वास्ता गर्दिन भन्ने ठानेर उससँग लगन गाँठो कस्ने सपना देख्नु पनि व्यर्थ समय फाल्नु हो भन्थे तर सचिन महिमाको एकतर्फी मायामा डुबेको थियो ।

मलेशियाबाट महिमाका काका अशोक घर आएको एक हप्ता पनि भएको थिएन । उनी छोरी महिमालाई बधाई दिन भाउजुकहाँ आए । प्रियाको साथमा आएका अशोकले भने, ‘भाउजु, हाम्री महिमा पनि २३ वर्षकी भई । पाकेको तोरी र बढेका छोरी राखिरहनु हुन्न भन्छन् । हाइड्रो इन्जिनिअर भएर कमाउन थालीसकेकी छ । अब राम्रो घरानको केटा खोजेर यसको बिहे गरिदिनुपर्‍यो । मैले एउटा उच्च घरानको केटा चिनेको छु । हाम्री महिमासँग जोडी जम्छ । खर्च पनि लाग्दैन । दाइजो तिलक केही दिनु पर्दैन । महिमा पाए हुन्छ भनेका छन् ।’

‘आफ्नै छोरीसँग सोध्नुहोस् न त बाबु अशोक । त्यत्रो स्नातकोपाधी हासिल गरेकी छ हाम्री छोरीले । उसले जो सँग भन्छे उसैसँग बिहे गरिदिनु पर्छ हामीले । कतै आफैं केटा रोजेकी छ भने त्यो त थाहा पाइ राख्नुपर्छ । आजभोलीका केटाकेटीको इच्छा र चाहना विपरित जान सकिन्न, बाबु । जे पनि गर्न सक्छन् । राम्ररी विचार गर्नुपर्छ है ! महिमालाई नसोधी हामी कुनै निर्णय लिन मिल्दैन ।’

आमाले काकासँग गरेको सबै कुरा सुनिसकेकी महिमाले भनी, ‘काकाले कुन केटासँग भन्नु भएको हो र ? के मैले जान्न मिल्छ ?’ ‘किन नमिल्ने ? तिमीसँगै स्कुलदेखि क्याम्पससम्म सँगै पढेको केटा हो । अझ बढी जान्न मन छ भने उ तिम्रो अंकलले काम गर्ने स्मृति म्यारिज ब्यूरोका अध्यक्ष प्रवेश अंकलको छोरा सचिन हो । उ तिमीलाई साह्रै मन पराउँछ । हाम्रो सम्बन्ध गाँस्न पनि मिल्ने परिवार हो । तिमीलाई आर्थिक रूपमा पनि कुनै चिन्ता लिनै पर्दैन ।’

‘धन्यवाद, काका हजुरलाई । हुन त हजुरहरूले मेरो भविष्यको बारेमा चिन्ता नलिइदिए कस्ले लिने ? मेरा बाबा भने पनि काका भनेपनि हजुर नै हो । यत्रो सहरमा मेरो को छ र ? मेरो भविष्यको बारेमा यत्रो चिन्ता लिइदिनु भएकोमा म हजुरप्रति अत्यन्त आभारी छु । यतिबेला बुबा आइदिएका भए कस्तो हुन्थ्यो होला ! तर काका म मास्टर्स नगरीकन र स्थायी जागिर नखाई बिहे गर्ने मनस्थितिमा छैन । केटाको बारेमा त्यतिबेलै निर्णय गरौंला । हुन्न र काका ? काकी के भन्नुहुन्छ ?’ महिमाले उल्टो प्रश्न गरी ।

‘छोरी महिमा ठीक भन्दैछे । उसको बिहे गर्न हामी हतारिन हुन्न । पढाइ र पेशामा चिन्तित छोरीलाई परिवारको घाँडो भिराइहाल्न आत्तिनुपर्ने त कुनै कारण देख्दिन म,’ प्रियाले आफ्नो अभिमत जाहेर गरी । ‘तर यत्रो घरान छाडीहाल्नु पनि हुँदैन हामीले । यस्तो अवसर फेरि आउला नआउला । बिहे गरेपछि पनि पढे हुन्छ । सचिनले महिमासँग अष्ट्रेलियाको सिडनीमा गएर मास्टर्स गर्ने आफ्नो योजना रहेको भनेको छ । पढाइ सकेपछि उतै पिआर लिएर बस्ने भनेको छ,’ अशोकले थपे ।

‘तर तपाईंहरू जस्तोसुकै केटा ल्याउनुहोस् र जस्तासुकै सपना सुनाउनुहोस्, म अहिले कसैसँग पनि बिहे गर्दिन । यो मेरो अन्तिम निर्णय भयो । यो पनि मान्नुहुन्न भने मलाई एक्लै छाडिदिनुहोस् ।’ महिमा सबैको सामु कड्किएर आदर्श नगरतिर कुन साथी हो भेट्नु छ भनेर त्यहाँबाट हिंडी ।

आफ्नो छोरासँग बिहे गर्न महिमालाई नमनाएको भन्ने झोकमा प्रवेशले नरेन्द्रलाई ‘अब आइन्दा म्यारिज ब्यूरोमा नआउनु’ भनेर जागिरबाट बर्खास्त गर्ने संकेत गरेको रहेछ । आफूलाई दुःखका दिनहरूमा सहयोग गरेको प्रवेशले गलहत्ती लगाएपनि नरेन्द्रको उसप्रति कुनै गुनासो थिएन । यद्यपि परिस्थितिले अब नरेन्द्रलाई नोकरी गर्नु पनि थिएन । उता दुई करोड रूपैया सम्मानस्वरूप पाएको नरेन्द्रको परिवार अब किन प्रवेशको नोकरी गरिरहन बाध्य हुनुपर्ने थियो र ? छोरा कपिलले बुटवलको नेपालगञ्ज रोडमा कन्सल्टेन्सी खोल्न तयारी गरिसकेको थियो । महिमा र कपिलले आफ्नो कन्सल्टेन्सी खोल्न विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी सञ्चय कोष, निर्जीवन बिमा गराउने कम्पनी, नेपालकै सबैभन्दा ठूलो हाइड्रो पावर उत्पादक बुटवल पावर कम्पनी लिमिटेड लगायत सबैसँग भेट्ने र आफ्नो उद्देश्य प्रष्ट पार्ने लगायतका अन्य अत्यावश्यक विषयमा राम्रो तयारी गरिरहेका थिए । उनीहरूलाई बाबु आमाले म्यारिज ब्यूरोमार्फत स्थापना गरेको जनसम्पर्क यहाँ पनि पुंजीको रूपमा उपयोगी हुने पक्का थियो । नेपालकै स्वर्ण पदक विजेता इन्जिनिअरको कन्सल्टेन्सीमा सेवाग्राहीको के कम होला र ? कानुनी परामर्शको लागि बुबा नरेन्द्र र जनसम्पर्कका लागि आमा लुनी बुटवलमै गिनेचुनेकामा परेका पात्र नै थिए । सहरमा उनीहरूको बेग्लै पहिचान स्थापित भएको थियो । गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङजाबाट काम र बसाईंको सिलसिलामा बुटवल झरेका र बुटवलमा बसोबास रहेका अधिकांश व्यक्तिहरूसँग उनीहरूको राम्रो सम्बन्ध भएको हुँदा प्रदेश नं ५ को सर्वाधिक सेवाग्राही रहेको कन्सल्टेन्सी बनाउन परिवार नै तन, मन, धन लगाएर अघि बढेको थियो ।

प्रियाले एक दिन महिमालाई फोन गरेर आफ्नो डेरामा बोलाइ । महिमा त्यहाँ पुगेपछि उसलाई एउटा आश्चर्य दिने भनिएको थियो । बेतको सोफामा बस्दै गिलासमा चिसो पानी पिउँदै त्यो के होला भन्दै महिमा सोचमग्न थिई । एकछिन पछि प्रियाले एक अधबैंसे दुब्लो र पातलो मान्छे ल्याएर महिमाको अगाडि राखी दिई । ‘को होला त यो मान्छे ? मेरो मामुसँग फोटोमा भएको जस्तो मान्छे छ, पक्कै मेरो बाबा होला !’ भनेर मनमनै सोचेकी महिमाको मुखबाट झट्ट ‘बाबा !’ भन्ने शब्द निस्कियो । नभन्दै ति अधबैंसे महिमाका बाबु थिए । २२ वर्षपछि आफ्नी प्यारी छोरीसँग भेट हुन पाएका बाउछोरी आँखामा हर्षका भेल टिलपिल पार्दै अँगालोमा घम्लङ्ग बेरिए । प्रशस्त पैसा कमाउँला भनेर कोरिया गएपनि मानव तस्करका फेला परी आफ्नी श्रीमतीलाई खर्चको रूपमा फुटेको कौडी पनि पठाउन नसक्दा आत्महत्या गरुँ कि भनेर विष सेवन गर्न खोज्दा पोखराको कुनै ठकुरी थरको व्यक्तिले खोसेर फाली अनि जीवन बाँच्नुको महत्व बुझाई पोखरा कोरिया समाजबाट आवश्यक खर्चपर्च जुटाई नेपाल पठाइदिएको हुँदा आफ्नो परिवारका सदस्य भेट्न पाएको भन्दै खुशी व्यक्त गरेको थिए । बाध्यताले विदेशतिरै पलायन भएपनि घरको मायाले फर्केर आउँदा छोरीसँग भेटन पाएकोमा अब जिन्दगी बिताउन रहर जागेको बताएका थिए ।

महिमाले आफूले बाबुलाई भेटेको कुरा लुनीलाई बताई । लुनीलाई पनि आफ्नो विदेशमा बेपत्ता भई घर फर्केको पतिसँग भेटने तिब्र इच्छा लागेपछि बुटवलको फूलबारी पार्कमा शनिबारको दिन पुनर्मिलन गराउने व्यवस्था देवरानी प्रियाले मिलाएकी थिई । बिछोडको करौंतीले चिरिएको उनीहरूको मन विगतका कथा सुन्दा सुनाउँदा आँखाबाट बलिन्द्र धारा बगाउँदै गरेको देख्दा जेठानी लुनीप्रति शंकाको आँखाले हेर्ने प्रिया पनि आँशु बगाएर उनीहरूको साथ दिंदै थिई । दुबै जना लामो समयसम्म अँगालोमा बेरिए । उनीहरूले विगतका सबै दुःख सबै बिर्सिए । पहिले जे भएपनि अब छुट्टिएर नबस्ने मनमा इच्छा भएको त्यो जोडी अब के गर्ने भन्ने सम्बन्धमा चाँडै नै निर्णय गर्ने भनेर त्यो दिन एक अर्कासँग छुट्टिए । हेमन्त बुहारी बस्दै आएको अपार्टमेन्टतिर लागे भने लुनी आफ्नो पूर्ववत गुँडतर्फ लागिन् ।

प्रियाले पनि आफूले लुनीको चरित्रमाथि अनावश्यक शंका गरेकोमा जेठानीसँग क्षमा माग्दै भनेकी थिई, ‘दिदी तपाईं त महान हुनुहुँदो रहेछ । यस्ती देवीको चरित्रमाथि व्यर्थैमा अनावश्यक शंका उपशंका गरी मैले आजसम्म के कस्ता लाञ्छना लगाएँ हुँला । मलाई क्षमा दिनुहोस् । हामी नारीले नारीकै विषयमा अनावश्यक शंका उपशंका गरेर टिकाटिप्पणी गर्दा हामी आफ्नै कारणले समाजमा गिरीराखेका छौं । यत्रो शिक्षा आर्जन गरेर शिक्षण पेशा जस्तो मर्यादित पेशामा लागेर पनि मबाट पनि त्यस्तै गल्ती भएका हुँदा मलाई क्षमा गर्नुहोस् । म तपाईंकी सधैं आभारी छु । महिमालाई आफ्नी देवी जस्ती आमाको बारेमा चाहिंदा नचाहिंदा कुरा गरेर उसको मति भ्रष्ट गर्न खोज्दा उसले तपाईंप्रति देखाएको अटुट विश्वास र तपाईंको कदमको खुलेर गरेको प्रशंसाले मेरो घैंटोमा बल्ल घाम लाग्यो । अब म आफू महिला हुँदा हुँदै पनि महिलाकै बारेमा अनेक खाले टिकाटिप्प्णी गर्ने र उनीहरूको घरबार बिगार्ने प्रवृत्तिको अन्त्य गर्न सामाजिक जागरण अभियान बुटबलबाटै शुरु गर्छु ।’

हेमन्त बुटवल आएको एक हप्ता हुँदा नहुँदै ओजस्वी इजरायलबाट काठमाण्डौ ओर्लेको जानकारी भयो । घरेलु कामदारको रूपमा गएका २० जना घर फिरेको समाचार टेलिभिजनमा प्रसारण भएको कपिल र नरेन्द्रले कन्सल्टेन्सीमा हेरेका थिए । आफ्ना जहान परिवारको खोजीमा रहेका त्यस्ता व्यक्तिमा ओजस्वी पनि भएको नरेन्द्रले थाहा पाइ उसले नजिकको प्रहरी चौकीमा खबर गर्‍यो र ओजस्वीलाई काठमाण्डौबाट भैरहवाको जहाज चढेर आए आफूहरू भैरहवा विमानस्थलमा लिन आउने जानकारी पठाएका थिए र तत्बमोजिम उनी आएपछि डेरामा ल्याए ।

ओजस्वी आफ्नो पती र छोरासँग घर फिर्दा यता डेरामा लुनी र हेमन्त उसलाई फूलको गुच्छा लिएर स्वागतमा बसेका थिए । बाबुआमा घरै बसेका भए पनि छोरी महिमा त कपिलका बाबु छोरासँग भैरहवा विमानस्थलमा कपिलकी आमा ओजस्वीलाई लिन गएकी थिई । एउटा निजी गाडी रिजर्ब गरेर ओजस्वीलाई घर ल्याइयो ।

भैरहवा विमानस्थलबाट उनीहरू बसेको डेरामा आउन लगभग ४० मिनेट लाग्यो । ओजस्वी घर नआउँदै गाडीमै आफूले भोगेका जीवनका आरोह अवरोह सबै कपिलले बताइसकेको थियो । महिमाले भनेकी थिइ, ‘अब हाम्रो परिवारको पुनर्मिलन भएको छ । एक जोडी बुबा आमाको कठिन जीवनयात्रामा अब हामीले दुई जोडी बुबा आमा पाएका छौं । यो सम्बन्ध कुनै निहुँमा टुट्न दिनु हुँदैन ।’ महिमाको कुरा आफूलाई असाध्य मन परेको भन्दै कपिलले आफ्ना बाबा आमालाई कुनै पनि निहुँमा सम्बन्ध टुट्ने काम नगर्न आग्रह गरेको थियो । उनीहरूले पनि हरसम्भव प्रयास गरी परिवारको खुशी खोस्ने काम आफूहरूले सकेसम्म नगर्ने प्रतिवद्धता जनाए ।

ओजस्वी घर आइसकेपछि खानपिनको व्यवस्था लुनीका आमाछोरी मिलेर गरे । घरमा ठूलै खुशीयालीका साथ साथै अब के होला भन्ने कौतुहल जागेको थियो । तर अरुले आशंका गरेजस्तो त्यस्तो केही हुने अवस्था थिएन । बाध्यताले सिर्जना गरेका सम्बन्धका आयाम तत्कालीन अवस्थाका लागि मात्रै हुनुपर्छ भन्ने धारणा राख्ने ओजस्वीलाई लुनीले आफ्नी छोरीसँग कपिललाई पनि मातृवात्सल्य दिएकोमा हार्दिक धन्यवाद दिंदै अँगालोमा बेरिन आग्रह गर्दा निःसहाय महिलालाई साथ दिई उसको सन्तानसँगै आफ्नो सन्तान हुर्काउने कुरामा समर्पित भएका हुँदा श्रीमानलाई धन्यवाद दिन चाहन्छु भन्दै झुकेर सम्मान अर्पण गरिन । आफू बाँच्ने र सन्तान पनि बचाउने बाध्यताले स्थापित सम्बन्धलाई पवित्र सम्बन्धको रूपमा समाज र अन्तराष्ट्रिय निकायले नै स्वीकार गरिसकेकोमा उनीहरू के गर्न सक्थे र ? यसरी मिलेर छोराछोरीलाई शिष्ट, सभ्य, अनुशासित, सुसंस्कारयुक्त, गुणवान र आदर्श चरित्र भएका इन्जिनिअर बनाउन अहं भूमिका खेलका नरेन्द्र र लुनीलाई कर्तव्य पालना गर्छु भन्दा विदेशीको पञ्जामा परी बल्लतल्ल घर फिरेका हेमन्त र ओजस्वीले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्ने बाहेक के दिन सक्थे र ? अहिले जे सुकै र जस्तो सुकै भएपनि दुवै जोडीले मनमा विद्वेष नपालीकन सद्भाव राखीदिए पुग्थ्यो ।

भगवानको आशिर्वादले विछोड भई वियोगमा डुबेका पति पत्नी पुनर्मिलन भएपछि वास्तवमा स्वर्गीय आनन्द प्राप्त भइरहेको थियो । वरपरको वातावरण नै प्रेमिल हुँदै थियो । चराचुरुङी नै मिलनको गीत गाउन जुटेजस्तो देखिन्थ्यो । वसन्त ऋतुको आगमन हुँदै गर्दा परिवारमा खुशी छाएको देख्दा अब कुनै न्याउली चरीले विरहको गीत गाउन बन्द गर्छे होली जस्तो भइरहेको थियो । रुखको डालीबाट लुकेर कोइलीले कुहुकुहु गाउँदा भर्खर मिलन भएका ती जोडी आनन्दित महशुश गर्थे । आफूहरू दुई दशकदेखि बस्दै आएको घरको जस्ताको छतमा गुँड बनाएर बसेका भँगेराका जोडी पहिले भन्दा अहिले आएर लुनी र नरेन्द्र समक्ष चिउँ चिउँ गर्दा उनीहरू आफूलाई समझदारी अपनाउन स्मरण गराएको जस्तो ठान्थे ।

लामो सयमसम्म विछोडमा परेका दुबै जोडीका सदस्यले उदार दिलले एक अर्कालाई हेर्ने र एक अर्कालाई शंकाको दृष्टिले नहेर्ने कुरा दिल खोलेर सबैका सामु राखे । दुई दशक दुई वर्षपछि भेट भएका जोडी उच्च तापक्रममा खारिएर फलामबाट स्टील बनेजस्तै देखिन्थे । कसैले पनि एक अर्कालाई नराम्रो सोच्ने त परै जाओस् बरु अब कसरी बाँकी दिनहरू बिताउने सम्बन्धमा छलफल गर्ने तयारी गर्दै थिए । यस्तो विरलै देख्न पाइन्छ ।

दुबै जोडीको पुनर्मिलन भएको एक हप्ता जति भएको थियो । महिमा अपहरणमा परेको र उसलाई छुटाउन दुई करोड फिरौती लिएर आउनु र पुलिसलाई खबर गरेमा ज्यान पनि जान सक्ने धम्की लुनीको मोबाइलमा आयो । ‘यो काम अवश्य पनि सचिनको हुनुपर्छ’ कपिलले लख काट्यो । तर पनि महिमालाई चाँडै नै मुक्त गर्नका लागि फिरौतीका लागि उनीहरूले मागे बमेजिमको रकम पनि तयार पार्ने र प्रहरीलाई पनि खबर गर्ने कुरा भयो । अपहरणकारीले भनेको गोप्य स्थानमा हेमन्त र कपिल गए । वरिष्ट प्रहरी उपरीक्षक सौगात कृष्ण खरेल आफ्नो पूर्ण सुरक्षा तयारीमा अपराधीलाई नियन्त्रणमा लिनेमा विश्वस्त थिए । फिरौती नबुझाई महिमालाई नछाड्ने भन्ने अपहरणकारीको अडानका बाबजुद एक हातमा पैसा अर्को हातमा महिमा गर्ने रणनीति हेमन्त र कपिलले अपनाएका थिए । फिरौती रकम बुझाई महिमालाई बाहिर लिइ आउँदा प्रहरीले पाँच जना अपहरणकारीलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको रहेछ । प्रहरीले अपहरणकारीसँगबाट दुई करोड नगद, पाँच थान चिनिया पिस्तोल र पाँच थान आइफोन बरामद गरेको थियो ।

एउटा पत्रकार सम्मेलन गरी प्रहरीले महिमाको अपहरणकारीलाई सबैको सामु सार्वजनिक गर्‍यो । अपहरणकारीमा पहिले कपिल र महिमाका अभिभावक बनेर किर्ते कागज बनाउन सक्रिय महिला र पुरुषका अलावा पछिल्लो समयमा स्मृति म्यारिज ब्यूरोमा काम गर्न भनेर प्रवेश रेग्मीले राखेका बजार प्रतिनिधि रहेछन् । कपिलको अनुमान सही सावित भयो । उसले प्रवेशका बाबुछोरा दुवैलाई कुनै पनि हालतमा क्षमा नदिने भन्दै दृढ भएर अगाडि बढे । पर्‍यो भने जस्तो पनि कदम चाली सचिनका बाबुलाई सवक सिकाउन लुनीका पति हेमन्त पनि प्रतिवद्ध देखिए ।

महिमाको अपहरण भएपछि उसको बिहे गरिदिने निर्णय लुनी, हेमन्त, प्रिया र अशोकले गरे । यस सम्बन्धमा महिमासँग उनीहरूले सोधे, ‘ल भन, महिमा ! अब तिम्रो को सँग जीवन बिताउने योजना छ ?’ ‘तपाईंहरू सबैलाई थाहा छ माटाको भर ढुङ्गो र ढुङ्गाको भर माटो । आजसम्म म कसको भरमा बाँचेकी छु र कसलाई भर दिएकी छु उसैसँग बाहेक मेरो जोडी जम्नै सक्दैन ।’ लुनीले सांकेतिक रूपमा कपिलसँग बिहे गर्ने इच्छा जाहेर गरेको उसका परिवारका सदस्यलाई थाहा भयो । आमा लुनीलाई त महिमाले यही कुरा बोल्छे भन्ने थाहा थियो । उसलाई थाहा थियो कसरी कपिल र महिमा एक अर्काका मिल्ने साथी थिए र भविष्यको कस्तो कसम खान्थे भनेर । बिहे त स्वर्गमै तय हुन्छ, यहाँ त अभिनय हुने मात्रै हो भन्ने कुरामा विश्वास गर्ने हो भने अब महिमाको बिहे कपिलसँग गराइदिनुपर्छ । यसको कुनै विकल्पै छैन ।’
‘आफैंले छोरा सरह पालेको कपिलसँग छोरीको बिहे गरिदिने भन्छे । कस्ती वाहियात आईमाई रहिछे यो लुनी त । यसमा मेरो असहमति छ । म मान्दिन । तिमीहरू जे सुकै गर्ने हौ गर,’ हेमन्तले अडान लिए । दाइको कुरामा भाइ र बुहारी पनि साथ दिए ।

लुनीले प्रष्ट रूपले भनी, ‘छोरीको इच्छा बेगर बिहे हुन सक्दैन । कसैले मान्दैमा यो बिहे हुने र नमान्दैमा बिहे नहुने भन्ने कुरै हुँदैन ।’

‘बुबा, मामुले भनेको कुरा सही हो । अहिले मैले प्रष्ट भन्नैपर्छ । तपाईंहरू त पछि जोडिनु भएको हो यो कथामा । मन लागे जोडिरहनुहोस्, मन नलागे छुट्टिनुहोस् । हाम्रो पिडा, ब्यथा कसले बुझेको थियो र यत्रा वर्षसम्म ! अहिले आएर यो गर वा त्यो नगर भन्दैमा सबै भइहाल्छ भन्ने दिवास्वप्न देख्न छाड्नुहोस् तपाईंहरू । अन्टीले त बुझ्नुपर्ने, किन बुझ पचाइरहनु भएको छ ? बुझ्नै सक्दिन । म कपिल बिना बाँच्नै सक्दिन र उ पनि म बिना बाँच्नै सक्दैन । ३ वर्ष हुँदा देखिको हाम्रो बालजोडी कसैले लहडै लहडमा चाहँदैमा टुट्दैन । अनि जात गोत्र, कुल घरान के भन्नुहुन्छ, ति सबै मिल्छन् । यति हुँदा हुँदै पनि तपाईंहरू मेरो मामुलाई एक्ल्याउन चाहनुहुन्छ भने पनि केही फरक पर्नेवाला छैन । कपिल पनि मामुलाई मेरो भन्दा धेरै माया गर्छ, आदर गर्छ । मेरो मामु कहिल्यै परित्यक्त हुनुपर्दैन । कपिल र म मिलेर मामुको बुढेसकालको सहारा बन्नेछौं ।’

छोरीको बिहे आफ्नो छोरा सरहको कपिलसँग नै गर्ने भन्ने सम्बन्धमा लुनीले लिएको अडानले हेमन्तले छोरीकै बिहेको दिन आफ्नी पत्नी लुनीसँग सम्बन्ध बिच्छेद गर्ने घोषणा गरे । माइतीपक्षका अभिभावक पुरुषहरूको असहमतिका वावजुद छोरी महिमाको इच्छा र चाहना बमोजिम कपिलसँग बिहे भयो । बुटवलको आदर्श नगर पार्टी प्यालेसमा आयोजना गरिएको भव्य बैबाहिक समारोहमा आफन्ती, जन्ती र साथीसंगीहरूले इन्जिनिअरद्वय कपिल र महिमाको बिहेको ठूलो महिमा गाए । स्वच्छ र पवित्र प्रेमको नमुना देखाएको हुँदा बधाईको ओइरो पाएको यो जोडी इतिहासकै एक आदर्श जोडीका रूपमा स्थापित हुनेछ भन्ने कामना गर्ने उपस्थित आफन्ती, जन्ती, साथी संगी र शुभेच्छु्क सबै थिए । छोरीको ज्वाईंसँग लगन गाँठो कसिंदै गर्दा हेमन्तले लुनीलाई सम्बन्धको गाँठो फुकाई विवाह बिच्छेदको उपहार दिए । स्मृति म्यारिज ब्यूरोका तर्फबाट अध्यक्ष प्रवेश रेग्मीले तयार पारेको कागजमा हस्ताक्षर गरी लुनीले हेमन्तको सम्बन्ध बिच्छेद सम्बन्धी आवेशमा आएर गरेको निर्णयलाई स्वागत गरिदिएकी थिई । पछि थाहा भयो प्रवेशकी श्रीमती स्मृतिसँग उनले सोही दिन लगनगाँठो कसेर सचिनका बाबु छोरा दुबैलाई चकित पारेका रहेछन् ।

-पोखरा १७, बिरौटा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली उपन्यास and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.