~विष्णुरुद्र शर्मा~
महाकबि देवकोटाका साहित्यिक महासागरबाट केही हरफहरु लिएर वहाँको अध्यात्मबादलाई हाम्रो ब्यवाहारिक जीवनमा अति सार्थक मार्ग दर्शक बनेको श्रीमद्भगबद्गीताका केही श्लोकहरुसङ्ग तुलनात्मक रुपले हेर्न सकिन्छ । गीताजीको यो श्लोक र देवकोटाको “यात्री” कवितामा अन्तरनिहित भाव भिजेर निचोरिएको वस्त्रमा ओसिलोपन एकाकार भए जस्तै मानवीयता र मानवसेवाको उच्चतम् रुप देख्न सकिन्छ । यस सन्दर्भमा श्रीगीताजीका श्लोकहरुलाई उद्धरण गर्दै थोरैमा गहन भाव उल्लेख गर्न सकिन्छ । श्रीमद्भगबद्गीताको दशौं अध्याय अन्तर्गत २०औं श्लोकमा भगवान श्रीकृष्णले आज्ञा गर्नुहुन्छ —
“अहमात्मा गुडाकेश सर्वभूताशयस्थित ।
अहमादिश्च मध्यं च मध्येम्च भूतानामन्त एव च ।।२०।।
यसको सोझो अर्थ, “हे अज्ञानतामाथि विजय प्राप्त गरेका अर्जुन ! म नै सबै प्राणीका हृदयमा रहने परमात्मा हूँ , म नै तिनीहरुको उत्पत्ति, स्थिति र अन्त्यको कारण हूँ ।” जसरी भगवान श्रीकृष्णले सबै प्राणीमा आँपूmलाई देख्नु भएको छ त्यसै गरी प्राणी मात्राको शरीरमा भगवानको बास भएको कुरा महाकवि देवकोटाको यात्री कवितामा अभिव्यक्त तलका सुन्दर तर खँदिला हरफहरुले पुष्टि गरेका छन् —
“हाडहरुका सुन्दर खम्बा माँश पिण्डको दीवार,
मस्तिष्कको सूनको छाना, इन्द्रियहरुको द्वार,
नशा नदीका तरल तरङ्ग, मन्दिर आँपूm अपार ।”
माथिका दिव्य उद्गारहरुलाई हाम्रा जीवन र जगतका हरेक अनुभूति र भोगाइ अनि जीवन जीवनमय हुनुपर्छ भन्ने मान्यताका कसीमा दाँजेर अलिकति मात्रै भए पनि हेर्ने प्रयत्न गरेमा महाकवि देकोटामा ईश्वर प्रतिविम्वित भएको सहजै खुट्ट्याउन सकिन्छ । एउटा सानो झ्यालको प्वालबाट सारा सन्सार चियाउन सकिए जस्तै यी पंक्तिहरुका माध्यमबाट महाकवि देवकोटाको प्राणीमा ईश्वर देख्न सक्ने आध्यात्मिक दृष्टिकोण र ईश्वरको अपार अवस्थिति प्राणी जगतमा रहेको आभाष हुन्छ ।
यस्तै भगवान श्रीकृष्णले श्रीमद्भगबद्गीताको अध्याय २, श्लोक १३ मा अर्जुनलाई कुरुक्षेत्रमा प्रेरित गर्दै आज्ञा गर्नुहुन्छ—
“देहिनोऽअस्मिन् यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।। १३।।
यसलाई सरल रुपमा नेपालीमा भन्नुपर्दा हाम्रो भौतिक शरीर लगातार परिवर्तन हुँदै बालकबाट यौवन र बृद्धावस्थामा परिणत हुन्छ, त्यसै गरी जो व्यक्ति शरीरको नाश र उत्पत्तिका विषयमा आशक्त वा मोहित हुँदैनन् जन्म र मृत्युमा विचलित हुँदेनन् ती मानिसहरुको मृत्योपरान्त जीवात्माको पनि अर्को शारीर प्राप्त हुन्छ । श्री गीताजीका यी लहरले अर्जुनलाई आफन्तको मृत्युमा चिन्तित हुने हैन, उनको कर्मयुद्धमा निस्वार्थ लीन हुन प्रेरित गरेझैं महाकवि देवकोटा स्वयं मृत्युको अन्तिम घडीमा शान्त भवन अस्पतालमा पनि आँफ्नो कर्ममा तल्लीन हुनुहुन्थ्यो । त्यस बखत वहाँले अर्बुद रोगको त्यो पीडामा पनि आफ्नो उपचार गरिरहेको बिदेशी डाक्टरलाई अङ्ग्रेजीमा कविता सुनाई चकित पार्नुभएको थियो ।
भगवान श्रीकृष्णले अर्जुनलाई दिव्यज्ञान उपदेश दिनुभएको कुरा महाकवि देवकोटाले भने स्वयं आँफैले यसप्रकार आत्मसात गरी हाम्रा माझ तलका गंभीर हरफहरुमा व्यक्त गर्नुभएको छ —
“रहेछ संसार निशा समान,
आएन जिउँदै रहँदा नि ज्ञान,
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो ज्ञान, न भो विवेक”
यसरी महाकवि देवकोटाको ब्रह्मले अन्त्यावस्थामा आफ्नो तुलनात्मक रुपले छोटो तर गहन जीवनयात्राको भोगाइको निश्कर्ष भगवान श्रीकृष्ण नै सबैका एक भएको दिव्य जनाउ हामीका बीच दिएर जानुभएको छ । महाकवि देवकोटाका कृतिहरु, सोचाइ र कार्यहरुलाई गीताजीमा निहित जीवन र जगतका गुढ रहस्यका आडमा तुलनात्मक विवेचना गर्न सकिन्छ्र । केवल यसमा नश्वर जीवनको यथार्थतालाई ठम्याउने आध्यात्मिक दृष्टि मात्र चाहिन्छ्र । महाकवि देवकोटालाई आध्यात्मिक दृष्टिले देख्न सक्ने सार्थक व्यक्तिहरुले आज पनि वहाँलाई ध्रूव तारा झैं चम्किरहेको देख्न सक्छन् ।
वहाँका यी कृतिहरु केवल पूर्व मेची र पश्चिम महाकाली नदीको सङ्कुचित राजनैतिक सिमानामा मात्र सीमित नरही हाम्रा पुर्वजले आर्जेका सीमाना तथा जहाँ नेपालीहरु पुगेका छन् त्यहीं सम्म फैलिएको छ भन्नु अतिशयोक्ति नहोला । यस्तै दिव्य दृष्टि नेपाल बनाउँछु भन्ने सबैलाई मिलोस् अनि प्रथमतः नेपालीमात्रामा नै ईश्वर देख्ने बानीको विकाश भई सर्वे भवन्तु सुखिनः को मर्म सबैमा जागृत होस् अहिलेलाई यही शुभकामना ।
(स्रोत : प्रतिध्वनि – वर्ष १, अङ्क १, सन् २०११, विक्रम सम्वत्। २०६८ )