~हेमाङ्गराज अधिकारी~
नेपाली भाषा छापाखानामा प्रवेश गरेपछि नै यसको मानकीकरण विशेष चर्चाको विषय बनेको हो। छापाखानाले लेख्य भाषाको प्रयोगको विस्तारमा व्यापक स्थान ओगटेको हुन्छ। प्रकाशनका गतिविधिमा जे जति विस्तार हुँदै गयो उति मानक प्रयोगप्रति पनि भाषाका प्रयोक्ताको चासो बढ्नु स्वाभाविक हुन्छ। प्रकाशनको प्रारम्भका केही दशकभित्र नै नेपालीको लेखन कथ्यवादी र लेख्यवादी धारमा विभाजित हुन थालेको थियो। एक थरीले नेपालीको लेख्य स्वरूपलाई कथ्यको निकट राख्ने जमर्को गरे भने अर्को थरीले यसलाई कथ्यभन्दा निकै फरक बनाउने कोसिस गरे । यस लेखमा उक्त दुई धारमा विभाजित दृष्टिकोणको चर्चाका साथै पछिल्ला गतिविधिले तिनका बीच समन्वयको खोजी गरेको तथ्यमाथि प्रकाश पारिएको छ।
१. नेपाली लेख्य मानकलाई कथ्य भाषाको निकट ल्याउने प्रयास
१.१ गङ्गाप्रसाद प्रधानको कथ्यवादी दृष्टि
नेपाली भाषालाई कथ्यको निकट बनाउने प्रयास सर्वप्रथम दार्जिलिङबाट सुरु भएको देखिन्छ। यसका लागि गोर्खे खबर कागज् भन्ने खबर पत्रिकाको प्रकाशन उल्लेख्य घटना हो। उक्त पत्रिका गङ्गाप्रसाद प्रधानको सम्पादकत्वमा सन् १९०१ बाट निस्कन थालेको हो। यसमा दार्जिलिङतिर प्रचलित बोलीलाई प्राथमिकता दिई सामग्रीहरू प्रकाशित हुन्थे। यसका सम्पादक प्रधान स्वयम् नेपालीको लेख्य स्वरूपलाई कथ्य भाषाको निकट बनाउने अभियानका पक्षधर भएकाले उक्त पत्रिकाको भाषामा संस्कृत र हिन्दीको प्रभाव कम देखिन्छ। तर त्यस समयमा वनारस र काठमाडौंमा बसेर कलम चलाउनेहरूका लागि उक्त कुरा त्यति पाच्य विषय बनेन।
दार्जिलिङबाट गोर्खे खूबर् कागजको प्रकाशन प्रारम्भ भएकै सालमा अर्थात् वि. सं. १९५८ मा काठमाडौंबाट गोरखापत्रको प्रकाशन पनि सुरु भएको हो । गोरखापत्रको प्रकाशन आधुनिक नेपालीको प्रारम्भ विन्द् मानिए पनि गोर्खे खबर कागज पनि त्यसै विन्दुको घटना थियो। यी दुई पत्रिकाको प्रकाशन सँगसँगै नेपाली भाषाको मानक स्वरूपका विषयमा बहसको सुरुआत भएको बुझिन्छ । गोर्खे खबर कागज़ले निर्देश गरेको मानक कथ्यवादी देखिन्छ। भने गोरखापत्रको मानक कथ्यभन्दा अलि फरक नै देखिन्छ।
१.२ टर्नरको कथ्य नेपालीप्रति झुकाव
टर्नरले नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक कोश ( सन् १९३१) मा लेख्य मानकलाई कथ्यको निकट बनाउने प्रयास गरेको देखिन्छ । उनले तत्सम (संस्कृत) बाहेकका शब्दमा ह्रस्व लेखनमा जोड दिए। यसरी उनले तद्भव र आगन्तुक शब्दमा श, ष को प्रयोग नगरी स मात्र प्रयोग गरे। व र ब मध्ये उच्चारणका आधारमा ब को प्रयोगलाई, ञ् को सट्टा न् लाई र ह्रस्व-दीर्घमध्ये ह्रस्वलाई महत्व दिई उच्चारण अनुसार हिज्जेलाई प्रोत्साहित गरे। कथ्यवादी लेखनको परम्परालाई टर्नरको शब्दकोशले पनि पछ्याएको छ।
१.३ विभाषी शब्द र संस्कृत शब्दहरूको प्रयोगप्रति पुष्कर शमशेरको सतर्कता
पुष्कर शमशेरले पनि विभाषी शब्दका सेपले नेपाली भाषाका ठेट शब्द हराउन लागेकोमा चिन्ता व्यक्त गरेको पाइन्छ । संस्कृत शब्दहरूको अत्यधिक प्रयोगले पनि यसलाई असर पारेको उनको ठम्याइ छ। जीवित भाषाको लक्षण नै बदलिँदै जानु हो भन्ने मान्यता राख्ने उनी कथ्य र लेख्य भाषामा धेरै भिन्नता हुनु उचित ठान्दैनन्।
उनले तत्सम शब्दमा आउने ञ्, ण् को उच्चारण न् हुने र क्ष को उच्चारण छ्य हुने ज्ञ उच्चारण ग्यँ हुने उल्लेख गरेका छन् । तद्भव शब्दका आदि र मध्यमा हस्व हुने र स मात्र प्रयोग हुने उल्लेख गरेको पाइन्छ। यसरी नेपाली भाषाको मौलिकताबारे चिन्तन र यसको संरक्षण तथा सुरक्षणका लागि पुष्कर शमशेरले विशेष प्रयास गरेको देखिन्छ।
१.४ महानन्द सापकोटाको जनजिब्रोवाद
नेपाली भाषा प्रचारक सङ्घ नामक संस्था २००८ सालमा स्थापना गरेर तराई क्षेत्रमा नेपाली भाषाको प्रचार प्रसारमा लागेका सापकोटाका जनजिब्रोवादी दृष्टिकोण भने विशेषतः २०२१ सालपछिका उनका प्रकाशनमा मुखरित भएका देखिन्छन् । यद्यपि उनी झवादीका पनि प्रेरक व्यक्तित्व भएको कुरा स्वयम् झरॊवादीले स्विकारेका छन् । उनका अनुसार जनजिब्रो भाषाको सविता हो। भाषाका शब्द र अर्थको जनक र नियामक यही जनजिब्रो हो। जनजिब्रो व्याकरणका पछि लाग्दैन, व्याकरणले जनजिब्रोका पछि नलागी धरै छैन। अझ अर्को ठाउँमा व्याकरणले जनजिब्रोमा रोक लगाउनु हुँदैन भन्दै उनी लोकले बोलेको बोली व्याकरणमय हुन्छ भनेका छन्। यसरी उनी परम्परागत निर्देशनमुखी व्याकरणका कट्टर विरोधी र आधुनिक वर्णनात्मक व्याकरणका पक्षपाती देखिन्छन्। अर्को शब्दमा उनी भाषा विज्ञानका ज्ञाता नभए पनि व्याकरण भाषाभित्र हुन्छ भन्ने दृष्टिकोणलाई आफ्नै ढङ्गले पुष्टि गर्छन् । भाषामा परिवर्तन स्वाभाविक हुनु पर्छ, कृत्रिम होइन भनी झरॊवादीले नव शब्द निर्माणमा अँगालेको कृत्रिमताप्रति उनी असहमत देखिएका छन्। महानन्दले आपनो व्युत्पत्तिमूलक नेपाली शब्द परिचय नामक कोशमा भाषिक राष्ट्रवादको छनक दिएका छन् । उनले उर्दू, हिन्दी वा अङ्ग्रेजीबाट नबिटुलिएका शब्द मात्र आफ्नो कोशमा समावेश गर्ने जमर्को गरेका छन् । यसले उनी आगन्तुक शब्दहरूप्रति बढी अनुदार देखिएका छन् ।
१.५ फर्रावाद
वनारसबाट २०१३ सालमा निस्किएको नौलो पाइलो पत्रिकाबाट यसको सुरुआत भए पनि यसमा वनारसी पृष्ठभूमिको आभास भेटिंदैन। नेपाली भाषाले आफ्नो मौलिकता र पहिचान भुल्न लागेको र संस्कृत, हिन्दी र अङ्ग्रेजीको प्रभावलाई अत्यधिक रूपमा भित्र्याएको विरोधमा यो अभियान अगाडि आएको हो। त्यसैले यसले काशी भासे बोली अर्थात् वनारसमा बसेर पढेका नेपाली भाषीको लेखन शैलीप्रति विमति जनाएको छ। नेपाली भाषामा परेको विभाषी प्रभावलाई रोक्न यस भाषालाई कथ्यको निकट लैजानु आवश्यक भएको कुरामा झवादका अभियन्ता बालकृष्ण पोखरेल, तारानाथ शर्मा, बल्लभमणि दाहाल, कोषराज रेग्मी, चूडामणि रेग्मी आदिको जोड़ रहेको थियो । यस अभियानले नेपालीमा हिन्दी, अङ्ग्रेजी र संस्कृतको अत्यधिक अतिक्रमणका विरुद्ध आबाज उठाएको, संस्कृतमा जस्तो समास भएका लामा शब्दहरूलाई एउटै डिकोमा लेख्ने समस्त शैलीको विरोध गरी यस्ता शब्दलाई पनि पद वियोग गरी लेख्नमा जोड दिएको, स्थानीय शब्दहरूको प्रयोगलाई प्रोत्साहित गरेको र वर्ण विन्यासको प्रयोगमा तद्भव नियमलाई प्रोत्साहन गरी सरलीकरण गर्न सघाउ पुग्याएको आदि कुराले कथ्य मानकको निर्माण र लेख्य मानकलाई कथ्यको नजिक ल्याउन आधार भूमि तयार पारेको देखिन्छ ।
संस्कृतनिष्ठ क्लिष्ट शब्द र शैलीको प्रयोग बढ्दै जाँदा नेपालीको ठेट शब्द र शैली हराउँदै जाने आशङ्कालाई झवादीहरूले चर्चामा ल्याएर नेपाली भाषाको विकासमा गुन लगाएका छन् । यिनलाई ठेट नेपालीको प्रयोगमा जोड दिने पुष्कर शमशेर र जनजिब्रोको प्रयोगलाई महत्व दिने महानन्द सापकोटा जस्ता भाषा चिन्तकहरूबाट प्रेरणा प्राप्त भएको बुझिन्छ। यिनीहरू नयाँ शब्द लिँदा भरसक स्थानीय भाषिका वा भाषाबाट शब्द लिन रुचाउँथे। तर ग्रामीण शब्दहरू भित्र्याउने यिनीहरूको अभियानलाई वनारस, दार्जिलिङ र काठमाडौंका सहरियाहरूले रुचाएका थिएनन्। यो कुरा काठमाडौंबाट निस्कने नेपाली साहित्यका क्षेत्रमा लामो समयसम्म प्रसिद्धि कमाएको रूपरेखा पत्रिकामा २०१८ सालतिर झरों टरों भन्ने स्थायी स्तम्भ नै प्रकाशित भएबाट पनि पुष्टि हुन्छ ।
१. ६ शिवराज आचार्यको जिम्दो नेपाली भाषा
नेपाली लेखन उच्चारण अनुसार हुनु पर्छ भन्ने भाषाविद्हरूमा शिवराज आचार्य पनि उल्लेख्य छन्। उनले भाषाको जिम्दो स्वरूपलाई प्रोत्साहन गर्नु पर्ने सन्दर्भ उठाएर जिम्दो नेपाली भाषाको पक्षमा कलम चलाएका हुन् । उनका अनुसार नेपालका विभिन्न ठाउँमा बोलिने नेपाली बोलीहरूको समष्टिमा व्याकरण खोजिनु पर्छ। उनको भनाइमा स्तरीय भनेको पन्डित्याइँले युक्त हुनु हुँदैन।
२. नेपाली लेख्य मानकलाई कथ्यभन्दा फरक बनाउने प्रयास
२.१ हलन्त बहिष्कार
राममणि आ.दी.ले वनारसबाट १९६५ सालमा माधवी पत्रिकाको प्रकाशन सुरु गरेर नेपाली भाषाको लेख्य मानकलाई छापाखाना अनुकूल बनाउने प्रयास गरे। त्यसका लागि उनले नेपालीको लेखनमा शब्दहरूको हलन्त उच्चारणलाई कथ्यमा जे जस्तो छ, त्यस्तै नलेखी अजन्त लेख्न थालेकाले यसबाट लेख्य नेपालीको मानकीकरणमा ठूलो हलचल उत्पन्न भयो। यसरी नेपालीको लेखन कथ्यभन्दा फरक हुन्छ भन्ने कुरा स्थापित गर्न हलन्त बहिस्कार आन्दोलनको विशेष प्रभाव रह्यो।
राममणिले हलन्त बहिष्कार गर्न सके मात्र नेपाली भाषा हाम्रो देश सुहाउँदो हुने र भाषामा सुधार हुने र यसको प्रतिष्ठा बढ्ने कुरा गरेको पाइन्छ। उनले एक ठाउँमा नेपाली भाषालाई हिन्दीकी बहिनी तुल्याउने प्रण गरेको उल्लेख गरेका छन् । तर खानछ, बसछ, जानछ, उडछ, हिँडछ, पढदछ आदिमा अजन्त लेखिए पनि उच्चारण भने हलन्त नै हुने उनको भनाइ छ। यसबाट पनि के बुझिन्छ भने नेपाली भाषाको उच्चारण जस्तो लेखिन्छ। त्यस्तो नभएर जस्तो बोलिन्छ त्यस्तै हुन्छ। त्यसो भए यसको लेखनलाई पनि जति सकिन्छ उच्चारणको नजिक लैजान सक्दा बेस हुने हो तर यसको विपरीत नेपाली भाषाको लेखनलाई चाहिँ कथ्यभन्दा निकै भिन्न पार्ने उनको आग्रह बुझ्न त्यति सजिलो देखिंदैन। यसरी तत्कालीन हिन्दी भाषा को सुधारका प्रयासबाट प्रभावित राममणि आ.दी. ले लेख्य भाषाको मानक कथ्यभन्दा निकै फरक हुन्छ भन्ने दृष्टिकोण राखेर काम गरेको देखिन्छ ।
२.२ तत्कालीन मध्यमार्ग
नेपाली भाषाको लेख्य मानकका विषयमा राममणिका अवधारणा प्रचारमा आएपछि भरखर बामे सर्दै गरेको यस भाषाको लेख्य मानकबारे निकै ठूलो बहस चलेको बुझिन्छ । त्यसलाई शमन गर्न हेमराज पाण्डेको १९६९ सालमा प्रकाशित गोरखा भाषा चन्द्रिका व्याकरणले धेरै हदसम्म मदत गरेको देखिन्छ । यसले राममणिको हलन्त बहिष्कारवादी दृष्टिकोणलाई केही संशोधन गरी मध्यमार्ग अँगाल्यो। उक्त क्रममा विशेषतः क्रियापदलाई उच्चारण अनुसार नै लेख्ने दृष्टिकोण राखिएको थियो। यसरी हलन्त बहिष्कारप्रति मध्यमार्गी दृष्टि राखेर नेपाली भाषाको पहिलो वृहत् व्याकरण प्रकाशित भएको हुँदा बौद्धिक वर्गमा पनि यसले प्रभाव जमाउन सकेको देखियो । यही व्याकरणको सेरोफेरोमा रहेर नेपाली भाषा प्रकाशिनी समितिले १९९२ मा नेपाली कसरी शुद्ध लेख्ने ? पुस्तिका प्रकाशित गरेबाट पनि नेपाली लेखनको क्षेत्रमा यस पुस्तिकाको प्रभाव र दबाब बढ्न गएको बुझिन्छ। यसले नेपालभित्र मात्र होइन, तत्कालीन समयमा नेपाली भाषा साहित्यको गतिविधिका केन्द्रका रूपमा चिनिने नेपाल बाहिरका दार्जिलिङ र वनारसलाई पनि केही हदसम्म प्रभावित पायो।
दार्जिलिङको खर्साङबाट चन्द्रिका नाममा नै पारसमणि प्रधानको सम्पादकत्वमा १९७४ तिर एउटा पत्रिका प्रकाशित भयो। त्यस पत्रिकाको भाषालाई गङ्गा प्रसाद प्रधानले काशी भासे बोली भनी टिप्पणी गरेका थिए। काशी भासे बोलीको पत्रिका पढ्न र बुझ्न संस्कृत निकै जान्नु पर्ने भनी उनले गरेको व्यङ्ग्यबाट पनि के थाहा हुन्छ भने नेपाली भाषाको लेख्य मानकमा संस्कृत र हिन्दीको अत्यधिक प्रभाव अधिक रहेको थियो । उक्त टिप्पणीले वनारसबाट प्रकाशित सुन्दरी (१९६३) र माधवी (१९६५) पत्रिका संस्कृततिर झकाब राख्ने खालको भएको र काठमाडौंबाट प्रकाशित गोरखा पत्र (१९५८) पनि त्यसकै हाराहारीमा गएको आभास गराउँछ। यद्यपि पारस मणिको प्रयास काशी भासे बोलीको प्रवक्ता हुनेभन्दा नेपाली भाषाको एकरूपता प्रवर्धनमा लक्ष्यित देखिन्छ। त्यसो भए पनि कथ्यको निकट मानक खोज्नेहरूका दृष्टिले त्यो काशी भासे हुन गएको बुझ्न सकिन्छ।
उल्लिखित मानकको स्थिरीकरण गर्न गोपाल पाण्डेले त्यसको सेरोफरोमा रही नेपालीको शिक्षणका लागि उपयोगी नेपाली रचना दर्पण (१९९४), ह्रस्वदीर्घ आदिको सवाई (१९९७) र रचना केशर (२०००) जस्ता पुस्तकहरू प्रकाशनमा ल्याएर महत्वपूर्ण योगदान गरेका थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बाल चन्द्र शर्माको नेपाली शब्दकोश (२०१९) ले पनि यसै मध्यमार्गी अवधारणालाई पछ्याएको देखिन्छ ।
३. समन्वयवादी प्रयास
३.१ साझा प्रकाशनको पहल
नेपाली वर्ण विन्यासमा सुधारका लागि २०२९ सालतिर साझा प्रकाशनले भाषाविद् तथा लेखकहरूको एउटा वृहत् भेला गराएको थियो। त्यस भेलामा संस्कृत शब्दहरूलाई तत्सम मानी तिनको हिज्जे तत्सम नियम अनुसार नै गर्ने र त्यसभन्दा बाहेकका तद्भव र आगन्तुक शब्दहरूको हिज्जेका सम्बन्धमा भने नेपाली नियम अनुसार लेख्न सकिने सहमति भएको कुरा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा २०५७ मा आयोजित नेपाली वर्ण विन्यास विषयक अधिगोष्ठीमा मन्तव्य दिने क्रममा डा. वासुदेव त्रिपाठीले उल्लेख गरेका छन्
(पन्थी, २०५७:४२) ।
३.२ त्रिभुवन विश्व विद्यालयका प्रयासहरू
साझा प्रकाशनको भेलाले उठान गरेको नेपाली वर्ण विन्यास सुधारको अभियानलाई त्रिभुवन विश्व विद्यालयका अनिवार्य नेपाली पढाउने शिक्षकका गोष्ठीहरू (२०३४-०३५) ले अझ व्यवस्थित रूपमा अगाडि बढाएको देखिन्छ। ती गोष्ठीबाट अनुमोदित वर्ण विन्यास का प्रस्तावित प्रावधानलाई अनिवार्य नेपाली शिक्षण निर्देशन ( लिथो २०३६ र मुद्रित २०४३) का रूपमा प्रकाशित गरियो। यसरी विश्व विद्यालयले गरेको यो प्रयासलाई प्राज्ञ बालकृष्ण पोखरेलको प्रधान सम्पादकत्वमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश २०४० मा समेटियो। आगन्तुक शब्दहरूको वर्ण विन्यासलाई उच्चार्य मानकको निकट लैजान तिनलाई तद्भव नियम अनुसार लेख्ने कुरामा कोशका सम्पादक भाषाविद्हरूका बीच सहमति जुटेको देखियो । उक्त सहमतिको कार्यान्वयन यही शब्दकोशबाट अगाडि बढेको हो । यति हुँदा हुँदै पनि आगन्तुक शब्दहरूको तद्भवीकरणमा पनि केही अपवादहरू रहेका र क्षति पूरकका साथै शिष्ट प्रचलन भनी कतिपय तद्भव शब्दहरूको वर्ण विन्यासमा पुरानै नियमले निरन्तरता पाएकाले यिनको मानकीकरणमा पछिल्ला दिनमा मन्द प्रगति भएको अनुभव गरियो। विद्यालय तहका पाठ्य पुस्तकमा २०५६ मा आएर मात्र आगन्तुक शब्दहरूको तद्भवीकरणले ठोस रूपमा प्रवेश पायो । त्यसपछि यसको कार्यान्वयन राष्ट्रिय स्तरका छापा माध्यमहरूमा पनि हुन थाल्यो। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०५७ मा गरेको वर्ण विन्यास गोष्ठीले ऐतिहासिक व्युत्पत्तिका आधारमा क्षति पूरक दीर्घाभवन भनी दीर्घ लेखिने गरेका मीठो, पीठो, तीतो, तीखो आदि शब्दलाई तद्भव भएकाले ह्रस्व लेख्न सिफारिस गरेको उल्लेख्य छ -पन्थी, २०५७ : ५५) ।
वृहत् शब्दकोशको वर्ण विन्यासको स्थापनालाई अनुसरण गरी त्यसमा भएका अपवादलाई समेत न्यूनीकरण समेत गरेर २०६१ म प्रयोगात्मक नेपाली शब्दकोश प्रकाशनमा आएको देखिन्छ। यसको लगत्तै २०६२ मा बालकुमारी कलेज, चितवनमा नेपाली वर्ण विन्यासका सम्बन्धमा गोष्ठी भएको थियो। यसले प्रचलित वर्ण विन्यासमा देखिएका प्रमुख असङ्गतिहरूलाई औंल्याएको थियो । सोही वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, रुम टु रिड र हिमाल एसोसिएसन जस्ता संस्थाको संयुक्त पहलमा आयोजित गोष्ठीमा लेख्य नेपालीको एकरूपीकरणबारे छलफल भयो। यस गोष्ठीमा विशेष गरेर संयुक्त क्रियापदको पदयोग र पद वियोगका समस्याका बारेमा चर्चा भयो र संयुक्त क्रियालाई पद वियोग गरी लेख्नु पर्नेमा जोड दिइयो। पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीले २०५६ मा निकालेको प्रकाशन शैली पुस्तिकालाई २०६३ मा केही संशोधनका साथ प्रकाशनमा ल्यायो। यसले विशेषतः संयुक्त क्रिया र लामा समस्त शब्दलाई पद वियोग गरी लेख्न सुझाएको थियो।
उल्लिखित पृष्ठभूमिमा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले २०६५ सालमा स्नातक तहको अनिवार्य नेपाली पाठ्यक्रम परिमार्जन ग-यो । सो अनुरूप अनिवार्य नेपाली निर्देशिका २०६६ तयार गरी साझा प्रकाशनबाट प्रकाशित भयो। यसले क्षति पूरक दीर्घ भनिने मीठो, पीठो, तीतो आदिका साथै सङ्ख्या वाचक शब्दहरूको आदि र मध्य इकार उकारलाई पनि हस्व लेख्न सिफारिस गरयो। साथै लामा नामयोगी, लामा समस्त शब्द र संयुक्त क्रियालाई समेत पद वियोग गरी लेख्न सकिने अवधारणा अगाडि साच्यो। यसको लगत्तै साझा प्रकाशनद्वारा गठित शैली पुस्तिका निर्माण उपसमितिले तयार पारेको नेपाली वर्ण विन्यास सम्बन्धी प्रतिवेदनलाई गरिमा को २०६६ असोज अङ्कमा छापियो। यसमा श्रुतिसम भिन्नार्थक शब्द भनी ह्रस्व र दीर्घले विभेद देखाउने प्रचलनलाई असान्दर्भिक मानेको छ। नेपाली भाषाको मानक उच्चारण अनुसार माल, ताल, गोल, मेल, कर जस्ता भिन्नार्थी शब्दका भिन्न भिन्न अर्थ सङ्कथन सन्दर्भबाट स्वतः बुझिने हुँदा ह्रस्व र दीर्घ चिह्नले मात्र लेख्य रूपमा कृत्रिम भिन्नता देखाउन खोज्नुको खास औचित्य देखिएन। तसर्थ फुल, पुरा, जुन जस्ता शब्दले पनि कथन सन्दर्भ अनुसार अर्थ भेद जनाउन सक्ने हुँदा यिनमा दीर्घ चिह्नको भार भिराइ रहनु आवश्यक ठानिएन। यसै पृष्ठभूमिमा आएको चन्द्रगढी घोषणा पत्र २०६६ चैतले नेपाली वर्ण विन्यासका क्षेत्रमा देखिएका पछिल्ला संशोधनलाई समग्रतामा १८ बॅदामा उल्लेख गरेर लेख्य नेपाली भाषाका प्रयोक्ताहरूको ध्यानाकर्षण गराउने काम गरेको देखिन्छ।
उल्लिखित संशोधनलाई २०६७ साल जेठदेखि कक्षा ११ को सबैको नेपाली पाठ्य पुस्तकमा लागू गरिएको छ। वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय सङ्गोठी २०६७ (पुस) ले पनि यसका धेरैजसो प्रावधानलाई अनुमोदन गरेको देखिन्छ । उक्त सङ्गोष्ठीले केही प्रावधानमा भने थप छलफल गरी निष्कर्षमा पुगिने जनाएको छ।
४. अन्त्यमा
नेपाली लेखनलाई उच्चारणको नजिक ल्याउने प्रयासमा धेरै विद्वान्हरू अग्रसर भए। प्रारम्भमा उनीहरूका प्रयासहरूको सुनुवाइमा भने निकै कम चासो देखाइएको थियो। तर मानकीकरणका पछिल्ला प्रयासमा भने यसप्रति अभिरुचि बढेको देखिन्छ। यसलाई आधुनिक भाषा विज्ञानका अध्ययनले पनि साथ दियो। त्रिभुवन विश्व विद्यालयबाट भएका प्रयासहरूमा यसको झल्को पाइन्छ । अहिले नेपाली भाषाको कथ्य मानक पनि स्थिरीकृत हुन थालेकाले लेख्य मानकलाई उक्त कथ्य मानकको नजिक ल्याउन केही सजिलो भएको छ। आगन्तुक (विशेषतः अङ्ग्रेजी, उर्दू, हिन्दी आदिबाट भित्रिएका) शब्दहरूको वर्ण विन्यासमा तद्भवीकरण नियमको उपयोग र नेपालीकै तद्भव शब्दहरूको वर्ण विन्यासमा देखिएका अनेकरूपतालाई कम गर्दै लैजाने कुरामा निकै उपलब्धि मिलेको छ । समग्रमा नेपाली वर्ण विन्यासमा गरिएका सुधारले यस क्षेत्रका प्रयोक्तालाई अत्यधिक नियमको बोझबाट उन्मुक्ति दिने, वर्ण विन्यासलाई सरल र अनुमेय बनाउने तथा लेखनमा देखिने भद्दापन कम गर्ने तर्फ अभिमुख गराएको देखिन्छ। यसलाई नेपाली बृहत् शब्दकोशले सुरु गरेको अभियानकै निरन्तरता मान्न सकिन्छ। यद्यपि काशी भासे बोलीकै आडमा केही संशोधनका साथ नेपाली भाषाको मानक प्रचलित भएकाले यसको विपक्षमा वेला वेलामा विरोध र असहमतिका स्वरहरू सुनिदै छन्। असहमति मात्र होइन, नेपाली वृहत् शब्दकोशलाई मानक कोश भनिए पनि काठमाडौंका केही रैथाने प्रकाशनले अझसम्म पनि त्यसलाई आत्मसात् नगरेको स्थिति देख्न सकिन्छ। यसको व्यक्तिगत कारण जे भए पनि संस्थागत कारण भने जान्न सकिएको छैन।
भाषाको विकास उच्चारण अनुसार नै अगाडि बढ्ने हुन्छ । त्यसैले उच्चार्य मानक र लेख्य मानकका बीच धेरै दुरी उचित हुँदैन । वेला वेलामा दुरी घटाउने प्रयास गरिनुपर्छ । अनावश्यक दूरी बढ्दै गयो भने भाषा जटिल बन्दै जान्छ। उच्चार्य मानकको निकट लेख्य मानक भएमा अनुमेयता बढ्छ र भाषाको सरलीकरणमा पनि मद्दत पुग्छ । यसो भएमा मात्र नेपाली भाषा साधारण प्रयोक्ता को पहुँच को विषय बन्न सक्छ ।
सन्दर्भ ग्रन्थ सूची
- कोइराला, जीवन चन्द्र (सम्पा.२०५८) पुष्कर शमशेर स्मृतिग्रन्थ, काठमाडौ : कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
- पन्थी, टीकाराम (सम्पा. २०५७) नेपाली वर्ण विन्यास विषयक अधिगोष्ठी, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- पोखरेल, बालकृष्ण (सम्पा. २०३९), पच्चिस वर्षका भाषिक चर्चा, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- प्रधान, पारसमणि (२०२७) भाषा प्रवेश नेपाली व्याकरण, कालिम्पोङ : भाग्यलक्ष्मी प्रकाशन ।
- शमशेर, पुष्कर (२००१) नेपाली सजिलो व्याकरण, काठमाडौं : साझा प्रकाशन
- शर्मा, सुकुम (२०५६) नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, काठमाडौं : वाङ्मय प्रकाशन
हेमाङ्गराज अधिकारी,
प्राध्यापक,
त्रिभुवन विश्व विद्यालय
(स्रोत : प्रतिध्वनि – वर्ष १, अङ्क १, सन् २०११, विक्रम सम्वत्। २०६८ )