युद्ध कविता : खण्डहर सिरिया

~अनुपम “नवोदित”~

यतिखेर म
यो गोल भूगोलको एउटा कुनामा
युद्धविजय नहुँदै
रन्थनिएको सिपाही जस्तै
बारुदले रंगिएको जिन्दगी बोकेर
गोलीले छेडिएका जिन्दगी घिसार्दै
फेरि,
नयाँ जीवन पाउने आशामा
उत्कट-उत्कट अभिलाषामा
अर्को कठोर युद्ध लड्दै गर्दा
अनायास,
टेलिभिजनको क्यानभासमा
यसो नजर लगाउछु
देख्छु सिरियाको आकाशको नीलिमालाई
मिसाईलको कालो धूवाँले ढाकिरहेछ
निर्दोषका छातिहरुमा
बन्दुक र संगीनहरु ताकिरहेछ
हत्याका शृङ्खलाहरुलाई
एकपछि अर्को डाकिरहेछ
हत्याका काला बादलहरु मडारिएकाछन्
निर्दोष जिन्दगीका लासहरु पसारिएकाछन्
सुन्दर शहरहरु पछारिएकाछन्
बाल वृद्धहरु तछारिएकाछन्
मानवता लछारिएकाछन्
ए ! शासकहरु !
ए तानाशाहहरु !
कथित मानव अधिकारको मन्त्र जप्दै
खै ! कसरी गर्छौ मानवताको रक्षा !
बिदेशी बन्दुकले
खै ! कसरी गर्छौ राष्ट्रियताको रक्षा !
बिदेशी मिसाईलले
देशै खण्डहर मरूभूमीमा परिणत भएपछि !
मानवकै जिउँदो अस्तित्व समाप्त भएपछि !

५ मार्च २०१८,
कालिन्चोक गाउँ पालिका
लापिलाङ दोलखा ।
हाल : पराईभूमी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.