कविता : मेरो माटो मिच्यौ भने

~गणेश खड्का~

भक्तिको लौह गर्दनको कसम !
आधा होसमा र आधा बेहोसमा हुँदै होइन
पुरै होसमा चौतर्फी सोचविचारका साथ
दुधको दुध,पानीको पानी बक्दैछु –
मेरो एक इन्च माटो मिच्यौ भने
म तिमीहरुको दुई इन्च गर्दन छिनाइदिनेछु
मैले टिस्टा नदी उकालो फर्काउन बाँकी नै छ ।
.
गोर्खालीको चौडा छातीको कसम
मलाई घाइते सिंह बनाउनेहरु
जिउँदो बाघको मुखमा अगुल्टो कोच्नेहरु
आइलागेपछी जाइलाग्नु जङ्गली जनावरको पनि धर्म हो
म त सद्दे मान्छे,…एकदम सद्दे !
आफ्नो भूमि रक्षार्थ
मेरा पूर्खाले छोडेर गएको दिव्य उपदेश मलाई कण्ठस्थ छ –
‘जाई कटक नगर्नू,…झिकी कटक गर्नू’
मेरो एक हात सिमा अतिक्रमण गर्यौ भने
म तिमीहरुको दुवै हात गिंडीदिनेछु
मैले असमान सुगौली सन्धि च्यात्न बाँकी नै छ ।
.
छिमेकी भनेको त सुख-दु:खमा साथ दिने
मर्दा-पर्दा काम लाग्ने,अर्म-पर्म चल्ने
भर-अभरमा भेटिने,साह्रो-गाह्रोमा देखिने पो हुनुपर्दछ त
कहाँ सधैं घरमाथिको डिलबाट छानामा डुङ्गा हान्ने
अनि घरमुनिको कान्लो कोपरेर पहिरो तान्ने हुन्छन् र ?
***

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.