~अनामिका~
अनुवाद : सुमन पोखरेल
“आफ्ना ठाउँबाट निस्केपछि
कतैका रहँदैनन्
केश, आइमाई र नङहरू”-
व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी
हामीलाई संस्कृत पढाउने गुरु ।
ठाउँ? ठाउँ भनेको के हो?
त्यसरी बुझेका थियौँ हामीले
एक कक्षामा पढ्दैखेरी ।
याद थियो हामीलाई एकएक क्षण
आरम्भिक पाठहरूको –
राम, पाठशाला जा !
राधा, खाना पका !
राम, आइज मिठाई खा !
राधा, घर बढार् !
भाइको सुत्ने बेला भयो
गएर ओच्छ्यान लगा !
आहा! नयाँ घर!
राम, हेर यो तेरो कोठा हो!
‘अनि मेरो?’
‘ए, लाटी,
छोरी त हावा, घाम, माटो हो
उसको कुनै घर हुँदैन’।”
जसको कुनै घर नै हुँदैन-
कसरी उसको कुनै ठाउँ होस्?
कुन ठाउँ हुन्छ यस्तो
जो छोडिएपछि आइमाइ बन्ने गर्छ;
काटिएका नङहरू, र
काइँयोमा झल्झिएर उखेलिएका केशजसरी
बढारेर मिल्काइदिने खाले?
घर छुट्यो, आँगन छोडियो, छोडिए मान्छे र बगैँचाहरू
केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिए!
छुट्दै गए ठाउँहरू
तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त
कहिल्यै लाग्दै लागेन!
परम्पराबाट छोडिएपछि केवल यस्तो लाग्छ-
कुनै ठूलो क्लासिक रचनाबाट झिकेर
बी.ए. पासकोर्सको प्रश्नपत्रमा छर्किएको
एउटा सानो पङ्ति हुँ –
चाहन्नँ तर
कोही गर्न थालोस्
मेरो सप्रसङ्ग व्याख्या ।
सारा सन्दर्भहरूलाई पार गरेर
मुस्किलले उडेर पुगेकी छु
त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ
जसरी पढिन्छ तुकारामको कुनै
अधूरो अम्भग!
(मूल हिन्दी “बेजगह” बाट अनूदित कविता – सुमन पोखरेल)