~रमेश भट्टराई ‘सहृदयी’~
बाहिर स्याल तर भित्र सिंह गर्जन उस्ता–उस्तै यहाँ
मखुण्डोमा देउता देख्छु तर दानवीय रुप दुरुस्तै यहाँ
रित्तिएको पुख्र्यौली थोत्रो भाँडोको भिखले नपुगेपछि
जुर्मुराए बुख्याँचाहरू निरीह रगत चुस्दा–चुस्दै यहाँ
कहाँ दुख्छ देश खोज्छु खै तर सक्दिन घाउ भेट्न
छाडा खोटो संस्कारले स्वाभिमान मुस्दा–मुस्दै यहाँ
शिष्ट एकता, संस्कृति र सभ्यता बलात्कृत भएपछि
बिरामी छौँ साम्प्रदायिक किटाणुहरू घुस्दा–घुस्दै यहाँ
राज्य, क्षेत्र, प्रदेश रे विखण्डनमा बली बोका जनताहरू
परिवर्तनका नाममा देश नाङ्गिँदै छ लुछ्दा–लुछ्दै यहाँ