कथा : जिनिस

~सुन्दर मानन्धर~Sundar Manandhar

भर्खरै कक्षाभित्र प्रवेश गरेको एकजना युवक पातलो शरीर, गडेको आँखा, लामो नाक, छुस्स दाहृी बढेको, चप्पल लगाएको, लामोकपाललाई तेल लगाएर पछाडि फर्काएको, पाइन्ट बाहिरै कमिज, हातमा पुस्तक र कापी लिएको– मन तानियो ।
कक्षामा अन्य विद्यार्थीका तुलनामा ऊ भिन्नै देखिन्थ्यो ।

अगाडिको बेञ्च खाली थियो । विद्यार्थीहरु पछि–पछि बसेका थिए । ऊ सबभन्दा अगाडिको उक्त बेञ्चमा आएर बस्यो ।

उमेर सानै भएपनि उसको व्यवहार देख्दा परिपक्व लाग्थ्यो । ऊ निकै भावुक देखिन्थ्यो, उसको उदासिन चेहरा कालोपाटीतर्पm तेर्साउथ्यो । मैले पढाइरहदा उसले कापीमा टिपिरहन्थ्यो ।

पहिलो दिनमा नै म उसको व्यवहार देखेर भ्रममा परेको थिएँ ।

करिब एक हप्तासम्म पनि उसको व्यवहारमा कुनै परिवर्तन देखिनँ, ऊ सधैँ एक्लै अगाडि बस्थ्यो, ध्यान दिएर पढ्थ्यो ।

अर्थव्यवस्थासम्बन्धी शीर्षक थियो त्यो दिन–पूँजीवाद, समाजवाद, मिश्रित अर्थतन्त्र……। त्यो दिन उसले निकै ध्यान दिएर सुन्यो, पढ्यो र टिपिरह्यो ।

भोलिपल्टको कक्षामा पनि उस्तै गरी सुनिरह्यो, टिपिरह्यो । घण्टी लागेपछि म निस्केँ । म बाहिर निस्के लगत्तै ऊ पनि बाहिरियो । र भन्यो– “सर मलाई अर्थशास्त्रसम्बन्धी रुची छ तर अध्ययनका लागि पर्याप्त पुस्तक पाएको छैन, पुस्तकालयमा पनि यससम्बन्धी खासै पुस्तकहरु भ्ेटिनँ, कुनचाँहि पुस्तक पढ्दा राम्रो होला ?”

जीवनमा पहिलोपटक एउटा विद्यार्थीबाट यति नजिकिएर ज्ञानको तृष्णा मेटाउने आभाष पाएको थिएँ मैले ।

मैले झोलाबाट पुस्तक झिकेर दिदै भनेँ– “भोलि चाँहि यो पुस्तक लिएर आउनू नि, राम्रोसँग अध्ययन गर्नू ।”

तर अफसोस् ! ऊ भोलिपल्ट आउँदै आएन । एक हप्ता बितिसक्दा पनि ऊ आएन । मलाई उसको मूख्र्याइँप्रति असाध्यै रिस उठ्यो । म आफै पनि कति मूर्ख रहेछु जस्तो लाग्यो किनभने चिन्दै नचिनेको मान्छेलाई पुस्तक दिएको थिएँ मैले । उसको नामसम्म पनि सोध्न भुलेछु । को हो ? कहाँको हो ? कक्षाका अन्य विद्यार्थीलाई पनि उसको परिचय थाहा रहेनछ, कसैले नचिनेको मान्छे देखेमात्र चिनिने भएको थियो ऊ ।

करिब दुई हप्तापछि आयो ऊ । म कक्षामा पस्नुभन्दा अगाडि नै ऊ मलाई कुरेर बसिरहेको रहेछ । मलाई देख्नेबित्तिकै उसले माफी माग्दै भन्यो– “सर, घरमा बुबा विरामी हुनुभएको खबर अकस्मात् आयो, त्यसैले म हिडिहालेँ, हजुरको किताबसम्म दिन पाइनँ । यतिका दिनसम्म यो पुस्तक दोहोर्याइ–तेहेर्याइ पढ्न पाएँ । यो पुस्तकले मेरा आँखा खोलिदियो ।” यति भनिसकेपछि उसले हातमा भएको पुस्तक मलाई दियो ।

‘मेरो आँखा खोलिदियो ।’– यो वाक्यले म अझ ऊप्रति भ्रममा परेँ ।

म केही बोलिनँ, पुस्तक लिएँ मात्र, त्यसपछि कक्षाभित्र प्रवेश गरेँ, ऊ चाँहि मभन्दा पहिले नै कक्षामा छिरिसकेको थियो ।

त्यो दिन उसले मसँग समाजवादी र पूँजीवादी अर्थतन्त्रका बारेमा बौद्घिक बहस गर्यो, कक्षाका अन्य विद्यार्थीहरु भने ट्वाल्ल परेर हेरिरहे ।

शायद ऊ एक क्रान्तिकारी विद्यार्थी रहेछ !

त्यही दिन थाहा पाएँ– उसको नाम रामप्रसाद रहेछ ।

क्रमशः कक्षाकोठा र कक्षाबाहिर ऊ मेरो सम्पर्कमा आइरहन्थ्यो, ऊ एक इमान्दार, कर्तव्यपरायण विद्यार्थी थियो, उसले मप्रति अति आदरभाव दर्शाउथ्यो ।

एकदिन ऊ मेरो घरमा आयो । मैले उसको घरपरिवार र उसको व्यक्तिगत कुराको बारेमा सोधेँ । उसले भनेको थियो– “सर, म त क्रान्तिमा होमिएको मान्छे, शायद हजुरले हामीजस्ता मान्छेलाई मन पराउनुहुन्न होला !”

“जीवन बाँच्न त तपाईँहरुले जान्नुभएको छ नि !” मैले भनेको थिएँ ।

“के गर्नु सर; मसँगैका साथीहरु अहिले एम. ए. पढ्दै छन्, म चाहिँ बल्ल क्याम्पसको ढोकाबाट भित्र प्रवेश गर्दैछु । पढ्ने बेलामा क्रान्ति नै सबथोक भन्दै जीवन अर्पण गरेर हिडियो, बुर्जुवा शिक्षा किन पढ्ने ? भन्दै स्कुल कलेजहरुमा भाषण गरियो । अहिले थाहा हुँदैछ– कति अँध्यारो विचार रहेछ त्यो, औपचारिक शिक्षा कति महत्वपूर्ण हुँदोरहेछ । बुर्जुवा शिक्षा भन्न सिकाउनेहरुले नै त्यो शिक्षा सबैभन्दा धेरै पढेका हुँदा रहेछन् । नबुझ्न त पाइन्छ होला नि सर ?”

उसले मप्रति तेर्साएका प्रश्नहरु सुनेर म अवाक् भएँ । केही छिनपछि भनेँ– “हो नबुझ्ने अधिकार सबैलाई छ तर बुझेर पनि नबुझ्ने अधिकार कसैलाई छैन, यसले मानिसभित्र अन्धज्ञानको विकास गर्छ ।”

ऊ बारम्बार म कहाँ आउँथ्यो र यस्तै बहसहरु गरिरहन्थ्यो । मैले उसका हरेक तर्कका उत्तरहरु चित्तबुझ्दो समाधान गरिदिन्थेँ, त्यसैले ऊ मबाट प्रभावित भएको थियो ।

करिब छ महिनाको अवधिमा ऊ विद्यार्थीबाट साथी जस्तै बनेको थियो ।

भेटघाटका क्रममा म उसको अतीत कोट्याउथेँ, ऊ नढाँटी उत्तर दिन्थ्यो । उसले द्धन्द्धकालका आफ्ना जीवनका सारा निजी जीवनका घटनाहरु सुनाउथ्यो । मलाई लाग्थ्यो– यति सानो उमेरमा कति–कति अनुभव गरिसकेको ! म छक्क पर्थेँ ।

द्धन्द्धकालमा रामप्रसाद जोश बनेको रहेछ । द्धन्द्ध समाप्तिपछि क्यान्टोन्मेन्टमा बस्न मन नलागेर ऊ बाहिरिएको थियो । बाहिरिनुको मुख्य कारण रहेछ– अध्ययन ।

एकदिन रामप्रसादले खुशी को कुरा सुनायो । आफ्नो जीवनसँग खुशी कसरी जोडिएर आएकी रहिछिन्– सारा वृत्तान्त वर्णन गर्यो, पर्सबाट सेतो–कालो मिसिएको जिनिस देखाएपछि त म झन् त्रासदीपूर्ण स्थितिमा पुगेँ ।

सोचेँ– म मात्रै किन सुनूँ रामप्रसाद उर्फ जोश को त्रासदीपूर्ण कथा ! पाठकहरुसमक्ष प्रस्तुत गर्ने सोच बनाएँ ।

रामप्रसादकै अनुमति र आग्रहमा कथा लेख्ने भएँ– जिनिस ।

+ + + +

म अचेल आफ्नो बारेमा भन्दा देशको बारेमा अलि बढी नै सोच्ने गर्छु । किनभने देशमा राम्रो शासन व्यवस्थाको आरम्भ भयो भने मात्र म लगायत सम्पूर्ण नागरिकले सुख र शान्तिपूर्वक जीवन बिताउन सक्ने हुन्छौँ । हामीमध्ये एकजना बिग्रिएर केही हुँदैन तर देश बिग्र्यो भने हामी साराका सारा बिग्रन्छौँ, त्यसैले म देशको बारेमा अलि बढी नै सोच्ने गर्छु ।

मेरा सोचाइहरु सगरमाथाको चुचुरोसम्म पुगेपछि भङ्ग हुन्छन्, त्यहाँभन्दा माथि टेक्ने ठाउँ पाउँदिन म, म अटालिन्छु, तलै ओर्लनुपर्छ म– उफ् ! उचाइ पनि कति होचो ! सगरमाथाभरि पैmलिन्छु म, हिउँ पग्लिएर पहाड र तराईका खेतबारी, बस्तीहरुमा पुग्छु म– अझ बगेर विशाल भीमकाय समुन्द्रमा मिसिन्छु म ।

मानवताले बाँचेको छाती गर्वले ढुक्कसँग फुल्न थाल्छ ।

ब्युतन्छु–
वर्षायाम; हिजोदेखि झरीको झरी छ, पानी पर्न रोकिएको छैन । साउने झरीको के बयान गर्नु ! खहरे खोलाहरु उत्पातसँग उर्लेका छन्, धर्तीभरि कुहिरो, आकासभरि डम्म बादलले ढाकेको छ । आशा गर्छु– एकदुई दिनभित्रै यो कुहिरो हट्नेछ, बादलहरु वर्षेर सकिनेछन्, उर्लेका खोलाहरु घट्नेछन्– सधैँ यस्तै कहाँ हुन्छ यो प्रकृति ? !

+ + + +

भmरी नै झरीको बिहान छाता ओढेर बाहिर निस्केँ, सडक सुनसान थियो । मोटरगाडीहरु चलेकै थिएन । दुईतीन दिनदेखिको मुसलधारे वर्षाले पहिरो गएर बाटो बन्द छ भन्थ्यो । बाटो–बाटै हिडिरहेँ, हिड्नुको प्रयोजन विनै पनि हिडिरहेँ । खै किन हो विना अर्थ हिड्नुमा पनि उत्साह थियो, एक्लै यात्रामा पनि सन्तुष्ट थियो मन ।

“……मनि पर्स…..देखेँ” कपडाको रहेछ, कालो रङको पर्समा चे ग्वेभारा को रातो रङको छातीदेखि माथिल्लो भागको तस्विर, कस्तो–कस्तो आँखा, लामो कपाल, तारा अङ्कित टोपी– क्युबाली क्रान्तिका नायक, अदम्य साहसका खानी, क्युबादेखि बोलिभियाका सडक र जङ्गलहरु, जङ्गलभरि छरिरहेको !

ब।ेलिरहे भैm लाग्यो ऊ– “तिम्रो देशको क्रान्तिको अर्थ मैले बुझिनँ ।”

सुरुमा त मनले पर्स टिप्नै मानेन, चे को तस्वीर देखिएपछि के भएर हो अनायासै हात त्यहाँ पुगिसकेछ ।

सम्झेँ– क्युबाली राष्द्रिय गीत– “हामी पनि चे जस्तै बन्नेछौँ…..”

अर्को मनले भित्रैदेखि सम्झेँ– कस्तो ! चे जस्तो ? अठतीस वर्षको अल्पायुममै शहादत प्राप्त गर्ने ! अन्याय, अत्याचार, र शोषणका विरुद्ध लडेर जनताको राज्यसत्ता प्राप्तिमा हम्मेशा सङ्घर्षरत रहने ! एक इमान्दार, निस्वार्थी, कर्तव्यनिष्ठ, अन्तर्राष्ट्रियवादी सोचको व्यक्ति बन्ने ! बन्ने……..!”

एउटा मनले भन्यो– सिक्नुपर्ने कुराहरु धेरै छन् यहाँ, प्रेरक व्यक्तित्वहरु थुप्रै छन् यहाँ, जुनसुकै विचार वा सिद्धान्त मान्ने मान्छे भएपनि अरुको विचार वा सिद्धान्तलाई अटाउन सक्ने फराकिलो छाती हुनैपर्छ । मानिसको मस्तिष्क विचारहरुको भण्डारण केन्द्र हो, विचारहरु घोलेर नयाँ विचार बनाउनुपर्छ ।

आपूmलाई मन परेको मान्छेको तस्वीरले तत्क्षणै कहाँ–कहाँ पुर्याउदो रहेछ !

यस्तो बन्न÷हुन मन लाग्यो– म कुनै पनि मानिस, प्राणी, वनस्पति वा थोक लाई अतिशय पे्रम र अतिशय घृणा गर्ने मान्छे हुनबाट मुक्त बन्न सकूँ ।

पर्स राम्रोसँग सर्च गरेँ– जम्मा छ सय एक रुपैयाँ, कागजातहरु, फोटाहरु, फोटो चाहिँ दुईवटै कम्ब्याट पोसाकमा, काँधको फिटामा पि. एल. ए. लेखिएको ।

लाग्यो– कुनै जनमुक्ति सेनाको पर्स हो यो ।

अर्काको नासो के राख्नु– मनमनै सोचेँ, उसैलाई फिर्ता दिनुपर्ला– सोच बनाएँ ।………..तर कसरी दिनु !

पर्स अझै राम्रोसँग सर्च गरेँ–
डायरी भेटेँ– भित्री भागमा, रातो रङको रहेछ ।
मोबाइलको नम्बर रहेछ– ९८४……..

फोन गरेँ– मैले उसलाई पर्स पाएको जानकारी दिएँ ।

कति–कति धन्यवाद दियो उसले ।

भोलिपल्ट बिहानै ऊ मेरो घरमा आयो । सुरुमा त मैले चिन्नै सकिनँ । परिचय गरेँ– जोश रहेछ ऊ । उसले आफनो थर केही भनेन । ठेगाना भनेन । मैले पनि अरु केही सोधिनँ ।

उसले फेरि पनि धन्यवाद दियो ।

पर्स दिएँ । निकै हतारमा उसले पर्स हेर्यो ।

सोध्यो उसले– “यस पर्सभित्र एउटा सानो कालो–कालो जिनिस देख्नुभएन ? मलाई त यो पैसा, कागजपत्रको भन्दा त्यो जिनिस को बढी माया लाग्छ ।”

उसको भनाइसँगै मैले त्यो चिज सम्झेँ– पर्स पाएकै दिन टेबुलमा टाढैबाट फ्याक्दा कालो–कालो टुक्रा पर्सदेखि बाहिरिएको थियो । मैले त्यसलाई डस्टबिनमा फ्याकिदिएको थिएँ ।

डस्टबिनमा खोजेँ, त्यही रहेछ, मैले उक्त जिनिस उसलाई दिएँ । ऊ त्यो जिनिस छातीमा टाँसेर भक्कानो फुटाएर रुन थाल्यो । ऊ रुँदै–रुँदै मेरो घरदेखि बाहिरियो, म हेरेको हेर्यै भएँ ।

सोचेँ– के होला त्यो जिनिस ! अति आश्चर्य लाग्यो । त्यो जोश त्यसै–त्यसै सेलाएको जस्तो लाग्यो । उसको व्यवहारले उसलाई सद्धे मान्छे भन्नै सकिनँ ।

तीनदिनपछि रातको दस बजेतिर ऊ मेरो घरमा आयो, ऊ एक्लै थिएन, उसको साथमा एकजना ऊ जत्तिकै उमेरको मान्छे पनि थियो । जोश ले ऊनी धागोले बुनेको झोला कन्दनी भैm भिरेको थियो, कालो रङको छाता उसको हातमा थियो । उसको साथी भने खाली थियो ।

वर्षायाम भएपनि त्यो दिन पानी परेको थिएन । आकासमा बादलका टुक्राहरु छरिएका देखिन्थे । शुक्लपक्ष भएकाले बादलका टुक्राका बीच–बीचबाट जूनका किरणहरु धरतीभरि व्याप्त थियो । मौसमी उन्माद थियो ।

हात मिलाइसकेपछि जोश ले भन्यो– “सर, म तपाईलाई लिन आएको, आजको रात तपाई मसँग बस्नुपर्छ । कृपया तयार हुनुहोस् ।”

मलाई अप्ठयारो लाग्यो । पर्स भेटेर उसैलाई दिएँ, यो रातको समयमा कहाँ जाऊँ भन्छ । नजाऊँ पनि कसरी ! जाऊँ पनि कसरी ! अपहरण शैलीमा कुरा गर्छ ।

एकक्षण त म स्तब्ध भएँ । मनले जाने निर्णय गरेँ ।

‘जाऊँ’ भन्यो । उसँगै आएको मानिससँग परिचय गरेँ– प्रताप रहेछ ऊ ।

तीनजना सँगसँगै हिड्यौँ । घरमा बुबाआमालाई साथीहरुसँग जान्छु भनेर ढाँटे । वास्तवमा उनीहरु मेरा साथी थिएनन् ।

घरदेखि केही पर पुगेपछि दक्षिणतर्पmको कच्ची सडक हुदैँ अगाडि बढ्यौ । हिड्दै गर्दा उसले मलाई भन्न थाल्यो– “सर, मेरो व्यवहारले तपाईलाई अवश्य पनि दुःख लाग्यो होला, तपाईको मनभित्र विभिन्न आशङ्काहरु जन्मिएका होलान् । म तपाईप्रति अति आभारी छु भन्ने कुरा म कसरी व्यक्त गर्न सकूँला र !आज म तपाईलाई मेरा विगत र जिनिस को बारेमा केही कुरा भन्न यहाँ ल्याएको छु । तपाईले मेरो पर्स फेला नपारिदिनुभएको भए शायद त्यो मेरो हातमा पर्ने थिएन । उस्तै मान्छेहरु भए पैसा लिएर पर्स कहाँ फ्याकिदिन्थे होलान् । मेरो पर्स मेरो जिनिस पाएर मलाई खबर गरि दिनुभएकोमा म तपाईप्रति कति ऋणी छु ! म कसरी तिर्न सकूँला र त्यो गुन !”

कुरा गर्दै बाटो काट्दै गर्दा विशाल जङ्गलको छेउमा पुग्यौँ हामी । कच्ची सडक जङ्गलको बीचैबीच माथितिरको गाउँमा पुगेको थियो ।

कच्ची सडक बन्नुभन्दा पहिले गाउँका मानिसहरु बजारसम्म आउने गोरेटो बाटो थियो त्यो । झण्डै–झण्डै सिधा उकालो बाटोलाई फन्को मार्दै कच्ची सडक माथि गाउँतिर पुगेको थियो ।

केही माथि पुगेपछि हामी पुरानो गोरेटोतिरबाट उकालियौँ ।

एकैछिनको हिडाइपछि चौतारो आयो । जोश ले त्यही बस्न आग्रह गर्यो । हामी तीनैजना त्यहाँ बस्यौँ ।

रात छिप्पिदै थियो । तीनैजना चूपचाप बसिरह्यौँ । शून्य बन्यो त्यो पहर । शुन्यतालाई चिर्दै जोश ले भावुक स्वरमा भन्न थाल्यो– “कमरेड ! मलाई यो धर्ती अनि यो जीवन किन यति सारो नीरस–नीरव लागिरहेछ ? बाँच्ने इच्छा र चाहनाहरुमा किन बारम्बार ज्वालामुखी विस्फोट भइरहेको छ ? किन छताछुल्ल छ यो मन ! हिजोका दिनहरुमा क्यामोफ्लेज बनेका यी दूबो, पाती, घाँस, झ्याङ् र लहराहरुसँगको साइनो किन यसरी टुट्दैछ ? सेल्टर बनेका यी गोठ, पाटी र घरहरुको अति स्निग्ध प्रगाढ सम्बन्धमा किन तुषारापात भइरहेछ ? मैले प्राण हत्केलामा राखेर क्रान्तिमा होमिएको मलाई नै क्रान्तिको यो परिभाषा किन अधूरो र अपूरो लागिरहछ ?”

रातको करिब बाहृ बजेको थियो । धरती सुनसान थियो । जङ्लको बीचमा रुखको फेदममुनि ओत लिइरहेका जोश, प्रताप र म निस्तब्ध अन्धाकारभित्र रुखका हाँगा र पातका छिद्रहरुबाट आएको जूनको थोरै उज्यालोभित्र आँखालाई सान्त्वना दिइरहेका थियौँ । विशाल जङ्गलघारीभित्र किराहरुका टिनिन्नÒ टिनिन्नÒ आवाज बाहेक शुन्यता व्याप्त थियो । यस्तोमा जोश को आवाज ध्वनितरङ्ग पर–पर सम्म पैmलियो ।

सर, आज मैले तपाईँलाई यहाँ किन ल्याएँको छु ? शायद तपाई बुझ्नुहुन्न, त्यो दिन म जिनिस देख्नेबित्तिकै रोएको थिएँ, हो आज मैले त्यही जिनिस को बारेमा तपाईलाई यथार्थ वर्णन गर्न यहाँ ल्याएको हूँ । तपाईहरुको लागि यो जिनिस काम नलाग्ने चीज हो, तर मरा लागि यो जिनिस प्राण हो । मेरो पर्स फेला पारेर मलाई दिनुभएकोमा म तपाईप्रति फेरिपनि कति–कति कृतज्ञ बनेको छु । क्रान्तिपछिका यी दिनहरु म यही जिनिस को सहाराले बाँचिरहेछु ।

भन्दै गयो जोश – “त्यतिबेला खुशी र म गाउँकै एउटा माध्यमिक विद्यालयमा पढ्ने छात्र–छात्रा थियौँ । सानैदेखि सँगै बढेका–पढेका साथै छिमेकी थियौँ । गाउघरको सानो–सानो बजार हो– हाम्रो गाउँ । जातले म नेवार, उनी गुरुङ थिइन् । सानैदेखि सँगै खेलिहुर्केका हामी दुईमा एकअर्काप्रति उमेरसँगै आत्मीय भाव बढिरहेको थियो ।

वि. सं. २०५२ फागुन १ गतेबाट सुरु भएको माओवादी सशस्त्र जनयुद्धले आरम्भका दिनहरुबाटै हाम्रो गाउँलाई प्रभाव पार्न थालिसकेको थियो । ती दिनहरुबाटै हाम्रो गाउँका दुईचार जना मानिसहरु भूमिगत भइसकेका थिए । उनीहरु भूमिगत भएको खबर पाएपछि जिल्ला सदरमुकामबाट हाम्रो गाउँमा बारम्बार पुलिसहरु आउने, खोजतलासी लिने गर्दथे । सुरु–सुरुमा त उनीहरुले केही गरेनन्, पछि विस्तारै पुलिसहरु गाउँमा आएर मानिसहरुलाई सास्ती दिन थाले । हामी त्यतिबेला साना–साना केटाकेटी नै थियौ, मेरो उमेर त्यतिबेला एघार वर्षको थियो । पुलिसहरुले हामीलाई पैसा, मिठाइको प्रलोभन देखाएर भूमिगत भएकाहरुको बारेमा सोध्थे तर हामीलाई केही थाहा हुँदैनथ्यो । उनीहरु भूमिगत भएको खबरका बारेमा हामी अनभिज्ञ हुन्थ्यौँ । यो भूमिगत भनेको के होला ? हामी छक्क पथ्र्यौँ ।

उमेरसँगै मानिसभित्र चेतनाका पनि वृद्धि र विकास हुँदै जाने रहेछ । घटनाहरुले हाम्रा बाल मस्तिष्कहरुलाई प्रभाव पार्दाे रहेछ । आफ्नो गाउँको विचार राजनीति जस्तो छ त्यस्तै भइदोरहेछ । असल र खराब छुुट्याउने विवेक हामीसँग थिएन किनभने यतिठूलो राजनीतिको विष्लेषण गर्ने खुबी हामीसँग कहाँ थियो र !

हाम्रो गाउँमा बेला–बेलामा हतियारधारी माओवादीहरु आउँथे, उनीहरु घर–घरमा गएर गाउँलेहरुलाई बोलाउँथे– कार्यक्रम हेर्न–सुन्नका लागि । गाउँकै चौतारोमा भाषण र सांस्कृतिक कार्यक्रमद्वारा आपूmहरु किन क्रान्तिमा लागेको भनेर स्पष्ट पार्थे । जोसिलो भाषण, मुटु नै ढक्क फुल्ने गीत र नृत्यले म पनि दिनदिनै उनीहरुबाट प्रभावित भएको थिएँ । अन्यायप्रति किन विद्रोह गर्नपर्छ भन्ने बुझेको थिएँ ।

वि.सं. २०५८ मङ्सिरमा सङ्कटकाल घोषणा गरी सेना परिचालन गरेपछि हाम्रो गाउँमा एक्कासि हलचल मच्चियो । सङ्कटकाल घोषणा गरेको एक हप्तापछि सुरक्षाकर्मीको एक ठूलो जत्था हाम्रो गाउँमा प्रवेश गर्यो । उनीहरुसँगगाउँका भूमिगत हुनेहरुको लिस्ट रहेछ शायद, ती मानिसहरुको घर सोध्न थाले ।

खुशीको दाजु पनि जनयुद्धको आरम्भसँगै भूमिगत भएका थिए । सुरक्षाकर्मीहरु खुशीको घरमा पुगे र घर घेरा हाले । उनीहरुले खुशीका बाबु आमालाई तेरो छोरो कहाँ छ ? भन्दै सोध्न थाले, खुशीका आमाबाबुलाई आफ्नै छोराको बारेमा केही थाहा थिएन, खुशीका दाजु घरमा नआएको वर्षौ भइसकेको थियो । ऊ जीवित या मृत के छ ? उनीहरुलाई थाहा थिएन ।

सुरक्षाकर्मीले खुशीका बाबुआमालाई बेस्मारी निर्घातसँग कुटे । त्यो दिन खुशी भने मामाघर गएकीले बची । सुरक्षाकर्मीले गाउँलेहरुलाई बन्दुकको त्रास देखाएर छानीछानी पिट्न थाले । कुटाइ सहन विवश बनेका हामीहरु बन्दुकको अगाडि के नै पो गर्न सक्थ्यौँ र !
सुरक्षाकर्मीले सदरमुकामस्थित क्याम्पमा गाउँलेहरुलाई क्रमैसँग भनेको दिनमा आउन तारिख लगाए । भनेको दिन नपुगे स्वतः आतङ्ककारीको सूचीमा पर्ने भनेर धम्काए ।

पर्सिपल्टको गोधूलिमा खुशी मामाघरबाट आइन् । बाबुआमा कुटिएको खबर उतै सुनेकी रहिछिन् । बाबुआमालाई देख्नासाथ भक्कानो फुटाएर रोइन् ।

त्यतिबेला हाम्रो पढाइ दस कक्षामा चलिरहेको थियो । हाम्रो विद्यालयमा पनि बेलाबेलामा सुरक्षाकर्मी आइरहन्थे, विद्यार्थीहरुलाई विभिन्न कुराहरु भनेर त्रास देखाउँथे, शिक्षा दिने गुरुहरुप्रति अभद्र व्यवहार गर्थे ।

एकदिन अकस्मात् हाम्रो विद्यालयलाई सुरक्षाकर्मीहरुले घेरा हाले । उनीहरुले चन्द्र गुरुलाई समाते र दुवै हात पछाडि फर्काएर बाधिदिए, घाटीसम्म आइपुग्ने गरि कालो कपडाले छोपिदिए, यो दृष्यले हाम्रो मुटुु काँपिरहेको थियो । हेर्दा हेर्दै सुरक्षाकर्मीहरुले गुरुलाई आपूmले लगाएको बुटै बुटले पिट्न थाले । गुरु पीडाले छट्पटाउँदा पनि उनीहरुको मनमा एकरति दया जागेन ।

सुरक्षाकर्मीले चन्द्र गुरुलाई बीचमा पारेर कुट्दैकुट्दै विद्यालयदेखि पूर्वतिरको तेर्सो बाटेबाटो लिएर गए ।

तीन दिनपछि एकाबिहानै रेडियोले खबर फुक्यो– “एकजना चन्द्र भन्ने आतङ्ककारी मुठभेदमा मारियो ।”

एस. एल. सी. दिइसकेपछि फुर्सदिलो भएँ । जाने ठाउँ पनि कतै थिएन ।

सहरतिर जाऊँ भने आफन्तहरु कोही थिएनन्, त्यसैले घरमा नै बस्थेँ ।

गाउँमा कहिले सुरक्षाकर्मीहरु आएर थर्काउथे, कहिले माओवादीहरु आएर सम्झाउँथे । सुरक्षाकर्मीहरुको घीनलाग्दो व्यवहारबाट आजीत भएका गाउँलेहरु माओवादीको सान्त्वनाले राहत पाएका थिए ।

करिब पाँच वर्षपछि एक साँझ खुशीका दाजु आए । आमाबाबु कुटिएको पहिल्यै थाहा पाएका रहेछन् । उनले गाउँलेहरुलाई सम्झाए, अन्याय अत्याचारको विरोधका लागि क्रान्तिमा समर्पित हुन सबैलाई आग्रह गरे ।

उनले भनेको सम्झन्छु– “अन्याय गर्नेभन्दा अन्याय सहने व्यक्ति झन् ठूलो अपराधी हो ।”

त्यसैले खुशी र म क्रान्तिमा जीवन अर्पण गर्यौँ ।

+ + + +

क्रान्तिका ती दिनहरुमा खुशी र म सँगै हुन्थ्यौँ । सुरुमा हामी पार्टीको भातृ सङ्गठनका सदस्य बन्यौँ । पार्टीको निर्देशनअनुसार हामी प्रचारात्मक कार्यमा लाग्थ्यौँ– वाल पेन्टिङ्ग, पोस्टरिङ्ग, सम्पर्क चेन आदि हाम्रा प्रमुख कार्यहरु हुन्थे ।

कार्यप्रतिको निष्ठा, पार्टीप्रतिको अनुशासित र इमान्दार व्यवहारबाट प्रभावित भएर होला– हामी दुवै जना दुईवर्षभित्रै डी.सी.एम.को जिम्मेवार पदमा पुग्न सफल भयौँ ।

सैन्य विभागतिर जाने सोच बनायौँ हामीले, हाम्रो निवेदनलाई उच्च पदस्थ कमरेडहरुले स्वीकार गर्नभयो । हामी सैन्य तालिमका लागि छनौट भयौँ ।

रुकुम जिल्लाको पूर्व–उत्तर इलाका करिब दुई महिना कठोर सैन्य तालिम लिएपछि हाम्रो कम्पनी रोल्पाको उत्तरी भागमा पर्ने अर्काे तालिमका लागि रमाना भयौँ । त्यहाँ पुगेपछि छापामार युद्धकला, डब्ल्यु.टि. लगायतका अन्य युद्धकौशलहरुमा पोख्त भयौँ ।
यसरी खुशी र म जनमुक्ति सेनाका जवान भयौँ– एउटै स्क्वाडको ।

सैनिक तालिम, केही सामान्य हातहतियार मात्र भएको हामीसँग कुनै स्थायी छाउनी थिएन, सैन्य पोसाक थिएन, न त अन्य नगद र जिन्सी सामानहरु नै थिए । हामीसँग थियो– दरिलो आत्मविश्वास, जनताको शक्ति, माक्र्सवाद– लेनिनवाद–माओवादका पथप्रदर्शक विचार दर्शनहरु । यसैका आधारमा हामी शत्रुका जस्तासुकै दरिला कहलाइएका सामरिक महत्वका किल्लाहरु ध्वस्त पार्न सफल भएका थियौँ ।

हामीले जनताको उपहार खुकुरी र भरुवा बन्दुक चलाएर थ्री नट थ्री राइफल कब्जा गथ्यौँ । थ्री नट थ्री र सकेट बम पड्काएर एस.एल.आर., एस.एम.जी., एम. सिक्टिन राइफलहरु कब्जा गर्दै गयौँ ।

‘युद्धबाट युद्ध सिक्ने’– दर्शन–विज्ञानलाई वास्तविकतामा बदल्दै गयौँ ।

+ + + +

आज सम्झन्छु– २०६१ चैत्र २३ गते रातको म्याग्दी आक्रमण ।

करिब एक महिना अघिदेखि नै म्याग्दी आक्रमणको योजना तीब्र रुपमा अगाडि बढिरहेको थियो । खाराको अक्रोश म्याग्दीमा खन्याउँने योजनामा थियौँ ।

हामी करिब पाँचसयको हाराहारीमा थियौँ, हाम्रो टोलीमा केन्द्रीय स्तरका नेताहरु पनि थिए । हाम्रो टोली म्याग्दीको पश्चिमतिरबाट अगाडि बढ्दै थियो ।

साँझ पर्यो, नेता र कमाण्डरहरुले हामीलाई शरीरमा एक थोपा रगत रहुञ्जेलसम्म मुक्तिका लागि लड्ने उत्पे्ररणा दिइरहेका थिए ।

रातको ठीक नौ बजे क्रमशः एसल्ट ग्रुप, रेड ग्रुप, सपोर्ट ग्रुप अगाडि बढ्यो । फायरिङ सुरु भयो– कारागार, आर्मी ब्यारेक, प्रहरी चौकी, बैङ्क, सरकारी भवन हाम्रा निशाना बने ।

कालो रात– जताततै गोली, बारुद र बमका झिल्काहरु देखिन थाले । ठाउँ–ठाउँमा आगो लाग्न थाल्यो, मानिसका चित्कारहरु सुनिन थाले । कति– कति युद्धहरु लडेको मलाई त्यो आक्रमण खासै नौलो अनुभव थिएन । ‘मरे शहीद, बाँचे देशका लागि’ यही चिन्तन थियो ।

बिहान करिब चार बजेतिर दुश्मनहरुले आत्मसमर्पण गरे ।

जिम्मा दिइएका स्क्वाडहरुले शहीद र घाइतेको गिन्ती गरे । हाम्रो तर्पmबाट दर्जनौँ शहीद र घाइतेहरु भएका थिए ।

खुशी अर्कै स्क्वाडमा थिइन्– सपोर्ट ग्रुपमा । झट्ट सम्झेँ– कहाँ होली ऊ ! के भई होली ऊ !

अगलबगलमा हेरेँ, खोजेँ, खुशीलाई कहीँ देखिनँ, मनमा आशङ्का उम्रिन थाले । कतै खुशी …………… भइन् की ! डर बढ्दै गयो ।

खुशीका दाजु हिमालय पनि सँगै युद्ध लडेका थियौँ । उनलाई खाजेँ– पक्कै पनि उनले आफनी बहिनीको बारेमा केही चासो राखेको होला !

अर्को एकजना कमरेडमार्पmत थाहा पाएँ– खुशीलाई गोली लागेर हिमालयले आपैm डोकोमा बोकेर गइसक्यो !

म छाङ्गाबाट खसे भैmँ भएँ– केही नहोस् मेरी खुशीलाई मनमनै प्रार्थना गरेँ ।

एकातिर युद्ध जितेको उन्माद अर्कोतिर मेरी खुशी घाइते– म सम्हालिनै सकिनँ । कमरेडहरुमार्पmत खुशीको दाजु गएको बाटो पत्ता लगाएपछि हतारहतारमा कुदेँ ।

करिब आधा घण्टाको हिँडाइपछि खुशी र हिमालयलाई भेटेँ । हिमालयले खुशीलाई उस्तै गरि डोकोमा बोकी सकीनसकी हिडिरहेका थिए ।

पछाडिबाटै खुशीलाई हेरेँ– पेटमा कपडा बाँधिएको, टाउको दाहिनेतिर झोक्रिएको, खुट्टा तुन्द्रुङ्ग झुण्डिएको, निष्लोट अनुहार, दुवै आँखा चिम्लिएको…..।

अकस्मात् चिच्याउन पुगेछु– ‘खुशी……खुशी……!’

हिमालय फरक्क पछाडि फर्केर हेर्यो मलाई । ऊ केही बोलेन । पुनः उस्तै गरि अघिकै दिशातिर फक्र्याे र चूपचाप हिडिरह्यो ।

म पनि पछिपछि खुशीलाई हेर्दै हिडिरहेँ ।

एकछिनपछि मैले खुशीको उस्तै निष्लोट अनुहार, तुन्द्रुङ्ग झुण्डिएको खुट्टा समाउँदै हिडिरहेँ ।

अलिपर पुगेपछि चौतारो आयो, खुशीको दाजुले डोको बिसायो र भन्यो– ‘खुशीको पेटमा गोली लागेको छ ।’

‘खुशी……..खुशी…….आँखा खोल खुशी….!’– खुशी केही बोलिनन् ।

तुम्लेटको पानीले खुशीको अनुहारमा छर्किदिएँ, मुख खोलेर पानी खुवाइदिएँ । पानी मुखबाहिरै निस्क्यो ।

मेडिकल टोलीका कमरेडले चेकजाँच गरे, ‘नअनत्तिनुहोस् केही हुँदैन’ भनेर सान्त्वना दिए । हेलिकप्टरको आवाज सुनिन थाल्यो, हामी सबै रुख, बुटा र झाडीहरुमा लुक्यौँ, हेलिकप्टर टाढा भइसकेपछि पुनः खुशीलाई उस्तै गरी डोकोमा बोकेर अगाडि बढ्यौँ, यसपटक भने मैले बोकेँ खुशीलाई ।

जङ्गल आयो, अब भने हामीलाई पहिलेको जत्ति डर थिएन, हेलिकप्टरबाट दुश्मनहरुले देख्ला डर अब रहेन । हाम्रो टोलीकामध्ये करिब सयजनाको हाराहारीमा थियौँ होला त्यहाँ– घाइते, सपाङ्गहरु ।

कमाण्डरले जङ्गलभित्र विश्राम गर्ने आदेश दिए । मेडिकल टोलीले घाइतेहरुको पुनः जाँच गर्न थाले; कसैको हात नभएको, कोहीको खुट्टा उछिट्टिएको, कुनैको शरीरबाट रगत बगिरहेको, कतिपयको शरीरलाई गोलीले छिद्र–छिद्र बनाएको ! युद्धको वास्तविक उपहार यही त हो, बाँकी त सारा आदर्श मात्रै, कहिल्यै पूरा नहुने; नभेटिने आकास जस्तै……।

मेरो सारा ध्यानदृष्टि खुशीको शरीरतर्पm थियो । हेर्दाहेर्दै खुशी चलेजस्तो गरिन्, आँखा खोलिन्, ट्वाल्ल हेरिन्, तनक्क खुट्टा तन्काइन्, दुवै आँखाका नानीहरु हराएर सेता–सेता देखिन थाले, शरीर चिसो भयो ।

अनायासै चिच्याएछु– ‘खुशी………खुशी…….।’

हिमालय अलिपर रुखको आड लगाएर घुक्कघुक्क गर्दै रुन थाल्यो ।

बोल्यो कमाण्डर– ‘कमरेडहरु ! आँशुलाई क्रान्तिसँग साट्नुपर्छ, शहीदको रगतको मूल्य चुकाउनुपर्छ, रगत र क्रान्तिको अर्थ बुझ्नुपर्छ ।’

कति–कति युद्धहरुमा यसरी नै साथीहरु शहीद हुन्थे, आँशु शक्तिमा बदलिन्थ्यो । अरु मर्दा शहीद हँुदारहेछन् तर आफ्नाहरु मर्दा मृत्यु हँुदोरहेछ ।

त्यो जङ्गलमा मैले बल्ल शहीद र मृत्युको परिभाषा बुझेको थिएँ ।

मेरी खुशी अरुका लागि शहीद भइन् तर मेरा लागि भने हृदयको कठार शूल बनिन् ।

खुशीले यो संसार छाडेर गइन्, सधैँका लागि उनको जीवनदीप अस्तायो । जङ्गलभित्र घाइते र युद्धले थाकेका अनुहारहरुमा कुनै खुशी थिएन । स्तब्ध बन्यो त्यो क्षण । सेटलाइट फोनमा खबर आयो– हाम्रो टोली त्यहाँबाट दक्षिणतिर अगाडि मरेको मानिसलाई बोकेर हिड्ने कुरै थिएन । कमाण्डरले खाल्डो खन्न लगायो, साथीहरुले कम्बलमा बेरेर खुशीलाई उक्त खाल्डोमा हाले । त्यहाँ सबैले श्रद्धाञ्जलि अर्पण गरे, कसम खाए, झण्डा ओढाइदिए । उनीहरुले खुशीको अनुहारलाई कम्बलको एक छेउले ढाकिदिए, बिस्तारै–बिस्तारै माटो खुशीको शरीरमाथि बढ्दै गयो, खुशी नदेखिने भई । म अलि परबाट ट्वाल्ल परेर बसिरहेँ, हेरिरहेँ सब– किकर्तव्यविमूढ भएर ।

खुशीकोे मृतशरीरमाथि लालझण्डा गाडेर हाम्रो टाली अगाडि बढ्यो । म सम्हालिनै सकिनँ, भक्कानो फुटेर आयो, हिमालय पनि रुन थाल्यो ।

मेरी खुशीलाई पुरेको आलो माटोलाई एकपटक हेरेपछि हिमालय र म पनि पछि–पछि लाग्यौँ । ‘खुशी म फेरि आउनेछु यहाँ ।’– कसम खाएँ ।

माथि–माथि जङ्गल, तल कालीगण्डकी सुसाइरहेको, मध्यान्हको दुई बजेतिर हामी सेल्टरमा पुग्यौँ ।

+ + + +

तीनदिनपछि हिमालय र म खुशीलाई गाडेको ठाउँमा पुग्यौँ ।

गाडिएको झण्डा झुकेको थियो । माटो आलै देखिन्थ्यो । केही सुकेका पातहरु माटोसँगै लडिबुडी खेल्दै थिए । चैतको महिना थियो, जताततै सुख्खा जमिनहरु, कुनै रुखमा भर्खरै मुना पलाएका, कतिपय रुखहरु पातहरु झरेर रुख्खा–सुख्खा देखिएका, तलतल कालीगण्डकी सुसाइरहेको– सुनसान जङ्गल, झ्याउकिरी र चराहरुका सङ्गीत गुन्जिरहेको ।

हिमालय र म भएर खुशीको शरीरमाथिको माटो खोस्रिन थाल्यौँ । माटो झिक्दै–फ्याक्दै गर्दा वरिपरिका सुकेका पातहरु पुरिए । केही छिनको खोस्राइपछि कम्बल देखिन थाल्यो ।

हिमालयले खुट्टापट्टि र मैले टाउकोपट्टि समाएर खुशीको निष्प्राण देहलाई जमिनमाथि निकाल्यौँ ।

खुशी सैन्य पोसाकमा गाडिएकी थिइन् । उसको शरीरसँगैको कम्बल फराकिलो बनायौँ, खुशीको अनुहार पहेँलो भइसकेको थियो, हल्का दुर्गन्ध पैmलिएको थियो । हातहरु मुठ्ठी कसिएका थिए । मुठ्ठीमा केही माटो थियो ।

एकछिन खुशीको निष्प्राण शरीरलाई हेरिरहेँ, बेस्सरी रुन मन लाग्यो । कति रोएँ–रोएँ म । हिमालय पनि उस्तै गरी रुन थाल्यो ।

कति–कति युद्धहरु लडेर, लाशहरुमाथि पौडी खेलेर, अनाकण्टार भिर, बस्ती र गल्लीहरुमा सेल्टर लिएर बाँचेको मेरो जीवन–त्यो पल सबैसँग हारेको थियो । मलाई मेरो विगतसँग असाध्यै पश्चाताप लागेको थियो ।

मान्छे मरेको वास्तविक अनुभूतिले छोपेको थियो मलाई ।

एउटा लामो कटुसको रुख काट्यो हिमालयले, हाँगाहरु छिमलेर ल्यायो उसले । दुईवटा घारो बनाएर लहराले जेल्यो र कम्बलसहित डोरीले बाँध्यो । दुवैले अगाडि–पछाडि भएर जमिनमाथि उठायौँ । सानो डोरेटो बाटो हुँदै तल बगिरहेको कालीगण्डकी नदीकिनारामा लिएर गयौँ ।

झिँजा, मूढा र दाउराहरु बटुल्यौँ, चैतमासको टण्टलापुर घामले सुकेका दाउरालाई ढुङ्गामाथि चाङ् लगायौँ, खुशीका लागि चिता तयार गर्यौँ ।

खुशीको निष्प्राण देहलाई चितामाथि राख्यौँ, अञ्जुलीमा गण्डकीको चिसो पानीले तर्पण दियौँ ।

हिमालयले मलाई दागबत्ती दिन लगायो । झिँजाहरु बटुलेर बनाइएको मसालमा सलाइ कोरेर आगो लगाएँ, मसालको आगो चिताको चारैतिरबाट झाँेस्दै एक फन्को घुमेँ ।

आगो दन्किन थाल्यो– कम्बल डढ्यो, खुशीको सैन्य पोसाक डढ्यो, कपाल डढ्दै गयो, अनुहारमा आगाको लप्काले पिट्न थाल्यो, शरीरबाट ठूला–ठूला फोकाहरु निस्कदै फुट्दै गर्न थाले, शरीर कालो बन्दै गयो, खुशीका हातहरु मथितिर उठेको देखियो, हेर्दा हेर्दै खुशीको शरीर क्रमशः घट्दै जान थाल्यो, खुशीको शरीर डढ्दै गर्दा धूँवाको मूस्लो निस्केर आकासिदै गयो, कस्तो–कस्तो वासना आइरहेको थियो ।

कालीगण्डकीको किनार, चैतको टण्टलापुर घाम, प्रचण्ड घामले तातेका ढुङ्गा र बालुवा, वरिपरि अग्ला–अग्ला डाँडाहरु, मरेका देखिने रुखहरु, सुनसान मानवबिहीन ठाउँ, गण्डकीको चर्को सुसाइ– ‘अहो ! त्यो पीडा !’

खुशीको शरीर जलेर खाक् भइसकेपछि हिमालयले नदेख्ने खुशीको चोइटिएको हड्डीको सानो टुक्रासहितको अस्तु खल्तीमा हालेँ, सारा बाँकी अस्तुलाई गण्डकीको पानीले पखालेर उसको चिरआत्मा शान्तिको कामना गर्दै हिमालय र म दोपहरतिर गण्डकीको पूर्व–उत्तरतिर लाग्यौँ ।

सधैँ सँगसँगै हिड्ने, एउटै सेल्टरमा बास बस्ने, मनका भावनाहरु साटासाट गरेर क्रान्तिमा उर्जा थपिदिने खुशी अब सदाका लागि अस्ताइन् । खुशीबिनाको मेरो संसार अँध्यारो बन्यो, मेरा लागि क्रान्तिको अर्थ र परिभाषा ओइलायो । मानवजीवनको अर्थ र मूल्य बुझ्दै गएँ । मानवजीवन, क्रान्ति र रगत एकैसाथ रहन नसक्ने रहेछन् । सबैभन्दा महत्वपूर्ण त मानवजीवन रहेछ, बाँच्नु रहेछ ।

क्रान्तिले मेरी खुशीलाई निल्यो, म बाँचेँ ।

+ + + +

खुशीबिनाका पलहरु मेरा लागि शून्य–शून्य बनेका छन् । नयाँ नेपालको अमूर्त परिभाषाभित्र खुशीका सपनाहरु चक्नाचूर भएका छन् । कस्तो सपना देखेका थियौँ हामीले युद्धकालमा ! ती सारा सपनाहरु पानीका फोकाहरु जस्तै बिलीनप्रायः भइसके । क्रान्तिको आदर्शभित्र बाँचेका हामीहरु वस्तविकतामा भने कहिले क्यान्टोनमेन्टभित्र कैदी जीवन त कहिले असक्षम लडाकुको बिल्ला भिर्दै बाहिरिनु परिरहेछ । कुन रहरले ! कुन बाध्यताले ! कुन आदर्शले ! क्रान्तिमा जीवन समर्पण गरियो–(?) थाहै भएन ! ! सिद्धान्तको लगाममा बाँधिएका हामीहरु कहिले मुक्तिको आकासमा कावा खाऔँला ! न मरेकाहरुले देखेको सपनासाकार भयो ? न बाँचेकाहरुले क्रान्तिको अर्थ बुझ्न पाए ? हामी सबैले गुमायौँ, हामीले सबै गुमायौँ । यो विद्रोह, यो क्रान्ति केवल मर्नलाई रहेछ ।

+ + + +

अब सबै मानव बाँच्ने क्रान्ति गर्छु– म !

बाटुलेचौर–१६,पोखरा

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.