~सुमन पोखरेल~
आऊ हामी मिलेर बाँचौँ
एउटा केही।
जिन्दगी हैन ।
जिन्दगी हो भने,
अरू केही गरौँ
बाँच्नुबाहेक ।
तिमी र म एकअर्काको होऔँ
केही नयाँ ।
यसरी गरौँ एउटा केही नयाँ ।
तिमी एउटा उज्यालो अन्धकार बोक
वा अँध्यारो उज्यालोको केही बनाएर टिप
मिर्मिरे वा साँझ हैन
अरू केही ।
म एउटा लुप्त अभिव्यक्ति उचालुँला
वा शान्त कोलाहलको एउटा
केहीको केही बनाउँला
यहीँ छोडने गरी ।
हुनसक्छ,
म केही व्यक्त मौनताको
नदी बहाउँला
वा दृश्य कल्पनाको
पहाड उकासुँला ।
जे छन् ती त छँदैछन्
केही नयाँ बनाऔँ
केही नयाँ गरौँ।
आगोका फूल बनाउन हुन्थ्यो
बनिसके,
ढुङ्गाको टुसो पलाउन हुन्थ्यो
पलाइसके,
अलिखित राख्न हुन्थ्यो
लेखिइसके ।
आऊ
निराकार
अस्पर्श्य
अदृश्य
अनुभवविहीन
केही गरौँ
केही बनाऔँ,
केही नयाँ ।
यस्तो ईश्वर बनाउन हुन्थ्यो
एउटा शक्ति बनाउन हुन्थ्यो
ती पनि बनिसके ।
केही गरौँ
केही नयाँ गरौँ ।
तिमी बटुलेर ल्याऊ
म लेख्छु
अर्थात्, म केही गर्छु नयाँ
म केही केही छु नयाँ
म केही केही केही नयाँ
म केही केही केही केही ।
यसरी मिलेर तिमी र म
केही केही केही केही ।
*************
(स्रोत : कवि सुमन पोखरेलको कविता सङ्ग्रह “शून्य मुटुको धड्कनभित्र“(२०५६)बाट सभार)