~कात्यायन~
– सानो छंदा नै उसको खोक्ने बानी थियो | चिंतासहित सबैले मन पराउँथे, औषधि-मूलो पनि गर्थे | माया गर्थे | हुँदा-हुँदा उसको बानी नै भैसकेको थियो | खोकी लागेको बहाना गर्ने र खोकिरहने |
– उसले खोक्दा आफ्ना नाता-गोता, ईष्ट-मित्र, छर-छिमेकी मात्र हैन सारा पल्टनै उल्टेर आउनथाले उसलाई भेट्न | ऊ खुसीले गद्गद हुन्थ्यो मान्छेहरू भेट्न आउँदा र औषधोपचारको सरसल्लाह गर्दा |
– उसको खोकी सबैको केन्द्र-विन्दु थियो | भूकम्पको केन्द्र-विन्दु बारपाकलाई पनि बिर्साउन सक्ने क्षमता थियो उसको खोकीमा, र त उसलाई उत्साहा थियो खोक्नमा | अनि नयाँ-नयाँ ढंगले खोक्न शुरु गर्यो | लाग्थ्यो अब उसले खोकीमा विध्या-वारिधि नै गरिसकेकोथियो |
– शुरु-शुरुमा दिन बिराएर खोक्थ्यो | पछि निरन्तरता दिनथाल्यो | आफ्नो दिनचर्या नै बनाउन थाल्यो खोक्नुलाई | अझ बढी आकर्षण गर्न खोकीमा रगतका छिटा पनि निकाल्न शुरु गर्यो; मान्छेहरू अझ बढी भेला होउन् भन्ने उसको चाहना थियो | भेला पनि हुन्थे, हाँस्थे, रमाउँथे र जोड-तोडले थपडी पनि बजाउँथे |
– खोक्ने प्रक्रिया जारी थियो उसको | खोकीबाट रगतको छिटा निकाल्ने प्रक्रिया पनि | यसो गर्दागर्दै रगतको छिटा मात्रै नभई रगतको फाल्सै निकाल्न शुरु गर्यो | जसरि टीबी, अल्सर, क्यान्सर वा यस्तै केही हुँदा निस्कने गर्थ्यो |
– सारा जगतका वैज्ञानिकहरू अझै अनुसन्धान गरिरहेकाछन् – उसको खोकीको बारेमा !
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)