~अज्ञात~
नेपाली साहीत्यमा अन्य विधाहरुका तुलनामा उपन्यास विधाको सुरुअात निक्कै पछि मात्र भएको हो ! उपन्यास आख्यानात्मक विधा भएकोले नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ‘ महाभारत विराट् पर्व ‘ बाट भएको मानिन्छ ! यस कृतिको रचनादेखि हालसम्मको करीब सवा दुईसय बर्ष लामो इतिहासनै नेपाली उन्यासको विकासक्रमको इतिहास हो ! उपन्यासको यस इतिहासलाई सुविधाका दृष्टिले तीन खण्डमा बाँड़ेर हेर्न सकिन्छ !
१. प्राथमिक काल ( वि.सं. १८२७ -१९४५ )
२. माध्यमिक काल ( १९४६ – १९९० )
३. आधुनिक काल (१९९१ – हालसम्म )
प्राथमिक काल ( १८२७ – १९४५ )
शक्तिवल्लभ अर्यालको ‘ महाभारत विराट पर्व ‘ १८२७ बाट नेपाली अख्यान परम्पराको सुरूआत हुन्छ ! यसलाई कथा र उपन्यासको सबैभन्दा पहिलो कृति मानिन्छ ! यसकालमा ‘महाभारत विराटपर्व ‘ पछि अन्य आख्यानात्मक कृतिहरुमा भानुदत्तको ‘ हितोपदेस मित्रलाभ ‘ १८३३ शक्तिवल्लभको ‘ हास्यकदम्व ‘ १८५५ भवानीदत्त पाण्डेको ‘ मुद्रराक्षस ‘ १९६८ रामचन्द्र पाध्याको ‘ लक्ष्मी धर्मसंवाद ‘ १८५१ अग्यात लेखकको ‘ बृहत्र सुधाको कथा ‘ १८९३ बेताल पञ्चविशंतिका १९९३ देवराज शर्माको ‘ स्वस्थानी ब्रतकथा ‘ १९४२ हरिहर शर्माको ‘भगवतभक्ति बिलासिनी १९४५ गंगाप्रसाद प्रधानको ‘ नेपाली बाइबल ‘ १९४० आदि उल्लेखनीय छन् !
यसकालमा देखापरेका यी कृतिहरु विशुद्ध औपन्यासिक कृति नभएर आख्यानात्मक कृति मात्र हुन् ! यी कृतिहरु धेरैजसो संस्कृत र केही मात्र अंग्रेजी भाषावाट अनुवाद गरिएका छन् ! यसकालमा मौलिक कृतिहरु देखा परेका छैनन् ! मनोरञ्जनात्मक ,राजनीतिक ,सामाजिक ,नैतिक एवं धार्मिक भक्तिभाव यी उपन्यासमा व्यक्त भएका छन् ! समग्रमा यस कालका कृतिहरु शिल्पगत प्राप्तिमा भन्दा आख्यान – कथनमा बढी केन्द्रिय छन् !
माध्यमिक काल ( १९४६ – १९९० )
बि.सं.१९४६ मा शिवदत्त शर्माद्वारा अनुदित ” बिरसिक्का “१९४६ प्रकाशित भएपछि नेपाली उपन्यासको माध्यमिक काल सुरु हुन्छ र वि.सं.१९९० सम्म कायम रहन्छ !
उर्दु – फारसी साहित्यको रोमाञ्चकारी प्रवृतिसहित देखापरेको ‘ बिरसिक्का ‘ १९४६ पछि त्यस्तै प्रवृतिका उपन्यासहरु लिएर अग्यात लेखकको ‘ बेताल पच्चीसी ‘ १९५२ ,नरदेव पाण्डेको ‘ नलोपाख्यान ‘ १९५६ ,सदासिवका ‘ बोक्सी चरित ‘ १९५९ ,सदाशिव शर्माका ‘ चन्द्रकान्त ‘ १९५६ ,नरेन्द्र मोहिनी १९५८ ,महेन्द्रप्रभा १९५९ ,गिरिशबल्लभ जोशीको ‘ बीर चरित्र ‘ १९६० आदि देखापर्दछन् !
वि.सं.१९५८ बाट गोर्खापत्रको प्रकाशन सुरु भएपछि जासुसी तथा तिलस्मी उपन्यासहरु पनि देखा पर्दछन् ! ‘ जादुगर ‘ १९६४ – १९६५ , नौलखाहार १९६७-१९६८ ,आदि उपन्यासहरु गोर्खापत्रमा धारावाहिक रुपमा प्रकाशित हुन्छन् भने ‘ सुन्दरी ‘ मा मधुवाली १९६३ , ‘सुन्दरी भूषण ‘ १९६३ उपन्यासहरु देखापर्दछन् ! यस क्रममा विग्यान बिलासको ‘डा .सूर्यप्रसाद ‘ १९७२ अपूर्ण ,पहलमानसिंह स्वाँरको ‘एक लाख रुरियाँको चोरी ‘ १९७२ र प्रतिमानसिंहको लामाको ‘ महाकाल जासुस ‘ १९७५ आदि कृतिहरु पनि महत्वपूर्ण छन् !
माध्यमिक कालमा चिरञ्जीवी पौड्यालको प्रेमसागर १९४७ ,नरदेव पाण्डेको ‘मेरिना चरित्र ‘ १९५९ ,तीर्थप्रसाद अर्यालको ‘ बेदान्तसार ‘ १९६० ,ऋद्धिबहादुर मल्लको ‘शर्मिष्ठा ‘ १९८५ जस्ता धार्मिक र नैतिकतासंग सम्बन्धित उपन्यास तथा द्वारिकानाथ उपाध्यायको ‘यमपञ्चक ‘ १९६३ ,बैजनाथ सेंढाईको ‘चक्र परिक्रमा ‘ १९७३ ,विग्यान धिलासको ‘महारानी प्रिसम्बा ‘ १९७३ ,पहलमानसिंह स्वांरको ‘पदमकुमारी ‘ १९७४ ,वेदनाथ आचार्यको ‘दायकी, भावी ‘ १९७९ ,महानन्द सापकोटाको ‘ त्रिवेणी ‘ अम्बालिका देवीको ‘ राजपूत रमणी ‘ १९८९ आदि सामाजिक सुधारका भावनाले प्रेरित उपन्यासहरु हुन् !
माध्यमिक काल मूलत : उर्दू-फारसी साहित्य प्रेरित काल हो ! प्रवृतिगत दृष्टिले यो काल तिलस्मी र जासुसी प्रवृतिमा केन्द्रित छ ! रोमाञ्चकारी कल्पना ,अद्भूत वर्णन ,मानव र मानवेतर पात्रको प्रयोग ,अस्वाभाविक र अतिरञ्जनात्मक घटनाको वर्णन आदि यस कालका औपन्यासिक प्रवृतिहरु हुन् ! उपन्यासकारले उपयुक्त प्रवृतिका अतिरिक्त केही धार्मिक र सामाजीक सुधारात्मक उपन्यासको पनि रचना गरेका छन् ! अनुवादका अतिरिक्त केही मौलिक कृतिको रचना र नेपाली परिवेश र नेपाली चरित्रलाई लिएर उपन्यासको रचना गर्ने काम माध्यमिक कालमा भएको पाइन्छ !
आधुनिक काल ( १९९१ – हालसम्म )
नेपाली उपन्यासको आधुनिक काल रुद्रराज पाण्डेको ‘ रुपमती ‘ १९९१ को प्रकाशनसंगै भएको मानिन्छ ! यसले आदर्शवादलाई पूर्णत : त्याग गर्न नसकेको भए पनि माध्यमिक कालीन प्रवृतिलाई त्याग गरी बिषयवस्तु शैली तथा संवादमा स्वाभाविकता र यथार्था प्रदान गरेको छ ! ‘ रुपमती ‘ १९९१ को प्रकाशनदेखि हालसम्म आइपुग्दा नेपाली उपन्यासका इतिहासमा थुप्रै धारा तथा प्रवृतिहरु दैखापरेका छन् जसलाई निम्नअनुसार चर्चा गर्न सकिन्छ :
आदर्शोन्मुख यथार्थवादी धारा :-
नेपाली समाजको चित्रण गर्दै आदर्शप्रेरित चरित्रलाई लिएर ‘ रुपमती ‘ १९९१ उपन्यास देखापरेप्रवृति्शोन्मुख यथार्थवादी धाराको सुरुआत हुन्छ ! सामाजिक एवं पारिवारिक समस्यालाई प्रस्तुत गर्दै समाधानका लागि आदर्शवादी स्वर दिनु यस धाराको प्रवृतिगत विशेषता हो ! रुद्रराज पाण्डेको ‘रुपमती ‘ १९९१ , चप्पाकाजी १९९३ ,प्रायश्चित १९९३ ,प्रेम २००५ ,सँगै यस धारामा देखापर्ने अन्य उपन्यासकार र उपन्यासहरु काशीबहादुर श्रेष्ठका ‘उषा ‘ १९९५ ,वचन २००१ ,टुकराज पदमराज मिश्रका ‘ राजबन्धकी ‘ १९९६ र रामकृष्ण कुँवर राणा १९९९ ,शोभाचन्द्र उपाध्यायको ‘ पाटलीपुत्र ‘ २००३ ,सुरेन्द्रबहादुर शाहको ‘पारिजात ‘ २००३ मोहनबहादुर मल्लको ‘ समयको हुरी ‘ २०१५ आदि हुन् !
स्वच्छन्दतावादी धारा :-
नेपाली साहित्यको उपन्यास विधामा स्वच्छन्दतावादी धाराको सुरुआत रुपनारायण सिहंको ‘ भ्रमर ‘ १९९३ उपन्यासबाट भएको हो ! यथार्थ वर्णनबाट पर रहेर प्रकृति ,प्रेम ,कल्पना ,ईश्वरीय शक्ति ,आदिलाई बिषयवस्तु बनाएर त्यसलाई आलङ्गरिक भाषाका साथ सौन्दर्यपूर्ण तरिकाबाट वर्णन स्वच्छन्दतावादका मूल प्रवृति हो !
रुपनारायण सिंहको ‘भ्रमर ‘ का अतिरिक्त मोहनबहादुर मल्लको ‘उजेली छायाँ ‘ २००८ अच्छा राई रसिकका ‘लगन ‘ २०१२ र दोभान २०१२ , शिवकुमार राईको ‘ डाकबंगला ‘ २०१४ र तुलसीराम कुँवरको ‘ जीवन ‘ २०२० ,कृष्णसिंह मोक्तानको ‘अशेष यात्रा ‘ २०२१ , प्रियादर्शीको ‘पोखिएको जिन्दगी ‘ २०२८ ,हिरण्य भोजपुरेको ‘छिटोन ‘ २०५४ आदि यस धाराका उपन्यासहरु हुन् !
सामाजिक यथार्थवादी धारा :-
निम्नवर्गीय सामाजिक जीवन र आर्थिक संघर्षलाई बिषयवस्तु बनाएर समाज जस्तो छ त्यस्तै चित्रण गर्ने प्रवृति भएका उपन्यासहरु सामाजिक यथार्थवादी धाराका उपन्यासहरु हुन् ! नेपाली उपन्यास परम्परामा पूर्ववर्ती धाराका आदर्श र रोमान्टिक प्रवृतिलाई परित्याग गरी यस धाराको लेखन प्रारम्भ भएको देखिन्छ ! यस धाराका सुरुआत लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर ‘ २००४ बाट हुव्छ !
बाङ्देलको ‘मुलुक बाहिर ‘ का अतिरिक्त उनकै अर्को उपन्यास ‘माइतघर ‘ २००७ ,लीलबहादुर ,क्षेत्रीका ‘बसाई ‘ २०१४ र ‘ब्रह्मपुत्रको छेउछाउ २०४३ ,लीलाध्वज थापाको ‘मन ‘ २०१५ , शंकर कोइरालाको ‘खैरेनी घाट ‘ २०१८ ,दौलतविक्रम विष्टको ‘एक पालुवा अनेकौ याम ‘ २०२६ ,भवानी भिक्षुको ‘आगत ‘ २०३२ ,आदि यस धाराका उपन्यासहरु हुन् !
प्रगतिवादी धारा :-
प्रगतिवाद मार्क्सवादी जीवन – दृष्टिका आधारमा समाजका समग्र पक्षको बिश्लेषण गर्ने साहित्य सिद्धान्त हो ! समाजका निम्नवर्गीय पात्र र तिनका आर्थिक क्रियाकलापलाई बिषयवस्तु बनाएर तिनलाई द्वान्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गर्ने उपन्यासहरु प्रगतिवादी उपन्यास हुन् ! परम्परागत धार्मिक नैतिक मान्यताप्रति बिद्रोह ,बैचारिक संघर्ष र क्रान्तिकारिता ,परम्परागत सामाजिक बनोट र मान्यताप्रति कटु आलोचना आदि यस धाराका प्रमुख प्रवृति हुन् ! नेपाली साहित्यमा यस किसिमको स्वर एवं प्रवृत्तिसहित देखापरेका पहिलो नेपाली उपन्यास ह्रदयचन्द्रसिंह प्रधानको ‘ स्वास्नीमान्छे ‘ २०११ हो !
यस धाराअन्तर्गत ‘स्वास्नीमान्छे ‘ का अतिरिक्त ह्रदयचन्द्र प्रधानको अर्को उपन्यास ‘एक चिहान ‘ २०१७ लगायत खड्गबहादुर सिंहका ‘ बिद्रोह भाग १ र २ ‘ २०११-२०१३ ,दौलतविक्रम विष्टको ‘मञ्जरी ‘ २०१६ , भोक र भित्ताहरु २०३८ ,ताना शर्माको ‘अोझेल पर्दा ‘ २०२६ ,डी.पी.अधिकारीको आशमाया २०२५ ,पारिजातको महत्ताहीन २०२५ ,अनिँदो पहाडसँगै २०३९ , खगेन्द्र संग्रौलाका चेतनाको पहिलो डाँक २०२६ ,जूनकीरिको गीत २०५७ ,रमेश विकलको अविरल बग्दछ इन्द्रावती २०४० ,भाष्करका बन्दी आवाज २०४३ ,हाडिका कनिका २०४५ ,अमरवस्ती २०५३ आदि यस धाराका उपन्यासहरु हुन् !
मनोबैग्यानिक /मनोविश्लेषणवादी धारा :-
मानिसको मनका भावावेगहरुलाई बिषयवस्तु बनाई लेखिएका उपन्यासहरु मनोबैग्यानिक उपन्यास हुन् ! यस धाराअन्तर्गत मान्छेका चेतन ,अर्धचेतन र अचेतन तहका साथै यौनजन्य चाहना आदिवारे विश्लेषण गरी लेखिएका उपन्यासहरु यस धाराअन्तर्गत आउँछन् ! व्यक्तिका मनभित्रका यथार्थको वर्णन मात्र नभएर त्यसका सूक्ष्मतम पक्षहरुको विश्लेषण गर्ने उपन्यासहरुलाई मनोविश्लेषणवादी भनिन्छ ! नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल ‘गोठाले ‘को ‘पल्लोघरको झ्याल ‘ २०१६ बाट यस धाराको सुरुआत भएको हो !
नेपाली साहित्यमा मनोवैग्यानिक/मनोविश्लेषणवादी धाराको उत्तरोत्तर विकासका क्रममा विजय मल्लको “अनुराधा ” २०१८ र कुमारी शोभा २०३९ ,विश्वेश्वरप्रसाद कोइरालाका ‘तीन घुम्ती ‘ २०२५ ,नरेन्द्र दाइ २०२७ र सुम्निमा २०२७ ,तारिणीप्रसाद कोइरालाको सर्पदंश २०२६ ,भवानी भिक्षुको पाइप नम्बर २ २०३४ ,आदि उपन्यासहरु उल्लेखनीय छन् !
प्रयोगवादी धारा :-
परम्परागत उपन्यास रचनाको कथ्य र शिल्पलाई त्यागी नवीन शिल्प र प्रविधिअनुसार नयाँ जीवनदृष्टिलाई प्रस्तुत गर्ने उपन्यासहरुलाई प्रयोगवादी उपन्यास भनिन्छ ! उपन्यास रचनामा नयाँ रुपको खोजी गर्ने क्रममा कतै जीवनका विसंगत पक्षलाई बिषयवस्तु बनाइएको छ भने कतै अति यथार्थको चित्रण गरिएको छ र कतै अस्तित्वको खोजी गर्ने लक्ष्य राखिएको पाइन्छ ! यी विभिन्न जीवनदृष्टिअन्तर्गत प्रयोगशीलता तथा प्रयोगधर्मिता र स्थापित परम्परागत जीवन मुल्य मात्र नभएर विधागत आदर्शप्रतिको असहमति प्रयोगशील उपन्यासमा पाइन्छ ! नेपालीमा प्रयोगवादी धाराको पहिलो उपन्यास इन्द्रबहादुर राईको ” आज रमिता छ ” अस्तित्ववादी / विसंगतिवादी २०२१ हो !
” आज रमिता छ ” पछि पारिजातको शिरिषको फूल २०२२ , डायमन शमशेर राणाको सेतो बाघ २०३० ,भरत जंगमको कालो सूर्य २०३६ ,धुवचन्द्र गौतमको फूलको आतंक २०५५ , तेह्र जना लेखकको अवतार विघटन २०४० आदि यस धाराअन्तर्गत आउँछन् !
समसामयिक धारा :-
वि.सं.२०४० सालमा नेपाली उपन्यासमा प्रयोगवाद क्रमश : शिथिल बन्दै गएको देखिन्छ ! उपन्यासकारहरुले प्रयोगवादी धाराबाट क्रमश : नवीन शैली र बिषयवस्तुको खोजी गरिरहेको पाइन्छ ! चालीसको दशकपछि बिषयबस्तुमा विविधता ,शैलीमा विभिन्नता तथा औपन्यासिक शिल्पमा नवीनताको प्रारम्भ भएको पाइन्छ ! यस समयमा प्रवृतिगत निश्चितताको अभाव भए पनि यथार्थको नवीन पक्षको खोजीको प्रयासका साथै युगचेतना ,बिसंगतिप्रति ब्यांग ,बिग्यानप्रेरित बिषयको चयनजस्ता प्रवृत्तिसहित नेपाली उपन्यासको समसामयिक धारा अघि बड़ेको छ ! यस धारामा देखा पर्ने उपन्यासकारहरु र तिनका उपन्यासहरुमा राजेश्वर देवकोटाका ‘आवर्तन ‘ २०४१ ,द्वन्द्वको अवसान २०४२ ,पूर्वकथा २०४३ ,उत्सर्ग प्रेम २०४४ ,निर्मोही व्यासको ‘एलबमका पात्रहरु ‘ २०४३ , गोबिन्द गिरी प्रेरणाको उत्खनन २०४५ ,सरुभक्तका पागल बस्ती २०४८ ,तरुनी खेती २०५४ ,अरुण सायमीको भदीको किनारमा २०४८ ,धुव सापकोटाको उसको मृत्युको फाइदाहरु २०५५ ,भाष्करको अचम्मको फैसला २०५६ ,आदि देखारर्दछन् ! यसरी नेपाली उपन्यास उत्तरोत्तर विकसित हुँदै नवीन शिल्प र प्रवृत्तिहरुसहित अगाडि बढेको छ !
उपन्यासको अर्थ र तत्वहरु :-
उपन्यास तत्सम शब्द हो ! उप +नी +अस् +अ = उपन्यास बनेको हो ! उपन्यास पश्चिममा प्रयोग भएको हो ! उपन्यासलाई पश्चिममा नोवेल (NOVEL. )भनिन्छ भने ल्याटिनमा नोवेल्या र इटालियनमा नोवेल्या भनिन्छ !
उपनंयासको तत्वहरु यस प्रकार छन् :-
१. कथाकन ,२.चरित्र ,३.पर्यावारण ,४.भाषा ,५.शैली ,६.दृष्टिबिन्दु ,७.उद्देश्य !
कथानक :-
कारण र कार्यका श्रङ्कलामा आबद्ध घटनाहरुको पूर्ण स्वरुपलाई कथाकन भनिन्छ !कथाकनलाई लेखकका बिचार ,बुद्धि ,कल्पना जस्ता कुरालाई पात्र वा चरित्रका कार्यव्यापार वा क्रियाव्यापारद्वारा अविच्छिन्न रुपामा कृतिभरि बढाएको हुन्छ ! त्यसैले स्रष्टा वा लेखकका विचार ,बुद्धि ,कल्पना वा चिन्तन कथानकका लागि मूल आधार हुन् ! यस्ता आधारबाट जब कथानकले कृतिमा गति लिन थाल्छ तब यो कुनै समस्या र त्यको प्रतिक्रियामा उत्पन्न हुने प्रभावको रुप लिदै क्रमश : अघि बढिरहन्छ ! कारण कार्य – कारण सम्बन्धमा आधारित घटनाहरुको आयोजन कथानक हो भने त्यस्ता घटनाहरुमा सबभन्दा पहिलो घटना नै अन्य घटनाहरु सृजना गर्ने कारण बन्छ अनि ती घटनाहरु कार्य बन्दै क्रमश : अघि बढ्छन् ! यसलाई कारण (पहिलो घटना)—>कार्य (पहिलो घटनाबाट सृजित अर्को घटना )—>कारण (दोस्रो घटना)—>कार्य (दोस्रो घटनाबाट सृजित अर्को वा तेस्रो घटना ) का क्रममाअन्तिम घटनासम्म चलिरहने क्रमबद्ध श्रंखलाका रुपमा बुझ्न सकिन्छ ! यस्तो कारण कार्यको क्रमिक गतिले समस्या —>समाधान —>समस्या गर्दै अन्तिम र पूर्ण समाधानको बिन्दुसम्म पुग्ने अवसर पाएको हुन्छ ! त्यसैले कथानकको प्रारम्भ कुनै जटिल समस्याको मूलबाट हुन्छ र अन्त्य त्यसले पूर्ण समाधानको स्थिति प्राप्त गरेपछि हुन्छ ! अर्को किसिमले भन्दा पाठकका मनमा कुनै जिग्यासा वा कुतूलहलता सृजना गर्ने पहिलो घटनाबाट कथानकको सुरुआत हुन्छ भने त्यस कुतूहलताले पूर्ण सन्तुष्टिको अवस्था प्राप्त गर्ने घटनालाई देखाएर कथानकको अन्त्य हुन्छ ! त्यसैले कथानक उपन्यास रचनाका लागि अनिवार्य अंग मानिन्छ !
रैखिक र वृत्ताकारीय कथानक / कथाबस्तु :-
उपन्यास सरल रेखाको सोझो ढङ्गले बढ़ने कथानक रैखिक कथानक हो र उपन्यास भुमरीको चक्रझै वृत्त आकारमा घुम्ने वृत्ताकारीय कथानक हो ! जस्तै “बसाइँ ” उपन्यास रैखिक कथानक अँगालेको छ भने “घामका पाइलाहरु ” उपन्यास वृत्तकारीय कथानक ढाँचामा रहेको छ !
मुख्य र सहायक कथानक :-
आरम्भदेखि अन्त्यसम्म व्याप्त रहेका कथानक मुख्य कथानक हो र बीचैमा सुरु भई बिचैमा अन्त्य हुने कथानक हो सहायक कथाबस्तु !
सुगठित र असुगठित कथानक :-
घटनाहरुको संयोजन अत्यन्तै योजनाबद्ध ढङ्गमा कसिलो बनाइएको भए कथानक सुगठित कथानक हुन्छ जस्तै “माइताघर ” ! घटनाहरुको संयोजन शिथिल वा आयोजित ढङ्गमा खुकुलो बनाइएको भए असुगठित कथानक हुन्छ जस्तै “सुम्निमा ” उपन्यासको कथानक !
सरल र जटिल कथानक :-
एउटै मात्र कथानक सुरुदेखि अन्त्यसम्म रहेमा त्यो सरल कथानक हुन्छ भने एकभन्दा बढी कथानकहरुको मिश्रित स्वरुपले विकसित भएको उपन्यास जटिल कथानक रहन्छ ! जस्तै सरल कथानक “माइताघर ” र जटिल कथानक “मुलुकबाहिर ” !
दु:खान्तक र सुखान्तक कथानक :-
दु:खद वा कारुणिक अन्त्य पुगेर पाठकमा गम्भीर प्रभाव छाड्ने कथानक दु:खान्तक हुन्छ भने सुखद वा आनन्ददायक अन्तयमा पुगेर पाठकमा मनोरञ्जनात्मक प्रभाव छाड्ने कथानक सुखान्तक कथानक हुन्छ ! मुलुकबाहिर उपन्यास दु:खान्तक कथानक र भ्रमर सुखान्तक कथानक हो !
रागात्मक र व्यङ्गयात्मक कथानक. :-
जुन कथानकको उद्देश्य प्रेमानुरागलाई नै व्यक्त गर्ने श्रृङ्खलामा आबद्ध छ त्यो रागात्मक हो र जुन कथानकको उद्देश्य सामाजिक विकृति र विसंगतिलाई व्यांगपूर्वक व्यक्त गर्दै सामाजिक स्वस्थता ल्याउने छ त्यो व्यंग्यात्मक हुन्छ !
चरित्र :-
आख्यानमा घटनाहरुका साथ विशेष गुण र व्यवहाक देखाउदै सहभागी हुन आउने व्यक्ति वा प्राणीलाई पात्र वा चरित्र भनिन्छ ! उपन्यासमा पात्र वा चरित्रले आ-आफ्नै नैतिक ,स्वभावगत र भावात्मक विशेषता वा गुणहरु बोकेर आएका हुन्छन् र त्यसलाई आफ्ना संवाद र कार्यद्वारा प्रकट गर्छन् ! चरित्रको प्रयोगले उपन्यासको कथानक वा घटनाहरुको विसास हुन्छ ! कथानकको गतिलाई बढाउने मुख्य तत्व नै चरित्र हो ! चरित्र वा पात्र अनेकौ प्रकारका हुन्छन् !
१.गतिशील र स्थिर पात्र :- सुरुका दृष्टिकोण र स्वाभावमा परिवर्तन गरी अन्तमा बेग्लै स्थितिमा देखिने चरित्र गतिशील पात्र हो र सुरुदेखि अन्तसम्म एउटै दृष्टिकोण र स्वभावमा रहिरहने चरित्रलाई सथिर वा गतिहीन पात्र हो !
२.च्याप्टा र गोलो चरित्र वा पात्र :- च्याप्टा पात्र भनेको सधै एकै विचार र मत ,गुण हुने र गोलो पात्र भनेको एकै सोचबिचार वा गुण नभएको पात्र !
३.सर्वभौम र आञ्चलिक पात्र :- संसारभरि उस्तै वा एकै प्रकारको विशेषता वा गुण प्रदर्शन गर्ने सामान्य प्रकृतिका पात्र सार्वभौम पात्र हो र कुनै खास स्थान ,क्षेत्र अञ्चल ,देश प्रदेश वा वातावरणका विशेषता वा गुण प्रदर्शन गर्ने विशिष्ट प्रकृतिका पात्र आञ्चलिक पात्र हुन् !
४.आदर्श र यथार्थ पात्र :- जीवनको वास्तविकताभन्दा टाढा रही कुनै विचार र सोचको प्रतिनिधित्व गर्ने नमुना चरित्रलाई आदर्श पात्र भनिन्छ भने मानवजीवनको वास्तविक रुप झल्काउने जीवान्त चरित्रलाई यथार्थ भनिन्छ !
५.बहिर्मुखी र अन्तर्मुखी पात्र :- बाहिरी संसारमा रम्ने वा भौतिक संसारमा रम्ने आशावादी प्रवृत्तिको चरित्र बहिर्मुखी पात्र हुन् भने आन्तरिक जगतमा रम्ने ,एकान्तप्रिय चरित्रलाई अन्तर्मुखी चरित्र भनिन्छ !
६.परम्परित र मौलिक चरित्र :- परम्परागत रुपमा परिचित प्रवृति बोक्ने चरित्रलाई परम्परित चरित्र भनिन्छ भने लेखकले आफै सृजना गरी नौलो प्रवृत्ति वा गुणले भरेको चरित्रलाई मौलिक चरित्र भनिन्छ !
७.पुरुष र स्री चरित्र :- पुलिंग नामसंग सम्बन्धित भई त्यस्तै स्वभाव र बर्णन भएका पुरुष चरित्र र स्रीलिंग नामसंग सम्बन्धित वर्णन चरित्रलाई स्री चरित्र भनिन्छ !
८.प्रमुख ,सहायक र गौण चरित्र :- उपन्यासमा जसले बढी महत्त्वको श्रेर्य पाएको हुन्छ त्यो हो प्रमुख चरित्र अनि उपन्यासमा त्यो भन्दा कम उल्लेख भएको चरित्र हो सहायक र उपन्यासमा त्यो भन्दा कम उल्लेख भएको चरित्र हो गौण !
९.अनुकूल र प्रतिकूल चरित्र :-सामाजिक प्रथा र मान्यता अंगाल्ने चरित्र हो अनुकुल र सामाजिक प्रथा र मान्यता विपरीत प्रवृत्ति भएको चरित्र हो प्रतिकूल पात्र वा पात्रा !
१०.वर्गीय र व्यक्तिगत चरित्र :- सामाजिक वर्गको चेतना वा विचारहरुलाई लिएर देखापर्ने चरित्र हो वर्गीय पात्र हो भने केवल आफ्नो वा वैयक्ति चेतना लिएर देखापर्ने व्यक्तिगत चरित्र हो !
११.मञ्चीय र नेपथ्या चरित्र :- सबैको सामुन्ने उपस्थित भई क्रिया-प्रकृिया वा बोल्ने चरित्र हो मञ्चीय पात्र र सबैको सामुने उपस्थित नभई केवल नाम मात्र उल्लेख गरिने चरित्र हो नेपथ्या !
१२.बद्ध र मुक्त चरित्र :- उपन्यासको कथानकको संरचनावाट हटाउनु नस्कने चरित्र बद्ध पात्र हो भने कथानकको संरचनावाट हटाएर पनि कुनै फरक नपर्ने चरित्र हो मुक्त !
प्रदर्शनात्मक विधि र कथनात्मक विधि :- प्रदर्शनात्मक विधि भनेको त्यस्तो दृश्यात्मक वा नाटकीय विधि हो जसमा चरित्रचित्रण चरित्रको संवाद वा कुराकानी र कार्यव्यापारद्वारा गरिन्छ !
वर्णनात्मक वा विवरणात्मक विधि हो जसमा लेखकले नै चरित्रका वारेमा सम्पूर्ण वर्णन गरेको हुन्छ !
वातावारण / पर्यावरण :-
परम्परागत रुपमा देशकाल र वातावारण भनिने उपन्यासको तत्त्वलाई आजभोलि पर्यावारण भनिन्छ ! यसलाई देशकाल र परिस्थिति पनि भन्ने गरिन्छ ! उपन्यासमा घटनाहरु घट्ने खास आधारका रुपमा रहने स्थानलाई देश र समयलाई काल भनिन्छ भने त्यस्ता घटनाहरुमा संलग्न चरित्र वा पात्रहरुले भोग्ने वा दर्साउने विभिन्न मानसिक अवस्थाहरुको समग्र चित्रलाई वातावरण ,परिस्थिति वा भावपरिमण्डल भनिन्छ !
स्थानीय रंग :- देसकालको प्रस्तुति बिशेष प्रकारले गरिन्छ भने त्यसलाई स्थानीय रंग भनिन्छ ! कृतिमा कुनै गाउँ ,शहर र स्थानविशेषको वोलीचाली ,ल्वाइखवाइ ,चालचलन ,रीतिस्थिति आदि वाध्य तत्त्वहरुको चित्रणलाई स्थानीय रंग भनिन्छ !
आञ्चलिक :- स्थानीय रंगलाईनै उपन्यासको केन्द्रिय बिषयवस्तु बनाइयो भने त्यो आञ्चलिक उपन्यास हुन्छ ! आञ्चलिकता भनेको कुनै खास अञ्चल वा भू-भागको सामाजिक ,आर्थिक ,सांस्कृतिक आदि जीवन र परम्पराको चित्रण कृतिको अनिवार्य आधार भूत र आन्तरिक तत्त्वका रुपमा गर्नु हो !
रङ्गसङ्गति :- उपन्यासमा व्याप्त त्यो भाव वा स्वर हो जसले पाठकका मनमा घटनाक्रममा सुखद वा दु:खद मोड़ लिन्छ भन्ने प्रत्याशा जगाइदिन्छ !
वातावारण :- उपन्यासको सुरुदेखि नै पाठकको मनमा सुख – दु:ख उत्पन्न गराउने भावलाई वातावारण भन्छ !
भाषा – शैली :-
उपन्यास साहित्यिक बिधा भएकोले यसलाई अभिव्यक्त गर्ने माध्यम भाषा हो ! चित्रको अभिव्यक्ति गर्ने माध्यम रंग र रेखा हुन् भने उपन्यासको अभिव्यक्ति गर्ने माध्यम भाषा हो ! उपन्यास जीवनको यथार्थ तस्बिर हो त्यसैले यसलाई अभिव्यक्ति गर्ने माध्यम गद्दभाषा हो ! उपन्यासमा बोलीचालीको भाषा पनि प्रयोग गर्न सकिन्छ र परिनिष्ठित भाषा पनि प्रयोग गर्न सकिन्छ ! कथ्य भाषा प्रयोग गरे पनि लेख्य भाषा प्रयोग गरे पनि उपन्यास एउटा सौन्दर्यानुभूति भएकाले सौन्दर्यपरक भाषाको प्रयोगमा ध्या दिइन्छ !
* उपन्यासमा बोलीचाली भाषा प्रयोग गर्न सकिन्छ !
* भाषामा सहजता स्वाभविकता ,प्रवाहमयता र प्रभावोत्पादकता हुनुपर्छ !
* उपन्यासमा सरल भाषाको प्रयोग गरे पाठकलाई उपन्यास बुझ्न सहजता हुन्छ !
* उपन्यासमा आलङ्कारिक , प्रतिकात्मक ,विम्बात्मक वा व्याञ्जनात्मक भाषाको प्रयोग हुव्छ !
शैली :-
* लेखक वा साहित्यकारहरुको आ -आफ्नो लेख लेख्ने पद्धति वा तरिका हुन्छ त्यसैलाई शैली भन्छ !
* शैली लेखकको बिचारको पोशक हो !
* शैली अनुभूतिको व्यक्तिगत रुप हो !
* शैली भनेको स्वंय रचनाकार हो !
* शैली भनेको रचनाकारको व्यक्तित्त्व र मस्तिष्कको छाप हो !
* उचित ठाउँमा उचित शब्दको प्रयोग पनि शैली मानिन्छ !
* भाषाद्वारा विचार पोख्नु पनि शैली हो !
* शब्द-शब्दलाई श्रृंखलाबद्दरुपमा मिलाएर राख्नु पनि शैली हो !
* लेखकले जे जसरी अफ्ना विचार , भावना ,व्यक्त गर्छ त्यो अभिव्यक्ति नै शैली हो !
बर्णनात्मक शैली :- वर्णन वा व्याख्याको प्रस्तुत गर्ने उपन्यासलाई वर्णनात्मक शैली भनिन्छ !
आत्मकथात्मक शैली :- म पात्रका माध्यमबाट उपन्यासको प्रस्तुति दिने अभिव्यक्त ढंगलाई आत्मकथात्मक शैली
भनिन्छ !
पत्रात्मक शैली :- चिठी वा पत्रका रुपमा लेखिएको उपन्यासलाई पत्रात्मक शैली भनिन्छ !
दैनन्दिनी शैली :- दैनिकी वा डायरीका रुपमा प्रस्तुत गरिएका उपन्यासमा देनन्दिनी शैली हुन्छ !
चित्रात्मक शैली :- स्थानीय रंगलाई मुलभूत रुपमा देखाउने आञ्चलिक उपन्यासलाई चित्रात्मक शैली भनिन्छ !
चेतनप्रवाहात्मक शैली :-पात्रका संस्मरण शक्तिको माध्यमले मनका भावहरुलाई स्मृतिविम्बका उपन्यास प्रस्तुत गर्नु चेतनाप्रवाहात्मक शैली हो !
दृष्टिविन्दु :-
दृष्टिविन्दु भन्नाले कथा वा उपन्यास कृति कथन वा वर्णन गर्ने वक्ता बुझिन्छ !दृष्टिविन्दु दुई प्रकारका छन्
१.आन्तरिक दृष्टिविन्दु / प्रथम पुरुष / म ,हामी
२.बाहिर ,बाह्य ,दृष्टिविन्दु /तृतीय पुरुष /उ ,उनीहरु
उद्देश्य :-
उपन्यास रचना गर्न प्रेरित गर्ने मूल भाव ,विचार वा दृष्टिकोण नै उद्देश्य हो ! उपन्यासकार कुनै न कुनै उद्देश्यको प्रतिपादन गर्ने लक्ष्य लिएर उपन्यासको सृजना गर्छ !