~राजेन्द्र ज्ञवाली~
लामो सेताम्म दारी, तर जुँगा भने सफाचट । मुखमा प्राय पान र त्यसका कारण रातो (विस्तारै कालो हुन थालेका) ससाना दाँत ! अग्लो अथवा मझ्यौलो शरिर, अनी हातमा कालो बेँतको लठ्ठी ! प्राय सेतो रङ्गको पाइजामा र कमिजमा देखिने उनको नाम त हामी कसैलाई थाहा थिएन, तर सबैले उनलाई थर्ड मास्टर भन्थे, तर उनलाई सम्बोधन गर्दा भने थड माड्साप भन्ने सुनिन्थ्यो र हामीले पनि यही उच्चारण गथ्र्यौँ । सम्भवतः स्कुलमा मास्टरहरूको वरियतामा उनी तेस्रोमा पर्थे । उनका बारेमा हामी केटाकेटीहरूबीच धेरै पटक धेरै किसिमका कुरा हुन्थ्यो ।
सधै गम्भिर देखिने उनको व्यक्तित्वको वयान गर्दा अरु कुरा छुटे पनि उनको हातमा सधै हुने त्यो बेँतको लट्ठी भने छुट्दैन थियो । अनी हामी ससाना केटाकेटीबीच त्यो लठ्ठी भयको कारण हुन पुगेको थियो । उनको व्यक्तित्व नै त्यति डरलाग्दो (वास्तवमा प्रभावशाली) थियो की, हामी विद्यार्थीहरू उनको नाम सुन्नासाथ थर्कमान हुन्थ्यौँ, त्यसमाथि उनको हातमा हुने लठ्ठीले उनको व्यक्तित्वलाई हामीहरूका नजरमा अझ भयावह बनाएको थियो ।
उनको अगाडि हामी कसैको वोली फुट्दैनथ्यो । उनलाई देख्नासाथ पेट गडबड भएको अनुभव हुन्थ्यो । त्यसमाथि उनको त्यो बेँतको लठ्ठीलाई लिएर भित्र भित्रै एउटा भनाइले हामीबीच व्यापकता पाएको थियो । त्यो के भने उनले त्यो लठ्ठीलाई घर पुग्नासाथ तेलमा डुबाएर राख्छन् रे ! त्यसरी तेलमा डुवाएर राखेको बेँतले हिर्काउदा वढी चोट लाग्छ रे ! उनका वारेमा सुनिने यस्तै कुराले उनलाई हामी केटाकेटीबीच झनै डरलाग्दो बनाएको थियो । एक दिन कसैले अर्को खवर ल्यायो उनले रिस उठेको खण्डमा दश कक्षाका विद्यार्थीलाई पनि पिट्छन् रे ! त्यो सुनेर हामी सबै कहाल्लीएका थियौँ ।
त्यो समय दश कक्षाका विद्यार्थीलाई पिट्नु भनेको हाम्रो लागि चानचुने कुरा थिएन । किनभने त्यतिवेला दश कक्षाका विद्यार्थीमध्ये धेरै जसो अली पाका उमेरका भए जस्तो लाग्थ्यो हामीलाई । त्यसमाथि हाइ स्कुल भएको हुनाले दश कक्षाका विद्यार्थीहरू हाम्रा लागि मास्टरपछिका वरिष्ठ थिए । कतिपय पटक हाम्रो कक्षामा कुनै शिक्षक अनुपस्थित भएको अवस्थामा दश कक्षाका दाजुहरूले आएर पढाउने गर्थे । अनी यसरी पढाउदा उनीहरू पनि हामीलाई शिक्षक जस्तै लाग्थे ।
थर्ड मास्टरको वसाइ पनि स्कुल नजिकै थियो, सडक पारी । हामी वेलुका वेलुका अरु विद्याथीसँगै खेल्न त्यही स्कुलको ठूलो चउरमा पुग्थ्यौँ । त्यहाँ जाँदा आउँदा उनलाई धेरै पटक आफ्नो करेसा वारीमा काम गर्दै गरेको देखेका थियौँ । कहिले काही सँगैका छिमेकीहरूसँग कुरा गर्दै गरेको अवस्थामा देखिन्थे । तर हामी भने आफूलाई सकेसम्म उनको नजरबाट लुकाएर लैजाने कोशिश गथ्र्यौँ । लगभग दिनहू जसो वेलुका उनको घर सामुबाट हिड्दा उनले हामीलाई धेरै पटक देखेका थिए । यसरी हामीलाई खेखिहालेको खण्डमा पनि उनले खासै वास्ता गर्दैनथे । तर त्यसले हाम्रो डर कम भने भएको थिएन ।
त्यतिबेला हामी कक्षा चारमा पढ्नेहरूका लागि कोठा र वेञ्चको व्यवस्था थिएन । दिन सफा भएको वेला हामी वाहिर चउरमा लगभग २० मिटर लामो दुई वटा टाट विछ्याएर त्यसैमा लहरै वस्थ्यौँ एउटा टुप्पामा दुबै टाटको विचमा कुर्सी राखेर थडमाड्साप वस्थे । यसरी वस्दा उनले बेँतको एउटा टुप्पो जमिन र अर्को कुर्सीमा अड्याउने गर्थे ।
म लगायत हामी दुई चार जना उनको कक्षामा भने टाटको पछाडी पट्टी उनले नदेख्ने गरी वस्थ्यौँ । अनी मौषम विग्रिएको वेला भने स्कुलकै लामो वरण्डामा त्यसरी नै टाटमा वस्थ्यौँ । उनी सामु हुँदासम्म हामी यती भयभित हुन्थ्यौँ की उनले के पढाए के पढाएनन् केही थाहा हुदैनथियो । कक्षा अवधी भरी नै उनले नदेखे हुन्थ्यो भन्ने कामना गथ्यौँ ।
एक पटक म वेलुका खेल्नका लागि स्कुल जाँदै थिए । उनलाई आफ्नो करेसा वारिमा देखेँ । तर त्यस दिन म उनलाई नदेखे जस्तो गरेर हिड्न सकिन । कारण उनले एउटा काखे वालक वोकेका थिए । त्यो देखेर मलाई अचम्म लागेको थियो । उनको व्यक्तित्व त हाम्रा लागि गल्ती खोज्दै केटाकेटीलाई पिट्ने मास्टरका रुपमा मात्र थियो । तर उनी त केटाकेटीलाई मायाँ पनि गर्दा रैछन् त ! मैले हिड्ने क्रममा एक दुई पटक हेरे ।
उनी वालकलाई थुमथुम्याउदै उसँगै कुरा गरि रहेका थिए । त्यो देखेर मेरो मनमा पहिलो पटक अली वेग्लै भावना जागेर आयो । तर डर भने त्यति वेला पनि कम भएको थिएन । खेल्ने ठाउँसम्म पुग्दासम्म मेरो वाल मष्तिस्क दुविधाग्रस्त भएको थियो । आखिर उनी त्यति डरलाग्दा भएर पनि केटाकेटी खेलाएर वस्दा रहेछन् त ? भरखरै मेरो आँखाले देखेको कुरा मनले मान्न तयार थिएन । उनका वारेमा मैले सुन्दै आएका कुरा गलत हुन् त ? तर उनको हातमा सधै देखिने त्यो बेँतको लठ्ठी त गलत होइन, अनी ? केही वेर आफैसँग प्रश्नोत्तर गरेपछि मैले निश्कर्ष निकाले–उनी आफ्ना केटाकेटीलाई मात्र मायाँ गर्छन् तर अरुलाई भने पिट्छन् ।
अनी एक वेलुका हामी स्कुलको चउरमा फुटबल खेली रहेका थियौँ । उनी घुम्दै घुम्दै आइ पुगे । उनको हातमा त्यो बेँतको लठ्ठी थियो । हामीलाई डर लागेर आयो, अब पढ्न नवसेर खेलेको भन्दै पिट्ने पो हुन की ! तर त्यसो केही भएन । उनी हामी खेली रहेको ठाँउ नजिकै उभिएर हेर्न थाले । मेरो पुरा ध्यान भने उनमै केन्द्रित भएको थियो, जसले गर्दा म राम्ररी खेल्न सकिरहेको थिइन । केही वेरपछि खेलका क्रममा धक्का मुक्की गर्ने साथीलाई उनले त्यसो नगर्न भने । उनले यसो भन्दा झर्केर अथवा हपारेर भनेका थिएनन् । उनले यसरी सामान्य किसिमले वोलेको देख्दा मलाई निकै आनन्द अनुभव भएको थियो । त्यसपछि मेरो संकोच अली कम भयो ।
त्यतिवेलासम्म म अचानक उनको सामुन्य परिहाले डरले काँप्न छाडी सकेको थिए, वरु उनलाई आदर पूर्वक दुवै हात जोडेर नमस्कार भन्थेँ, उनले पनि आफलो टाउको विस्तारै झुकाएर जवाफ दिन्थे ।
अनी एक दिन स्कुलमा अन्य मास्टरहरूसँग कुराकानी गरि रहेका उनलाई हामीले मुस्कुराएको देख्यौँ । मलाई झनै अचम्म लागेर आयो । त्यसपछि अझ कुनै कुरा सुनेर उनी हाँस्न पो थाले । वास्तवमा उनी त्यति डरलाग्दो हैनन् जस्तो लाग्यो मलाई । साच्चै उनी मुस्कुराएको देख्दा निकै आनन्द अनुभव भएको थियो मलाई । उनी त अरु माडसापहरू जस्तै सामान्य लागेको थियो मलाई तर उनको हातमा देखिने त्यो वेँतले पूर्ण रुपमा यो कुरा स्विकार गर्न मलाई दिएको पनि थिएन ।
त्यस दिन हाम्रो वार्षिक परिक्षाफलको दिन थियो । हामी सबै स्कुलको वरण्डा सामुन्य चउरमा थियौँ र एक जना शिक्षकले वरण्डामा उभिएर हाम्रो रिजल्ट वताइ रहेका थिए । फलाना उत्तिर्ण, फलाना अनुत्तिर्ण । अनी मेरो नाम वोलाएर उनले उत्तिर्ण भनेपछि म खुसीले दुगुर्दै गएर उनको हात बाट मार्कसिट लिएर आएँ । खुसीका साथ म घर तिर जाँदै थिए कसैले मेरो नाम लिएर वोलायो । मैले पछाडी फर्केर हेरे–ओ हो, उनै थर्ड मास्टरले मलाई वोलाइ रहेका थिए । म उत्तिर्ण भएकोले पिटाइ खाने कुनै कुनै कारण थिएन । तर पनि मन भित्र डर जागेर आयो । उनले ‘खै तिम्रो नम्बर हेरौँ’ भन्दै मेरो हातबाट मार्कसिट लिए । म डर र संकोचले खुम्चिदै गएको अनुभव भयो ।
‘ल सबै त ठिक रहेछ, तर गणितमा तिम्रो अली कम नम्बर रैछ है, यसमा मिहिनेत गर ।’ उनले त्यति भनेर मलाई मार्कसिट फर्काए । ‘उनी गइ सकेका थिए, तर म भने अचम्म मान्दै उभिएको थिए । हाम्रो स्कुलका सबैभन्दा डरलाग्दा मास्टरले मसँग त्यति मिठो कुरा गरेर हिडेका थिए, मलाई विश्वासै लागेको थिएन । मैले वरिपरि हेरेँ । हत्तेरिका ! यही वेलामा कुनै सहपाठी त्यहाँ थिएनन् । उनीहरू भएको भए मेरो शान नै अर्कै हुन्थ्यो । थड माड्सावले मसँग त्यति मिठोसँग कुरा गरेको उनीहरूले देखेको भए साथीहरू माझ मेरो इज्जत वढ्ने थियो ।
भरखरै घटेको घटना मेरा लागि सपना जस्तै भएका थिए । त्यस्तो डरलाग्दो मान्छेले मसँग त्यति मिठोगरी वोलेर गए । अनी मलाई लाग्यो उनलाई त्यसै डरलाग्दो वनाएर प्रचार गरिएको रहेछ । त्यतिवेला नै मलाई अर्को सत्यको महसुस भयो त्यो के भने मैले त उनको हातको पिटाइ खान पनि परेको थिएन । म मात्र किन हाम्रो कक्षाका धेरै जसो विद्यार्थीले उनलाई पिटेका थिएनन् । जजसलाई पिटेका थिए उसलाई पनि एक दुई थप्पड हिर्काएका थिए लठ्ठीले हिर्काएको हामीले देखेका थिएनौँ ।
हो, त्यो लठ्ठी त उनले लिएर हिड्थे तर त्यो त वाटामा हिड्ने भुस्याहा कुकुर धपाउन पनि त हुन सक्थ्यो नी । उनको गम्भिर व्यक्तित्व र हातमा देखिने बेँतलाई लिएर कसैले यो कथा बनाएको थियो र समय अनुसार कथामा काल्पनिक घटना जोडिदै गएका थिए जसले उनलाई झनै भयावह वनाएको थियो । यस्तो डरलाग्दो हुने गरी आफ्नो चरित्र चित्रण गरिएको सम्भवतः थड माड्सापलाई थाहा थिएन । अथवा थाहा पाए पनि वास्ता गरेका थिएनन् ।
(स्रोत : सदृश्य डट कम)