कथा : स्वर्गको पितृ

~मोदनाथ प्रश्रित~

चलिरहेको रेलमा अन्दाजी असी वर्षका एकजना बुढालाई नेपाली ठहराएर मैले सोधें–“बा को घर कहाँ होला ?”

“मैले भनेको पत्याउनु होला र ?” उल्टै उनले मैतिर प्रश्न तेस्र्याए ।

“किन ? नपत्याउनुपर्ने के कारण छ र ?”

“कुरा त्यस्तै छ । धेरैले मेरो घर सोध्छन् तर सही कुरा बताउँदा मलाई नै उल्लु बनाउन खोज्छन् ।

“सही कुरा भए नपत्याउने कुरै के भयो र ?”

“स्वर्ग हो मेरो घर, पत्याउनु हुन्छ ?” स्वर बडो सहज र खस्रो थियो ।

मेरो मुखमा स्वाभाविक कौतुहल देखेर उनले फेरि आफै भने–“मेरो घरको कुराले मात्र अचम्म पर्ने कुरा के भयो र ? मेरो नाम पनि त सुनिराख्नोस् ।”

“सुनौन त ” मेरा जिज्ञासु आँखा उतै थिए ।

“पितृ ¤”

उनका मुखमा कुनै ठट्टा गरे जस्तो झलक पनि थिएन ।

“निकै बुढो भैसकें भनेर त्यसो भन्नुभएको ?” मैले भने ।

“त्यसै भएर त मैले पहिले नै भनेको । इः तपाईले पनि मेरो कुरा पत्याउनु भएन ।”

“यस्तो उमेरमा पनि ठट्टा गर्ने, तपाई त मान्छे निकै रसिलो हुनुहुन्छ जस्तो छ । बाटो सजिलै काटिने भो ।”

“यही त फसाद छ अविश्वासको । अहँ मैले ठट्टा गरेको हैन । हुन त तपाईलाई मैले उट्पट्याङ कुरा गरे जस्तो लागे होला तर कुरा एकदम साँचो हो ।

मैले मतलव बुझिन । उनीतिर एकोहोरिएका मेरा आँखामा कुत्कुतिका प्रश्न नाँचिरहे ।

“यो एउटा, कुरा मात्र हैन, साँचो कथा हो , एउटा नेपालीको मर्मको कथा ।” उनी भन्दै गए–“म स्वर्गको पितृ भएको आज हैन, पूरा पैंतीस वर्ष बितिसकेका छन् । के तपाई यो कथा सुन्न चाहनुहुन्छ ?”

स्वभावतः मेरो उत्सुकता बढ्यो । अहिले उनका चाउरी परेका आँखा रेलको झ्यालबाट आकासको बादलतिर तानिएका थिए । ती आँखा एक तमासको करूणाले भरिंदै गए र गहभरी डब्डबाएका आँसु हत्केलाको पीठले पुछ्दै उनी भन्दै गए–
दोस्रो विश्वयुद्ध शुरू हुनुभन्दा पाँच वर्ष अगाडि नै म भारतको ब्रिटिश फौजमा भर्ती भएँ । सन् १९४३ मा युद्ध चर्केको बेला हामी बर्माको मोर्चामा थियौं । लडाईँ जम्कदै गयो । एक दिन हामी लड्दालड्दै एकाएक जापानीहरूको घेराबन्दीमा प¥यौं । सैकडौं साथीहरू सोत्तर परे । भाग्न सक्ने भोग होलान् तर म पक्डिएर युद्ध बन्दी बनाइएँ ।

जापानको कैदबाट उम्केपछि म फेरि वर्मामा नै फर्कें । समय धेरै अगाडि बढिसकेको थियो । बर्मा स्वतन्त्र भैसकेको थियो र अब त्यहाँ ब्रिटिश फौज पनि थिएन । म रित्तै हात थिएँ तर वर्माको नेपाली समाजमा आइपुग्दा मलाई आफ्नै गाउँमा पुगे जस्तो लाग्यो ।
परिवारको निम्ति केही कमाई गर्न विदेश पसेको मान्छे, तर परिस्थितिले मलाई कहाँबाट कहाँ उछिट्याएको थियो । तैपनि मलाई रित्तै हात देश फर्कन मन लागेन । नेपालीको तग्दीर ¤ म त्यहीं गाई गोठ पाल्न तिर लागें । त्यो पेशा मलाई फाप्दै पनि गयो । पैसा कमाउने धुनमा म त्यसै काममा डुब्दै गएँ । पैसाको मोहनीले मलाई घर पनि बिर्साउँदैलग्यो । बढेको व्यवहारले गर्दा एकदिन म त्यहीं अर्को बिहे गर्न पुगें । त्यसपछि बढ्दो आम्दानी, नयाँ श्रीमती र जन्मदै गएका नानीहरूको मोहले मेरा थुप्रै वर्षहरू त्यही बित्दै गए ।
सन् १९६५ तिर एक रात मैले आफ्नी पहिली श्रीमतीलाई सपनामा देखें । सारा घरबार लुटी उसलाई साहुले लखेटिरहेको, ऊ काखमा नानी च्यापेर रूँदै, गुहार माग्दै दगुरिरहेकी ।

व्यूँझेपछि म आफ्नो जन्म ठाउँका सारा दृश्यहरू सम्झन थालें । आफ्ना बाल दौंतरीहरू सम्झें । म हिंड्दा श्रीमती गर्भवती थिइन् । तिनबाट के जन्मे होला ? त्यो मेरो सन्तान कत्रो भयो होला ? यस्तै अनेकौं सम्झनाले मलाई घरतिर ताने । खासगरी साहुबाट श्रीमती लखेटिएको सपनाले म झस्याड्ड भएँ । अनि कान्छी श्रीमतीलाई व्यवहार चलाउन लगाई म चाँडै फर्कन्छु भनेर पचास हजार रूपियाँ लिई नेपालतिर लागें ।

गोरखपुरबाट नौतनवाको रेल चढेपछि त्यस कोठामा एउटा नेपाली युवक मेरैसाम्ने बस्न आइपुगे । मैले युवकको अनुहार हेरेर सम्झें– मेरी श्रीमतीबाट छोरो जन्मेको भए त्यो पक्कै यत्रै भैसकेहोला । किन कि ती युवकप्रति अनायास मेरो आकर्षण बढ्यो र सोधें–“बाबुको घर कहाँ होला ?”

“गुल्मी” उनको छोटो उत्तर थियो ।

“गुल्मी कहाँ ?”

“थोर्गा”

“ग्वादीतिर चिनजान छ ?”

“मेरै बिहा ग्वादीमा भएको छ नि ।”

“ग्वादी कहाँ हँ ?”

“कोल्पाटा”

“कसरी छोरी ?”

“मेरा ससुराको नाम त धनबहादुर हो रे । तर उहाँ दोस्रो विश्वयुद्धमा जापानीहरूबाट मारिनुभएको रहेछ ।”

युवकको मुखबाट आफ्नो नाम र अझ वर्माको लडाईमा मै मरेको कुरा सुनेर म झसंग भएँ । तर युवकबारे मेरो कुत्कुती भन् बढेको थियो, त्यसैले आफूलाई सम्हाले । म झस्केको देखेर युवक रोकिए । मैले भनें–
“ए… विचरा धनबहादुर बर्मामा मरेछन् । खबर कहिले आइपुगेछ नि ?”

“विश्वयुद्ध टुंगिनासाथ लडाईमा मर्नेहरूको बारेमा ब्रिटिश सरकारले घरपरिवारलाई सूचना दिएछ । सासुमाथि बज्रपात नै थियो त्यो । तर गर्ने के ? उहाँले क्रियाकाष्ठा पूरा गरी ससुराको पेन्सनको निम्ति निवेदन गर्नुभएछ ।”

“अनि …., पेन्सन मिलेछ त ?”

“अँ, पेन्सन त मिलेछ तर सासुको निम्ति त्यो पेन्सन मुटुको घाउ जस्तै भएको छ । विदेशमा गएका लोग्ने धेरै कमाएर घर फर्कलान् र एक दिन त सुखको सास फेरौंला भन्ने उहाँको कत्रो धोको थियो । तर बाइस तेइस वर्षको उमेरमा त्यसरी अचानक विधवा भएर लोग्नेको पेन्सन थाप्नुपर्दा उहाँलाई सहिनसक्नु पीडा भएको छ । तर व्यवहारको समस्याले गर्दा मान्छेले पैसाको निम्ति हात पसार्नै पर्दोरहेछ । उहाँको स्यूँदो पुछिएको आज पच्चिस वर्ष बितिसकेको छ । पोहोर साल गयाजी गएर ससुराको श्राद्ध पनि गरेर फर्कनुभो, तर पनि उहाँको मुटुको घाउ अझ पुरिएको छैन ।”

म अचम्म परेर टोलाइरहें । मेरा दिमागमा आफ्नै विधवा श्रीमतीको तस्वीर फन्फनी घुम्न थाल्यो । आफू ज्यूँदै छँदै उनको स्यूँदो पुछिएको, चुरा फुटेको र सेतो पहिरन लागेको डर लाग्दो दृश्य सम्झेर मेरो मुटुमा डढेलो सल्कँदैगयो । धेरैबेरको मनको उथलपुथलपछि मैले मुटुमा भक्कानो पारेर सोधें–
“तपाईको विवाह भएको कति भयो ?”

“अहिले पाँच वर्ष पुग्यो ।”

“श्रीमतीको नाम के होला नि ?”

“लक्ष्मी ।”

“नानीहरू पनि भए कि ?”

“यसै साल छोरा जन्मेको छ ।”

मेरा दिमागमा युवती भैसकेकी छोरी र उसका काखमा खेलिरहेको नाती पनि नाच्न थाल्यो । उसलाई देख्ने रहर, सागरको लहर झैं मेरा मनमा उर्लन थाल्यो । तर अर्कातिर श्रीमतीको त्यो विभत्स रूप घ् म त्यो कसरी हेर्न सक्छु घ् म त्यहाँ गए गाउँलेहरूको आँखामा युद्धको प्रेत पो बन्ने छु । अहँ म त्यहाँ जान सक्दिन ।

मेरो दिमागमा धेरैबेर द्वन्द्व मच्चिइरह्यो । तर अन्तमा अठोट गरें–अहँ म घर जान्न ।

मैले झोलामा चालिस हजार रूपियाँ निकालेर युवकका हातमा राखिदिंदै भनें “यसबाट बीस हजार तपाईकी सासुलाई दिनुहोला र बीस हजार तपाईका दुलाहा दुलहीले खर्चनुहोला ।”

रेल आनन्दनगर स्टेशनमा आएर रोकिएको थियो । पैसा हातमा पर्दा युवकका आँखामा उदेक र आश्चर्य लहराएको थियो, तर उनले केही भन्नुभन्दा अगाडि नै म एकदम छिटो उठेर रेलबाट ओर्ले र पछाडितिर हेर्दैनहेरी सरासर बजारतिर लागें । ती आफ्नै ज्वाई पर्ने युवकले मलाई चिन्न पनि पाएनन् । त्यसपछि उनमा के प्रतिक्रिया भयो, मैले केही थाहा पाइन, म कुंदे, कुदिंरहें …. ।

त्यसपछि एकाएक मलाई ठूलो ज्वरो आयो र म थलिएर दुई महिना गोरखपुर अस्पतालमा बसें । ठीक त्यसैबेला बर्माले नेपालीहरूलाई बर्मा पस्नमा रोक लगायो । मेरानिम्ति अब दुवैतिर ढोका लागेका थिए । न म वर्माको परिवारलाई भेट्नजान सक्थें, न नेपालको परिवारलाई ।

नेपालमा म मरिसकेको थिएँ । त्यहाँ मेरो काजकिरिया भैसकेको थियो र गयामा समेत मैले विधवा श्रीमतीको हातबाट पिन्डपानी पाइसकेको थिएँ । वर्मामा म जिउँदै थिएँ तर त्यता जाने ढोका बन्द थियो ।

त्यसपछि दश वर्ष बितिसकेका छन् । मरेर व्यूँझेको बायु जस्तै भएर म घुमिरहेको छु ।

मेरा मुखतिर हेरेर ती बृद्धले भने–“भन्नोस् त बाबु, म स्वर्गको पितृ हैन त ? के मैले आफ्नो घर र नाम झुट्टा बताएको थिएँ ? या मैले ठट्टा गरेको थिएँ । के मेरो यो मर्म बुझिदिने कोही होला ?”

म अवाक् भएर उनको मुखमा हेरिरहें ।

(सत्य घटनालाई आधार बनाएर, वीरगन्ज जेलमा बसेका बेला २०३८ सालमा प्रश्रितले लेख्नुभएको यो कथा हामीले उहाँका संकलित रचनाहरू खन्ड ३ बाट लिएका हौं ।)

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३९ – Aug. 15, 2012 – २०६९ श्रावण ३१ गते, बुधबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.