~धर्मराज थापा~
एकलासे रानी वनमा
गोल काटयो कामी दाइले
ग्रीष्मको पोल्ने घाममा
भिज्दै पसीनाले
गोल पारी पारी हेर्छ
कामी यताउता
देख्छ बोल्ने चल्ने चित्र
समीरमा, नाच्ने लता ।
खाल्डो खनी पोल्छ गोल
जीवनको त्यै हो मोल
शहर घुमि घुमि बेच्छ
जीवनको मोल
एकमानो पीठो किनी जान्छ कामी घर
कमिनीलाई भन्छ कामी भोक लाग्यो तर
पीठोलाई मीठो बना खाउँला दुवै जना
भोली फेरी गोल काट्छु केको मलाई डर
कमिनीले भन्छे “राजा” मेरो गुन्यू छैन
उसैगरी कामी भन्छ मेरो टोपी छैन
आज मैले ल्याएको छ भूस चाली ढुटो
रोटी हाल्छ मिसाएर त्यो ल्याएको पीठो
यती भए मलाई पुग्छ कामी दायले भन्छ
रुदै भन्छे कमिनीले मलाई कहाँ पुग्छ ।
(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)