~देवी नेपाल~
गजलको सम्बन्ध श्रृंगार रससँग जोडिएको छ । गजलको उत्पत्तिमा प्रेमिकासँगको वार्तालाप अर्थ दिएर यसलाई पूर्णतः प्रेम विषयक विधाका रूपमा अगाडि सारिए पनि पछिल्लो चरणमा उर्दु÷फारसी वा हिन्दी साहित्यमा पनि अन्य विषयले विशेष प्रवेश पाएको देखिन्छ । विचारलाई वा कुनै निश्चित सिद्धान्त र दृष्टिकोणलाई गजलमा प्रयोग गर्नु युगीन परिवेशको माग हो । नेपाली गजलको उत्पत्ति कालदेखि सुषुप्त कालसम्म पनि श्रृंगारिक विषयले मात्र स्थान पाएको देखिन्छ । पुनर्जागरण कालमा भने विचारले विशेष रूपमा प्रवेश पायो । २०४० को दशकमा नै ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, ललिजन रावल, धर्मोगत शर्मा, तुफान, बुंद राना, घनश्याम न्यौपाने “परिश्रमी” लगायतका स्रष्टाहरूले समसामयिक चेतना र राष्ट्रिय परिवोशलाई गजलमा उतार्ने काम गरे । नेपाली जगलको पुनर्जागरण काल हरेक अद्र्धदशक र एक दशकका बीचमा कुनै न कुनै राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र युगीन महत्व राख्ने घटना वा परिवेशबाट प्रभावित देखिन्छ ।
स्रष्टा समयसापेक्ष भएन भने अभिव्यक्तिमा विश्वसनीयता हुँदैन । कपोल कल्पना र भावकुतामा सिर्जना भएको साहित्यभन्दा जीवनमुखी साहित्य बढी विश्वसनीय हुन्छ । यो युग सुनकेशरा रानीको कथा लेख्ने वा वायुपंखी घोडामा डुल्ने राजकुमारको वर्णन गर्ने युग होइन । देश दिन प्रतिदिन अस्तव्यस्त छ, जनता अन्योलग्रस्त छन्, नेतृत्ववर्ग उदासीन छ, गाउँघ र कर्मठ पाखुरीहरूले शुन्य छन्, युवावर्गको विदेशपलायन दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा कुनै पनि स्रष्टा समस्याहरूप्रति आँखा चिम्लिएर भावकुताको पछि दौड्न सक्दैन । अलिकति पनि संवेदना भएको मान्छे अहिले स्वाभाविक रूपमा आन्दोलित हुने परिस्थिति निर्माण भएको छ । एउटा स्रष्टा त्यस युगको सबैभन्दा सचेत र संवेदनशील नागरिक हो । उसले यथार्थलाई ध्यान नदिएर कल्पनाको संघारमा दौड्न थाल्नु युगलाई धोका दिनु हो । एउटा स्रष्टाको हरेक युगमा मूल्यांकन भइरहन्छ । प्रत्येक एक दशक वा दुई दशकपछि समयले संष्टालाई जोखिरहन्छ । त्यस इतिहासको मूल्यांकनमा स्रष्टाप्रति प्रश्न उठ्दा उसले दिने उत्तर उसको तत्कालीन सिर्जना नै हो । देश दुर्घटनाको संघारमा पुगेका बेलामा त्यस समयका स्रष्टाहरू के गर्दैै थिए ? भनी इतिहासको पाना पल्टाउँदा दिन मिल्ने उत्तरको निर्वाह सिर्जनाले गर्न सक्यो भने मात्र त्यो सिर्जना र सर्जक दुवैको युगीन महत्व हुने गर्दछ ।
वर्तमान देशको विकराल परिस्थितिका बीचमा जन्मिएका हरेक स्रष्टाहरू यसप्रति संवेदनशील हुनु स्वभाविक हो । त्यसमा पनि देशभित्रको गरिबीले धकेलेर विदेशी भूमिमा जीवन बिताउन बाध्य स्रष्टाहरूमा त त्यो संवेदनशीलता झ्न बढी हुँदो रहेछ । कल्पना पौडेल “जिज्ञासु” यस्तै संवेदनशील नारी स्रष्टा हुन् । गैडाकोट ४, नवलपरासी स्थायी बसोबास भए पनि हाल बैदेशिक रोजगारीको खोजीमा इजरायल पुगेकी कल्पनाभित्र आफ्ना बाध्यता, पीडा र संवेदनाहरू जति छन्, त्यति नै देशको माया पनि छचल्किएको पाइन्छ । उनी देशबाट टाढा हुनुलाई देशप्रेमको उत्प्रेरकको रूपमा लिने गर्छिन । सामान्य रूपमा हेर्दा गरिबीले धकेलेर अर्काको मुलुकमा आर्थिक संकट समाधानका लागि पुगेको व्यक्तिलाई फेरि त्यही गरिब देशको सम्झनाले किन सताउनुप¥यो र ? भन्ने प्रश्न पनि उठ्न सक्छ तर एउटा स्रष्टा निजी जीवनमात्र बाँच्दैन । उसको अनुभूतिभित्र अनगिन्ती नेपालीहरूको अनुभूति र समस्या पनि समेटिएको हून्छ । जति टाढा भए पनि देशका हेरक दिनका गतिविधिसँग नजिक रहनु एउटा सचेत नेपालीको पहिचान हो । कल्पना त्यही सचेत नेपालीकी प्रतिनिधि नारी चरित्र हुन् भन्ने कुरामा प्रमाण प्रस्तुत भावनाका भेलहरू गजल संग्रहमा समेटिएका ९९ वटा गजलहरू हुन् । कल्पना विचार, संवेदना र करूणाकी गजलकार हुन् । उनीभित्र स्पष्ट प्रगतिवादी विचार छ । एउटी सचेत नारीभित्रको संवेदना छ र जीवन र जगतलाई हेर्ने करूणामय दृष्टिकोण पनि छ । कल्पनाका गजलहरू विषयगत विविधताका दृष्टिले धेरै खाले भेटिए पनि स्पष्ट वैचारिक दृष्टिले खारिएका देखिन्छन् । प्रेमलाई हेर्ने उनको आफ्नै शिष्ट, सभ्य र भद्र दृष्टिकोण छ । प्रेम विषयमा होस् वा अन्य विषयमा उच्छृङखलता र उद्दन्डता कतै पनि पाइँदैन । एउटा समाजसचेत, युगसचेत र जीवनबोध भएको स्रष्टाको दृष्टिकोण र अभिव्यक्तिको भाषा दुवैको प्रशंसनीय उपस्थिति कल्पनाका गजलको विशिष्ट चिनारी हो । यस संग्रहमा समावेश गरिएका सम्पूर्ण गजलहरूलाई हेर्दा निम्नलिखित विषयक्षेत्र र शीर्षकहरूमा विभाजन गरेर तिनको विश्लेषण गर्न सकिन्छ ।
प्रगतिवादी चेतना र जागरणको प्रयोग
कल्पनाका गजलहरू प्रगतिवादी वैचारिक दृष्टिले उच्चकोटीका छन् । माक्र्सवादी दर्शनबाट प्रभावित देखिने उनको अभिव्यक्ति एउटा सशक्त राजनीतिज्ञको जस्तै लाग्दछ । विशेषतः वर्गीय चेतनामा केन्द्रित भएर उच्च वर्गका क्रियाकलापहरूप्रति असन्तुष्टि व्यक्त गर्दै निम्न वर्गलाई चेतना र जागरणको बाटो देखाउनु प्रगतिवादी लेखनको विशेषता हो । त्याग र बलिदानको सम्मान गर्दै शोषकवर्गले शोषितवर्गलाई गरेको अन्याय, अत्याचार र अमानवीय क्रियाकलापको विरोध गर्दै वर्गीय मानवतावादका पक्षमा आवाज उठाउनु उनका गजलको उल्लेखनीय पक्ष हो ।
उठौं अब जनता सबै रातो झन्डा बोक्दै
अमर ती सहिदलाई लालसलाम ठोक्दै
साहु मुखिया तिमी एक्लै भुंडी भर्न छाड
अलिकति खाना खेतालालाई पनि बाँड
जातीय संघीयताको विरोध
अहिले नेपाल नयाँ युगमा प्रवेश गरेको छ । हाल देशमा गणतान्त्रिक शासनव्यवस्था संचालित छ तर वर्गीय लडाई लड्नेहरूले जातीयताका नाममा देशलाई रूपान्तरण गर्ने भन्दै विखन्डनको सिकार बनाउने हुन् कि भन्ने खतार पनि त्यतिकै देखिएको छ । देशको संघीयता वर्गीकरण भौगोलिक वा सांस्कृतिक आदि नभएर एकल जातीय पहिचानसहितको हुनुपर्दछ भन्ने आवाज उठ्न थालेपछि युगौंयुगदेखि नेपाली माटोमा रहेको आपसी सद्भाव र आत्मीयता समाप्त भएर जाने आशंका सबैतिर उठ्न थालेको छ । यस्तो अवस्थामा अधिकांश नेपालीहरूको मनको आवाजलाई प्रतिनिधि आवाजका रूपमा कल्पनाले गजलमार्फत् अगाडि ल्याएकी छन् । तत्कालीन अवस्थामा विरोध जस्तो देखिए पनि यसले युगीन महत्व राख्ने र केही दशकपछि यो आवाज नै सही थियो भन्ने मूल्यांकन हुने यथार्थलाई नकार्न मिल्दैन ।
थोपा रगत रहँदासम्म देशका लागि लड्दै
खन्डित हुन दिनेछैनौं संघीयता रोक्दै
जनजातिको निहुँमा देश पार्दैछन् विखन्डन
देश जोगाई बाँधौ हामीले सद्भावको गाँठोमा
विदेशिनुको पीडा र देशप्रतिको दायित्वबोध
देशमा गरिखाने ठाउँ र अवसर नभएपछि सशक्त युगावर्ग विदेशी भूमिमा गएर पसिना बगाउन बाध्य छन् । गरिबीले डसेको विदीर्ण मन र जीर्ण तन लिएर अर्काको मुलुकमा पुगी दास जीवन बाँच्नु पर्दा उनीहरूले आफ्नो माटोलाई सम्झनु र त्यसबेला गाउँघर, आफन्त, श्रीमान, छोराछोरी आदि सबैलाई सम्झिएर विह्वल हुनु स्वाभाविक हो । आफ्नो लाउने खाने र जीवनका सबै इच्छाहरू पूरा गर्ने उमेरमा एक्लो बनेर बस्नुको पीडा आफ्नै ठाउँमा छ । घरको छानो छाउने र साहुको ऋण तिर्ने आशामा आफ्नो जीवनलाई बन्दकी राख्नुको कष्ट सही नसक्नुको छ । यस्तो स्थितिको सिर्जना हुनु नेपाली नेतृत्ववर्गको कमजोरी हो । देश र जनताप्रति संवेदनशील बन्न नसकेका स्वार्थी कुर्सीलोलुप र अदुरदर्शी नेतृत्ववर्गको क्रियाकलापका कारण युवा वर्गले देश छोड्नुपरेको हो भन्ने निष्कर्ष कल्पनाको छ । यी सबै कुराहरूलाई गजलमा स्वाभाविक रूपमा उतारेर आफ्नै गाउँ फर्किएर सिंगो देशलाई सजाउने प्रण कल्पनाले गरेकी छन् ।
पृथ्वीको वल्लो पल्लो छेउ भई बाँच्नुपर्दा
छट्पटिंदा सधै रात काटुनप¥यो जवानीमा ।
गरिबीको अभाव टार्न सकिंन
भत्केको घर छ बार्न सकिनँ ।
देशका कर्णधार युवा विदेशिन बाध्य हुँदा
लाग्छ, नेतृत्वको दिमाग जाम हुनुपर्छ
फकिंदै छु आफ्नै गाउँमा स्वदेश बनाउनु छ
हिमाल पहाड एउटै माला मधेश बनाउनु छ ।
प्रेमको शिष्ट प्रयोग
प्रेम गजलको मुख्य पाटो मानिन्छ । प्रेमलाई नेपाली गजलमा विभिन्न तरिकाले प्रस्तुत गरेको पाइन्छ । यो युवाहरूको मनको अभिव्यक्तिको माध्यममात्र होइन, आपसी प्रेमप्रस्तावको साधन वा प्रेमीप्रेमिकाले एकअर्कालाई फकाउने, घुक्र्याउने र धम्क्याउने माध्यमका रूपमा पनि प्रयोग गर्ने गरेका छन् तर कल्पनाका गजलमा प्रेमको उच्छृङखल वा विभत्स रूप कतै पनि पाइँदैन । शिष्ट शैलीमा मानवीय जीवनको एउटा आदर्श पक्षका रूपमा प्रेमलाई प्रस्तुत गर्नु र लोकप्रचलित मिथकहरूका साथै आकाश, तारा, जुन जस्ता प्राकृतिक विम्बहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्दै श्रृङगारिक अभिव्यक्ति दिनु उनका गजलको प्रशंसनीय पक्ष हो ।
लैला–मझ्नुजस्तै प्रेम मिसालको कथा सोच्दै
गजलभित्र पिरतीको व्याकरण खोज्दैछु म ।
फेरि आज आकाशतिर हेर्न मन लाग्यो
ताराहरूलाई हत्केलामा बेर्न मन लाग्यो ।
हिजोआज उनकै मात्र याद किन आउँछ
दिनमा पनि जुनकै मात्र याद किन आउँछ
शान्ति, संविधान र विकासको अपेक्षा
देश अशान्तिको मार खाएर बल्ल बल्ल टाउको उठाउन थाल्दैछ । जनता देशमा संविधान बन्ने, शान्ति छाउने र विकास हुने आशामा वर्षौंदेखि प्रतिक्षारत छन् । युद्धका घाउहरू निका नहुँदै, सहिदका रगतहरू नसुक्दै देशका संचालक बन्न पुगेका सहयोद्दाहरूकै बिलासी जीवन र सामन्ती शैली देख्दा दुःख लागेर आउँछ । जतिसुकै परिवर्तन भए पनि नेपाली जनताले पूर्ण परिवर्तन र शान्तिको अपेक्षा गर्न पाएका छैनन् । नेतृत्ववर्गको लापरवाहीले गर्दा बन्न लागेको संविधान फेरि सुन्यतामा पुगेको छ । गरिबी जस्ताको तस्तै छ । विकासले टाउको उठाउन कतै पनि पाएको छैन । शब्दमा जतिसुकै परिवर्तन भए पनि श्रमिकको जीवन जस्ताको त्यस्तै छ । गिट्टी कुट्नेहरू बगरबाट बाहिर आउन सकेका छैनन् तर राजनीतिक रूपमा निकै ठूलो परिवर्तनको होहल्ला चलिरहेको छ । यो वास्तविक परिवर्तन होइन भन्ने वैचारिक अठोट यहाँका गजलहरूमा स्पष्ट रूपमा पोखिएको पाइन्छ ।
एक दिन हाम्रो देशमा शान्ति आउनै पर्छ
अन्याय र अत्याचारले निकास पाउनैपर्छ
पटकपटक गर्भभित्रै तुहिरह्यो संविधान
लौ ओखतीमूलो गरौं अब व्याउनै पर्छ ।
नाङ्गो जिउ ढाक्न कपास चाहिएको छ
थोरै भए पनि देशमा विकास चाहिएको छ ।
लोकतन्त्र, गणतन्त्र जेजे आए पनि
बालुवामा गिट्टी चाल्दै तिरमा गयो जीवन
आमाको सम्झना
संवेदनशीलताका दृष्टिले पनि कल्पनाका गजलहरू उल्लेखनीय छन् । एउटा सन्तानलाई जन्माउन, हुर्काउन र योग्य बनाउन आमाले गरेको त्यागलाई हरेक सन्तानले सम्झँदैनन् । यहाँ कल्पनाले आमाले आफूलाई हुर्काउँदाका क्षणहरूलाई सम्झेर आमाप्रति शाब्दिक श्रद्धाभाव व्यक्त गरेकी छन् ।
डोकोमाथि तिमीलाई राखी पंधेरीमा झर्थे
माया दिंदै काखमा च्यापी मेलापात गर्थें ।
संरचनात्मक सफलता कल्पनाका गजलको प्रशंसनीय पक्ष हो । उनले सकेसम्म पूर्ण काफियालाई कतैकतै मिलित काफियालाई र थोरै मात्र आंशिक काफियालाई अभिव्यक्तिको माध्यम बनाएकी छन् । गजलमा तखल्लुसको प्रयोग सार्थक हुन सक्यो भने त्यो गहना बन्दछ । दुई अर्थमा यसको प्रयोग हुनु राम्रो मानिन्छ । तखल्लुसको सुन्दर प्रयोगको यस उदाहरणले कल्पनाको लेखकीय क्षमताको परिचय दिन्छ ।
“कल्पना” को संसार मात्र सजाएँ
झुप्रोबाट महलमा सार्न सकिनँ ।
लयविधानका दृष्टिले पनि उनका गजलहरू गेयात्मक छन् । शास्त्रीय बहर वा छन्दको प्रयोग नभए पनि स्वतन्त्र आक्षरिक वा मात्रागत लयको प्रयोग यहाँका गजलहरूमा पाउन सकिन्छ । थोरै गजलहरूलाई छाडेर धेरैजसोमा उच्चारणगत एक रूपतामा पाइने सुन्दर लय संयोजन यहाँ भएको देखिन्छ । ठाउँठाउँमा पाइने सोझो अभिव्यक्ति, कतैकतै काफियाको प्रयोगमा पाइने कृत्रिमता र उच्चारणमा लाग्ने ठेस जस्ता कुरालाई सुधारोन्मुख मान्ने हो भने कल्पनाका गजलहरू ऋणात्मकभन्दा धनात्मक विशेषताले भरिपूर्ण छन् ।
विदेशी भूमिमा कठोर जीवन बिताउँदै परिवार र सिंगो देशको सम्झनामा अभिव्यक्त यी भावनाहरूले सम्पूर्ण प्रवासी नेपालीहरूको पीडा, मर्म र विचारको प्रतिनिधित्व गरेका छन् भन्ने मलाई लाग्छ । यस्तो युगीन महत्व राख्ने कृतिको लेखन र प्रकाशनका लागि हार्दिक बधाई र आगामी झन् सुन्दर, कलात्मक र वैचारिक सिर्जनाका लागि अनगिन्ती शुभकामना ।
(गजल संग्रहको मुख्य भूमिका)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १९ – March 27, 2013 – २०६९ चैत्र १४ गते, बुधबार)