निबन्ध : नेपालका सन्दर्भमा लुसुन

~निनु चापागाईं~

विश्व साहित्यका महान् हस्तीहरूले आफ्ना कृतिहरूको रचना खास सामाजिक, ऐतिहासिक परिप्रेक्ष्यमा सीमित भएर गर्ने गरेका छन्, तापनि कालान्तरमा आफ्नो रचना सामथ्र्यका कारण तिनका रचना आफ्नो देश र काललाई अतिक्रमण गरेर विश्वव्यापी बन्न पुग्दछन् । आधुनिक चिनियाँ साहित्यका संस्थापक एवम् चिनियाँ साहित्यको समाजवादी यथार्थवादी धाराका प्रमुख हस्ती र प्रतिनिधि लुसुन आफ्ना रचनाबाट आफ्नो देश र काललाई अतिक्रमण गर्ने महान् विश्वप्रसिद्ध साहित्यकारमध्ये एक हुनु हुन्छ ।

आज हामी उहाँको १३२ औँ जन्म जयन्ती समारोह मनाउन यहाँ भेला भएका छौँ । लुसुनको जन्मभूमिका सांस्कृतिककर्मी र नेपालका सांस्कृतिककर्मीहरू एकै ठाउँमा भेला भएर नेपालमा मनाइएको यस जन्म जयन्तीको महत्व र विशेषता अद्वितीय छ । यस कार्यक्रममा हामी चीन–नेपालका संस्कृतिकर्मीहरू लुसुन र उहाँको साहित्यका बारेमा कार्यपत्रहरू सहित छलफल गर्दैछौँ । लुसुन व्यक्ति र कृति शीर्षकको फोटो र चित्र प्रदर्शनी बेइजिङ लुसुन म्युजियमले ल्याएका सामग्री सहित हुँदैछ र लुसुनका कृतिहरूको नेपाली र नेवारी भाषामा अनुवाद गरेर उहाँको साहित्यलाई नेपालीहरू माझ लोकप्रिय बनाउनु हुने स्रष्टा शान्तदास मानन्धरलाई सम्मान गरेका छौँ । त्यसो हुँदा हुँदै पनि लुसुनको जन्म दिन मनाउने चलनको यो निरन्तरता मात्र हो । नेपालमा लुसुनको जन्म जयन्ती मनाउने परम्पराको थालनी आजभन्दा सत्चालिस वर्ष अघि भएको थियो । तथ्यहरूले पुष्टि गरे अनुसार १९६६ मा नेपालमा पहिलो पटक लुसुनको ८५ औँ जन्म दिन (५ भदौ २०२३) विशेष समारोहका साथ नेपाल चीन–मैत्री सङ्घको आयोजनामा मनाइएको थियो । “लुसुनको सम्झना” नामक कृतिले वास्तवमा यही कार्यक्रमको अभिलेखीकरण गरेको छ । त्यस यता नेपालमा लुसुनको सम्झना नियमित रूपले गरिँदै आएको छ ।

यस परम्पराले व्यापकता र देशव्यापी रूप भने शतवार्षिकी समारोह (९ आश्विन, २०३८) को अवसरमा लिएको हो । उपत्यकामा काठमाडौँ, भक्तपुर लगायत बाहिरका चितवन, सङ्खुवासभा जस्ता जिल्लाहरूमा सभा, विचारगोष्ठी जस्ता विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरेर मनाइयो । यस अवसरमा त्रिचन्द्र क्याम्पसमा भएको फोटो र चित्र प्रशर्दनी (पुष १२–१४) लाई विशेष महत्वको मान्न सकिन्छ । शतवार्षिकीका क्रममा “नवआलोक”, “सङ्कल्प” जस्ता विभिन्न साहित्यिक पत्रपत्रिकाले लुसुन विशेषाङ्क प्रकाशनमा ल्याएका छन् र दर्जनौँ दर्जन साहित्यिक पत्रिकाहरूले लुसुनका रचनाहरू प्रकाशन गरेका छन् । अघिल्लो वर्ष यसै संस्थाले (देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान) तत्कालीन महामहिम चिनियाँ राजदुत याङ हौलानको प्रमुख आतिथ्यमा मनाएको जन्म जयन्ती समारोह पनि उल्लेखनीय छ ।

नेपाली वाङ्मयमा साहित्यकार लुसुनको चर्चा करिब छ दशक अघिदेखि हुँदै आएको छ । थाहा पाएसम्म साहित्यकार गोविन्द्रप्रसाद लोहनीले सर्वप्रथम १९५३ फेब्रुअरी (२००९ फागुन) मा “लुसुनको सन्दर्भ ः आजको चीन” नामक आफ्नो कृतिमा उठाएका छन् । जनवादी क्रान्तिपछिको नयाँ चीनमा विकसित भएका सर्वाङ्गिण पक्षका बारेमा जानकारी गराउने उद्देश्यले लेखिएको यस कृतिको तेस्रो उपशीर्षक शिक्षा, संस्कृति, साहित्य, कला, धर्म आदि अन्तर्गत लुसुनको चर्चा आएको छ र उनले यसमा लुसुनलाई सामन्ती समाजको साहित्य र संस्कृतिमाथि हमला गर्ने, सांस्कृतिक क्रान्तिका जनक भनेर चिनाएका छन् । उनले भनेका छन् ः “स्कुल, कलेजमा पुँजीवादी जनवादी विचार पढाइन्थ्यो, तर देशको उत्पादन व्यवस्था र समाजको गठन भने सामन्ती थियो (नेपालमा पनि आज ठीक यस्तै अवस्था छ) । सांस्कृतिक क्रान्तिका जनक लुसुनले सामन्ती समाजको साहित्य र संस्कृतिमाथि हमला गर्न थाले । कन्फुसियस दर्शन नै सामन्ती समाजको मुख्य दर्शन थियो । त्यसैले माक्र्सको “धर्मको आलोचना सारा आलोचनाहरूको प्रारम्भ हो” भन्ने उक्तिलाई चरितार्थ गर्दै प्रगतिशील तत्वहरूले कन्फुसियस दर्शनमाथि नै प्रहार गर्न थाले ।” यही वर्ष (२०१०) साहित्यकार श्यामप्रसादले लेखक कसरी बन्ने ? शीर्षकको कृतिमा जनताका साहित्यकारहरूले आफ्नो जमात बढाउन र नयाँ साहित्यकारलाई प्रेरणा र सहायता गर्नु पर्छ भन्ने सन्दर्भमा विश्वका अन्य लेखकहरूको पङ्क्तिमा लुसुनको नाम उल्लेख गरेका छन् । उनले भनेका छन् ः ‘यस्ता सबै कुरामा पुराना लेखक–कविहरूले नयाँ सिकारुहरूलाई प्रेरणा र सहायता दिने गर्नु पर्छ । लियो टल्सटाय, तुर्गनेव, मैक्सिम गोर्की, निकोलाई नेक्रासोव, लुसुन, भारतेन्दु हरिचन्द, महावीरप्रसाद द्विवेदी, रवीन्द्रनाथ ठाकुर आदि जनताका साहित्यकारहरू आफ्नो जमात बढाउन भरमग्दुर चेष्टा गर्थे ।’ साहित्यकार लुसुनका बारेमा नेपाली पाठकहरूलाई सर्वप्रथम सबभन्दा बढी जानकारी दिने काम कोशराज रेग्मीद्वारा लिखित “लुसुनको जीवनीको छोटो अध्ययन” शीर्षकको लेखले गरेको देखिन्छ । १९५६ (२०१३ कार्तिक) मा जनसांस्कृतिक सभा, सङ्खुवासभाको मुखपत्र “नौलो पाइलो” मा प्रकाशित यस लेखमा लुसुनको साहित्यिक यात्राका बारेमा अलि बढी जानकारी दिने काम भएको छ र यसमा लुसुनका सामाजिक आलोचनामा केन्द्रित निबन्धहरूलाई खुकुरीको धार जस्तै सारै तिखो भनेर चित्रण गरिएको छ । १९६१ (२०१३) मा प्रकाशित प्रो. निरञ्जन भट्टराईको “चीन र त्यससित नेपालको सम्बन्ध” शीर्षकको किताब जम्मा ३२ वटा प्रमुख शीर्षकका विभाजित छ र त्यसको २७ सौँ शीर्षक लुसुन रहेको छ । यसमा प्राध्यापक भट्टराईले “अखिल राष्ट्रव्यापी प्रभाव भएका” भनेर मानिएका “ठूला लेखक” “लुसुनको जीवनको परिवर्तनमा सिङ्गै चीनको मानसिक परिवर्तन देखिने हुनाले चीनको वर्तमान युगको इतिहासमा उनको अध्ययन प्रमुख मानिएको छ” भनेका छन् । लुसुनलाई “चिनियाँहरूले लेखक, विचार र क्रान्तिकारीका रूपमा सम्मान” गरेको र उनका “लेख र विचारले चीनमा नयाँ युगको सिर्जना” गरेको उल्लेख गरेका छन् । यस लेखमा भट्टराईले चिनियाँ जनताको शारीरिक उपचार गर्ने अठोट लिएर डाक्टरी पढ्न जापान पुगेका लुसुन शारीरिक स्वास्थ्यभन्दा ठूलो कुरो मान्छेको मन स्वस्थ हुनु पर्ने रहेछ र त्यसलाई परिवर्तन गर्न लेखक बन्नु सर्वाेत्तम छ भनेर कसरी लेखक बन्न पुगे भन्ने तथ्यको उद्घाटन पनि गरेका छन् । लेखकका रूपमा लुसुनले मान्छेले मान्छे खाने युगको वर्णन गरेको, “रोगी समाजका अभागी मान्छे” का लागि “ओखती” बनाएको, रोग निको पार्ने तीतो ओखतीको रूपमा समाजका धेरै खराबीतिर औँल्याएको र त्यसबाट बच्ने प्रेरणा लिन चीनको प्रत्येक दोषलाई कोट्याई कोट्याई देखाएर त्यसबाट बच्न राजनीतिक, आर्थिक र सामाजिक सबै किसिमबाट सच्चरित्र हुनु पर्छ भनेको र अन्तमा माक्र्सवादलाई एक मात्र ओखती ठानी माक्र्सवादी सिद्धान्तका आधारमा साहित्य सर्जना गराउने संस्थाका प्रमुख चुनिएको जस्ता विवरणहरू यसमा दिएका छन् । १९६१ (असोज २०१८) मा श्यामप्रसादहरूको सम्पादनमा निस्कने साहित्य त्रैमासिक साहित्यिक पत्रिकाले लुसुनका बारेमा केही विस्तारका साथ व्यवस्थित तरिकाले जानकारी दिएको छ । नेपालमा लुसुनका कृति उपशीर्षक अन्तर्गत लेखिएको यो लेख जन्म, बालककाल र शिक्षा, कृति र विशेषता, जीवनका आखिरी वर्षहरू र जनगणतन्त्रको स्थापनापछि जस्ता चार उपशीर्षकमा बाँडिएको छ र लुसुनको साहित्यिक यात्रालाई छोटकरीमा चिनाउन सक्षम छ । प्रारम्भिक अवस्थामा लुसुनलाई चिनाउन प्रयत्न गर्ने रचनाहरूमध्ये यसलाई बढी प्रभावकारी र सटिक मान्न सकिन्छ ।

लुसुनका रचनाहरू नेपालका भाषाहरूमा अनुवाद हुन थाल्नुभन्दा अघि लुसुनका बारेमा भएका चर्चाको यो सानो विवरण हो । त्यस यता नेपालका विभिन्न भाषामा लुसुनका सम्बन्धमा साहित्यिक पत्रिका तथा साप्ताहिक समाचार पत्रहरूले अनेकौँ चर्चा–परिचर्चा र थुप्रै गम्भीर प्रकृतिका लेखहरू प्रकाशित गरेका छन् । थुप्रै पत्रपत्रिकाले लुसुनका लेखहरूको अनुवाद गरेका छन् र कतिपयले लुसुन विशेषाङ्क समेत निकालेका छन् । कैयौँ साहित्यिक पत्रिकाहरूले उहाँको सम्मान र सम्झना गर्दै उहाँको चित्रलाई आफ्नो आवरणका रूपमा राखेका पनि छन् । लेखहरूका माध्यमबाट मात्र लुसुनलाई चिनाउने काम भएको छैन, नेपालमा उहाँको सम्झनामा विभिन्न कविहरूले आफ्ना रचना समेत निर्माण गरेका छन् ।

नेपालमा लुसुनका रचनाहरूको अनुवाद हुन थालेको एकाउन्न वर्ष भयो । लुसुनका रचनाको पहिलो प्रकाशन नेपाली भाषामा नभएर नेवारी भाषामा भएको हो । काठमाडौँ नगर पञ्चायतको मुखपत्र “जनचेतना” ले लुसुनका रचनाको अनुवाद सबभन्दा पहिले प्रकाशित गरेको हो । “दुख्खमा सन्तोष कसरी लिने ?” शीर्षकको निबन्ध यस पत्रिकाले नेवारी भाषामा १९६२ (२०१९ पुष १६) मा प्रकाशित गरेको थियो । नेपाली भाषामा लुसुनका रचनाको पहिलो प्रकाशन गर्ने पत्रिका पनि यही नै हो । यस पत्रिकाका १९६३ र १९६५ सालका विभिन्न अङ्कमा लुसुनका अरू चार वटा रचनाको प्रकाशन भएको पाइन्छ । यी रचनामा तीन वटा निबन्ध र एउटा कथा पर्दछन् । १९६३ मा नै श्यामप्रसाद लगायतले सम्पादन गरेको साहित्यिक पत्रिका “साहित्य” ले वामपन्थी लेखकहरूको मोर्चाको विषयमा विचारहरू (२०२०, साउन) र प्रतिभाका लागि कुर्दा (२०२०, मंसिर) शीर्षकका लुसुनका दुई वटा भाषण प्रकाशित गरेको छ । लुसुनका अति चर्चित कथाहरू “बौलाहाको डायरी” (रूपरेखा–२०२०, असार) र “आह क्युको साँचो कथा” ( पुस्तकका रूपमा २०२० श्रावण) पनि यही वर्ष प्रकाशनमा आएका हुन् । साहित्यकार श्यामप्रसाद शर्माले सुरुका वर्षहरूमा सबभन्दा बढी लुसुनका रचनाहरू प्रकाशन भएको वर्षका आधारमा १९६३ लाई लुसुन वर्ष भन्न सकिन्छ भनेका छन् । लुसुनका यी सबै रचनाहरूको अनुवाद गर्ने साहित्यकार हुन् शान्तदास मानन्धर । अपवादका रूपमा “रूपरेखा” मा प्रकाशित कथा ‘मूर्ख र दास’ (२०२०, असोज) को अनुवादक गङ्गाप्रसाद प्रधानले गरेका छन् । प्रारम्भदेखि अहिलेसम्म नेपाली पाठकहरूलाई लुसुनका रचनाको अनुवाद गरेर उहाँलाई लोकप्रिय बनाउने श्रेय झन्डैजसो साहित्यकार शान्तदास मानन्धरलाई दिनु पर्ने हुन्छ । यही कारण उहाँलाई हामीले यस समारोहका बीच सम्मान समेत गरेका छौँ । लुसुनलाई चिनाउने र लुसुनका रचनाहरूको सँगालो निकालेर महत्वपूर्ण भूमिका खेल्ने संस्थाका रूपमा हामीले नेपाल–चीन मैत्री सङ्घको पनि प्रशंसा गर्नु पर्ने हुन्छ । यस संस्थाले ‘साहित्यमा लुसुनका विचारहरू’ (१९६५, कात्तिक २०२२), ‘लुसुनको सम्झनामा’ (१९६६, भदौ २०२३) र ‘लुसुनका केही निबन्धहरू’ (१९६८, आश्विन २०२५) जस्ता कृतिहरू प्रकाशित गरेको छ । प्रगतिशील लेख भण्डार, भक्तपुरले अर्काे एउटा निबन्ध सङ्ग्रह ‘लुसुनका अरू केही निबन्धहरू’ (सेप्टेम्बर १९७८, भदौ २०३८) शीर्षकमा प्रकाशनमा ल्याएको छ । शान्तदास मानन्धरद्वारा अनुदित लुसुनका केही निबन्धहरू र लुसुनका अरू केही निबन्धहरूलाई एकै ठाउँमा समेटेर तीन वर्ष अघि मात्र (२०१०, २०६७) ४३ वटा निबन्धहरूको सङ्ग्रह साहित्य सदन नेपालले प्रकाशनमा ल्याएको छ । रमेश सुनुवारले अनुवाद गरेका १८ वटा कथाहरूको सँगालो दीप प्रकाशनले लुसुनका ‘उत्कृष्ट कथाहरू’ शीर्षकमा प्रकाशित गरेको छ । लुसुनको “चिनियाँ पौराणिक कथाहरू” गोपीरमण उपाध्यायले अनुवाद गर्नु भएको छ र यसलाई एशिया पब्लिकेसनले प्रकाशन गरेको छ । वाङ शिछिङले लेखेको लुसुनको जीवनी पनि नेपालीमा प्रकाशित भएको छ । यसको अनुवादक साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गरेका छन् भने निरञ्जन गोविन्द वैद्यले यसको प्रकाशन (१९८५, जेठ २०४२) गरेका छन् । पत्रपत्रिकामा प्रकाशित कतिपय लुसुनका वैचारिक लेख र निबन्धहरू सङ्ग्रहमा समावेश हुन सकेका छैनन् । पत्रपत्रिकाहरूले लुसुनका रचनाहरू मात्र प्रकाशनमा ल्याएका छैनन्, लुसुनका बारेमा समेत रचना प्रकाशित गरेका छन् । त्यस्ता पत्रपत्रिकाको नाम यस प्रकार छ ः अनुभूति, अभिलाषा, उत्साह, कलम, जनएकता, जनचेतना, जनमार्ग, जनसाहित्य, झिसमिसे, नवआलोक, निर्माण, नौलो पाइलो, नौलो साहित्य, पौरख, बिहानी, रूपरेखा, लहर, वेदना, शृङ्खला, श्रमज्योति, साहित्य, सुस्केरा, सङ्कल्प आदि । माथिको विवरणले के प्रमाणित गर्दछ भने लुसुन चिनमा मात्र होइन, नेपालमा पनि निकै लोकप्रिय हुनु हुन्छ । त्यसो त जनताका पक्षमा अडिग भएर साहित्य सृजना गर्नेहरूको विरोध जनविरोधी तत्वबाट हुनु पनि अस्वाभाविक छैन । नेपाली पाठकहरूमा लुसुनको लोकप्रियताबाट विचलित केही मानिसहरूले अनुवाद प्रकाशित गर्ने पत्रिकाहरूको विरोध नगरेका पनि होइनन् । यस सन्दर्भमा समीक्षा साप्ताहिक पत्रिकाको ३० पुस २०२० मा प्रकाशित साहित्यमा ‘प्रगतिवाद कि हिलोवाद ?’ लाई उल्लेख गर्न सकिन्छ ।

लुसुन हाम्रो छिमेकी मुलुक चिनको साहित्यिक इतिहासका एक जना शिखर व्यक्तित्व हुनु हुन्छ । साहित्यिक–सांस्कृतिक आन्दोलनमा उहाँले खेल्नु भएको भूमिका अद्वितीय छ । उहाँको भूमिका र उहाँको स्थानलाई चिनियाँ जनताले कसरी मूल्याङ्कन गरेका छन् भन्ने कुराको सङ्केत चिनका महान् नेता माओत्सेतुको निम्न सारगर्भित भनाइले दिएको छ । उहाँले भन्नु भएको छ ः “यस नौलो सांस्कृतिक शक्तिको सबभन्दा ठूला र सबभन्दा आँटिला अगुवा लुसुन हुनु हुन्थ्यो । उहाँ चिनियाँ सांस्कृतिक क्रान्तिको महारथी हुनु हुन्थ्यो । उहाँ एक ठूला साहित्यिक मात्र होइन, यौटा ठूला विचारक र क्रान्तिकारी पनि हुनु हुन्थ्यो । उहाँ कसैको अगाडि आफ्नो शिर ननिहुर्‍याउने खालको हुनु हुन्थ्यो, चुक्लीचाक्ली वा खुसामदीको भावना उहाँमा थिएन । यस्तो चरित्र वल हुनु औपनिवेशिक तथा अर्धऔपनिवेशिक जनताका निम्ति अमूल्य कुरा हो । लुसुनले राष्ट्रका अधिकांश जनताको प्रतिनिधित्व गर्नु भयो । उहाँ सांस्कृतिक क्षेत्रमा अभूतपूर्व सबभन्दा बहादुर, सबभन्दा दृढ, सबभन्दा सच्चा, सबभन्दा इमानदार, सबभन्दा लागिपरेका वीर हुनु हुन्थ्यो । हाम्रो इतिहासमा उहाँको जोडी अर्काे त्यस्तो वीर यस क्षेत्रमा पाइँदैन । लुसुनले समातेको बाटो नै चिनको राष्ट्रिय संस्कृतिको बाटो हो” (नौलो जनवादबारे, पृ. ८२, नेपाल–चीन मैत्री सङ्घ, काठमाडौँ) ।

चिनको हिजोको सन्दर्भमा लुसुनको महत्व के थियो भन्ने कुरालाई माथिको उद्धरणले राम्ररी प्रकाश पारेको छ । नेपालको सन्दर्भमा लुसुनको महत्व के छ र हामीले उहाँबाट के सिक्न सक्तछौँ ? आजको सन्दर्भमा यो अति महत्वको विषय हो भन्ने मलाई लाग्दछ । यसबारेमा नेपाली साहित्यमा सानोतिनो नै भए पनि उल्लेखनीय छलफल भएको छ । “सङ्कल्प” लुसुन विशेषाङ्क, पूर्णाङ्क ३८ मा प्रकाशित गोविन्द भट्टको लेख “यौटा अँध्यारो शहर र केही जुनकिरीहरू” यस सन्दर्भमा महत्वपूर्ण रचना मान्न सकिन्छ ।

लुसुनका कृतिहरूले १९११ को क्रान्तिपछि मे चारको आन्दोलन, पहिलो र दोस्रो क्रान्तिकारी युद्धसम्मको चिनको परिस्थितिका बारेमा अत्यन्त विस्तृत, गहन र जीवन्त चित्र हाम्रा सामु प्रस्तुत गर्दछन् । लुसुनले लेखेका झण्डै लगभग चालिस लाख शब्दहरू र अधिकांश बाइस ठेलीमा सङ्कलित कथा, निबन्ध, गद्य कविता, आलोचना, संस्मरण, डायरी, चिठीपत्र (अनुदित साहित्य पनि चालिस लाख शब्दभित्र पर्दछ) ले चिनियाँ समाज, चिनियाँ जनजीवन र जनसङ्घर्षबाट प्राप्त अनुभवहरूको एउटा विश्वकोष नै निर्माण गरेका छन् । बीसौँ शताब्दीको थालनीदेखि चालिससम्मको अवधिको ऐतिहासिक काल र त्यसका शिक्षाहरूलाई तिनले प्रामाणिक रूपले जानकारी गराउँछन् । त्यसताकाको चिनको ऐतिहासिक शिक्षा र अनुभवहरू जान्न लुसुनको साहित्य नेपालीहरूका लागि मात्र नभएर सम्पूर्ण विश्वका लागि नै अति उपयोगी सामग्री हो । तर लुसुन र उनको साहित्यको महत्व हाम्रा लागि यत्तिमा मात्र सीमित रहेको छैन । यसभन्दा बढी यिनले कतिपय सन्दर्भमा हाम्रा लागि वैचारिक प्रेरणा दिने र मार्गप्रशस्त गर्ने पथप्रदर्शनको समेत कार्य गर्दछन् । त्यतिखेरको चिनले जुन परिस्थितिबाट आफ्नो बाटो तय गरेको हो, त्यही खालको स्थिति आज हाम्रा सामु उपस्थित छ । १९११ को क्रान्तिपछि तत्कालको चिनको जुन वस्तुगत परिस्थिति थियो, लगभग आजको हाम्रो स्थिति पनि त्यस्तै छ । चिङ् राजवंशको अन्त भएर गणतन्त्रको स्थापना हुनु अत्यन्त महत्वपूर्ण कुरा थियो, तर त्यसले सामन्तवाद र साम्राज्यवादलाई परास्त भने गर्न सकेको थिएन, चिनले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट मुक्ति पाउन सकेको थिएन । हामीकहाँ पनि राजतन्त्रको समाप्ति र गणगन्त्रको स्थापना त भएको छ, तर नेपाली जनताले भोग्नु परेको देशी–विदेशी शक्तिहरूको शोषण–उत्पीडनबाट मुक्ति पाइसकेको छैन । त्यतिखेरको चिन र आजको हाम्रो सांस्कृतिक अवस्थामा पनि त्यतिसारो भिन्नता पाइँदैन । यही कारण आज हामी लुसुनको साहित्यबाट अगाध क्रान्तिकारी उत्साह, प्रेरणा, उर्जा र आत्मविश्वास पाइरहेका छौँ । अर्कातिर, यसले कला, साहित्यको अध्ययन गर्ने र लेख्ने क्रममा रहेका युवाहरूमाथि गहन प्रभाव समेत पारेको छ । लुसुन र उनको साहित्य नेपालमा लोकप्रिय हुनुको प्रमुख कारण यही हो र तिनको महत्व हाम्रा लागि विशिष्ट छ ।

लुसुनको निजी जिवनी, उनका विचार र साहित्यबाट नेपाली साहित्यकार, संस्कृतिकर्मी र बुँद्धिजीवीहरूले सिक्नु पर्ने धेरै कुरा छन् । सर्वप्रथम हामीले ख्याल राख्नु पर्ने कुरा के हो भने लुसुन चिनको सांस्कृतिक आन्दोलन वा क्रान्तिका कमाण्डर हुन् । उनले सबभन्दा बढी जोड चिनको पुरानो संस्कृतिको रूपान्तरणमा दिएका छन् र उनको लेखनको, साहित्यिक लेखनको पनि चुरो कुरो यही नै हो । उनको प्रस्ट धारणा के छ भने “रीतिथिती र चलन नफेरुञ्जेल क्रान्ति बालुवाको महलभन्दा बढी टिकिरहन सक्तैन ।” भनाइको अर्थ के हो भने आर्थिक–राजनीतिक क्रान्ति गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई टिकाउन सांस्कृतिक क्रान्ति वा परिवर्तन अपरिहार्य हुन्छ । चिनमा १९११ मा चिङ् राजवंशलाई अपदस्थ गरेर गणतन्त्रको स्थापना त भयो, तर त्यसले चिनको पुरानो आध्यात्मिक सभ्यतालाई ध्वस्त गर्न सकेन । परिणाम त्यो गणतन्त्र धेरै टिक्न सकेन । यसैलाई सङ्ेत गर्दै उहाँले भन्नु भयो– “वास्तवमा चिनको पुरानो आध्यात्मिक सभ्यता ‘गणतन्त्र’ ले ध्वस्त गरेको छैन । खालि मञ्चुहरूले भतेर छाडेका मात्र हुन्, उहिलेभन्दा केही भिन्न भएको छ भने त्यो यति मात्र हो ।” आजको हाम्रो गणतन्त्रको अवस्था पनि वास्तवमा त्यस्तै खालको छ ः न संस्कृतिकर्मी, न बुँद्धिजीवी, न राजनेता कसैले पनि यसलाई गम्भीरताका साथ लिएको देखिँदैन । सांस्कृतिक रूपान्तरणको सवाल क्रान्ति टिकाउने सवालसित अभिन्न रूपले गाँसिएको छ भन्ने कुरा हामीले लुसुनबाट सिक्न सक्नु पर्दछ ।

संस्कृति र समाज–व्यवस्था (राज्यव्यवस्था) एक–अर्कामा आश्रित हुने गर्दछन् । तिनका बीचको सम्बन्ध आधार र अधिरचनाका बीचको सम्बन्ध हो । सामन्तवादी–साम्राज्यवादी संस्कृतिको विरोध गर्न वा त्यसलाई बदल्न अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज व्यवस्थाको विरोध गर्नु अपरिहार्य हुन्छ । यही कारण लुसुन क्रान्तिको प्रक्रियामा आपूmले लेख्न थालेकै समयदेखि गाँसिनु भएको थियो । तर उहाँले यस सन्दर्भमा हजारौँ हजार वर्ष अघिदेखि चलनमा रहिआएको सामन्ती संस्कृतिलाई नै सबभन्दा बढी प्रहारको निसाना बनाउनु भयो । कन्फुसियसी नैतिकता, मेन्सेसी चिन्तन, अध्यात्मिक चिन्तन, अन्धविश्वास, भाग्यवाद जस्ता कुरामाथिको लुसुनको निरन्तरको प्रहारले हामीलाई नेपालमा नयाँ संस्कृतिको निर्माण गर्न यहाँको पुरानो संस्कृतिमाथि निर्मम प्रहार गर्नु अपरिहार्य छ भन्ने सिकाउँछ । लुसुनले चिनियाँ जनताको भाग्यवादी प्रवृत्तिमाथि आक्रमण गर्दै भन्नु भएको छ ः ‘चिनियाँ भाषा र रीतिथितीमा दख्खल भएका धेरै विदेशीहरू के भन्छन् भने चिनियाँहरू पुर्पुरोवादी हुन् र पुर्पुरोमा लेखिएपछि केही गर्न सकिन्न भन्ने कुरोमा पत्यार गर्छन् । तर मेरो विचारमा पुर्पुरोमा विश्वास गर्ने चिनियाँहरूले पुर्पुरो फेरिन पनि सक्छ भन्ने कुरामा पनि विश्वास गर्नु राम्रो कुरो हो । हाललाई हामीले एउटा अन्धविश्वासको विरोधमा अर्काे अन्धविश्वासको प्रयोग गरेका छौँ र आखिरमा कुरा त उहीका उही नै भयो । पछि हामीले वास्तविक विचार र व्यवहारको प्रयोग गर्‍यौँ भने अन्धविश्वासको साटोमा विज्ञानको प्रयोग गर्‍यौँ भने, चिनियाँहरूले आफ्नो पुर्पुरोवादी दृष्टिकोणलाई प्mयाँकिदिने छन् । साँच्चै त्यस्तो दिन आयो भने बौद्ध भिक्षु, शावो पुरोहित, झाँक्री, ज्योतिषी, द्यौता साधन गर्ने र अरू यस्ता सबै खालका तत्वहरूको गद्दी वैज्ञानिकको हातमा पर्नेछ र वर्ष दिनभित्रैमा यस्ता सबै द्यौतास्यौताहरूबाट हामी उम्कन सक्ने हुनेछौँ’ (पुर्पुरो, लुसुनका केही निबन्धहरू, पृ. ४६) । नेपाली समाज आज पनि भाग्यवाद, पुनर्जन्मवाद, स्वर्ग, नरक जस्ता विभिन्न किसिमका अन्धविश्वास र आत्यात्मिक दृष्टिकोणबाट ग्रस्त छ । त्यस खालको सामन्ती व्यवस्थालाई टिकाउने संस्कृतिमाथि सांस्कृतिक परिवर्तनका पक्षपातीहरूबाट जे जति आक्रमण हुनु पर्ने थियो, जनतालाई त्यसको प्रभावबाट मुक्त गर्न प्रयास गर्नु पर्ने थियो, त्यति मात्रामा नभएको मात्र होइन, कतिपय सन्दर्भमा त तिनकै समर्थन समेत हुने गरेको छ । यस सवालमा हामीमा एक किसिमले पाखण्ड समेत हुर्कन थालेको छ । आपूmलाई सांस्कृतिक क्रान्तिका पक्षधर भन्नेहरू वा आपूmलाई कम्युनिस्ट हुँ भन्नेहरू समेत वैज्ञानिक, भौतिकवादी, राष्ट्रिय र जनवादी संस्कृतिलाई अवलम्वन गर्नुको साटो व्यवहारमा सामन्ती अध्यात्मिक, धार्मिक संस्कृतिकै अनुयायी हुन थालेका छौँ । लुसुनको सम्झना गर्दा हामी यसबारेमा आत्मालोचक हुनु आवश्यक छ भन्ने मलाई लाग्दछ ।

शास्त्रीय शिक्षामा हुर्केका र कन्फुसियसका शास्त्रीय शिक्षा पढेका भए तापनि लुसुनले कहिल्यै ती शास्त्रीय शिक्षा आफ्ना लागि काम लाग्ने ठान्नु भएन, उहाँले यसको निर्मम ढङ्गबाट आलोचना गर्नु भएको छ । परम्पराको उहाँले गरेको आलोचनालाई सांस्कृतिक मात्र होइन, राजनीतिक कार्यभार समेत भन्न सकिन्छ । उहाँ परम्पराको बोझलाई चिनको डरलाग्दो र अत्यन्त ठूलो चुनौती ठान्नु हुन्थ्यो । त्यसैले उहाँले ऐतिहासिक रूपले विकसित र पुरानो व्यवस्थाको गुदीका रूपमा रहेको कन्फुसियसी विचारधारालाई आफ्नो आक्रमणको तारो बनाउनु भयो । लुसुनले समग्र कन्फुसियसी सामाजिक सिद्धान्तको गढमाथि नै आक्रमण गर्नु भएको छ । उहाँको कन्फुसियसवादको आलोचना सूक्ष्म, पूर्ण र निर्मम छ । चिनमा सांस्कृतिक परिवर्तनका लागि कन्फुसेली विचार अत्यन्त ठूलो बाधक थियो । पाखण्डीहरूलाई अर्थात् कन्फुसियसका अनुयायीहरूलाई उपहास गर्न लुसुन भलादमी शब्द व्यवहारमा ल्याउनु हुन्थ्यो । उहाँले यस्ता मानिसहरूको निर्दयीपन, पाखण्ड र जनविरोधी विशिष्ट वर्गीय प्रवृत्तिको समेत आलोचना गर्नु भएको छ । कन्फुसियसका अनुयायीसित कुनै पनि किसिमको मिलनबिन्दु हुन सक्तैनथ्यो र लुसुनको साहित्यमा त्यसले स्थान पनि पाएन । “आधुनिक चिनमा कन्फुसियस” शीर्षकको निबन्धमा लुसुनले कन्फुसियसका अनुयायी र कन्फुसियसको पूजाको तिनको गुप्त अभिप्रायमाथि आक्रमण मात्र होइन, यस्ता स्वार्थी र रुढिवादी तत्वहरूको भण्डाफोर समेत गर्नु भएको छ । उहाँले तिनको राजनीतिक महत्वाकाङ्क्षाको ढोकालाई ढुङ्गामुढा बर्साएर ध्वस्त पार्नु पर्छ भनेर आह्वान गर्नु भएको छ । ‘सतित्वका बारेमा मेरा दृष्टिकोण’, ‘पिताका रूपमा आज हामीबाट के अपेक्षा गरिन्छ ?’, ‘नोराले घर छाडेपछि के भयो ?’ जस्ता केही त्यस्ता मुख्य निबन्धहरू हुन्, जसमा महिला, बालबालिका र राजनीतिक व्यवस्थाका बारेका कन्फुसियसी विचारहरूको आलोचना गरिएको छ । महिलाको सतित्व, बालबालिकाको पितृभक्ति, निरङ्कुशता, पितृसत्तात्मक अधिकार र बालबालिका, युवा र महिलालाई भेदभावपूर्ण तरिकाले व्यवहार गर्नु र तिनलाई कुनै अधिकार वा स्वतन्त्रता दिन नमान्नु प्राकृतिक नियमको विरुद्ध छ भन्ने तर्क लुसुनको छ ।

चिनियाँ परिस्थिति र त्रासलाई लुसुनले बारम्बार नरभक्षणको बिम्बमा व्यक्त गर्नु भएको छ । चिनकै आधुनिक कथा परम्परामा पहिलो मानिने र चिनमा तहल्का मचाउने उहाँको पहिलो कथा “बौलाहाको डायरी” मान्छेको मासु खाने परम्परागत क्रियाकलापमा आधारित छ, जुन भतिभ्रम जस्तो लागे पनि सत्य हो । “उपकार”, “सदाचार” जस्ता शब्दहरू चीनका इतिहासका किताबका हरेक पातामा लेखिएको भेटिए तापनि ती पानाहरूमा नदेखिने गरी “मान्छेको मासु खाउँ” भन्ने लेखिएको हुन्छ भन्ने बौलाहाको आविष्कार यस नरभक्षणको बिम्बमा निहित छ । यो कथ्य फान आइ नङको संस्मरणमा पनि दोहोरिएको छ । शाओसिङका देशभक्त सहिद फानलाई मञ्चु गभर्नरले हत्या गरेको थियो । उनलाई पक्रनेहरूले उनको मुटु तानेर बाहिर झिके र अनि भुटेर खाए भनेर लुसुनले चित्रण गरेका छन् । लुसुनको प्रतीकात्मक संसारमा मान्छेको मासु खाने कारबाहीले मानव विडम्बनाको चरम हिंसालाई प्रतिनिधित्व गर्दछ । यस कन्फुसियसी परम्पराको लुसुनको निन्दा “बौलाहाको डायरी” मा नयाँ उचाइमा पुगेको छ । त्यसमा व्यक्त भएको छ ः जहाँसम्म मेरो सम्झना छ, प्राचीन कालमा मानिसहरू मान्छेको मासु खान्थे । तर यस बारेमा म धेरै आश्वस्त भने छैन । यस सम्बन्धमा इतिहासका किताबहरूमा खोज्दा पनि कुनै क्रमबद्ध जानकारी पाइएन । प्रत्येक पृष्ठमा ‘कन्फुसियसका सद्गुण र सदाचार’ शब्द भेटिन्छन् । मलाई निँद लागेको थिएन, त्यसकारण आधा रातसम्म उत्सुकताका साथ पढ्दै बसेँ, त्यतिखेरसम्म मैले किताबका पङ्क्तिमा शब्दहरू भेट्टाएँ । सारा किताब दुई शब्दले भरिएको थियो– ‘मान्छे खाऊ’ । यही कथ्यमा आधारित अरू कथा पनि छन् । “ओखती” मा अलि बढी परिमार्जित रूपमा यो अभिव्यक्त भएको छ । यसको कथानक मानिसले मानिसलाई खाने मानसिकता विकसित हुने आम सामाजिक पृष्ठभूमिमा आधारित छ । छिङ राजवंशको अन्ततिर क्रान्तिकारीहरूको हत्या आम प्रचलनमा थियो र तमासा मन पराउने मानिसहरू सधै सार्वजनिक रूपमा गरिने यस्तो हत्याबाट मजा लिन हत्या गरिने ठाउँमा जम्मा हुन्थे । यसको आलोचनाभन्दा पनि बढी कथाले कठोर आलोचना मान्छेको ताजा रगत खाएमा क्षयरोग निको हुन्छ भन्ने अन्धविश्वासमाथि गरेको छ । “नयाँ वर्षको बलिदान” शीर्षकको कथामा पनि सामाजिक–सांस्कृतिक व्यवस्था, मानव जीवन र आत्मालाई ध्वस्त पार्ने वास्तविक खलनायकमा परिणत भएको देखाइएको छ ।

लुसुनका दृष्टिमा उच्च चिनियाँ सभ्यता धनि र शक्तिशालीहरूका लागि तयार पारिएको मान्छेको मासुको भोज मात्र हो र चिन चाहिँ त्यो भोज जोरजाम गर्ने चुलो हो । सभ्यताको उदयदेखि मान्छेका मासुका सानाठूला अनगिन्ती भतेरहरूको जोरजाम गरिएको छ र मानिसहरू ती भतेरमा अरूलाई खान्छन् र आफु पनि खाइन्छन् । आज पनि मान्छेको मासुको भतेरको जोरजाम हुँदैछ र निकै मानिसहरू भतेर लगाइरहन खोज्छन् । त्यस्ता मान्छेहरूलाई बढार्ने, भतेरहरूलाई भताभुङ्ग पार्ने र यो चुलोलाई भत्काउने काम आजका तन्नेरीहरूले सबभन्दा पहिले गर्नु पर्ने काम हो (बत्तीमुनि टिपेका केही विचार, लुसुनका केही निबन्ध, ११,१२) । “आह क्युको साँचो कथा” को रुसी भाषामा गरिएको अनुवादको भूमिकामा लुसुनले दुई व्यक्तिहरूका बीच एक–अर्कालाई चिन्न नदिन र उनीहरूलाई एक–अर्काबाट अलग्ग्याउन अग्लो पर्खालको अस्तित्व निर्माण भएको बोध गर्नु भएको छ । कन्फुसेली चिन्तन र चिनका कथित ऋषिमुनिहरू मानव सम्बन्धका कठोर दश वटा तहमा मानिसहरूलाई बाँड्ने काममा निकै चलाख थिए । मानव शरीरलाई समेत हातभन्दा खुट्टालाई तल्लो तहमा राखेर विभिन्न फरक श्रेणीमा विभाजित गरिएको छ । लुसुनको आलोचना के छ भने जीवन यापन विधिको सृजनको कमजोरी अर्काको दुखलाई अनुभव गर्ने मानवीय असक्षमता हो । यही अमानवीय पद्धतिमाथि लुसुनले निर्मम, सम्झौताहीन सङ्घर्ष गर्नु भएको हो । मानिसहरूका बीचमा विभाजन ल्याएर तिनका दुखहरूलाई असहनीय बनाउने पद्धति नेपालमा पनि यथावत् छ । त्यसको जरो कारण खोजेर त्यससित निर्मम सङ्घर्षका निम्ति लुसुनको भावना सहित अघि बढ्नु हाम्रो आजको दायित्व हो ।

(स्रोत : रातो लालटिन, वर्ष १४, अङ्क ३ (कार्तिक–पौष २०७०))

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.