कथा : हिँडेर छोडेको बाटो !!!

~रजित ओझा~Rajit Ojha

भाग – १

कलंकीमा आज पनि बिहान घुइँचो थियो । कलंकी सबैभन्दा चाँडो जाग्ने ठाउँ  होला काठमाण्डौको वा भनौँ कहिल्यै नसुत्ने । गाडीहरु ट्राफिक जाममा परेर बाटोको चौडाईलाई शंकाको घेरामा पारिदिन्छन् । घडी ब्यापारी समय बेच्दैथियो बिहान बिहानै ! चियाको बाफले कलंकीलाई पक्कै पनि अरु ठाउँ हेरी अली तातो बनाउँछन् होला । छेउछाउ मा चुरोट खाएका मान्छेहरुले मेरो तलतल बढाए । मैले गोजीबाट सुकुमेल निकालेर चबाएँ आजकल चुरोट छोड्ने प्रयास गर्दैछु । कलंकी आजको मेरो बाध्यता थियो ।चिप फेयर मा प्लेनको टिकट भेट्टाए पनि दुइ दिन मौसमले गर्दा नउडेपछि बहिनीको बिहे भ्याउनलाई कलंकी को एयरपोर्ट रोज्नै पर्ने भयो ।

बस भित्र आजको दिन राम्ररी जाओस् भनेर शिवजीको फोटोमा धुप जलाएछन् । म भित्र छिर्दा धुपको बासना ढोका सम्म थियो । मन नलागी नलागी माथि ब्याग राख्दै सिट हेरेँ । खोल थोरै च्यातिएको थियो । कुनै सडकछाप प्रेमीले दिपक लभ्स रोश्नी लेखेर मुटुमा तिरको नक्सा बनाएर छोडेछ ।छेवैमा अरू कुनैले दिपक र रोश्नी यस्ता होलान् भनेर चित्र कोरिदिएछ । त्यहाँ लेख्नुको सट्टा रोश्नीलाई गएर भनेको भए केहि भइ पो हाल्थ्यो की , मनमनै सोचेँ । घडी हेरेँ बिहानको पाँच चालिस ,थोरै थोरै उज्यालो हुन थालेको थियो । काठमाण्डौ उठ्ने तैयारीमा थियो ,आज उठिसक्दा मैले उसलाई छोडिसकेको हुनेछु ।

“तिमी मनोज हैन ?” आवाज मैले चिने चिने जस्तो लाग्यो ।मैले पछि फर्केर राम्ररी नियालेँ । रातो कुर्ता , कलेजी स्वेटर माथि पस्मिनाको शल ! उसले अनुहारमा मास्क पनि लगाएकी थिइ ।कति चलेको मास्क , मान्छे किन मुहार छोप्न चाहन्छन् ? मलाई छोपेका मुहारहरु मन पर्दैनन् ,बिशेषत राम्री केटीको !

मैले टाउको हल्लाएँ ।

“आम्मामा कस्तो मोटाको !” उसले हार्दिकता पोखी !

उ ठिक थिइ । इन्जिनियरिंग सिध्याएपछि म अचानक ह्वात्त मोटाएको छु ।अब त बिहान बिहान हिँड्नुपर्ने भइसकेको छ आफ्नो वेट घटाउनलाई !

म मात्र मुस्काए !मलाई त्यसको जवाफ के दिने थाहा छैन !

“मलाई चिनेनौ कि के हो , म रचना के ,आइ.एस.सी सँगै पढेको हैन ?”

उ यसपाली भने गलत थीई , उसले बोल्ने बित्तिकै मैले उसलाई चिनीसकेको थिएँ ।उसको आवाज मात्र काफि थियो मैले उसलाई चिन्नलाई उसको मुहार मेरो मनसपटलमा नमेटिने गरी छापिएको छ ।

मैले नकार्दै टाउको हल्लाएँ

“अनी के नचिने जस्तै ट्वाल ट्वाल हेरेको त?”

“भेटिन्छौ भन्ने विश्वास थिएन !” मैले बिस्तारै भनेँ

“मलाई पनि ,कुन सिट हो ?”

“यहि हो !” मैले च्यातिएको खोल ,दिपक रोश्नीको अमुर्त कला तिर औँला तेर्स्याउँदै जवाफ फर्काएँ

“म तिन सिट अगाडी छु !”

आईएससि जस्तै , मैले मनमनैँ सोचेँ । पछिको बेन्चबाट मात्र उसको कालो लामो कपाल देखिन्थ्यो ।त्यो पनि ब्ल्याक बोर्ड बाट उतिर मन डोर्याउनलाई पर्याप्त थियो !

“कहाँ छौ त आजकल ? के गर्दैछौ ?” धेरै पछी भेट्दा को पहिलो प्रश्न म पनि त अपवाद थिइन

“अस्ट्रेलिया ! एक हफ्ता अघि नेपाल आएको , घर जाने भनेको पनि नेपालमाँ प्लेन पनि उड्न छाडेछ !अनि बसमैँ भए पनि जान्छु भनेर हिँडेको !”

उसको बिडम्बना पनि मेरो जस्तै , बिराटनगरको प्लेन उडेन !!!आज विडम्बना हरु जुधेछन् । छुट्टिएका मोडहरु मन नलागी नलागि फेरि जुधेछन् । मलाई थाहा छ दोबाटो त्यति टाढा छैन ।

घर भनेर उसले माइतलाई भनेकी होला !उसको बुढोको त काठमाण्डौ नै हो जस्तो लाग्छ । बिहे काठमाण्डौ मा नै भएको थियो ।करिब चार वर्ष अघि । साथीहरु गएका थीए । आएर तँ जति ह्यान्सम त थिएन रचनाको बुढो भनेर सान्त्वना पनि
दिए ।मेरो मनले त्यो अधुरो अध्याय समाप्त भएको घोषणा गर्यो । कहिले काहिँ धेरै खाएर लागेपछि बाहेक उसको कुरा आउन छाड्यो । आज अचानक उ फेरि भेटिई !

“एक्लै हिँडेको घर ?”

“अँ चेतनको थोरै काम छ रे काठमाण्डौमा ! “ उ रहेनछ बसमा ।कसरी छोड्यो बुढीलाई ,यस्ति राम्री तै पनि ! यो भन्दा इम्पोर्टेन्ट काम हुन्छ कुनै ? मेरो लागि त हुन्न कम से कम !

“चिया खाने ?” मैले प्रसंग बदलेँ ।

“गाडी हिँड्न टाइम धेरै छैन ! छोडदेउ !” उसले हाँस्दै मेरो आग्रह टार्दी । उ सँधै यस्तै गर्छे । उसको अनुहारमा मुस्कान यथावत रहन्छ । अनि मास्क लगाउँदा पनि उसको मुस्कान थाहा हुन्छ ।

“म गए है बस्न ! आउच !” गाडी घ्यार घ्यार गर्न थालेको थियो । आउने जानेको भिँड थियो । उसलाई पछाडी जाने कसैले थोरै ढकेल्यो शायद । फेरि धेरै पछि सपनामा बाहेक मैले उसलाई यदि नजिकै बाट देखेँ , भन्न मन लाग्यो !

“एक चोटी मास्क हटाउन मिल्छ ?” तर मैले आफ्ना शब्दहरु रोकेँ !

उ आफ्नो सिट तिर लागि , मैले उसलाई हेरीरहेँ उसको कपाल थोरै छोटो लाग्यो पहिलेको भन्दा ,काटिछे । म भएको भए उसलाई काट्न दिन्नथेँ ।उसलाई लामो कपाल सारै नै सुहाउँछ । समय कति चाँडै बित्छ ! छ वर्ष , छरिएछन् यादहरु आज उ
सँग को भेट धागो बन्यो छरिएका यादहरुलाई जोडिदिने ।

गाडी हिडिसकेछ । थाहै भएन । अचानक थानकोट को चेकपोष्ट देखेपछि पो झस्यांग भएँ ।तल सम्म गाडीहरु गोलघुम्ति घुमिरहेका थिए । मैले आफ्नो आइपोड झिकेँ । कानमा एयरफोन घुसारेँ , तर म अरु आवाज चाहन्न म आफैमा थोरै हराउन चाहन्छु
मेरो मनले शायद आज धेरै कुरा म सँग सोध्नेछ । म त्यसका उत्तरहरु चाहन्छु ! उसलाई नियाल्न नसकिने रहेछ ।तिन सिट पछि बाट !

“ चिया खाजा खाउँ है खाना ढिलो हुन सक्छ !” कसैले बाहिर बाट आवाज दियो ! उसले चिया खान बोलाएको हो वा खाना ढिलो हुन्छ भनेर तर्साएको मैले पत्ता लगाउन सकिन । मलाई त्यहाँको चिया मिठो लाग्दैन तर पनि म बाहिर निस्के , म
तिन सिट अघी बसेकी रचनाको अनुहार हेर्न चाहन्छु ।

उ बाहिर निस्कन खोज्दैथिइ , मास्क फुकालिछे । मेरो मनको आवाज सुनीछे भनौँ ।उसमा केहि परिवर्तन थिएन उत्ति नै राम्री मात्र त्यो सिउँदो रातो भएको छ ।

“मलाई सारै अल्छि लागिसक्यो त्यो तिम्रो सिटमा बसेको मान्छे यहाँ सर्छ कि सोध न ! गफ त गर्न पाइन्थ्यो !”

मैले आफ्नो सिट हेरेँ भनौँ भनेर । पछि सम्झे हिँड्ने बेलामा त्यो त खाली नै थियो साँची । आफु भित्र यति हराएछु कि छेउको सिट याद भएनछ ।

भाग- 2

“हुन्छ ।“

“झोला यहिँ माथि नै हुँदा पनि फरक नपर्ला है !” उसको झोला उसैको सिट माथि थियो ।रातो छेउमा चाबि लगाएको !

“किन हराउने सामान छ र !” चाबी देखे पछि मैले प्रश्न गरेँ ! त्यति राम्री मान्छे खुला घुमिरहेकी छे ,किन चाहियो चाबी झोलामा ?

“हामी तिमी जस्तो हराउने सामान बोकेर यात्रा गर्दैनौ ! हिफाजत गर्न आउँदैन नि त !!!” उसले जिस्क्याई ,मलाई थाहा छ हिफाजत गर्न नआउने मान्छेले झोलामा चाबी लगाउँदैनन् ।

“मैले पनि एक चोटि हराए देखी चेतेको छु !” मनमनैँ सोचेँ । शब्दहरु रोकिए फेरि घाँटीमै !

“छोडदेउ त्यसो भए !” मान्छेलाई कहिलेकाहिँ हाँसे जस्तो गर्न पनि गाह्रो हुन्छ !

उ आएर मेरो सिटको छेउमा बसी । अनौठो सुवाष पोखिए जस्तो भयो । मैले उसलाई झ्यालको सिट छोडिदिएको थिएँ । बाटो हरु घुमी नै रहे घुम्ति माथि घुम्ति । उज्यालो प्रकाश बाहिर फैलिदै गयो ।रातो बाट प्रभात पहेँलो हुँदै गयो ।

“चकलेट्स ?” उसले म तिर आफ्नो हात तेर्स्याई !लामा औँलाहरु भएको हात । अष्ट्रेलिया बाट लिएर आएको होला , घर तिर लगेको मध्येको होला !

“अष्ट्रेलिया कै हो ?”

“अँ घर लगिदेको ! सजिलो छ एब्रोड बाट आउँदा चकलेट बोके पुग्छ !”

“म पनि घर जाँदा चकलेट नै लान्छु !”

“किन को छ र खाने ?”

“छन् नि दाजुका छोराछोरी ! चकलेट खाने तिम्रो घरमा मात्रै छन् र ! ”

“तिम्रो त बिहे भएको छैन है ?” कति सजिलै उसले यो प्रश्न राखी !

छ भनेँ भने उसलाई पनि सन्तोष हुन्थ्यो होला ,उसको नो ले ममा फरक परेको रहेनछ भनेर ! तर अफसोच अहिले सम्म भएको छैन । सबै केटी मा शायद म उसलाई नै खोज्छु , उ भेटिन्न अनि कोहि मन पर्दैनन् ।

“तिमीले अहँ भने पछी अर्कीलाई सोध्ने आँट ने आएन !” यसपाली मैले हाँसी हाँसी उसलाई आफ्नो ब्यथा पोखेँ !

“खाली जे पायो त्यहि ,चाँडो गरीहाल अब !”

“को सँग ?”

“भेट्टिई हाल्छन् नि एक से एक ! इन्जिनियर पो त तिमी त !”

“पत्याउँदैनन् , कसैले हामीजस्ता अल्लारेलाई !”

मलाई याद छ उसले मैले तिमीलाई राम्रो साथी ठानेको थिएँ तिमीले जे सोच्यौ गलत सोच्यौ भनेको !म अहिले सम्म छुट्याउन मै ब्यस्त छु ,आखिर त्यति खेर म कहाँ चुकेँ , म गलत कहाँ थिएँ भनेर !

“त्यसो नभन ,आखिर तिम्रो बेस्ट फ्रेण्ड हो म , म खोज्छु तिमीलाई बेहुली !” मलाई सबैभन्दा मन नपर्ने शब्द बेस्ट फ्रेण्ड !!!!

“आफु जस्तै खोज है !”

“म भन्दा राम्री खोज्छु , यस्ती राम्री कि तिमीले मलाई बिर्सिन्छौ !” कसरी बिर्सीउँ उसलाई त्यो पनि उसैलाई नै सोध्नु पर्ने हो !तर त्यो प्रश्न सोध्ने न मेरो साहस छ ,न सामर्थ्य !!!

“गित सुन्छ्यौ ?” मैले आफ्नो आइपोड उ तिर तेर्स्याएँ ।

“कुन ?” उसले अचम्म मान्दै मलाई सोधी !!!

“तिमीले कुन खोजेको , डेढ सय वटा जति छ होला !!!”

“मैले सुनेको थीएँ एउटा गितको बारेमा कलेज पढ्दा नढाटी भन है !”

हल्ला धेरै भएको थियो उसको र मेरो बारेमा कलेजमाँ । मलाई आँट पनि आउने थिएन होला भन्ने साथीहरुले धेरै चढाएपछि मात्र मैले उसलाई सोधेको थिएँ । त्यो बाहेक रचनाले के सुनेकी थिई मलाई थाहा छैन । यो रचनाको मात्र हैन धेरै केटीहरुको विशेषता हो , धेरै हल्ला हुन्जेल सम्म पनि उनीहरुमा परिवर्तन आउँदैन !!!

“के भन त ?” मैले बिस्तारै सोधेँ , मलाई थाहा छ उसले के सोध्ने वाला छे !!!

“तिमीले मलाइ भनेर गीत लेखेको थियौ अरे नी !”

मैले उसको नाममा करिव आफ्नो छ वर्ष नै लेखेको उसलाई के थाहा !!!

“कस्ले भन्यो भन त ?” मैले हाँस्ने प्रयास गर्दै सोधेँ

“त्यति सानो त कलेज थियो सुनी हाल्छु नि , त्यो छ भने सुनौँ न!” साँच्ची नै केटीहरु प्रशंसाका भोका हुन्छन् । राम्री लाई पनि राम्री छ्यौ भनेर चित्त बुझाउन प्रशंसा गरीरहनु पर्छ !

“त्यो त छैन !”

गाडी थोरै जंगल तिर छिर्यो , बाटो भरि पहेँला सुख्खा पात हरु छरिएछन् ,सुख्खा रुखका बिचबाट घाम का किरण हरु बाटो लाई धुँदै थिए उसका शब्दहरुले मेरो मन छोए जस्तै ! नारायणघाट आइपुग्न आँटेको होला !बाटो हरु तेर्सिदैँ थिए । अचानक उसको मोबायलको घण्टी बज्यो !

“हेलो !………. मैले तिमीलाई अस्ती पनि भनेको हैन…………………………हराएको को म कि तिमी ?………………………………..नारायणघाट ,बस्छु मन लागे जति !…………………………..तिमीलाई म अष्ट्रेलिया मा मात्रै त चाहिएको रैछ नी !!!!!!”

उसले फोन राखी , धेरै बेर झ्याल बाट बाहिर हेरीरही !!!!!!

“आखिर मान्छे किन स्वार्थी ,किन अबुझ हुन्छ ?”

मैले उसको आँखा नियालेँ । उसले आफ्नो ठूलो आँखा भिज्न दिएकी थिइन । अघिको फोन शायद रचनाको बुढोको थियो । भनेपछि उ खुशि छैन । किन ?? मैले मनलाई सोधेँ जीवन किन यति सरल छैन ?मलाई थाहा छ मनले भन्नेछ सरल भए त्यो अरु नै केहि होला जीवन हैन !!!!

तेश्रो भाग-

गाडीको गति सामान्य थियो , बाटो पर सम्म देखिइरहेको थियो ! पर क्षितिज आफ्ना हात फिँजाएर हामीलाई अँगाल्न आतुर भए जस्तो ! क्षितिज पनि त आखिर झुटको खेति गर्छ हामी जति पछ्याउँछौ उ उति टाढिन्छ ।  बाहिर को दृश्य परिवर्तन पनि सामान्य थियो । खेतका पराल का कुन्यु , बाटो छेउका रुखहरु हामी बाट भागेर टाढीइ नै रहे , उ हेरी रही मानौँ उ ति भागेका दृश्यहरुलाई समात्न चाहन्छे , उसको आँखाभरी राख्न चाहन्छे ,आँशुलाई ठाउँ दिन चाहन्न उ ! उसको झ्याल बाट बाहिर को हेराई पनि अन्य यात्रीको जस्तै सामान्य थियो तर उसलाई सामान्य हुन धेरै समय लाग्यो ।अघिको फोनले उसलाई सम्पुर्ण रुपमा परिवर्तन गर्यो ।

“छोड यी सब कुराहरु!”

मैले उसलाई प्रश्न सोधेको छैन उसको बारेमा , मैले मनमाँ राखेको उ त करिव छ वर्ष अघिकी उ हो , मान्छेको स्वरुप हर मोडमा फरक हुन्छ , म छ वर्षकी उ भन्दा फरक उसको तस्विर चाहन्न ।हुन त उसले पनि एक लाइन आफ्नो भावावेशमा सुनाएको मात्र हो तर मैले सबै बुझे जस्तो लाग्यो क्यारे उसलाई !

मैले पनि टाउको हल्लाई दिएँ !

“अहिले बिराटनगर किन नि?” उसले प्रसंग बदली ।

“बहिनीको बिहे छ !”

“कहिले ?”

“तिन दिन पछि !”

“किन ढिलो हिँडेको त ? सपिंग सबै तिमीले नै गर्नु पर्दैन र ! दाजु अरे “

“बिडम्बना तिम्रो जस्तै ,प्लेन उडेन दुइ दिन ! दुइ दिन एयरपोर्ट जाँदै फर्किँदैँ गरेँ !” म हाँसे !!!

“एयरपोर्ट मा पनि भेट हुन सक्ने रहेछ !”

“तर भएन , संयोग समय विचार गरेर मात्र आउँछ शायद !”

उ चुप भइ , झ्याल आँफै बिस्तारै बिस्तारै खुल्ने थियो क्यारे , थोरै खुलेको झ्यालबाट छिरेको हावाले उसको पहिले भन्दा छोटै भए पनि कपाल लाई मुहार भरी फेरिरह्यो । उसको मुहार थोरै कपाल ले छेकेको बेला उसको देब्रे हातले कपाल मिलाउने बानी उसको अझै बदलिएको रहेनछ ! उसको देब्रे हातको घडी गोल्डेन प्लेटको थियो ! बिहाको बेलाको होला !थोरै खुइलिन थालेछ !!!

“अघि फोन चेतनले गरेको !”

मलाइ थाहा छैन उसले फेरि किन कुरा आफू तिर मोडी !बुढो उसको जीवन भरीको , म त करिव बाह्र घण्टाको न हो उसको साथी !!! उसको र मेरो विचको फरक नै यहि होला ,, कुराहरु लुक्दा मनमा घाउ बनाउँछन् ! उ घाउ चाहन्न , म घाउमा रमाउछु !!!

“ अस्ति घर आएन । कतै हरायो मोबायल स्विच अफ गरेर ,बिराटनगर आउनुपर्छ भनेर !आज म हिँडे मलाई किन हिँडेको भनेर सोध्छ !”

उ बहकी नै रही उ कुनै पराइ केटालाई आफ्नो लोग्नेको पोल लाउँदैछे !!! किन बुझ्दिन उ !मलाई उसको कुराहरुको जवाफ दिन आउँदैन !

“तिमीलाई बोर गरीरहेको छु है ?” छौ भनौँ कि छैन भनौँ , कहिले काहिँ मौनता सबै भन्दा राम्रो उत्तर हुन्छ !

“साँच्चै मैले भनेको मान्छ्यौ ?” मैले उ तिर हेरेँ । मलाई थाहा छ उसले मेरो बिहेको बारेमा नै कुरा गर्नेछे !

“तिमी बिहे गर !”

“अघि आफैँ केटी खोजीदिन्छु भनेको हैन !” मैले उ तिर हेर्दै प्रश्न राखेँ । उ चुप लागी ! हो कहिले काहिँ मौनता नै सबै भन्दा राम्रो उत्तर हुन्छ !

गाडी रोकियो , हेटौँडा आइपुगेछ ! गुरुजी बाहिर निस्किए । आजको उसको ड्युटि सिध्दियो ।

“मेरो कान्छो कता छ , गाडी आइपुग्यो भन्दे त !” आंग तान्दै थिए गुरुजी !

अब बाँकी यात्राको अरु ने कोहि सारथी हुनेछ ।कान्छो छेवैकी साहुनी सँगै जिस्किँदै गरेको थियो ।झ्याल बाट स्पष्ट देखिन्थ्यो । गालामा दुइ तिन वटा दाग थीए ! कुनै बेलाको झगडाको होला !अबको हाम्रो यात्राको जीम्मा उसको हात र खुट्टामा छ ।

“एकछिन गाडी रोक्छ होला ,बाहिर निस्किने ?”

“भो म यहि बस्छु !”

म बाहिर निस्किएँ ,घाम चर्केको थियो , पुषको घाम न्यानो भएको थियो ! बिराटनगर मा त नलागेको थुप्रै दिन भइसकेको सुनेको थिएँ । दुइ दिन त एयरपोर्ट मै भोगेको थिएँ ।

छेवैको दोकानमा ठिटाहरु क्यारेम मा मस्त थिए !नेपाली चलचित्रको राजेश हमाल नायक भएको आधा च्यातिएको पोष्टर दोकान को भित्तामा टाँसीइनै रहेको थियो । भित्ता सँग जीवन भरी साथ निभाउन चाहन्छु भने जस्तो गरेर ! दुई तिन दिन पछि नै हलमा अर्को फील्म लाग्नेछ ,त्यसपछि कसैले आएर त्यसमाथि नयाँ पोष्टर थपिदिनेछ । उ निस्सासिने छ , उसको अस्तित्व कसैलाई थाहा नभएको जस्तो गरेर दफन हुनेछ । दोकान माँ गएर चुरोट सल्काएँ !गोजीको सुकमेल फेरि चबाएँ अनी उसको लागि एउटा लेज लिएर फर्केँ !

“ हाहाहाहा……… गर्लफ्रेण्डलाई इम्प्रेस गर्न खोजे जत्तिकै छ त मनोज !”

उसको इशारा मेरो हातको लेज मा थियो ! अब समय गइसकेको छ उसलाई इम्प्रेस पारेर पनि पो खोइ के नै हुन्छ होला र !

“ मैले समय कटाउनलाई मात्र लिएर आएको ! यति ले इम्प्रेस हुन्छौ भनेको भए त रोज को सट्टा लेज लगिहाल्थेँ नी !”

मैले पनि उसको ठट्यौलीमा साथ दिएँ !

“तिमीलाई त्यति खेर कस्ले उक्साएको थियो भन त !”

“थिए केटाहरु !”

“तिमीले पनि किन नो भनेको भन त ?” मैले पनि अहिले मौका पारेँ ,आखिर उ मात्रै किन ती कुराहरुमा आइरहन्छे ,कम्तिमा मलाई पनि थाहा हुनुपर्छ म कहाँ चुकेको रहेछू !

उसले मेरो अनुहारमा नियाली । मेर आँखाहरु उसको उत्तर खोजिरहेका थिए !

“त्यो पनि मेरो लागि एउटा डाइलेमा जस्तो नै भयो ! घरमा थाहा भयो भने मार्छन भन्ने डर लाग्यो अनि अहँ भनिदिएँ !”

उ हाँसी ,मेरो मनमाँ हजारौँ ज्वालामुखी एकैचोटी फुटाएर ! कुनै कुनै सम्बन्ध हरु समयले चाहेको हुँदैन । यदि उसलाई मैले ब्याचलरको समयमा प्रयास गरेको भए शायद हाम्रो सम्बन्ध सफल हुन्थ्यो होला । तर ति सब होलाका कुराहुन । यथार्थ एउटा छ उ मेरी होइन । आज झुक्किएर समयले मोड जुधाएको छ । हामी दुवै दोबाटो को प्रतिक्षामा छौँ । उसको त मलाई थाहा छैन , तर मेरो बिराटनगर पुगेपछि उ सँग फेरि गफगाफ गर्न खोज्ने कुनै रहर छैन ।

गाडी घ्यार घ्यार गरेर अघि बढ्यो धेरै बेरको स्थायित्व चिर्दै । फेरिएको सारथि ले मुख्य बाटोमा यात्रा डोर्यायो । बाटो अझै लामो छ ।फेरि दृश्य परिवर्तन शुरु भयो ।

मैले चेतनलाई कोर्ने प्रयास गरेँ । मेरो कोराई अमुर्त नै होला किनकि मैले उसलाई देखेको छैन , साथी हरु मात्र गएका थिए रचना र चेतनको बिहेमा ! मेरो नजरबाट त चेतलाई कसरी पो हेरौँ खोई एउटा विजयी प्रतिस्पर्धि थियो नै भनौँ होला , जसले दाउमा मेरो जीवन जित्यो , मेरो सार जित्यो मेरो आत्मा जित्यो , मेरो विश्वास जित्यो मलाई खोक्रो बनायो एउटा निश्चित कालखण्डभरिलाई मात्र भएपनि ……………….तर  रचनाको नजरमा मैले बुझेसम्म उसको परिवारको तर्फ बाट भएको भुल थियो चेतन ! मैले चेतन सँग आफुलाई दाँज्ने प्रयास गरेँ कम्तिमा रचनाले मलाई चुनेकी भए र त्यो भुल नै भएको भए पनि त्यो उसको परिवारको हैन आफ्नो भुल हुने थियो । अरुको भुल को परिणाम भोग्नु भन्दा आफ्नो भुलको परिणाम भोग्न अलि न्याय संगत हुन्छ होला । यदि म पनि भुल नै हुन्थेँ भने !

के उ हरेक दिन जति जति खेर  उ चेतन सँग रिसाउँछे , उसका र चेतनका कुराहरु मिल्दैनन् ,चेतन एउटा मायाको गहिराहिमा पुग्न सक्दैन , वेवास्ता गरेर एउटा सुन्दर मुर्तिलाई उ अरु नै तिर मन्दिर खोज्दै भौतारिन्छ उसले मलाई सम्झिन्छे त ?

मेरो अर्को मन मलाई कोट्याई कोट्याई भनिरह्यो भइगो छोडदे यी कुराहरु अब यी कुराको कुनै औचित्य छैन । यी कुराहरु किन , कसरी का दोसाँध मात्र हुन जसको कुनै परिणाम छैन । जीवन लामो छ त यो सोच गन्तब्य कहाँ छ ति भनेका बाटाका ठेसहरु हुन। मेरो कुन मन जित्दैछ यो युद्दमा मैले पत्ता लगाउन सकिन ।

“ओ इन्जिनियर साप निदाको ?”

उसका हातले मेरो हात झक्झक्याउँदै उसले मलाई बोलाई । कस्ता दिनहरु आएका छन् त्यो स्पर्श मैले खोजेको पाएको छु तर त्यहि स्पर्श पनि त पराई भएको छ । उसको बोलि सामान्य अवस्थामा फर्किसकेको थियो । हुन त ज्वालामुखि उसले पनि दबाएकि रहिछ । सँधै चुलबुले नै रहने भइ पनि त मौनता उ सँग पनि त रहेछ ।

“छैन ! तिमीले सुत्न दिए पो ! आई पोड खोसेरै कराउन थाल्यौ ! कहाँ आइपुग्यो ?”म निदाएको थिइन , तर निदाएको स्वांग पार्दै आँखा मिच्दै भनेँ ।

“लालबन्दि को छेउछाउ होला !”

उसले बाहिरका उखुका बोट नियाल्दै भनी । एक अर्काको प्रतिस्पर्धामा ऊभिएका उखुका बोटहरु त भन्दा मै अग्लो तँ भन्दा मै रसिलो भनेर गजक्क परेजस्तो । मान्छे पनि त त्यस्तै हो नि , आफ्नै बारेमा मात्र त सोच्छ यति वर्ष सम्म मैले रचनालाई सम्झिदा उसले मलाई रुवाई भनेर न सम्झे । उसको अवस्था चेतन सँग कस्तो होला भनेर बुझ्न मन किन लागेन । मैले किन आफ्नो मनको अँध्यारो कोठामा आफुलाई थुने जहाँबाट मैले बाहिरको उज्यालो देखिन !

“यो लेज मलाई मात्र भनेर ल्याएको ?” उसले प्याकेट खोलेकी रहिनछ ।

“ म केटाकेटीको मनपर्ने कुराहरु खान्न !” मैले जिस्क्याएँ ।

“मलाइ पनि थाहा छ , एउटौ समोसामा तिन तिन चोटी तरकारी थपेर खाने को को थिए !” उसले मेरो बानी मलाई नै सम्झाई ।समोसा पसलमा समोसा सँग तरकारी फ्रि मा पाइन्थ्यो तरकारी धेर खाएर अघाउने हाम्रो होड हुन्थ्यो !

“मलाई पनि थाहा छ , कसलाई लाईब्रेरी मै लेज पुर्याउनु पर्थ्यो !” आखिर मैले पनि त उसका सम्झेका कुराहरु सुनाउनु छ ।

“एउटा गित राम्रो छैन तिम्रो आइपोडमा !”  उसले रिस पोखे जस्तो गरी ! तर यो वास्तवमा प्रसंग बदल्न चाहेकी हो !

“छानिदिने मान्छे पनि त छैनन् , विरही भको छु नि त !” म हाँसे

“कहिले काहिँ बिरही भएकै ठिक हो जस्तो लाग्छ मनोज !” उसले फेरि कुरा घुमाई !

बाहिर घाम कते हराएको थियो । चिसो सिरेटो छिरे जस्तो भयो । तराई मा शितलहर चलेको छ । बाहिर धुवाँमा मान्छे ले भुस तापिरहेको प्रशस्त देखियो । पहाड को भन्दा तिखो हुन्छ रे तराइ को जाडो , कति खेर मुटु छेड्छ थाहै हुन्न रे !  उसले झ्याल तानी !

कहिलेकाहिँ कुराकानीमा मौनता प्रयोग गर्नुपर्छ । उ मौन भएर मलाई सोधिरहेन्छे …..

“आखिर किन ….. छ वर्ष म आउँदिन भन्ने थाहा हुँदा हुँदै पर्खिनु पर्छ र ?”

म पनि मौन भएरै जवाफ फर्काउँछु ।

“ जरुरि त थिएन , तिमीलाइ पर्खिँदा घडि मात्र हेर्न विर्सेको हो, आज तिमी आयौ एउटा उज्यालो किरण छिर्यो , बिउँझेको छु पर्खाई बाट , बल्ल रितु हरु फेरिएको थाहा भो बल्ल वर्षहरु गएको थाहा भो !”
उ मौनतामा नै मेरो उत्तर मा चित्त बुझाउँछे ।

मैले घडि हेरेँ पाँच बजीसकेको थियो । अब करिव एक घण्टा पनि लाग्दैन होला बिराटनगर पुग्न  !मेरो मोबायल को घण्टि बज्यो !

“मेरो साथि छ , म घर पुर्याएर फर्किन्छु !!!!” मैले उत्तर फर्काएँ ।

उसले मलाई हेरीरही , “तिमीले मलाई घर पुर्याई दिन्छु भनेको ??”

“अँ किन ?”

“भाइ आउँछु भनेको छ , बसपार्क मा पर्दैन !” फेरि उसले मेरो आग्रह टारी !!!!

“ठिकै छ भाइ आउन्जेल पर्खिदिउँला नि त !”

“बिराटनगर मेरो पनि त हो , कति आत्तिएको , म पुगि हाल्छु नि !!! बिहेको घर तिमीले चाँडो पुग्नु पर्छ !” उसले आफ्नो रिजेक्सन को औचित्य देखाई !

“मेरो एउटा आग्रह त मानीदेउ !” मलाई आजको नै  भए पनि एउटा यात्रा उ सँग पुरा गर्नु छ । मैले उसका आँखा नियाले ! यसपालि उसले केहि बोलिन !

बिस्तारै बस बसपार्क छिर्यो । सारथिले आजको ड्युटि राम्ररी निभाएको थियो। अब उ बेलुका कतै लजमा रात बिताउने होला !!! बिराटनगरको बसपार्क छेउछाउका लजका पहेँला बत्तिहरु , केहि अँध्यारा ठाउँहरु मिश्रित ,समावेशि भएर बसेको थियो !रिक्सावाला हरुको चहलपहल यथावत थियो !

“भाइ आउन कति बेर लाग्छ ?”

“दश मिनट होला !!” उसले झोल सिमेन्टको प्यारापेटमा राख्दै भनी

“मनोज !” उसले मलाई बोलाई , म उसको नजिकै गएँ । मेरा पाइला उसको धेरै नजिकिएको थाहा भए पनि मैले पाइला रोकिन !!!

उसले मलाई अंगालो मारेर सुस्तरि सोधि , “मैले भनेको मान्छ्यौ ?”

मैले टाउको हल्लाएँ

“तिमी बिहे गर !”

“केटी खोज्ने जीम्मा मैले तिमीलाइ दिएको हैन ? तिमीजस्तै !!!” मेरो आवाज कामेको थियो । शायद आँशुको छायाँ मेरो आवाजमा पर्दै थियो !!!

“म भन्दा नि राम्री , यति राम्री कि तिमीले मलाइ पनि बिर्सिनेछौ !!!!” उसको पनि आवाक काम्दै थियो छायाँ कै कारणले होला

समाप्त !!!!

02-03-10 7:24 AM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : हिँडेर छोडेको बाटो !!!

  1. pradeep says:

    hey! good words play I like that😃

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.