~मनु वि.क.~
एउटा मान्छे, जो जनताको कुरा गथ्र्यो
शोषण उत्पीडनको विरोध गर्यो
जो जनताको एकताको कुरा गर्यो
सर्वहारा सङ्गठन र चेतनाको वकालत गथ्र्यो
हो ऊ जनताको अधिकार प्राप्तिका लागि
भोकै प्यासै कुद्थ्यो
धुलै मैला हिँड्थ्यो
घाम र तापले छेकेन उसलाई
जहानको मायाले बाँधेन
उसले मुक्तिका लागि लड्दा
दिनरात भन्न पाएन
इष्टमित्र र आफन्ती चिन्न पाएन
ऊ सधै एउटै गीत गाउँथ्यो
ऊ सधै एउटै बात लाउँथ्यो
मृत्यु वा मुक्तिका गीत
मृत्यु वा मुक्तिका बात
जो लड्यो कैयौँ मोर्चाहरूमा
सामुहिक होस् वा आफू मात्र
भिड्यो कैयौँ सङ्घर्षहरूमा
दुश्मनसँग लड्दा लड्दै
ढलेका सखाको बिदाइमा
मुठ्ठी उठाई भन्थ्यो–
तिम्रो सपना पूरा गर्नेछु
सन्तानको मृत्युमा विह्वल भएकी आमालाई
आश्वासन दिँदै भन्थ्यो
च्यातिएको फरिया टालिदिनेछु
भोक रोग र शोकले ग्रसित तनहरूमा
उत्साह र उमङ्ग भरिदिनेछु
बसन्तको पर्खाइमा बसेकी चरीलाई
अन्धकारमा तड्पिएका आत्माहरूलाई
भन्ने गथ्र्यो
अरू नभए पनि म त छु नि ?
म एउटा जोश र होस्ले हिँडेको मान्छे
मुक्तिका लागि बगेको नदी हुँ
विश्वले मागेको चोला हुँ
तर
आज उसको ओठमा मुस्कान छैन
बोलीमा कुनै विश्वास छैन
थरिथरि भाषा फेरिरहेको छ
जनताका अगाडि अनेकौँ नाटक गरिरहेको छ
जसले उसलाई घृणा गथ्र्यो
उसैको पाउ परिरहेको छ
लाग्छ, ऊ जरा विनाको ठुटो हो
गलित र थकित छ
जसबाट छहारी र आडको आशा राख्नु बेकार छ
उसका बोलीहरू विगतका भन्दा परका भए
ऊ अहिले मुक्तिका नाराभन्दा
पजेरो र महलको नारा घन्काइरहेछ
व्यक्तिगत खेती सपार्न धाइरहेछ
जसलाई ऊ घृणा गथ्र्यो, उसैसँग मीत लाइरहेछ
साँच्ची ऊ दिनानुदिन स्खलित भइरहेछ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १३ – Feb. 19, 2014 २०७० फागुन ७ गते, बुधबार)