कविता : धरहरा र मेरो प्रेम

~तारा पराजुली~

पहिलोपटक
धरहरा चढेकी थिएँ
त्यो पनि तिम्रो उपस्थितिमा।

त्यो घुमाउरो उकालो
तिम्रा आला पदचापहरू पछ्याउँदै
उचाइमा उड्दै गरेको सिमलको फूलझैँ
पौडिँदै अग्लिरहेँ म
साथमा एउटा नौलो अनुभूति

छिनमै तापक्रम भरिएर शीतल हावाकाओठहरू
चुम्बकजस्ता आकर्षक हात
नरम, मलिन फूलको स्पर्श
मदिराक्षी आँखा
निस्पन्ध नजर
निहारिरहेँ म
भागेर संकोचहरू पर पर

न इष्र्यालु जमात
न कुरा काट्ने हुल
यौवनको सबैभन्दा अब्बल मौसम थियो
जीवनकै सबैभन्दा सुन्दर सपना देखेको दिन
डुबेर रङ्गहरूको पोखरीमा
म नवीन रङ्ग खोजिरहेथेँ

लाग्थ्यो यसबेला म एउटा प्रेम अग्लिरहेछु
भरेर नीलो अनुरागको मसी
म प्रेमको व्याकरण लेख्दैछु
सँगै छन् सधैँ सधैँ सम्झिरहनु पर्ने सम्झना
हर्दम पछ्याइरहने छाँया
सँगै छ प्रेम कविताको रचनागर्भ

तमाम एकाकीपन छाडी जाने पात्र पनि आफैँसँग छ।
आज सम्झनु छैन केही
पर्खनु छैन कसैलाई
लेख्नु छैन फेरि पनि बिछोडको गीत
सच्च्याउनु छैन पुरानो प्रेम कविता
फेर्नु छैन कुनै भर्जिन नवीन बिम्ब
र सप्पै विपनाहरु लुकाएर
निस्कनु छैन कल्पनाको सहर।

एउटा जिउँदो इतिहास
नदी झैं हतारले आइरहन्छ त्यो दिन
उसैदिन लेखेको हो लेख्न नसकेको प्रेमपत्र
फुकायौँ बाँकी मन
सुनाउन बाँकी रहस्य
खुल्न बाँकी अलिकतिआकाश खुलेर
एकसाथ पोखियौँ हामी
झरी जस्तो मौसम ।

प्रेमको समर जित्न
हामीले कुनै मन्दिर भाकेनौँ
देवी, देउराली गुहारेनौँ
आँखा चिम्म गरेर
देवालयको गजुरतिर हेर्दै
शुन्यमा कुनै जोडी पन्छी उडाएनौँ
औँठी, रुमाल केही चिनो साटेनौँ
बरु पर पर हर्यौं देखिन्जेल हतारका उपत्यका
बार्दलीका निर्बन्ध फूल
पारि पारि कुमारी पहाड
सुकिला हिमाल

सिफलको बोट जस्तो देखिने इतिहासको नवीन पृष्ठ
बादलका झुप्रे घरहरू
यिनै हुन् प्रेमका अनन्य साक्षी।
प्रेमको सत्ता मजबुत बनाउन
त्यहीँ बसेर खसाल्यौँ अहमको धावन मार्ग
होच्यायौँ रेशमी चाहनाको महल
र बनायौँ समावेशी घर।

प्रेम विश्वासको अञ्चलमा फुल्ने रहेछ
मनका करेसाबारी भरि भरि
उम्रिएर फुल्यौँ हामी
भरेर उडानहरू
अग्लियौँ माथि माथि।
बिडम्बना
हामीलाई यति अग्लो चौडा उचाइ र
एउटा प्रेम कविता छाडेर
आफू भने पुरानो कथाजस्तो भएको छ
आज मेरो धरहरा ।

तारा पराजुली

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.