कविता : प्यार ! आऊ पुगौँ सच्चिदानन्दमा

~निर्मोही व्यास~Nirmohi Vyas

बाँसुरी म, प्रिया ! हौ तिमी रागिनी
सिन्चिदेऊ ममा प्रीति–सञ्जीवनी
सृष्टि–सौन्दर्यकी सार यौटै तिमी
अंश तिम्रो लिई रम्य छिन् मेदिनी

आज प्याला भरी घोल सातै सुर
प्राप्ति आजै त हो, भोलिको के भर ?
००
स्निग्ध यी सिर्जनाका तरेलीहरू
मोहनीदार तिम्रै परेलीहरू
सम्झनाको दियो बालिराख्ने गर
स्वप्नमा नै सही आइराख्ने गर

जाउँला सृष्टिको दृष्टिदेखिन्पर
प्राप्ति आजै त हो भोलिको के भर ?
००
स्वप्निलो स्वर्गको सानु उद्यानमा
चिम्लिई नेत्र आराध्यको ध्यानमा
दिव्य आनन्दका ती बटुल्दै कण
आज मेरा बितून् एक–एक क्षण

स्वप्नको आज साझा बसाऔँ घर
प्राप्ति आजै त हो भोलिको के भर ?
००
पोखिँदै—रित्तिँदै एक—अर्काभरि
तृप्ति नै तृप्तिले आज पोल्टो भरी
जिन्दगीका हजारौँ भुली वेदना
साँचिहालौँ सँगै स्वादिला सम्झना

मेटियून् तिर्सना आज त्यागी डर
प्राप्ति आजै त हो भोलिको के भर ?
००
भोलि होला नहोला बिहानी नयाँ
आउला वा न वा फेरि यो पूर्णिमा
आज नौलो सुनौलो यही लग्नमा
प्यार ! आऊ, पुगौँ सच्चिदानन्दमा

छङ्छङाइरहोस् प्रीतिको निर्भmर
प्राप्ति आजै त हो भोलिको के भर ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.