कार्यपत्र : नेपालको साहित्यिक–पत्रकारिता : समस्या र समाधान

~विष्णु प्रभात~

अवधारणा र पृष्ठभूमि :

१. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमिनारहरु वा सम्मेलन, पत्रपत्रिका सम्पादन–प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरुको प्रचार–प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने कार्यसँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरुलाई साहित्यिक–पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ । त्यसैले समग्र सांस्कृतिक उन्नतिका लागि वाङ्मयका विविध विधामा विभिन्न भाषाको माध्यमबाट अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण एवं मूल्याङ्कित लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन र प्रसारण व्यवस्थाद्वारा परिचालन गर्ने कलालाई साहित्यिक–पत्रकारिता भनिन्छ । नेपाली पत्रकारितामा पनि सूचना पत्रकारितासँगै साहित्यिक–पत्रकारिताको समानान्तर विकास हुँदै आएको छ ।

नेपाली पत्रकारिताको विकास साहित्यिक–पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामीबीच छ (शिव रेग्मी, ‘साहित्यिक–पत्रकारिता’ गरिमा, समालोचना विशेषाङ्क, २०५१ पृ. २२९) । गोरखापत्रबाट प्रारम्भ भएको सूचना पत्रकारिता प्रमाणित छ भन्ने धारणा पनि हामीबीचमै छ । (डा. तुलसी भट्टराई, साहित्यिक–पत्रकारिताः सम्भावना र चुनौती (लेख), पृ.४) । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक शताब्दीभन्दा लामो इतिहास उल्लेख गर्दै नेपाली साहित्यिक–पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट भएको भनिए पनि त्यसको प्रमाणिक प्रति उपलब्ध छैन । साहित्यिक पत्रिकाको प्रामाणिक आधार वि.सं. १९९१ मा प्रकाशित ‘शारदा’ ले प्रदान गर्दछ । त्यसपछि नै उद्योग (वि.सं.१९९२), साहित्य स्रोत (२००४), आँखा (२००५) पुरुषार्थ (२००६), भारती (२००६) जस्ता पत्रिकाहरु प्रकाशन भएको र २००७ सालपछि यसको तीव्र विकास देखापर्दछ ।

२. नेपाली साहित्यिक–पत्रकारिताको इतिहास र वर्तमान दुवै नै राष्ट्रिय एवं अन्तराष्ट्रिय स्वरुप र चरित्रमा प्रवाहित रहेको छ । नेपालीय नेपाली धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक–पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महŒवपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली साहित्यिक–पत्रकारिता र भारतीय नेपाली साहित्यिक–पत्रकारितालाई पृथक् पृथक् अस्तित्वमा देख्नुपर्दछ । दुवैधारालाई एउटै ठान्ने वा मान्ने धारणा उचित देखिँदैन । भारतीय नेपाली साहित्यिक–पत्रकारिताको प्रारम्भ वि.सं. १९४८ मा प्रकाशित ‘गोर्खा भारत जीवन’ सँग जोड्ने गरिन्छ । यद्यपि त्यसको पनि प्रमाणिक प्रति उपलब्ध छैन । बरु वि.सं. १९६६ को गोर्खा खबर कागजलाई पो मान्नुपर्ने हो कि ? जेहोस् यी विस्तृत शोधकै विषय हुन् । चन्द्रिका (वि.सं.१९७४), आदर्श (१९८७), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८९), नेबुला (१९९३), गोर्खासंसार (१९८३) आदि भारतीय नेपालीहरुद्वारा प्रकाशित पत्रिका हुन् । जहाँसम्म प्रवासमा रहेका नेपालीहरुद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि गरिएका प्रयास एवं प्रकाशनहरुको सन्दर्भ छ, त्यसलाई यथोचित गणना र मूल्याङ्कन गर्नु नै उचित हुनेछ । सुन्दरी (१९६३), माधवी (वि.सं. १९६५), चन्द्र (१९७१), जन्मभूमि (१९७९), उदय (१९९३), र युगवाणी (२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित नभै बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरुद्वारा प्रकाशित हुन् ।

३. प्रारम्भिककालदेखि नै नेपाली साहित्यिक–पत्रकारिता विचारधारात्मक पृथकतामा प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी यथास्थितिवादी र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक–पत्रकारितालाई तीन मूल प्रवृत्तिमा हुर्काएको छ ।

क) यथास्थितिवादी सनातनधारा
ख) सुधारवादी नूतनधारा
ग) क्रान्तिकारी प्रगतिशीलधारा

चिन्तनका सन्दर्भमा पहिलोले सामन्तवादी सामाजिक मान्यतालाई अँगालेर प्रत्ययवादी दार्शनिकताको वृत्तभित्र घुमाउँछ । दोस्रोले पुँजीवादी सामाजिक पद्धतिको पक्षपोषण गरी निर्वर्गीय मानवता र व्यक्तिवादलाई सर्वोपरि राख्दछ । तेस्रोले श्रमवादी चिन्तनमा समाजलाई सर्वोपरि राखेर अन्ततोगत्वा वैज्ञानिक समाजवाद तर्फ आफ्ना समस्त कार्यकलापलाई अग्रसर गराउँछ । स्वस्फूर्त वा सचेतन ढङ्गले यिनै मूल वैचारिक वृत्तहरुभित्र एकात्मक रुप र द्वन्द्वात्मक सारमा नेपाली साहित्यिक–पत्रकारिता हुर्किरहेको छ । यस तथ्यलाई स्वीकार्दै रोचक घिमिरे लेख्दछन् –

सुरुका साहित्यिक पत्रिकाहरुको उद्देश्य मुख्यतयाः कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरुको मनोरञ्जन गर्नमा नै लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन रचनाहरु दैविक अथवा लौकिक स्तुतिगानतर्फ केन्द्रित हुने गर्दथे । मूल संस्कृत भाषाका रचनालाई उल्था गरेर प्रकाशन गर्ने प्रवृत्ति पनि त्यो बेलाका साहित्यिक पत्रिकाहरुमा रहेको थियो ।” यो प्रवृत्ति यथास्थितिवादी सनातनधारा थियो र अहिले पनि यस मूल प्रवृत्तिको निरन्तरता देख्न सकिन्छ ।

घिमिरे अगाडि लेख्दछन् –“राणाशासनको बेला नेपाल बाहिर भारतमा बसेर नेपालीहरुले निकालेका साहित्यिक पत्रिकाहरुमा स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त उकुसमुकुसलाई प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रुपमा देखिन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनारसमा बसेर ‘युगवाणी’ मार्फत नेपालीहरुलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर, महानन्द सापकोटाजस्ता राष्ट्रप्रेमी कविहरुले भारतबाटै प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक कुरीतिविरुद्ध शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरुका अभावको त्यस बेलामा साहित्यिक पत्रिका नै लेखक र बौद्धिकहरुको एक मात्र सशक्त अभिव्यक्तिका माध्यम बनेका थिए । यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरुले गरेको योगदान अत्यन्त स्तुत्य रहेको छ ।” (रोचक घिमिरे, ‘नेपालको साहित्यिक–पत्रकारिता र प्रवृत्तिगत वैशिष्ट्य” (लेख), हाम्रो पुरुषार्थ (२०६२) गुल्मी किरण पुस्तकालय) । यहाँ उनले दुई प्रवृत्ति सुधारवादी नूतनधाराको प्रतिबिम्बन गर्ने प्रवृत्ति, जसले राजनैतिक जागरण र प्रजातन्त्रको सञ्चेतना फैलाउने काममा टेवा दिएको थियो र दोस्रो क्रान्तिकारी प्रगतिशीलधारा जसले बलिदानपूर्ण सङ्घर्षलाई हौस्याउने अर्थात् क्रान्तिकारी उत्सर्गको भावना उमार्ने काम गरेको थियो, लाई औँल्याएका छन् ।

नेपाली साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति :

नेपालको साहित्यिक–पत्रकारिताको विकासमा २००७ सालको परिवर्तनले एउटा नयाँ मोड र गति प्रदान गरेको तथ्य सर्वस्वीकृत बनिसकेको छ । वि.सं. २००८ मा “सेवा” पत्रिका प्रकाशित भयो । त्यो पत्रिका प्रगतिशील साहित्यधाराको पहिलो प्रकाशन बन्न पुग्यो । नेपाली साहित्यिक–पत्रकारिताको विकास र विस्तारका दृष्टिले सात सालपछिका दुई दशक अत्यन्त उर्वर, गतिशील तथा समृद्ध दशक बनेर रहेका छन् । यस अवधिमा प्रतिभा (२००९), प्रगति (२०१०), जन साहित्य (२०११), नौलो पाइलो (२०१३), इन्द्रेणी (२०१३), धरती (२०१३), साहित्य (२०१६), रुपरेखा (२०१७), इन्दु (२०१७), स्वास्नीमान्छे (२०१७), बगैँचा (२०१८), रचना (२०१८), हिमानी (२०१९), सिंहनाद (२०१९), मुकुट (२०१९), पूर्णिमा (२०१९), भानु (२०२०), रत्नश्री (२०२०), अरुणोदय (२०२०), कविता (२०२१), रमझम (२०२१), सगुन (२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह (२०२२), आकाङ्क्षा (२०२३), गुराँस (२०२३), प्राचीन नेपाल (२०२४), प्रतीक्षा (२०२५), मधुपर्क (२०२५), सुस्केरा (२०२६), अभिव्यक्ति (२०२७), प्रज्ञा (२०२७) जस्ता पत्रिकाहरु प्रकाशित भए । यीमध्ये रचना, भानु, नेपाली, पूर्णिमा, कविता, मधुपर्क, अभिव्यक्ति, प्रज्ञा आदि पत्रिका आज पनि निरन्तर प्रकाशन भइरहेका छन् र यी मध्ये कतिले सयौँ अङ्क पार गरी नेपाली वाङ्मयका अनेकौँ विधाको समृद्धिमा महŒवपूर्ण योगदान दिएका छन् ।
तीसको दशकमा सङ्कल्प, वेदना, झिसमिसे, उत्साह, मिर्मिरे, गरिमा, साङ्ग्रिला, शृङ्खला, श्रीनगर, रश्मि, समष्टि, बगर, दोभान, साथी (२०३९), ज्ञानगुनका कुरा, उन्नयन, कलम, मञ्जुषा, तन्नेरी, प्रलेस, दायित्व, साहित्य–सन्ध्या, जनमत, जुही, सगर, सुगन्ध, समकालीन साहित्य, नागार्जुन, दौँतरी
(नेपालगन्ज), राप्तीदूत (दाङ) नव प्रज्ञापन आदि अनेकौँ अनेकौँ पत्रिकाहरु प्रकाशित भए । वैचारिक प्रवृत्तिका सन्दर्भमा पनि यस अवधिका पत्रिकाहरुले सामान्यतयाः पहिले उल्लेख गरिएका तीन आधारभूत प्रवृत्तिलाई नै अँगालेर केही नयाँ प्रयोगहरु गर्दै अघि बढेका छन् ।

व्यावसायिक तवरले सञ्चालित मासिक पत्रिकाहरु – सर्वोत्तम, विमोचन, तथ्यकथा, युवामञ्च, मुना, अन्तर्राष्ट्रिय मञ्च, एक्काइसौँ शताब्दी, मूल्याङ्कन, कामना, साधना, अस्मिता, नवयुवा आदि विचार प्रधान एवं वयवृत्ति पत्रिकाहरुले पाठकहरुमाझ नयाँ–नयाँ खुराकहरु पस्कँदै आए । सामयिक सङ्कलनहरु, संस्थागत प्रकाशन एवं स्मारिकाहरुले पनि साहित्यिक गतिविधिलाई थप टेवा दिए । साहित्यिक–पत्रकारिताका सन्दर्भमा यी सबैको प्रवृत्तिगत सामग्रीको अध्ययन, विवेचना र मूल्याङ्कन गर्नुपर्ने ऐतिहासिक खाँचो छँदैछ र अब त्यसतर्फ पनि हाम्रो ध्यान जानु जरूरी भएको छ ।

वर्तमान समयमा नेपालको साहित्यिक–पत्रकारिता नेपालीय नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्रिय भाषाका माध्यमबाट प्रकाशित विभिन्न साहित्यिक पत्र–पत्रिकाहरुका सङ्ख्यात्मक वृद्धिबाट समृद्ध भएको छ । नेपालीय नेपालीका अतिरिक्त नेवारी, मैथिली, भोजपुरी, थारू, सेर्पा, राई, लिम्बू, तामाङ, मगर, गुरूङ आदि भाषामा प्रकाशित पत्रिकाहरुको माध्यमबाट ती भाषाका नेपाली साहित्यको विकास भइरहेको छ । यस सन्दर्भमा हाल नेपाली भाषाका मधुपर्क, गरिमा, समकालीन साहित्य, प्रज्ञा, कविता, वेदना, सङ्कल्प, समष्टि, ज्योति, रचना, अभिव्यक्ति, जुही, जनमत, भानु, अक्षर, मुना, पूर्णिमा, दायित्व, साथी, उन्नयन, बगर, सगर, यद्यपि, नेपाली, प्रलेस, कलम, संस्कृति, आरोहण, गुञ्जन, जनसंस्कृति, शब्द संयोजन, कौशिकी, फित्कौली, शिवपुरी सन्देश, कल्पतरू, नवप्रज्ञापन, हाम्रो सिर्जना, अन्तर्बोध, प्रहरी, सिपाही, दोभान, बनिता (विराटनगर), दौँतरी (नेपालगन्ज), अनुराग, हिमाली गुराँस, नवआकाङ्क्षा, तादी, निर्झर, साहित्य सागर, शब्दाङ्कुर, अकाल कुसुम, संयोग, थुम्को आदि पत्रिकाले महŒवपूर्ण स्थान लिएको देखिन्छ । नेवारीमा प्रकाशित मचाक्यव, पुलुकिसी, थाय्भू (नेपाल प्रज्ञा प्रतिष्ठान) नःलि, नसंःचा, झीः नेपाः संस्कृति, थौं कन्हे आदि पत्रपत्रिकाहरुले काठमाडौँको नेवार समुदायमा विशेष स्थान राखेको देखिन्छ । तामाङ भाषामा प्रकाशित पत्रिकाहरुमध्ये प्राङ्बोला छारहान् (सिन्धुली), तामाङ डाजाङ (काठमाण्डू) आदि विशेष उल्लेखनीय रहेका छन् । मगर भाषाको लाङ्घाली, लाफा आदि पत्रिकाले त्यस भाषाका स्रष्टालाई एउटा मञ्च प्रदान गरी मगर भाषाको साहित्य प्रवद्र्धनमा टेवा दिएको छ । मैथिली पत्रिका आँगन (ने.प्र.प्र.बाट), नैमिकानन् (जनकपुर), आकृति (जनकपुर), पल्लव, मिथिलावाणी आदिले त्यस भाषाको सिर्जनात्मक लेखनलाई बढवा दिएको छ । भोजपुरीमा मोजर (२०५२) गमक (२०५२), अजोरिया आदि पत्रिकाहरुले त्यस भाषाको साहित्यिक विकासमा मद्दत पु¥याएका छन् । थारू भाषामा प्रकाशित गोचाली आदिले थारू भाषा साहित्यको प्रवद्र्धन गरेको छ । राई भाषामा– बुङ्वाखा, कोङपी (बान्तवा, काठमाडौँ), लिब्जु–भुम्जु (वाम्बुले, काठमाडौँ) र लिम्बू भाषाको तानछोपा, पालम् र डोट्याली भाषाको गुगुल्डिजस्ता आदि पत्रिकाहरुले हामीलाई जगाएको छ । बहुभाषी पत्रिकाको रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ विशिष्ट छ । यस अतिरिक्त गोरखापत्रले हालै समावेशीकरणको नीति भन्दै नेपालका विभिन्न भाषाका सामग्री प्रकाशन गर्ने गरी विशेष पाना उपलब्ध गराई जातीय साहित्य प्रवद्र्धनमा टेवा दिएको छ ।

यस प्रकारको विविधतापूर्ण विकासका बाबजुद नेपाली साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति सन्तोषजनक छैन । संस्थागत प्रकाशन बनेका नेपाली, मधुपर्क, गरिमा, मिर्मिरे, समष्टि, समकालीन साहित्य, ज्योति, प्रज्ञाजस्ता पत्रिकाहरुमा आम नेपालीको पहुँच अझै पनि पुग्न सकेको छैन । देशका सबै भागमा ती पत्रिका पढ्न पाइने स्थिति छैन । निजीक्षेत्रबाट नियमित प्रकाशित – रचना, अभिव्यक्ति, जुही, अक्षर, वेदना, जनमत, बगर, सङ्कल्प, संस्कृति, शब्दसंयोजन, भानु, कलम, झिसमिसे, साथी, उन्नयन चिन्तन, राप्तीदूत (दाङ), सगर आदि पत्रिकाहरुले अपेक्षित मात्रामा व्यापकता हासिल गर्न सकेका छैनन् । त्यतिभए पनि साहित्यिक पत्रिकाको प्रकाशनबाट धेरै पाठक, स्रष्टा र द्रष्टाहरु लाभान्वित भएका छन् ।

साहित्यिक–पत्रकारिताका समस्याहरू ः

नेपाली साहित्यिक–पत्रकारिताको सामु अनेकौँ समस्याहरु छन् । तिनीहरुमध्ये प्रकाशनका दृष्टिबाट महŒवपूर्ण आर्थिक समस्या हो भने पाठकीय दृष्टिमा निरन्तरता एवं स्तरीयताको समस्या देखापर्दछ । त्यसो त पहिलोलाई लगानीको समस्याका रुपमा र दोस्रोलाई सम्पादनको समस्या भन्न पनि सकिने हुन्छ । पाठकीय रुचिको प्रवद्र्धन, सामग्री चयनको योजना र विषयगत सम्पादनको कुशलताजस्ता कुराहरु पनि समस्या बनेर आएका छन् । सरकारी नीतिको अस्पष्टताले गर्दा उत्पन्न समस्याहरुमा पनि थुप्रै पक्षहरु छन्– विज्ञापन प्राप्त गर्ने समस्या, ढुवानी समस्या, अनुदान र कर छुट गर्ने समस्या, सूचना पत्रकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने समस्या तथा सरकारी संस्था र निजी संस्थाहरुद्वारा प्रकाशित पत्रिकाहरुबीचको अन्तर नदेख्ने समस्या आदि । बिक्री–वितरण प्रवद्र्धनको समस्या दुवै क्षेत्रमा विद्यमान छ । त्यसैले यी समस्याहरुका सम्बन्धमा अलि विस्तारमा छलफल गरिनु उचित हुनेछ ।

आर्थिक समस्या ः

आर्थिक समस्या, निजी, संस्थागत र सरकारी प्रकाशनहरुका बीच समान अवस्थामा छैन । गैरसरकारी क्षेत्रका निजी वा व्यक्तिगत लगानीमा सञ्चालित साहित्यिक पत्रिकाहरु र संस्थागत रुपमा प्रकाशित पत्रिकाहरुका बीचमा पनि केही भिन्नताहरु छन् । त्यति भएर पनि आर्थिक समस्या मूलतः सबैतिर लगानीको समस्याका रुपमा रहेको छ । यहाँसम्म कि सरकारी र अर्धसरकारी संस्थाहरुद्वारा प्रकाशित साहित्यिक पत्रिकाहरु पनि घाटामा रहेको हुँदा ‘बन्द गर्ने वा चलाउने’ भन्ने विषय सधैँ नै छलफलको मुद्दा बन्ने गरेको पाइन्छ ।

लगानीकर्ताहरु साहित्यिक प्रकाशनमा आकर्षित हुँदैनन् । राज्यले पनि यस विषयमा यथोचित ध्यान दिएको छैन । अनेकौँ पत्रिकाहरुले लामो इतिहास निर्माण गरेर पनि आफ्नो निरन्तरता राख्न नसक्नुको एउटा मुख्य कारण आर्थिक समस्या नै रहिआएको छ । बिक्री भएका पत्रिकाको भुक्तानी पनि प्राप्त नहुने, छापिएका विज्ञापनको भुक्तानी नपाइने वा समयमा नपाइने, हुलाक र हवाई सेवाले ढुवानी भाडा चर्को गर्नु र छुट नदिनु, कागजको आपूर्तिमा कठिनाइ भोग्नु पनि आर्थिक समस्याकै रुपमा रहेका छन् । त्यसैले आर्थिक समस्या भनौँ वा लगानीको समस्या भनौँ साहित्यिक–पत्रकारितालाई फस्टाउन नदिने पहिलो समस्या यही नै हो । सरकारी क्षेत्रबाट साहित्यिक पत्रकारिताको विकासका लागि विभिन्न पत्रिकालाई सहयोगस्वरुप नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत दिइने गरेको वार्षिक १५ लाख रुपैयाँ पनि एक वर्ष मात्र उपलब्ध गराएर त्यसै थन्किएको अवस्था छ । हाल उक्त रकमलाई घटाउने तथा अन्य शीर्षकमा सारेर खर्च गर्ने काम भएको बुझिन्छ ।

निरन्तरताको समस्या ः

आर्थिक स्रोतका अभावमा बन्द हुने अवस्थाका अतिरिक्त बौद्धिक उत्तराधिकारीको अभावमा पनि निजीक्षेत्रका कतिपय पत्रिकाहरु बन्द भएका छन् । हामीहरुले शारदा, रुपरेखा र रत्नश्रीजस्ता पत्रिकाहरुको सम्झना यहीँनिर गर्न सक्छौँ । रुपरेखा र रत्नश्री केही समय शान्ति कुँवर र शान्तदेव भट्टराईले चलाउने प्रयास गरेका थिए र शारदाको हालै पुनप्र्रकाशन भएको छ । परन्तु निरन्तरताको समस्या भनेको केवल आर्थिक समस्यासँग मात्र सम्बन्धित नभएर पत्रिकाको समग्र व्यवस्थापन, सम्पादन, प्रभावकारिता, पाठकवृद्धि, स्तरीयता आदि पक्षसँग पनि सम्बन्धित हुन पुग्दछ । यस अर्थमा नेपाली साहित्यिक पत्रिकाको सबैभन्दा ठूलो समस्या स्थायित्व नै हो भन्ने विजय चालिसेको भनाइसँग सहमत हुन सकिन्छ । (विजय चालिसे, साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति, गोष्ठीपत्र, २०६२) । त्यति भएर पनि कतिपय निजी पत्रिकाहरु निरन्तर प्रकाशित नहुनुमा संस्थागत आधार एवं सञ्चालन अभिभाराको अभाव पनि जिम्मेवार रहेका छन् । त्यसो त आर्थिक आधार बलियो भएमा, सरकारले यथोचित सहयोग प्रदान गर्दै गरेमा, व्यवसायीहरुले विज्ञापन दिइरहेमा, पाठकसङ्ख्या वृद्धि हुँदै गएमा निजीक्षेत्रका सामान्य पत्रिकाले पनि निरन्तरता प्राप्त गर्न सक्लान्, तर यहाँ ती सबैको अभाव नै अहिलेसम्मको अनुभव बनेर बसेको छ । तसर्थ हाम्रो साहित्यिक–पत्रकारितामा निरन्तरताको समस्या प्रारम्भदेखि अहिलेसम्म कायमै रहेको स्थिति छ ।

सम्पादनको समस्या ः

साहित्यिक–पत्रकारितामा रहेको अर्को समस्या सम्पादनको समस्या हो । सम्पादन कुशलताको अभावमा ठीकसँग सामग्री चयन हुँदैन । हरेक अङ्कमा के दिने ? कसरी संयोजन गर्ने ? विधागत विषयवस्तु छान्ने, स्तरीयता कायम गर्ने र महŒव दिने कुरासँगै सम्पादकीयमा कुन मुद्दालाई कसरी उठाउने भन्ने सुस्पष्टताविना पत्रिकाको सम्पादन सम्भव छैन । सम्पादकीय खुबी पत्रिकामा प्रकट हुन्छ र त्यसले नै पाठकलाई प्रभाव पार्दछ । कुनै एक विधामा केन्द्रित हुँदैमा पनि स्तरीयता प्राप्त हुँदैन । आएका सामग्रीलाई उनेर, साहित्यिक गतिविधिका समाचार तुनेर अथवा सामान्य भाषिक रेखदेख गर्ने काम गरेर मात्रै सम्पादकको दायित्व पूरा भएको मान्ने हो भने त्यसबाट साहित्यिक–पत्रकारिता कहिल्यै उभो लाग्दैन । हाम्रा साहित्यिक पत्रिकाहरुमा सम्पादनको कुशलता निकै कम मात्रामा देख्न पाइन्छ । योजनाबद्ध लेखन र प्रकाशनको तारतम्य प्रकट गर्ने ‘भानु’का विशेष अङ्कहरुले योजनाबद्ध लेखन र प्रकाशनद्वारा नै साहित्यिक–पत्रकारिता समृद्ध बन्दछ भन्ने पुष्टि गरेको छ । यसका लागि भवानी घिमिरेको सम्झना र सराहना गर्नैपर्ने हुन्छ । स्तरीयताको समस्या सम्पादन कलासँग जोडिएको भए पनि त्यो आमस्रष्टाको सञ्चेतना, रचना कौशल र आदर्शसँग जोडिएर रहेको हुन्छ । स्तरीय रचनाको अभाव हुनुको कारणमध्ये कृतिगत मूल्याङ्कन नगर्नु र लेखकलाई पारिश्रमिक नदिनु पनि रहेको छ । प्रत्येक रचनाकारका सिर्जनालाई सम्पादकले परिष्कार गर्ने कार्यकुशलता भैरव अर्यालमा झैँ सबैमा हुँदैन । त्यसकारण सम्पादन कलामा पनि पर्याप्त ध्यान पुग्नु जरूरी छ । पाठकीय रुचिको पहिचान, परिष्कार र प्रवद्र्धनका लागि सम्पादकको दृष्टिकोण, आदर्श र रचनात्मकता महŒवपूर्ण हुन्छ । अन्तरभाषिक आदान–प्रदानको समस्या पनि यहीँनिर सम्झन सकिन्छ । कुशल स्रष्टा र द्रष्टाको सीप सबै सम्पादकहरुमा होस् भन्ने सदिच्छा राख्न सकिन्छ तर त्यो त्यसै प्राप्त हुने होइन । त्यसका लागि अर्थात् सम्पादन अकुशलताको समस्या हल गर्न समय समयमा तालिम, गोष्ठी विचारमन्थनहरु गरिनुपर्दछ र त्यसबाट निकालिने निष्कर्षहरुलाई साहित्यिक पत्रकारहरुले पालन गर्नुपर्दछ ।

दृष्टिकोणको समस्या ः

साहित्य समाजको प्रतिबिम्ब भएकाले साहित्यिक–पत्रकारितामा पनि सामाजिक संरचनाको प्रभाव, प्रतिबिम्ब र विविधता प्रकट हुन्छ । नेपाली समाज लघु–उत्पादन पद्धतिमा कक्रिएको, वैचारिक आदर्शमा पनि सामन्तवाद, पुँजीवाद र समाजवादबीचको प्रतिद्वन्द्वितामाझ हिँडिरहेको र सामाजिकवर्गहरुको चाहना, भावना र हितहरुबीच परस्पर प्रतिस्पर्धा, द्वन्द्व र दमन चलिरहेको कारणले गर्दा हाम्रा साहित्यिक सिर्जनाहरु त्यसबाट प्रत्यक्ष एवं परोक्ष किसिमले प्रभावित हुँदै आएका छन् । विचारधारात्मक सङ्घर्षका शैलीहरु कहिलेकाहीँ अशिष्ट ढङ्गले समेत प्रकट भएका पनि छन् । शासकीय सोचका विपक्षमा रहँदा अभिव्यक्तिमा रोक लागेका थुप्रै घटनाक्रमहरुले हाम्रो साहित्यिक–पत्रकारिताको इतिहास रङ्गिएको छ । प्रारम्भमै ‘प्रगति’ पत्रिकाले उल्लेख गरेझैँ अथवा ‘साहित्य’ पत्रिकाले जनाएझैँ मात्र होइन सङकल्प, वेदना र कलमले अघि सारेका आदर्शबीच पनि एक प्रकारको अन्तरद्वन्द्व रहिआएको छ । सुधारको कुरासम्म पनि सुन्न नचाहने यथास्थितिवादी सनातनधाराका विरुद्धमा सुधारवादी नूतनधाराको प्रतिनिधित्व गर्दै युगवाणी, रुपरेखा, भानु, सुस्केरा, प्रलेस, मुक्तिमोर्चा आदिले अघि सारेका मूल्य मान्यताबाट अघि बढेर वर्गीय दृष्टिकोणकै पक्षधरता अघि सार्ने साहित्यिक पत्रिकाहरुसम्मको विस्तार भएर पनि दृष्टिकोणको समस्या हल हुन अझै बाँकी रहेको देखिन्छ । एउटै धाराभित्र पनि विविधता छन् । वास्तवमा श्रमप्रतिको श्रद्धा, शान्तिका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादको पक्षपोषण वर्गीय दृष्टिकोणबाट परिभाषित छन् । संस्कृति र कलाको वर्ग चरित्रबारे कुरा गर्दा अझै पनि कतिपय मानिसलाई अनौठो लाग्छ र उनीहरु सबै साहित्य र साहित्यकारलाई प्रगतिशील भन्न रूचाउँछन् । यस प्रकारको दृष्टिकोणद्वारा प्रभावित साहित्यिक पत्रिका, पत्रकार र पत्रकारिताले वैचारिक क्षेत्रमा लोकतान्त्रिक समावेशीकरणलाई स्वीकार गर्दैन । विचारधाराको क्षेत्रमा जनतन्त्र कसरी स्थापित गर्ने ? पञ्चायती असहिष्णुता, सेन्सरसिप, दमन र यातनाको पुनरावृत्तिद्वारा अथवा सहिष्णुता, स्वतन्त्रता, वैचारिक वाद–प्रतिवाद र सहअस्तित्वबोधद्वारा ? त्यसकारण नेपाली साहित्यिक–पत्रकारितामा ऐतिहासिक निरन्तरता कायम राख्दै आएको क्रान्तिकारी प्रगतिशील धारालाई देशको एक सशक्त लोकप्रिय सोचका रुपमा स्वीकार्दै वर्गीय विभेदबाट उत्पन्न विचारधारात्मक बहुलताको समस्यालाई बोध गर्नुपर्दछ ।

नीतिगत समस्या ः

साहित्यिक–पत्रकारिताको सन्दर्भमा नेपाल सरकारको नीति सुस्पष्ट छैन । सरकारले संस्कृतिका अङ्गहरुलाई पृथकतामा हेरेर काम गरिरहेको छ । पत्रकारिताकै सन्दर्भमा पनि सूचना पत्रकारिता र साहित्यिक–पत्रकारितालाई पक्षपातपूर्ण व्यवहार गरेको छ । सूचना पत्रकारिताले सरकारलाई अपप्रचारका माध्यमबाट पनि प्रहार गर्न सक्छ तर साहित्यिक–पत्रकारिताले त्यसो गर्दैन । तसर्थ सरकारले यसलाई उपेक्षा गर्दै आएको हो । सुविधाहरु प्रदान गर्दा पक्षपात गरेको कुरालाई साहित्यिक पत्रकारहरुले पटकपटक अघि सारेका मागहरुले दर्शाइरहेको छ । सरकारको नीतिगत अस्पष्टताले गर्दा नै कागज, टेलिफोन, हुलाक दर्ता र आयकरमा दिनुपर्ने न्यूनतम सुविधा पनि साहित्यिक पत्रिकाहरुलाई दिइएको छैन । सूचना पत्रकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने नीतिले साहित्यिक–पत्रकारिताको विशिष्टतालाई नजरअन्दाज गरेको छ । निजीक्षेत्र, संस्थान र सरकारी प्रकाशनबीचको विभेदलाई बेवास्ता गरिएको छ । कल्याणकारी विज्ञापन पनि पर्याप्त उपलब्ध गराइएको छैन । सरकारी तथा संस्थागत पुस्तकालयहरुमा पनि साहित्यिक पत्रिकाहरु राख्ने, व्यवस्थित गर्ने र खरिद गर्ने काम भएको पाइँदैन । देशभरका कलेज, उच्च मा.वि. तथा मा.वि.का पुस्तकालयहरुसम्म पुग्नुपर्ने साहित्यिक पत्रिकाहरु विश्वविद्यालयका पुस्तकालयमा पनि पुगिरहेका छैनन् न त शिक्षा, सञ्चार, संस्कृति मन्त्रालयको नै चासो छ । साहित्यिक–पत्रकारिताका सम्बन्धमा सुस्पष्ट सरकारी नीतिको अभावले गर्दा नै यी सबै समस्याहरु रहेका हुन् । साहित्यिक–पत्रकारितालाई सूचना पत्रकारिताको एक अङ्ग मानेर हेर्ने दृष्टिकोण पनि कतै कतै पाइन्छ । वास्तवमा त्यो सोच सही होइन । बरु साहित्यिक–पत्रकारिताको दीर्घकालीन प्रभावकारितालाई उपयोग गरेर सूचना पत्रकारिताले आफ्नो पाठकवृत्त विस्तार गर्ने अभिप्रायद्वारा साहित्यिक स्तम्भहरु सामेल गर्दै आएको छ । साप्ताहिक परिशिष्ट छापेर वा दैनिक स्तम्भ राखेर खबरपत्रिकाहरुले साहित्यिक रचनाहरु पाठकसामु प्रस्तुत गर्ने काम गरिरहेका छन् । यसबाट के पुष्टि हुन्छ भने साहित्यिक–पत्रकारिताको अभावमा सूचना पत्रकारितासमेत लङ्गडो हुन्छ । डा. तुलसी भट्टराईको शब्दमा भन्दा– “समाचार पत्रिकाहरुले साहित्यिक स्तम्भ र शनिबारे विशेषाङ्कमा कथा कविता, निबन्ध, समालोचना, संस्मरण आदि छापेर साहित्यिक–पत्रकारिताको धर्म समेत लिएका छन् ।” परन्तु सरकारले भने सूचना पत्रकारितालाई मात्र संरक्षण दिने गलत नीति अख्तियार गरिरहेको छ ।

राणाकालीन समयदेखि आजसम्म नै साहित्यिक–पत्रकारितालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको पाइँदैन । साहित्यलाई सोखको उत्पादन ठान्ने सरकारी सोचले गर्दा नेपालको साहित्यिक–पत्रकारिता टाक्सिएको हो । विद्युतीय माध्यमबाट साहित्यिक पत्रिका चलाएर संसारभर फैलाउन सकिने समयमा पनि संस्कृतिलाई अनुत्पादक क्षेत्र ठान्नु ज्यादै दुःखद कुरा हो । वाङ्मय र कलाको फाँट संस्कृतिको क्षेत्रमा पर्दछ । संस्कृतिको क्षेत्र भनेको लामो इतिहास, उपलब्धि र उत्पादकत्व भएको क्षेत्र हो भन्ने तथ्य त हाम्रो जस्तो सानो मुलुकमा विश्वलाई चकित पार्ने थुप्रै विश्वसम्पदा रहनुले नै प्रष्ट पार्दछ । तसर्थ सरकारको अदूरदर्शिता एवम् अस्पष्ट नीतिको विरोध सबै साहित्य स्रष्टा–द्रष्टा, कलाकर्मी एवं पत्रकारहरुले गर्नुपर्ने भएको छ । स्वयं साहित्यिक पत्रकारहरु पनि आफ्ना आधारभूत नीतिमा सुस्पष्ट हुनुपर्ने आवश्यकतालाई पनि यहाँ सम्झनुपर्ने हुन्छ ।

बिक्री–वितरणको समस्या ः

साहित्यिक–पत्रकारिताले बेहोर्नु परेको अर्को समस्या बिक्री–वितरणको हो । बिक्री–वितरणको समस्या मुलुकको भौगोलिक स्थिति, यातायात तथा ढुवानी सेवाका अतिरिक्त पाठकहरुको क्रयशक्ति र व्यापारीहरुको इमान्दारीमा निर्भर छ । केही ठूला संस्थाद्वारा प्रकाशित पत्रिकाको निम्ति यो समस्या नहोला तर निजीक्षेत्रका अधिकांश साहित्यिक पत्रिकाले झेल्नुपरेको एउटा कठिनाइ बिक्री–वितरणको रहेको छ । स्वदेशका सबै भागमा पु¥याउने, विदेशका नेपालीभाषीबीच पु¥याउने, विद्यालय पुस्तकालयहरुमा पु¥याउने र व्यक्तिगत ग्राहकहरुमा पु¥याउने समस्या चुनौतीपूर्ण छ । प्रकाशक स्वयं नै सम्पादक, व्यवस्थापक, लेखक र वितरक बनेर चलेका पत्रिकाको अवस्था, स्तरीयता बजार र पाठक सङ्ख्या न्यून हुनु स्वाभाविक लाग्दछ, किनभने ऊ आफै विज्ञापन बटुल्न, पत्रिका पु¥याउन, गोष्ठीमा सहभागी हुन, लेखरचना लिन दगुर्नु पर्दछ । सामग्री संयोजन गर्ने कामदेखि मुद्रणकार्यको रेखदेख र बजेट विनियोजनसम्मका कामहरुमा लागेर निकालेको पत्रिका झोलामा बोकेर बाँड्दै हिँड्ने अवस्थामा कसरी साहित्यिक–पत्रकारिता फस्टाउला ? ज्यादै नै विचारणीय छ । क्रयशक्ति भएका धनी वर्गका साहित्यकारहरु, ओहोदावाल लेखकहरु झन् निःशुल्क पत्रिका लिन चाहन्छन् । नयाँ लेखक र सम्पादकहरुले आफ्ना पुस्तक–पत्रिका विशेष उपहारका रुपमा उनीहरुलाई दिनुपर्ने ठान्दछन् ।

‘अङ्ग्रेजीवर्ग’ आफ्नो बडप्पन प्रदर्शन गर्दै नेपाली भाषा साहित्यको प्रवद्र्धनमा लागेका साहित्यिक पत्रिकाको उपेक्षा गर्दछ भने अन्य केही जातीय सङ्कीर्णताको मात लागेका व्यक्तिहरु पनि राष्ट्र भाषा नेपालीको विद्रुुपीकरण चाहन्छन् । यस अतिरिक्त केहीले मनोरञ्जनका नाममा अश्लील यौनवादी शृङ्गारिक हिंसाबद्र्धक रचनालाई बढावा दिने सामग्रीद्वारा साहित्यिक–पत्रकारितालाई राष्ट्र तथा मानवघाती मार्गतर्फ धकेल्दै छन् । बजारमा यस्ता पत्रिकाहरु प्रशस्तै देख्न पाइन्छ । यस प्रकारका स्वदेशी तथा विदेशी पत्रिकाहरुले पनि नेपाली पत्रपत्रिकाहरुको बिक्री–वितरणमा बाधा उत्पन्न गरेका छन् । नग्न–दृश्यचित्रका विदेशी पत्रिका बेचेर नाफा खाने व्यापारीले स्वदेशी पत्रिका बिक्री भएपछि पनि भुक्तानी नदिएको यथार्थ धेरै सम्पादक÷प्रकाशकहरुले भोगेको तीतो सत्य हो । बिक्रीका लागि दिइएको पत्रिका नबिकेमा फिर्ता पाउनुपर्ने हो तर त्यसो हुँदैन । हुलाकद्वारा पठाइएका पत्रिकाहरु सम्बन्धित ठेगानामा नपुगेर बीचैमा हराउँछन् । वितरक राखेर ग्राहक कहाँ पु¥याउने अवस्था धेरै साहित्यिक पत्रिकाहरुसँग छैन । यस्तो स्थितिमा बिक्री–वितरणको भरपर्दो व्यवस्था निर्माण नभैकन पाठक–ग्राहकहरुको विश्वास आर्जन गर्न कदापि सकिँदैन ।

समस्या समाधानका विकल्पहरू ः

१. आर्थिक समस्या समाधान गर्ने मुख्य उपायमा संस्थागत प्रकाशन गर्नु हो । संस्थागत प्रकाशन कार्यमा पूँजीको साझेदारीसँगै बजार व्यवस्थाको कामकाजी समूह हुन्छ र कार्यविभाजनद्वारा पत्रिका सम्पादन, प्रकाशन र वितरण कार्य हुन्छ । यस काममा सहकारितालाई पनि अँगाल्न सकिन्छ । अहिले केही प्रकाशन संस्थाहरुद्वारा प्रकाशित साहित्यिक पत्रिकामा यो समस्या त्यति छैन जति निजीक्षेत्रबाट सञ्चालितहरुलाई छ । आर्थिक समस्या समाधान गर्ने अर्को महŒवपूर्ण उपाय विज्ञापन प्राप्त गर्नु हो । विज्ञापनले सरकारीस्तरका कल्याणकारी मात्र नभई व्यावसायिक, सेवामूलक र औद्योगिक तथा कृषि क्षेत्रका पनि यथाशक्य बढी बटुल्नुपर्छ । शिक्षा र संस्कृतिका क्षेत्रमा उत्पादित वस्तु तथा सामग्रीको विज्ञापन साहित्यिक पत्रिकामै दिने व्यवस्था गरिनुपर्दछ । कम्तीमा प्रतिनिधिमूलक ढङ्गले नै भए पनि आत्मनिर्भर बन्ने परिस्थिति निर्माण गर्न सरकारले पनि उपयुक्त किसिमबाट साहित्यिक पत्रिकालाई एकमुष्ट वा सालबसाली आर्थिक अनुदान दिने नीति लिनु आवश्यक छ । प्रकाशनसँग सम्बन्धित मुद्रण प्रविधि, प्रेस, कागज, सञ्चार साधन र ढुवानीमा दिइने आर्थिक सहुलियत सूचना पत्रकारितालाई भन्दा बढी नै दिनु जरूरी छ । बिक्रेताबाट साहित्यिक पत्रिकालाई विशेष महŒव दिएर बिक्री–वितरण गर्ने, समयमा भुक्तानी दिने र ग्राहक अभियान सञ्चालन गरेमा पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न बल पुग्दछ ।

२. निरन्तरताको समस्या समाधानका लागि सर्वप्रथम प्रकाशन–सम्पादन कार्यलाई संस्थागत गरी सामूहिक कार्ययोजनाका साथ अघि बढ्नुपर्दछ । आफूहरुले सञ्चालन गरेको पत्रिका दीर्घजीवी होस् भनी बौद्धिक उत्तराधिकारीको व्यवस्था गर्नुपर्छ । यसका लागि निजीतवरमा प्रकाशित पत्रिकाले समेत आफ्ना भाइबन्धु, छोरा–नातिमा मात्र निर्भर नरहेर बौद्धिक प्रतिभाहरुलाई साथ लिएर प्रकाशनको निरन्तरताका लागि दीर्घकालीन योजना बनाउनुपर्दछ । आफू वा आफ्नो टोली पछि साहित्यिक पत्रिकालाई निरन्तरता दिने अभिभारा बोक्ने सक्षम व्यक्तिहरुका बारेमा समयमै सोच्न सके यो समस्या सुल्झाउन सकिन्छ । आर्थिक कठिनाइ हल गरेपछि आइलाग्ने सम्पादन–व्यवस्थापनको समस्यालाई समाधान गरेमा प्रकाशनको निरन्तरता वा स्थायित्व सम्भव हुन्छ ।

३. सम्पादनको समस्या हल गर्ने उपयुक्त तरिका सामूहिकता नै हो । संस्थागत सञ्चालनसँगै सम्पादन कार्यमा पनि विषय वा विधागत जिम्मेवारी बाँडफाँड गरी सामूहिक कार्ययोजना र व्यक्तिगत जवाफदेहीको कार्यशैली अँगाल्न सकेको खण्डमा नै कुन अङ्क कस्तो बनाउने ? के विषयलाई विशेष महŒव दिने, विषयको विविधता कसरी संयोजन गर्ने ? स्तरीयता कसरी कायम गर्ने ? भन्ने जस्ता कुरालाई सुव्यवस्थित बनाउन सकिन्छ । सामूहिक बुद्धिको प्रयोगले योजनाबद्ध लेखन, पाठकीय रुचिको छनौट एवं परिष्कार तथा विचारको, विविधतालाई सन्तुलित राख्न सहज हुन्छ । सम्पादनकलाको सन्दर्भमा पनि यथोचित ध्यान दिन सुगम हुन्छ । तसर्थ सम्पादनकलाको प्रवद्र्धनका लागि विशेष गरी साहित्यिक–पत्रकारितालाई उन्नत पार्ने दृष्टिले संस्थागत प्रयास हुनैपर्दछ । यसका लागि थप कार्यकलापका रुपमा अल्पकालीन तालिम, कार्यशाला गोष्ठी एवं विचार मन्थन कार्यक्रमहरु तर्जुमा गरिनु पनि उचित हुन्छ । यस काममा नेपाल साहित्यिक पत्रकार सङ्घको नै विशेष ध्यान जानु जरूरी छ ।

४. दृष्टिकोणको समस्या समाधान गर्ने उपयुक्त तरिका भनेको विचार– धारात्मक सङ्घर्ष, संवाद र सहजीवन हो । हाम्रो समाजको विविधताजस्तै बौद्धिकतामा पनि विविधता रहन्छ भनी परस्पर सम्मान, सहअस्तित्व र सहकार्य गर्ने संस्कार हुर्काउन सक्नुपर्छ । बहु–जातीय समाज, संस्कृति र विश्वासका आस्थासँगै वैज्ञानिक विचार, मानवीय व्यवहार र नैतिक निष्ठाका पक्षधर व्यक्ति समुदाय र दलहरुको उपस्थिति नेपाली लोकजीवनको वास्तविकता हो र यसको प्रतिबिम्ब हाम्रो साहित्यिक–पत्रकारितामा पनि रहेको छ । त्यसकारण सामन्ती सनातनी विचारधारा, पूँजीवादी लोकतान्त्रिक विचारधारा र वैज्ञानिक समाजवादी विचारधाराका बीच चलिरहेको द्वन्द्व, सम्वाद र प्रतिस्पर्धामा हामी लेखक साहित्यकार एवं साहित्यिक पत्रकारहरु पनि वैचारिक बहस वाद–प्रतिवाद र सम्वादका शृङ्खलाबाट गुज्रदै सही निष्कर्षमा पुग्नु आवश्यक छ । फरक फरक दृष्टिकोण भएका लेखक रचनाकार, पत्रपत्रिका र भाषिक समूहहरुका बीचमा मित्रवत् सम्बन्ध कायम गर्ने, आफ्ना कुरा भन्ने अरूका कुरा सुन्ने र वर्गकल्याणबाट सर्वकल्याण तर्फ अघि बढ्दा अँगाल्ने बहुजन हितायको मार्ग अनुसरण गर्नुपर्ने आजको आवश्यकतालाई हामीले मनन गर्नैपर्छ । दृष्टिकोणको सुस्पष्टता सर्वप्रथम आ–आफ्ना धारामा हुनुपर्छ, तब मात्र अनेकतामा एकताको सार्थक स्थिति निर्माण गर्न सहकार्य गर्दै अघि बढ्ने अवस्था पैदा हुन्छ र विमतिका बीच सहमति कायम गर्न सकिन्छ ।

५. नीतिगत समस्या समाधानका लागि प्रथमतः साहित्यिक पत्रकारहरु स्वयं नै आफ्ना आधारभूत नीतिहरुमा सुस्पष्ट हुनु जरूरी छ । पेसागत एकताको कुराले मात्र दीर्घकालीन राष्ट्रिय एकता निर्माण गर्न सक्दैन । त्यो त प्रतिपक्षको व्यवधानका कारणबाट सिर्जित अस्थायी एकताको सूत्र हो । सम्पन्न र विपन्न, पदासीन र पदविहीन, उच्चवर्गी र निम्नवर्गी, सुविधाभोगी र सुविधावञ्चित पश्चगामी र अग्रगामी पक्षका माझको पेसागत एकता कतिञ्जेल दिगो रहला ? नीतिगत सुस्पष्टतामा आधारित सहकार्यको माध्यमबाट नै साहित्यिक पत्रकारहरुको राष्ट्रिय एकता निर्माण गर्न सकिन्छ । सरकारी नीतिहीनता, नीतिगत अस्पष्टता र पक्षपातको कारणबाट अहिले जेजति र जस्तो एकता निर्माण भएको देखिन्छ, त्यसको स्वयं साहित्यिक पत्रकारहरुले समेत टिप्पणी गरेको पाइन्छ ।
नीतिगत समस्याको अर्को पाटो हो– सरकारी नीतिहीनता, अस्पष्टता र पक्षपातपूर्ण व्यवहार । यसका विरुद्ध साहित्यिक पत्रकारहरुले पटक पटक विभिन्न मागहरु अघि सारेर, सम्पादकीय लेखेर, प्रतिनिधि मण्डलद्वारा समस्या अवगत गराएर सरकारको ध्यानाकर्षण गराएका छन् । वि.सं. २०५४ माघमा दाङमा सम्पन्न भएको साहित्यिक–पत्रकारिता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रमबाट सोह्र सूत्रीय सुझावहरु प्रस्तुत भएका थिए । त्यसमा साहित्यिक पत्रिकाको स्तर निर्धारणका लागि मापक आधार तयार गरी विश्वविद्यालयदेखि विद्यालय तहसम्म र देशका सबै पुस्तकालयमा पठाउने गरी सरकारले निश्चित प्रति साहित्यिक पत्रिका खरिद गरिदिने, अश्लील प्रकाशनलाई रोक्ने, विज्ञापन सुविधा दिने, स्तर अभिवृद्धिका लागि प्राज्ञिक कार्यमा सहयोग पु¥याउने, सञ्चार साधनको सुविधा प्रदान गर्नुपर्ने, साहित्यिक पत्रकारलाई पनि देश–विदेश भ्रमणको अवसर दिने, न्यून ब्याजमा ऋण सुविधा दिलाउने, लेखकस्वमा लाग्दै आएको कर हटाउने, राष्ट्रभाषाका साथै राष्ट्रिय भाषाका पत्रपत्रिकाको अभिलेख राख्ने, नेपाल बाहिर रहेका नेपालीबीच पत्रिका पु¥याउन सम्बन्धित देशसँग सांस्कृतिक सम्झौता गर्ने जस्ता विषयहरु उठाइएका थिए ।

२०६२ वैशाखमा साझा प्रकाशनद्वारा आयोजित गोष्ठीमा पनि साहित्यिक–पत्रकारिताका सम्बन्धमा सरकारको सुस्पष्ट नीति आउनुपर्ने, सरकारले स्थानीय निकायको बजेटमा निश्चित प्रतिशत रकम पुस्तकालय र वाचनालयका लागि पुस्तक पत्रिकाहरु किन्न विनियोजन गरिनुपर्ने, साहित्यिक पत्रकारलाई पनि प्रेस प्रतिनिधि परिचय पत्र उपलब्ध गराउनुपर्ने, नियमित साहित्यिक पत्रिकाको वर्गीकरण गरी आर्थिक सहयोग दिनुपर्ने, मुद्रण सामग्री सहुलियत दरमा उपलब्ध गराउनुपर्ने, प्रवासका नेपालीभाषी क्षेत्रमा पत्रिका पु¥याउने र साहित्यिक–पत्रकारिताका समस्याहरुको समग्र अध्ययनका लागि ‘साहित्यिक–पत्रकारिता आयोग’ गठन हुनुपर्ने जस्ता विषयहरु उठाइएका थिए । परन्तु सरकारले यी मागहरुमध्ये एक दुईवटाबाहेक अरूको सुनुवाइ नै गरेन । आज पनि हुलाक दर्ता, टेलिफोन सुविधा, आयकर छुट, विज्ञापनको उपलब्धता, कागजमा सुविधा र आर्थिक अनुदानजस्ता कुराहरुमा यथोचित ध्यान दिएको छैन । आज विशेषगरी निजीक्षेत्रबाट सञ्चालित साहित्यिक पत्रिकालाई आवश्यक सहयोग पुग्ने गरी ठोस नीति तर्जुमा गरिनुपर्ने खाँचो छ ।
साहित्यिक पत्रकारहरुद्वारा विभिन्न समयमा उठाइएका माग र मुद्दा एवं विभिन्न गोष्ठी र सम्मेलनहरुद्वारा दिइएका सुझावहरुलाई अध्ययन गरी अबिलम्व साहित्यिक–पत्रकारितासम्बन्धी ठोस नीति तर्जुमा गरिनुपर्दछ र यसका निम्ति तत्काल उच्चस्तरीय आयोग गठन गरी कार्यारम्भ गरिनुपर्दछ । साहित्यिक–पत्रकारिताको सम्बद्र्धनका निम्ति सरकारीस्तरबाट एउटा छुट्टै राष्ट्रिय नीति बनाएर अघि बढ्नुपर्ने खाँचो धेरैले धेरै अघिदेखि औँल्याउँदै आएको विषय भएर पनि सरकारले अझै यथोचित ध्यान दिएको छैन । अतः परिवर्तित सन्दर्भमा अब यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्दछ ।

६. बिक्री–वितरणको समस्या समाधानका लागि सरकारी र निजी दुवै क्षेत्रबाट सहयोग प्रवद्र्धन गरिनु जरूरी छ । सरकारले हुलाकखर्च, टेलिफोन सुविधा, हवाइ शुल्क, ढुवानी सेवामा पत्रपत्रिकालाई विशेष छुट दिने नीति अवलम्बन गरेको खण्डमा, हुलाक दर्ता गरेका पत्रिकाको पोका अथवा थैलाहरुको ओसार–पसार गर्दा हराएमा क्षतिपूर्ति तिर्नुपर्ने स्पष्ट व्यवस्था भएमा कर्मचारीले थप जिम्मेवारी बोध गरी सम्बन्धित ग्राहककहाँ पुग्ने सम्भावना बढ्छ । यसबाट वितरण भरपर्दो गर्न सकिने अवस्था पैदा गर्न मद्दत पुग्दछ । निजीक्षेत्रबाट सञ्चालित कुरियर तथा यातायात कम्पनीहरुले पनि साहित्यिक–पत्रकारितालाई मद्दत पुग्ने गरी ढुवानी शुल्कमा विशेष छुट दिने कामसँगै आफ्नो संस्थामा सामान बुक गर्ने परिपाटी बसालेर । जिम्मेवारीपूर्वक तोकिएको ठाउँमा बुझाइदिने गर्नुपर्छ । पुस्तक पसल तथा पत्रिका व्यापारीहरुले पनि बिक्री भएका साहित्यिक पत्रिकाको भुक्तानी तथा बिक्री नभएका पत्रिकाहरु फिर्ता दिने नैतिक दायित्व बहन गर्नुपर्छ । साहित्यिक पत्रिकाको विकास होस् भन्ने हेतुले अभिप्रेरित भएर सबै स्रष्टा–द्रष्टाहरुले पत्रिका किनेर पढ्ने बानी बसाल्नु जरूरी भएजस्तै पत्रिका प्रकाशक÷सम्पादकहरुले पनि आफ्ना लेखकलाई रित्तो हात लेखरचना लिने परम्पराको अन्त्य गर्नुपर्दछ । नेपाली भाषा र नेपालका भाषाको समुचित विकासले हाम्रो साहित्यिक–पत्रकारिता समृद्ध बन्दछ । द्विभाषिक नीति अबलम्वन गरी राष्ट्रिय भाषाका रचनालाई ठाउँ दिने र तिनीहरुको अनुवाद एकै साथ प्रकाशन गर्ने गरेमा पाठक सङ्ख्या वृद्धि हुने कुरा निश्चित छ । जुनसुकै भाषामा प्रकाशित पत्रिका भए पनि त्यसको विषयवस्तुले नेपालको राष्ट्रिय एकता, सार्वभौमिमकता र अखण्डतालाई चोट पु¥याउने, नेपाल र नेपालीलाई होच्याउने तथा कुनै जाति विशेषलाई निन्दा गर्ने रचनाहरु प्रकाशन गर्नु हुँदैन । यो हाम्रो आचारसंहिताको कुरा हो । त्यसरी नै अश्लील एवं हिंसाबद्र्धक सामग्रीलाई पनि ठाउँ दिनु मानवघाती कुकर्मलाई टेवा दिनु हो । यी विषयहरुमा व्यवस्थित छलफल, समझदारी र सोच बनाएर अघि बढेमा निश्चय नै हाम्रो साहित्यिक–पत्रकारिता सबल बन्दै जानेछ ।

अन्त्यमा, नेपाली साहित्यिक पत्रकारितामा नेपालीय नेपालीका अतिरिक्त राष्ट्रिय भाषाहरुका माध्यमबाट थपिँदै आएका विशेषता र प्रवृत्तिहरुको पनि यथोचित शोध एवं त्यस्ता पत्रिकाहरुको संरक्षण तथा मूल्याङ्कन गरी सक्दो सहयोग पु¥याउँदै विविध वैचारिक धाराहरुको स्वतन्त्र अस्तित्वलाई स्वीकारेर सहकार्य प्रवद्र्धन गरी अघि बढ्नु आजको दायित्व बन्न पुगेको विषयतर्फ पुनः ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।

(नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा २०६४ कात्तिक १७ मा मकवानपुरको हेटौँडामा आयोजित साहित्यिक पत्रकारिता गोष्ठीमा प्रस्तुत कार्यपत्र)

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.