~गणेश रसिक~
‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रह । लेखक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ । प्रस्तुत पुस्तकमा जम्मा अठार रचना समेटिएका रहेछन् । विषयगत प्रस्तुतिका हिसाबले तीन खण्डमा विभाजन गर्न सकिन्छन् रचनाहरू — व्यक्तिको जीवनीपरक, आफ्नै आत्मपरक, र विविध ।
आरम्भमा दिवङ्गत श्रीमतीका बारे लेख्नुभएको छ द्रोण दाइले, ‘अलबिदा मनका ! तिमीलाई अलबिदा !’ क्यान्सरले श्रीमतीलाई टपक्क टिपेर लगेपछि द्रोण दाइ एक्लै पर्नुभयो । तर आँसुको अँध्यारोमा धेरै दिन खुम्चिएर बस्नुभएन । आफूभित्रको चोट र पीडाले थिलथिलो लेखकलाई झकझकाउनुुभयो, बौराउनुभयो र हरेक आँसुहरूमा मसी घोलेर लेख्न थाल्नुभयो । सायद हृदयभित्रको अथाह वेदनालाई पोख्न कलम नचलाउनुभएको भए यो उत्तराद्र्धमा आएर एक्लै जिउन निकै कठिन हुने थियो । फेरि लेख्ने काममा लागेका लोग्नेमान्छे भावुक र सम्वेदनशील हुन्छन्, भावनामा बढी बग्छन् । समय–तालिकाअनुसार खानपिनदेखि लिएर धेरै कुरामा सानैदेखि आश्रित हुने बानी परेको लोग्नेमान्छे श्रीमतीको शेषपछि कुनै तारतम्य मिलाउन नसकेर प्रायः भताभुङ्गै भएको पनि देखिएको छ । तर द्रोण दाइले सम्हाल्नुभयो आफूलाई । आफूभित्रको जुधारु लेखकले उहाँलाई बाँचेर केही गर्ने आत्मबल र हौसला दियो ।
‘सङ्क्रान्तिको सहारा रानी जगदम्बा’ यो दोस्रो लेख हो । राणाशासन भन्नासाथ एकतन्त्रीय जहानिया शासनको कालो विम्ब आउँछ । तर सङ्क्रान्तिको सहारा रानी जगदम्बाको हकमा भने त्यो लागू हुँदैन । उहाँले आठराई सङ्क्रान्तिमा गर्नुभएको स्वार्थरहित सत्कर्मको प्रमाणित अभिलेख उतार गर्नुभएको छ द्रोण दाइले, जसको जति महिमा गाए पनि पुग्दैन । तत्कालीन समयमा स्थानीय मियोका रूपमा समन्वय गरी काम सम्पन्न गर्ने कर्मठ, त्यागी समाजसेवी भानुभक्त सिटौलाको योगदानलाई पनि कदरस्वरूप स्मरण गरिएको छ ।
‘सन्दर्भ जङ्गेको प्रसङ्ग बुद्धेको’ लेखमा १७८ वर्षअगाडि राणाशासनको दह«ो जग हाल्ने जङ्गबहादुर र वर्तमान सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई राष्ट्रियताको सवालमा जोड्ने प्रयत्न गरिएको छ । स्त्रीलम्पट, षड्यन्त्रकारी, क्रूर, दुस्साहसी शासक भए पनि जङ्गबहादुरले ‘जाई कटक’ नगरी कूटनीतिक पाराले ‘झिकी कटक’ गरी तत्कालीन ब्रिटिसको ब्वाँसो घातबाट देशलाई बचाएनन् मात्र, देशको सिमाना बढाएर नयाँ मुलुकलाई नेपालको सरहदभित्र पारे । त्यसै समयमा सिमानामा गाडिएका जङ्गेपिलर पचासौँ वर्षदेखि बिस्तारै हराउँदैछन् । तर बुद्धिनारायणजस्ता देशभक्त आज ती जङ्गेपिलरलाई खोजी–खोजी निकालेर यथास्थानमा पुनस्र्थापना गर्न दिनरात कम्मर कसेर लागिपरेका छन् । कतै नलेखिएका ती सत्यतथ्यहरूलाई सार्वजनिक गर्ने द्रोण दाइ गतिला अनुसन्धानकर्ता र इतिहासविद्झैँ लाग्नुहुन्छ प्रस्तुत सङ्ग्रहमा ।
‘पहराबाट झरेको छहराको सङ्लो पानी’ भित्र शशी भण्डारी र ‘गुरुवर शरद्चन्द्र शर्मा’ भित्र गुरु शरद्चन्द्र शर्मा भट्टराई । शरद्चन्द्र नाताले मेरा भिनाजु । शशी पनि मेरा परिचित । तर दुवैजना यस धरतीमा छैनन् । यी लेखहरू मैले पहिल्यै पढिसकेको भए पनि द्रोण दाइले प्रस्तुत सङ्ग्रहमा स्थान दिएर एकातिर आफ्ना मान्यवर गुरु र अर्कातिर भाइ हिरण्यका साथी र सम्धीप्रति श्रद्धाञ्जली चढाउनुभएको छ ।
‘देउराली डाँडाबाट सगरमाथाभन्दा माथि’ का केन्द्रीय पात्र हुनुहुन्छ हिरण्य भोजपुरे । भोजपुर देउरालीमा जन्मेको एउटा बालक आज सगरमाथाभन्दा माथिको यात्रा तय गर्न कसरी सफल भयो भन्ने यथार्थको नालीबेलीसहित भोजपुरेजीको जीवनका विविध आयामहरूलाई स्पष्ट गर्नुभएको छ ।
‘अनौठो र चमत्कारी मान्छे’ को पात्र हरि मञ्जुश्री । हरि मञ्जुश्री एउटा सङ्घर्षशील तर सहयोगी मनुक्खे । पूर्वी पहाड भोजपुर दिङ्ला केउरेनीपानीका अधिकारीका छोरा । एसएलसीपछि थप अध्ययन गर्न आफू जन्मेको गाउँबाट राजधानी पसेपछि हरिकुमार अधिकारीले हरि मञ्जुश्रीको अवतार लिए । नगरेको र नजानेको काम पनि सिकेर गर्न भ्याएसम्म गरे । भौँतारिँदै कहिले कता पुगे, कहिले कता । अन्त्यमा केही सीप लागेन र काठमाडौँ फर्किए । विगत बीस वर्षदेखि कर्मथलो र स्थायी ठेगाना बनेपालाई बनाए । घरबार जोडे । अनि शब्दयात्रा प्रकाशन खोलेर बयान्नब्बे पुस्तक प्रकाशन गर्न सक्षम भए । साप्ताहिक पत्रिका चलाए । सम्मानहरू स्थापना र समर्पण गरे । बनेपा न त आफ्नो पुख्र्यौली थलो, न त आफू जन्मेको, न कुनै नातासम्बन्ध न त ससुराली र मावली । गाउँबाट सहर हुँदै गरेको त्यस्तो बनेपामा दुनियाँदारलाई रिझाएर आफ्नो गौरवमय पहिचान बनाउन सक्ने हरि मञ्जुश्री जे काम गर्छन्, आफ्ना लागिभन्दा बेसी अरूका लागि गर्छन् । शब्दयात्रा प्रकाशनको सुनाममा एउटा गतिलो अनुसन्धान केन्द्र स्थापना गर्ने उनको मनोकाङ्क्षा । सरल, मिलनसार, मृदुभाषी उनी । सबैको मन जित्ने स्वभावले गर्दा संस्थाको नाममा कृष्णमणि कुइँकेलबाट बनेपामा जग्गा नै उपहारस्वरूप दिलाउन सफल भए । वास्तवमा हल्ला नगर्ने, काम गर्ने, जस र नाम नखोज्ने यस्ता मनुक्खे हरि मञ्जुश्रीका बारेमा द्रोण दाइले मिहिन रूपमा लेख्नुभएको छ ।
‘भोजपुरमा २००७ सालको क्रान्ति र चण्डिप्रसाद श्रेष्ठ’ २००७ सालमा भोजपुरमा भएको क्रान्तिको ऐतिहासिक सानो अभिलेख हो । क्रान्तिलाई सफल पार्न बाहिरी रूपमा समग्र नेतृत्व गर्ने नारदमुनि थुलुङ र सैनिकतर्फ नेतृत्व गर्ने रामप्रसाद राई देखिए तापनि आफ्नो पारिवारिक व्यवस्थापनदेखि लिएर आन्तरिक व्यवस्थापनसमेतमा चण्डिप्रसाद श्रेष्ठको परिपक्व सुझबुझले महàवपूर्ण भूमिका निर्वाह गरेको थियो । यस्ता परिवर्तनकामी, विकासप्रेमी र धार्मिक प्रवृत्तिका आफ्ना पिता चण्डिप्रसाद श्रेष्ठका बारेमा ‘मेरा पिता र म’ शीर्षकको सिङ्गो पुस्तक लेखेर श्रद्धाभक्तिभाव प्रकट गर्नुभएको छ द्रोण दाइले ।
‘क्रान्तिको पहिलो रेडियो प्रसारणथलो भोजपुर’, ‘हेटौंडा सानोपोखराको मुक्तेश्वर महादेवको मन्दिर’ र ‘छोटो बाटो काठमाडौं–हेटौडाको पाटो’ यी तीन लेखमा बेग्लाबेग्लै प्रसङ्ग छन् । भोजपुरमा रेडियो स्थापनाको इतिहास बुझेर पनि नबुझेझैँ बुझ पचाएर कलम चलाउने घोसेहरूलाई दसी–प्रमाणसहित झाँको झारिएको छ । मुक्तेश्वर महादेवका अनन्य भक्त चण्डिप्रसाद श्रेष्ठको सत्कर्म नढाँटी लेखिएको छ । आफ्नी साख्खे दिदी धर्मदेवी श्रेष्ठ र भिनाजु चन्द्रकुमार श्रेष्ठको बसाइ हेटौडामा । अष्टदिवसीय नारायण महायज्ञ लगाउँदै हुनुहुँदो रहेछ घरैमा । काठमाडौँ भएका माइती सबैलाई चुल्हेनिम्तो । सहभागी हुन जाँदा काठमाडौँ–हेटौडाको जीपयात्रा । बाटोकटनी विभिन्न गफसफ गर्दा नेता र राजनीतिबारे कतै रोचक त कतै घोचक प्रसङ्गहरूसँगै राजधानी छिर्ने भीमफेदीको हराएको चहकमहकको वृत्तान्त स्वादिलो पाराले कहनुभएको छ द्रोण दाइले ।
‘पुस्तक सधैँका लागि सबैका लागि’ । बाफ रे ! कति पुस्तकको अध्ययन ! जे विषय होस्, खर्लप्पै खाएको । इतिहास, भूगोल, समाजशास्त्र, ज्ञान–विज्ञान र चेतना । सबै–सबै कम्प्युटरझैँ लाग्ने आफ्नो मस्तिष्क भरेको । परिआउँदा फुत्त–फुत्त तथ्याङ्ग र प्रमाणहरू तेस्र्याउने ।
यो विशेषता प्रायः सबै लेखहरूमा कुनै सूक्ष्म कुनै टड्कारो रूपमा देखापर्छ । उदाहरणका लागि ‘सन्दर्भ जङ्गको प्रसङ्ग बुद्धेको’ र ‘महामहिम राजदूतलाई पत्र’ लेखलाई प्रस्तुत गर्न सकिन्छ ।
‘महामहिम राजदूतलाई पत्र’ नेपालको तत्कालीन निजामती कर्मचारीको अवस्था । कोही हाकिमलाई श्रद्धाले शिर झुकाउनुपर्ने अनि कोही उँधो बगाएर उँभो खोज्नुपर्ने खलपात्र । कतै इतिहास संशोधन मण्डलको आँखा नपरेका र इतिहासमा लेखिएका गल्तीहरूलाई मिहिन रूपमा केलाएर सच्याउने द्रोण दाइ अनुसन्धान र इतिहासका विज्ञझैँ लाग्नुहुन्छ । उहाँको अध्ययनको दायरा जति फराकिलो छ, त्यति गहिराइमा पनि छ भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
‘महालक्ष्मी श्रेष्ठ र मोडहरू उपन्यास’ । धराननिवासी आफ्नी जेठीसासू महालक्ष्मी श्रेष्ठले लेख्नुभएको उपन्यास ‘मोडहरू’ को पाण्डुलिपि हरायो । वर्षौं भूमिगत रहेर त्यो पाण्डुलिपि उहाँको शेषपछि पत्रु भइसकेको अवस्थामा फेला प¥यो । पछि पाण्डुलिपि द्रोण दाइको हातमा के परेको थियो, हरि मञ्जुश्रीजस्ता पारखीले प्रकाशन गर्न भ्याइहाले ।
भन्छन् यो कलियुग अझै सकिएको छैन । श्रवणकुमारजस्ता सन्तान भन्ने कुरा दन्त्यकथामा पढ्ने मात्र हो । आजभोलि हरेकका छोराछोरी पढ्नासाथ देश छोडेर परदेशका नाममा वनवास जान्छन् । द्रोण दाइका एक्ला छोरा समुन्नत अमेरिका वनवास गए पनि हराएनन् । युनिभर्सिटीबाट सम्मानित हुने समारोहमा अभिभावकका रूपमा मातापिता दुवैलाई निम्त्याएर छोराको कर्तव्य पूरा गरे ।
‘कोलोराडोको डेनवरमा बाह« दिन’ को बसाइ नेपाल बिर्साउनी भनौँ वा सम्झाउनी भनौँ । अमेरिका कोलोराडो डेनवरमा पारिवारिक जमघट । त्यहीँ भाइ हिरण्य भोजपुरे र बुहारी उर्मिलाका छोराबुहारी, छोरी ज्वाइँ र नातिनातिनाहरू अनि भोजपुरेका साला र साली निर्मला श्रेष्ठ । साथमा आफ्नै छोरा समुन्नत । तर यहाँ पनि चुपचाप बस्नुहुन्न द्रोण दाइ । कोलोराडोको उत्पत्ति र इतिहास उधिन्नुहुन्छ, भूगोल उतार्नुहुन्छ, रकी माउन्टेन र नेसनल पार्क डुलाउनुहुन्छ, पानी रातो, नदी रातो र रातोमय अर्थ बोकेको कोलोराडोमा बसेको बाह«दिने यात्रा सार्थक बनाएर सकसले फर्किनुहुन्छ द्रोण दाइ ।
हामीजस्ता सीमित आय हुने मध्यमवर्गीहरूले स्वदेश–विदेश घुम्नुपरे कि जागिर हुँदै, कि छोराछोरी विदेशमा छन् र बोलाए भने मात्र ! द्रोण दाइले पनि जागिरका सिलसिलामा देश–विदेश चहार्नुभयो । कोलम्बसले ५०० वर्षअगाडि टेकेको जमैका जान पाउनुभयो । जमैका पुगेदेखि अभासी वा बिच्छुक लागेर भनौँ हुनसम्मको हन्डर खानुभयो । सास्ती र सकस बेहोर्नुभयो । स्वदेश फर्किने अन्तिम दिनसम्म पनि त्यो भ्रामरी र कालसर्पको योगले छोडेन । राहदानी, टिकट र पैसा, सारा कागजपत्र भएको ब्रिफकेस राखेको ठाउँबाटै गायब ! तर भाग्य दह«ै रहेछ, जमैकामा एक्लो अवैध आप्रवासी नेपाली हुनबाट बल्लबल्ल बच्नुभयो । यसो ठम्याएर हेर्दा पल्लो कुनामा आफ्नो ब्रिफकेस बेवारिस देख्ता आत्तिनुभयो, खुसीले तुरुक्क आँसु चुहाउनुभयो ।
‘सरला कायस्थ ः एक आदर्श नारी’ धरानकी आदर्श नारी सरला कायस्थका बारेमा मनका श्रेष्ठ र द्रोणप्रसाद श्रेष्ठको संयुक्त लेखन हो । सरला कायस्थ योगमाया, अङ्गुरबाबा जोशी, मेचीआमा दिलकुमारी श्रेष्ठ, रानी जगदम्बा र अनुराधा कोइरालाकै हाराहारीकी एक आदर्श नारी हुन् भनेर यस लेखले प्रमाणित गरेको छ ।
प्रस्तुत सङ्ग्रह द्रोण दाइभित्र भएको सञ्जीवनी बुटी हो । यसले द्रोण दाइको सेखपछि पनि उहाँलाई पुनर्जीवन दिनेछ ।
(स्रोत : नेपालभूमी – २०७४ माघ १६ गते मङ्गलबार प्रकाशित अङ्कबाट)