~हरि मञ्जुश्री~
भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु ।
धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ बाटोमा । पहिले त हामीले ‘वा’ माथि त्यति ध्यान दिएका रहेनछौँ । भोला सरले ‘वा’ नै ‘वा’ भेटेको कुरा गरेपछि पो मुकुन्द सर र म झसङ्ग भयौँ । “वा भनेको के रहेछ ? वा नै वा पो भेटिन्छ त !” — भोला सरले कुरा निकाल्नुभो । मुकुन्द सरले ‘खोलो हो कि ?’ भन्नुभो ।
भोला सरले ‘वा’ को कुरा निकालेपछि मैले मनमनै उहाँको प्रशंसामा ‘वाहवाह’ भनेँ । तर तत्काल म निन्याउरो भएँ । किनभने त्यो प्रश्न मेरा लागि एक प्रकारले चुनौती नै थियो । वरिपरिबाट ‘वा’ नै ‘वा’ ले घेरिएको दिङ्लामा जन्मेको मान्छेले ‘वा’ को अर्थ थाहा नपाउनु !
त्यस बेला हामी अक्कर र सातटारे–खहरे हुँदै तुम्लिङटारतिर लाग्दै थियौँ । म बाल्यजीवनमा गाएको गीत मनैमन गुनगुनाउँदै थिएँ — ‘साट्टारे–खरे, ढाँटेको भए ए लै लै मरिजाऊँ अरे ।’
‘के रहेछ त वा ? पक्कै पनि यो राई भाषाको शब्द हुनुपर्छ ।’ — मेरो मनले भन्यो । झ्वाट्ट रत्न राई साङपाङको अनुहार मेरो मनमा आयो । नाउँ रत्न । थर राई । घर साङपाङ । कविता र नाटक लेख्ता रत्न राई साङपाङ लेख्ने गरेको । अचेल नेपाल विद्युत प्राधिकरणका जागिरे । मेरा बालसखा ।
मैले खल्तीबाट ‘मोबाइल’ झिकेँ । रत्नजीको नम्बर ‘सेभ’ गरेकै थिएँ, थिचेँ । एकै पटकमा ‘कन्ट्याक्ट’ भो । ‘के छ हौ हरिजी’ भन्नेबित्तिकै मैले ‘वा’ का विषयमा सोधिहालेँ । रत्नजीले भन्नुभो — “हाम्रो भाषामा पानीलाई वा भन्छन् ।”
मलाई पुगिहाल्यो । पानी खोलासँग सम्बन्धित । खोला पानीसँग सम्बन्धित । खोलामा पानी बग्छ । साहित्यमा चाहिँ खोलामा पानी मात्रै बग्दैन, खोला आफैँ पनि बग्छ । खोला पानीको मात्रै हुँदैन, अरूको पनि हुन्छ ।
हामी त्यति बेला ‘लेगुवा’ बाट ‘सवा’ तिर लाग्दै थियौँ । धूलोको कुइरीमण्डलबाट दिक्क बनेर ‘सवा’ कतिखेर आइपुग्ला भनेर हामी व्यग्र बनिसकेका थियौँ ।
अब हामीले ‘वा’ को सम्झना गर्न थाल्यौँ । ‘वा’ को कुरा गर्न लाग्यौँ । म पनि दिङ्ला गढीगाउँबाट तुम्लिङटार जाँदा अरुण नदीको पुल तर्न ‘खकुवा’ खोला तरेको सम्झना गरिरहेको थिएँ ।
‘वा’ हरू भेटेको कुरा सुरु गर्दैमा मुकुन्द सरले ‘चखेवा’ सम्झिनुभो । भोजपुरको थाप्लो रहेछ चखेवा भन्ज्याङ । ‘चखेवा’ नाउँ कसरी रह्यो, कसैलाई सोधिएनछ । त्यहाँ खोला भएजस्तो लागेन । अग्लो डाँडो भएकाले पानीमा पनि काकाकुल नै होला, तर ‘वा’ चाहिँ भेटियो । नामै त चखेवा !
केही ‘वा’ हरू हाम्रा लागि स्मरणीय बनेछन् । हामीले ‘हिङ्खुवा’ त¥यौँ चखेवा भन्ज्याङबाट झरेर दावाँ पुग्ने बेलामा । अन्धकार समय । माथिबाट खोलो सुसाएको आवाज आएको । पहिलोपल्ट हिँडेको बाटो । खोलो कत्रो छ, थाहा छैन । त्यसमा पनि भरखर बन्दै गरेको बाटो । बाबुकाजीले झ्वाट्ट खोलामा गाडी पसाउँदा त झन्डै–झन्डै कोलाकोला भन्नुपरेको सातो गएर ।
त्यसो त ओचाङ्ले र सेरा खोला पनि देखिएकै हुन् । तर तिनमा ‘वा’ नलागेको हुनाले सामान्य रूपमा लिइयो तिनलाई । बरू हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको गीत ‘कहाँबाट बगी आयो हाम्रो सेरा खोला बरिलै’ को चाहिँ सम्झना आयो ।
हामीले सम्झियौँ ‘वा’ हरू — ‘हिङ्खुवा’, ‘पिखुवा’, ‘इर्खुवा’, ‘चिर्खुवा’, ‘खकुवा’, ‘लेगुवा’, ‘चानुवा’, ‘सङ्खुवा’ । पछि धनकुटा जाँदा भेटेको ‘सिधुवा’ । त्यस बेला पुग्न हतारिएको ‘सवा’ । आदि–आदि । हामी पुग्न खोज्दै थियौँ खाँदबारी । सङ्खुवासभा जिल्लाको सदरमुकाम । सङ्खुवासभा ‘सङ्खुवा’ र ‘सभा’ को सम्मिलन । हामीले अनुमान ग¥यौँ यतातिरका खोलाहरूको नाउँमा ‘वा’ नै ‘वा’ आइसकेपछि यो खोलाको नाउँ पनि ‘सवा’ नै हुनुपर्छ । ‘सभा’ होइन । ‘सभा’ त संस्कृत शब्द हो ।
‘सभा’ र ‘सवा’ को प्रसङ्गमा मैले ‘दिङ्ला’ लाई सम्झेँ । ‘दिङ्ला’ पहिले ‘तिङ्ला’ थियो अरे ! सोलुखुम्बूमा त ‘तिङ्ला’ अहिलेसम्म छँदैछ । त्यसको नाउँ यताउता परेको छैन । भोजपुरको दिङ्लाको कुरा गर्दा ‘तिङ्् हो सिस्नु र ला घारी, तिङ्ला दिङ्ला भयो अनि’ यही हो अरे साँचो कुरा । पछि पढन्तेहरू बढेपछि ‘दिङ्ला’ लाई यस्तो बनाइएछ — ‘दिङ्ला भयो विग्रह भै दीनं लालयतीतिको ।’
अर्थात् पहिलेको सिस्नुघारी पछि दुःखीहरूलाई लालनपालन गर्ने ठाउँ बनेछ ।
प्रसङ्ग हो ‘सवा’ को । खोलाको किनारमा पुग्यौँ । खोलामाथिको पुल तर्ने बेलामा ‘बोर्ड’ हे¥यौँ । अङ्ग्रेजी लिपिमा ‘सभा खोला’ लेखेको थियो । हामीले मनैमा सच्यायौँ — “यसलाई ‘सभा खोला’ होइन, ‘सवा खोला’ भन्नुपर्ने रहेछ र जिल्लाको नाउँ ‘सङ्खुवासभा’ होइन, ‘सङ्खुवासवा’ लेख्नुपर्ने रहेछ ।”
सानो उमेरको भएको भए त्यस कुराले कत्ति न ठूलो अनुसन्धान गरेजस्तो लागेर नाक फुलाइन्थ्यो होला । तैपनि मैले खुसी नै मानेँ भोला सरको जिज्ञासाले गर्दा हामीले त्यो दिन अर्को एउटा नयाँ ज्ञान त पाउन सक्यौँ !
(स्रोत : नेपालभूमी – २०७४ माघ १६ गते मङ्गलबार प्रकाशित अङ्कबाट)