~ध्रुब सापकोटा~
छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो देखाउँछु । बोल्दैन । अँध्यारो देखाउँछु । बोल्दैन । दूध देखाउँछु । बोल्दैन । भात देखाउँछु । बोल्दैन । सर्प देखाउँछु । बोल्दैन । उसको लाटोपनले म दिक्क भएको छु । उसको क्षय भएको बालशक्तिले गर्दा मेरी श्रीमती दिक्क भएकी छे ।
“यसको ओखती म गर्छु,” श्रीमती भन्छे ।
बिहानै श्रीमती छोरालाई आँगनमा ल्याउँछे । त्यो राम्ररी ब्युँझिसकेको पनि छैन । त्यसलाई नाङ्गो पार्छे । आँगनमा तुषारो परेको छ । छोरालाई डोकाले छोप्छे । छोरो खोरमा परेको म अनुभव गर्छु । छोरा नउम्कोस् भनेर त्यसले डोको थिच्न मलाई लगाएकी छे । श्रीमती घरको एक तल्ला माथि गएकी छे । त्यो पालीमा आउँछे । त्यसको हातमा भरिएको गाग्री छ । त्यस गाग्रीको पानी माथिबाट डोकोमा खन्याउँछे । एक गाग्री पानी खन्याउँछे । लगातार सात गाग्री पानी खन्याउँछे । पानीको सङ्कटमा त्यसले चर्को ओखती गरी । छोरा रुन्छ ।
यो त वर्षौंअघिको कुरा थियो । अहिले त छोरा स्कुल जान थालिसकेको छ । त्यसको डर भागिसकेको छ । त्यसको वाक्य फुटेको छ । म त्यसको सहयोगी बनेको छु । म छोरालाई बजार लाने तयारीमा छु । त्यसका लागि पुस्तक, कापी र कलम किन्नु छ । मसँग बजार जान छोरो उत्साहित छ । मभन्दा बढी नै ऊ तयार भैसकेको छ । उसको जीवनको पहिलो लामो यात्रा थियो यो ।
– “तँलाई फेरि डोकोमा राखेर पानी खन्याउनु त
पर्दैन ?” म भन्छु । छोराले त्यो घटना बिर्सेको रहेनछ । हाँस्यो ।
– “पर्दैन,” उसले भन्यो ।
– “बाटोमा दुःख दिइस् भने तँलाई म छोडेर आउँछु,” म भन्छु ।
– “दिन्न,” ऊ भन्छ ।
छोरा मसँगै हिँडेको छ । मान्छेको घुइँचो छैन । त्यसको हात समात्नुपरेको छैन । मलाई चियाको तलतल लाग्छ । एउटा होटेलमा पस्छु । चिया मगाउँछु । हामीहरू चिया खान्छौँ । थकाइ मेट्न आराम गछौर्ं । एकनास शङ्ख बजेको आवाजले होटेलमा बसेका सबै मान्छे बाहिरिन्छन्, हामी पनि बाहिरिन्छौँ । यो लास आउँदै गरेको सङ्केत थियो । छोराले लास देखेको छ । यसलाई लास भन्ने कि, शव भन्ने कि, मूर्दा ? कात्रोमा बेरिएको त्यस लासलाई दुईतिरबाट मान्छेले बोकेका थिए । तिनीहरूका पछि थुप्रै मान्छे थिए । म शब्द चयनमा नै व्यस्त थिएँ ।
छोराले जीवन मात्र देखेको भन्न मिल्दैन । जीवनको अनुभवको प्रथम खुड्किलोमा टेकेको । जीवनसँग परिचय गराउन म उसलाई लिएर हिँडेको थिएँ । उसको लाससँग साक्षात्कार भयो । जीवनको अन्तिम गति पहिले नै देखा पर्यो ।
तिनीहरूलाई हामीले बाटो छाड्यौँ । हामीहरू त्यही बाटो हिँडिरहेका थियौँ । विकल्प थिएन । हामीहरू हिँडेको त्यो बाटो खोलाको किनारामा थियो । हामीमाथि पहाड छ । सात दिनसम्म लगातार हिउँ परेको थियो । पहाड हिउँले पुरिएको छ । त्यहाँ रूखहरू थिए । पोथ्रापोथ्री थिए । ती पनि पूरै हिउँले ढाकिएका छन् । तिनीहरूको अस्तित्व आज केही देखिँदैन । आज जताततै हिउँकै अस्तित्व छ । घामको रापले हिउँलाई पानीमा कायाकल्प गर्नेछ । पोथ्रापोथ्री आफ्नो अस्तित्वमा आउनेछन् । तिनीहरूले बिर्साउनेछन् । यहाँ कुनै समय हिउँको एकछत्र राज थियो । मैले छोरालाई सम्झाएँ ।
छोरा रोएन । लास देखेर विचलित भएन ।
– “साइत पर्छ,” मैले भनेँ ।
– “किन ? कसरी ?” छोराले सोध्यो ।
– “लास देख्दा साइत पर्छ,” मैले सम्झाएँ ।
– “साइत भनेको के हो ?” छोराले सोध्यो ।
– “आज तँलाई चाहिएका सबै पुस्तक पसलमा पाइन्छन्,” मैले भनेँ । छोरो रमायो । हामीहरूको त्यही लाससँग फेरि जम्काभेट भयो । तिनीहरूले लासलाई बिसाएका थिए । तिनीहरू खाइरहेका थिए । तिनीहरू पिइरहेका थिए ।
– “धेरै नजिक नजा,” मैले भनँे ।
– “किन ?” छोराले भन्यो ।
– “हामी मलामी होइनौँ,” मैले भनँे । छोरालाई यसको मतलब थिएन । ऊ लासलाई नजिकबाट अनुभव गर्न चाहन्थ्यो । त्यहाँ लास हुनुअघि त्यसले दिएका कष्टका बारेमा कुरा चलिरहेको थियो । लासलाई पछि पारेर जाने सोच मेरो थियो । तिनीहरू खानपिनमा व्यस्त थिए । छोराले मानेन । बालहठका सामुन्नेमा म झुकँे । तिनीहरू उठ्ने सङ्केत दिइरहेका छैनन् । हामीसँग लास छ र यसको पनि व्यवस्था गर्नु छ भन्ने कुरा तिनीहरूले बिर्सेका देखिन्छन् । तिनीहरू त खानपिनमा नै मस्त छन् ।
– “यो लास बोल्न सक्ने भए के हुन्थ्यो ?” एउटाले ठट्टा गरेको सुनियो ।
– “यसले हामीसँग खाना माग्थ्यो,” अर्को भनिरहेको थियो ।
– “होइन । मलाई बिसाएर तिमीहरूले खानपिन गर्न मिल्दैन । त्यसो भन्थ्यो,” अर्कोले भन्यो । मर्यादा नाघेकोमा सचेत गराउँथ्यो भन्ने कुरा पनि भन्न त्यसले बिर्सेन ।
– “मलाई नबोकेको भए हुन्थ्यो । बोकेपछि त्यसको मर्यादा हुन्छ । तिमीहरूले त्यो सीमा-रेखा नाघ्यौ । त्यसले भन्थ्यो,” अर्कोले भन्यो ।
– “हामीले खाएकोमा त्यसले त्यतिको ईष्र्या गथ्र्यो होला त ?” अर्कोले भन्यो ।
– “हामीलाई पनि देऊ न,” मेरो छोराले बीचमा भन्यो । तिनीहरूले उसको बेवास्ता गरे ।
– “हामीलाई पनि देऊ न,” छोरा फेरि करायो । तिनीहरू सुनेर पनि नसुनेझैँ गरिरहेका थिए । तिनीहरू खाइरहेका थिए । तिनीहरू पिइरहेका थिए । मेरो छोरा तिनीहरूसँग कराई-कराई खानेकुरा मागिरहेको थियो । तिनीहरू बहिरा थिएनन् । तिनीहरूले पाँच गाँस खाँदा मेरो छोरालाई एक गाँस दिँदा के बिग्रन्थ्यो ! मेरो छोराले माग्न छोडेको थिएन । मलाई खुसी लाग्यो । आफ्ना कुरा भन्नसक्ने आँट उसमा आइसकेको थियो ।
– “हामीलाई पनि दिनोस् न,” उसको विनम्रताले पनि माग पूरा भएन । खस्रोपनले पनि माग पूरा भएन ।
– “हामीलाई पनि दिनोस् न,” छोरा कराउन छोडेन ।
– “यो त मलामीले मात्र खाने हो बाबु !” एउटाले भन्यो ।
– “अरूले खान पाइँदैन ?” मेरो छोराको निर्दोष प्रश्न थियो ।
– “अहँ । पाइँदैन,” त्यसले भन्यो ।
– “के यो नियम नै हो ?” मेरो छोराको निर्दोष प्रश्न थियो ।
– “नियम नै हो बाबु !” त्यसले भन्यो ।
– “मूर्दा बिसाएर खाने नियम छ त ?” मेरो छोराले सोध्यो । यो प्रश्न मलाई थियो ।
– “छैन,” मैले भनेँ ।
– “तिनीहरू प्रभावित भएनन् । हामीहरू त्यहाँबाट हिँड्याँै । एउटा ढिस्को थियो । हामीहरू उकालो लाग्यौँ ।”
– “कस्ता पापी रहेछन् अलिकति पनि दिएनन्,” मेरा छोराले भन्यो ।
– “तिनीहरू धेरै भोकाएका होलान्,” मैले भनेँ ।
– “मानवता नभएकाहरू,” मेरो छोराले भन्यो ।
– “यो शब्द तैँले कहाँबाट सिकिस् ?” मैले छोरालाई सोधँे ।
– “त्यसै,” उसले भन्यो । शब्दहरू त्यसै सिकेकोमा म छक्क परेको छु ।
छोरा थाकेको मात्र होइन, भोकाएको पनि थियो । मैले मकै-भटमास किनेर ल्याएँ । बाबुछोरा मकै-भटमास खान थाल्यौँ । हामीहरू मसलाको रूखमुनि बसेका थियौँ । ती रूखहरूबाट हावाले वासना उडाएर ल्याएको थियो । वातावरण सुगन्धित थियो ।
– “मसलाको बोटसँग बास्ना माग्नु पर्दैन । आफँै दिन्छ,” मैले भनेँ ।
– “ती मलामीहरू रूखहरू जतिका पनि भएनन्,” छोराले भन्यो ।
एउटा मान्छे छाता बोकेर आइरहेको थियो । मसलाको सुगन्धले उसलाई पनि रोक्यो । ऊ बस्यो ।
– “छाता किन बोकेको ?” मैले उसलाई सोधेँ ।
– “किन र ?” ऊ फिस्स हाँस्यो ।
– “पानी हिजो परेको थियो । तपाईं आज छाता ओढेर हिँडिरहनुभएको छ !”
– “हिजो सोचेर आज हिँडेँ,” त्यसले भन्यो ।
– “तपाईंबाट अरूहरूले प्रेरणा लिएमा के होला ?” मैले सोधँे ।
– “आजहरू हिजो हुन्छन्,” उसले भन्यो ।
– “यो पनि रमाइलो नै हो, अरूहरू आजमा बाँच्दा हामीहरू हिजोमा बाँच्नेछौँ,” मैले भनँे ।
– “तपाईंहरू जाने हो ?” त्यसले हामीलाई भन्यो ।
– “हामीहरू पर्खन्छौँ,” मैले भनँे ।
– “कसलाई ?” त्यसले सोध्यो ।
– “लासलाई,” मैले भनँे । ऊ हाँस्यो ।
– “म त पर्खन्न,” त्यसले भन्यो ।
– “तपाईंलाई देख्नेहरू हाँस्नेछन्,” मैले भनँे ।
– “मलाई देख्नेहरू हिजो पनि हाँसेका थिए,” त्यसले भन्यो ।
– “हिजो किन हाँसेका ?” मैले भनँे ।
– “हिजो पानी परिरहेको थियो । अरू छातामा थिए । म भिज्दै हिँडेको थिएँ । त्यतिखेर पनि मलाई देख्नेहरू हाँसिरहेका थिए,” त्यसले भन्यो ।
ऊ हिँड्यो । पानी नपरेका बेलामा छाता बोकेर हिँड्ने मान्छेले लास पर्खेन । मसलाको सुगन्ध आइरहेको थियो । त्यस ढिस्कोको फेदमा तीन जना देखापरे र तिनीहरू उभिएर गलफत्ती गरिरहेका थिए ।
– “ढिस्कोबाट जाऊँ,” एउटाले प्रस्ताव राख्यो ।
– “त्यताबाट नजाऊँ,” अर्काले भन्यो ।
– “किन नजाने ?” पहिलोले सोध्यो ।
– “उकालो चढेर किन जाने ? समथर जाऊँ,” त्यसले भन्यो ।
– “उकालो चढेर जाँदा मज्जा हुन्छ । जङ्गल छ । मसलाको सुगन्ध पाइन्छ,” पहिलोले भन्यो ।
– “तपाईंहरू जाने भए जानोस्, मचाहिँ त्यताबाट जान्न,” अर्कोले भन्यो ।
– “त्यताबाट जाँदा नोक्सान नै हुन्छ भने हामीहरू पनि जाँदैनौँ । होइन भने सँगै यात्रा गरिएको छ, छुट्टाछुट्टै यात्रा किन गर्ने ?” पहिलोले भन्यो ।
– “त्यस ढिस्कोबाट त म जान्न,” त्यसले भन्यो ।
– “कारण त बताउनुहोस्,” अर्कोले भन्यो ।
“त्यस ढिस्कोबाट मैले नराम्रा कुरा मात्र सिकेको छु । केटाकेटीमा हामीहरू त्यहाँ खुब जान्थ्याँ । अहिलेको भन्दा पनि बाक्लो जङ्गल थियो । अहिलेका भन्दा पनि बढी मसलाका रूखहरू थिए । त्यहीँ साथीहरूको सङ्गतमा लागेर तास खेल्न सिकियो । त्यहीँ साथीहरूको सङ्गतमा लागेर चुरोट खान सिकियो । त्यहीँ साथीहरूको सङ्गतमा लागेर नराम्रा गफ गर्न सिकियो । त्यस ढिस्कोमा नजाने गरेको भए आज मसँग राम्रा गुणहरू मात्र हुन्थे । नराम्रा गुणहरू हुँदैनथे । त्यस ठाउँमा लागेको आदत मैले आजसम्म छुटाउन सकेको छैन । त्यस ठाउँबाट मैले नराम्रा कुरा मात्र सिकेँ, असल कुरा सिकिनँ,” त्यसले भन्यो ।
– “यो त ढिस्कोको दोष होइन, सुगन्ध दिने मसलाको बोटको दोष होइन, साथीहरूको सङ्गतको दोष हो,” अर्कोले भन्यो ।
“दोष जसको होस्, मलाई त्यो ढिस्को देखेपछि रिस उठ्छ,” उसले भन्यो ।
तिनीहरू गलफत्ती गरिरहेका थिए । लास आइपुग्यो । पहिले शङ्ख फुक्ने मान्छे आयो । ढिस्कोबाट तिनीहरूले लास ल्याउन खोजे । तिनीहरूले यो बाटो नै रोजे । हामीहरू हेरिरहेका थियौँ । उक्लने बेलामा लास कात्रोबाट फुत्त बाहिर निस्कियो । त्यसले कात्रो च्यात्यो । त्यसले बोक्नेहरूलाई प्रहार गर्यो। । ती ढले । मलामीहरूलाई प्रहार गर्यो । केही ढले, केही भागे । लास भनिरहेको थियो, “कोही छ मलाई कात्रोमा बेर्ने आँट भएको मान्छे ?”
मैले छोरालाई भनँे, “अब हिँड् यहाँ बस्नु ठीक छैन ।” छोरा बोलेन । डोकाले छोपेर फेरि पानी खन्याउने उमेर यसले पार गरिसकेको थियो । अब यसको ओखती के होला ? छोरा रोइरहेको छ । नबोली । आँसु खसालेको छ । बोल्दैन । म त्यसलाई हल्लाउँछु । बोल्दैन । पटक्कै बोल्दैन ।