‘पालुंगो मुठाको एक आना, गोलभेडा एक भागको ६ आना र हरियो खुर्सानीको एक आना,’ थाह छैन, तरकारी बेच्ने नारीको मुख कस्तो थियो । तर, मलाई लाग्यो पालुंगोको पातका सारा कोमलता, गोलभेडाको सारा रङ र हरियो खुर्सानीको सबै सुन्दरता उसको मुहारमा पोतिएको थियो ।
एक बच्चा उनको काखमा दूध पिइरहेको थियो । एक हातले उसले आमाको चोली समाएको थियो । र, अर्को हातले बेलाबेला पालुंगोको पात समाउँथ्यो । आमाले कहिले बच्चाको हात पछाडि हटाउँथिइन्, कहिले पालुंगोको मुठोलाई अगाडि सार्थिन् । जब आमा उताउता सर्नुपथ्र्यो, तब बच्चाको हात पालुंगो समाउन पुगिहाल्थ्यो । बच्चाको हातबाट पालुंगो छुटाउँदै आमाले घुरेर हेर्छिन् । अनि, उनको ओठको हाँसो अनुहारभरि भएर छछल्किन्छ । उनले बेच्न राखेको तरकारीमा जब उनको हाँसो पोखिन्छ, मलाई लाग्छ, यस्तो ताजा तरकारी अन्त पाइनेछैन ।
कैयौँ तरकारी बेच्नेहरु मेरो घर भएर जान्थे । तर, धेरै समय बित्दा पनि उनीहरुको तरकारी कसैले किन्दैनथ्यो । यता, सधैँ ती तरकारी बेच्ने नारीको मुहारले मलाई बोलाइरहेको हुन्थ्यो ।
ऊसँग किनेको तरकारी धोइपखाली गर्दै पकाउन ठिक्क पार्दासम्म मैले सोच्छु, उसको श्रीमान कस्तो होला ? उसले जब आफ्नी पत्नीलाई हेर्छ, छुन्छ, के त्यति बेला उसले आफ्नी पत्नीको मुहारमा पालुंगो, गोलभेडा र हरियो खुर्सानीको स्वाद पाउला त ?
कहिलेकाहीँ मलाई आफैँसँग रिस उठ्छ, किन मेरो ध्यान त्यस नारीको पछाडि परेको छ ?
ती दिनमा एक गुजराती उपन्यास पढ्दै थिएँ । त्यस उपन्यासमा प्रकाशका किरण जस्तै एक युवती थिई, जीवी ।
एक मर्द उसलाई देख्छ । त्यस मर्दलाई लाग्छ, उसको जीवनको रात ताराहरूले भरिएर आएको छ । उसले हात फैलाउँछ । तर, उसको हातमा तारा आउँदैन । ऊ निराश भएर जीवीसँग भन्छ, ‘तिमीले मेरो गाउँमा आफ्नै जातको कसैसँग विवाह गर । मैले टाढैबाट तिम्रो रूप हेरिरहनेछु ।’
दिनको सूर्यले जब जीवीलाई देख्छ, त्यसरी नै त्यस मर्दको अनुहार रातो हुन्छ, जसरी कुनै कुमारी केटीलाई छुँदा कहानीको धागो लामो हुँदै जान्छ । अनि, जीवीको अनुहारमा दुःखका रेखा देखिन्छन् ।
यस जीवीको छाया पनि मेरो पछाडि परेको छ । तर, मलाई रिस उठ्दैन । ती त दुःखका रेखा थिए । तिनै रेखा, जुन मेरा गीतमा थिए ।
अर्को दिन मैले आफ्ना कदमलाई रोकेँ । किनभने, त्यस नारीकहाँ तरकारी किन्न जान चाहिनँ । चौकिदारसँग भनेँ, ‘यहाँ कोही तरकारी बेच्न आयो भने मलाई बताउनू ।’
आलु मन परेन । पालुंगो पनि दिनभरिको धुलोले थाकेजस्तो देखिन्थ्यो । गोलभेडा मानौँ भोकाएर रुँदारुँदा सुतेको छ । हरियो खुर्सानी उस्तै । मैले कदम रोकेर पनि फेरि उही तरकारी बेच्ने महिलाकहाँ पुगेँ ।
यसपल्ट उसको साथमा श्रीमान पनि थियो । उसले बजारबाट तरकारी लिएको आएको थियो । उसले तरकारी धुन र छुट्टाछुट्टै राख्न श्रीमतीलाई सघाउँदै थियो । उसको अनुहार देखेपछि मलाई लाग्यो— कहाँ देखेँ, कहिले देखेँ । फेरि म अर्को नयाँ चिजको पछि लागेँ ।
‘बैनी, तपाईं ?’
‘मैले तिमीलाई चिनिन त ?’
‘यसले पनि चिनिन । यो रत्नी ।’
‘माणकु–रत्नी ।’
मैले सम्झने कोसिस गरेँ । तर माणकु र रत्नी कहीँ भेटेको याद भएन ।
‘तीन वर्ष भयो, अझ एक महिना बढी भयो । एक गाउँनजिकै, त्यो गाउँको के पो नाम थियो, तपाईंको गाडी बिग्रिएको थियो ।’
‘हो, बिग्रिएको त थियो ।’
‘अनि, तपाईं त्यहाँबाट एक ट्रकमा बसेर कतै पर नयाँ टायर किन्न आउनुभएको थियो ।’
‘हो हो ।’
त्यसपछि मलाई माणकु र रत्नीको सम्झना भयो ।
रत्नी, कोपिलाजस्तै थिइन । मानौँ, माणकुले पराई बोटबाट चुँडाएर ल्याएको छ । ट्रकका ड्राइभर माणकुको पुरानो साथी थियो । उसले रत्नीलाई भगाउन माणकुलाई सहयोग गरेको थियो । यसकारण, यात्रामा ड्राइभरले माणकुसँग ठट्टा गर्दै थियो ।
बाटोमा पर्ने सानो–सानो गाउँमा कतै खरबुजा, कतै काँक्रा बिकिरहेका हुन्थे । माणकुको साथी माणकुलाई बेसरी चिच्याउँथ्यो, ‘काँक्रा किन्नू । तरबुजा त धेरै रातो छ । खरबुजा धेरै गुलियो हुन्छ ।’ नकिन्ने भए, उठाएर ल्या राँझे ।’
‘अरे यार, मलाई राँझा किन भन्छस् । राँझा साला पागलप्रेमी थियो कि थिएन ? हीरलाई डोलीमा चढाएर भैँसीले तानेर लग्यो । के मैले त्यसो गरेँ ?’
‘अरे माणकु तँ त मिर्जा होस् मिर्जा ।’
‘मिर्जा त हुँ । तर, साहिबाँले नमारे मात्रै ।’
फेरि माणकु रत्नीलाई जिस्क्याउँछ, ‘हेर रत्नी साहिबाँजस्ती होइन, हीरजस्ती बन्नू ।’
‘अरे माणकु, तँ मिर्जा उनी हीर । यो जोडी पनि राम्रो बन्यो,’ अगाडिबाट माणकुको साथी चालक चिच्याइरहन्छ । यत्तिकैमा मध्य प्रदेशको सीमा कटेर महाराष्ट्रको सीमा आउँछ । जहाँ मोटर र ट्रकलाई रोकिन्थ्यो । र, चेकजाँच गरिन्थ्यो । हामी चढेको ट्रकलाई पनि चेकचाँज गरियो र केही नभेटिएपछि अघि बढ्न दिइयो । जब ट्रक अघि बढ्यो, माणकु जोडले हाँसो ।
‘साला प्रहरी अफिम खोज्छ, मदिरा खोज्छ । म त नशाको बोतल लिएर जाँदै छु । साला, देखेकै हैन ।’
रत्नी पहिले आफैँसँग लजाई । अनि मन खोलेर बोल्न थाली ।
‘कतै नशाको बोतल नतोड्नु नि । सबै टुक्रा तिम्रै खुट्टामा बिझ्नेछ ।’
‘म त डुबरे मर्नेछु ।’
‘म पनि डुब्छु, तिमी सागर बन ।’
मैले उनीहरुलाई सुनिरहेकी थिएँ । सोच्दै पनि थिए, ‘यो केटी डुब्न पनि तयार छ, यदि उसको प्रेमी एक सागर हो भने ।’
हामी ओर्लने ठाउँ आयो । हामी ओल्र्यौं । केही छिन मेरो मनमा कुरा खेल्यो, ‘यो रत्नी कोपिलाजस्तै छ । थाह छैन, माणकुले यसलाई कहाँबाट चुँडाएर ल्याएको हो । के माणकुले यस कोपिलालाई फक्रन र सुगन्ध छर्न देला त ?’ कतै यो कोपिला कुल्चिएर ध्वस्त हुने त होइन ?’
पछिल्ला दिनमा दिल्लीमा एक घटना भएको थियो । एक युवतीलाई एक गुरुले भ्वायोलिन सिकाउँथ्यो । यही क्रममा दुवैले भागेर बम्बई जाने सोचे । उहाँ दुवैले गाउने, बजाउने गर्नेछन् । सधैँ भ्वायोलिन सिकाउन जाने गुरुलाई युवतीले आफ्नो एउटा कपडा दिन्थी । गुरुले भ्वायोलिनको डिब्बामा राखेर कपडा लैजान्थ्यो । एक महिनापछि युवती तीनवटा कपडा लिएर घरबाट निस्की । कसैले शंका गरेन । त्यसपछि त्यस केटीको पनि त्यही हालत भयो, जुन पहिले हुनेगथ्र्यो, त्यसपछि पनि अरु कैयौँ केटीको हुनु थियो । त्यस केटीले बम्बई पुगेर कलाको मूर्ति होइन, कलाको चिहान बनी ।
मैले सोच्दै थिएँ, यो रत्नीको हालत के हुने होला ?
आज तीन वर्षपछि मैले रत्नीलाई देखेँ । हाँसोको जलले उसले तरकारीलाई ताजा बनाउँदै थिई ।
‘पालुंगो मुठाको एक आना, गोलभेडा ६ आना’
उसको मुहारमा पालुंगोको सबै कोमलता, गोलभेडाको सारा रंग र हरियो खुर्सानीको सारा सुन्दरता पोतिएको थियो ।
जीवीको मुखमा दुःखका रेखा थिए । त्यही रेखा, जुन मेरो गीतमा थियो । र रेखा रेखामा मिलेको थियो । रत्नीको मुखमा हाँसोको थोपा थियो । ऊ हाँस्थी, सपनाहरु छरिन्छन् । र, शीतको थोपाजस्तै तरकारीका पातमा पोखिन्छन् । ती सपना मेरा गीतका छन्द बन्छन् । जुन सपना जीवीको मनमा थियो, उही सपना रत्नीको मनमा थियो । जीवीको सपना एक उपन्यासको आँसु बन्यो । र, रत्नीको सपनाले गीतको छन्द तोडेर उसको काखका दूध पिइरहेको थियो ।
000
(लेखक प्रख्यात भारतीय साहित्यकार हुन् । उनको ‘एक जीवी, एक रत्नी, एक सपना’ कथाको भावानुवाद ।)
(स्रोत : एस काठमाडौं डटकम)