~किशोर दहाल~
मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेसवादी तथा जनजाति केन्द्रित दलहरूले गरेको दुइदिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । त्यसको सदुपयोग गर्न कतै घुम्न जाने कुरा भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो । अन्तत: गाउँशहर दरबार जानेभईयो । बन्द नभएको भए आइतबार काठमाडौं फर्किने योजनामा थियौं ।
दिउँसो करिब दुई बजेको आसपास घाम लागेको थिएन । मौसम धुम्म थियो । हिड्नलाई उपयुक्त मौसम थियो ।
बेसीशहरबाट पारिपट्टी डाँडामा पर्थ्यो- गाउँशहर दरबार । यसको ऐतिहासिकता मलाई थाहा थिएन । यसअघि नाम पनि सुनेको थिइनँ ।
बेसीमा गाउँ रहेछ । त्यसपछि जङ्गल । अनि फेरि गाउँ । उकालो बाटो । बेसीको गाउँ कटिनसक्दै थकाइ लागिसकेको थियो ।
गाउँ कट्नेबित्तिकै एक बृद्धा र केही युवती घाँसको भारी बोकेर ओरालो झरिरहेका थिए । हामी उनीहरूलाई सोध्यौं, “दरबार पुग्न अब कति समय लाग्छ ?”
“लाग्छ अझै निकैबेर । आधा पनि भएको छैन ।”, बृद्धाले उत्तर दिईन् । युवतीहरू बोलेनन् । उनीहरू ओरालो झरे । हामी उकालो चढ्यौं ।
गर्मी निकै थियो । पसिनाले नुहाएजस्तो भइसकेको थियो । तर, बाटोचाहीँ आधा पनि भएको रहेनछ ।
जङ्गल सुरू भयो । यहाँको वन उपभोक्ता समिति बलियो रहेछ सायद । जङ्गल बाक्लो थियो । मनोजले भन्यो, “बाघ पाईन्छ कि क्या हो ?”
“के पाईन्थ्यो र ? यसरी जताततै बाघ पाइने भए बाघ संरक्षणमा बिश्वब्यापी पहल किन गर्नुपर्थ्यो र ?” , मैले भनें ।
अलि माथि पुगेपछि एउटा युवक र दुईटी युवती ओरालो झर्दैरहेछन् । समूहमा नै प्रश्न सोधियो, “दरबार पुग्न कति समय लाग्छ ?” बाटामा हिँडिरहेका अपरिचितसँग बोल्ने यो एउटा गज्जबको तरिका थियो ।
“आधा त भा’को छैन ।” , युवक बोल्यो ।
“तपाईंहरूको घुँडाबाट आँसु आउँछ ।”, अन्तिम कि युवती बोलिन् । हतारमा बोल्दा यिनले कुरा बिगारेकी थिईन् । मैले जवाफ फर्काएँ, “घुँडाबाट कसरी आँसु आउँछ ? कि, तिमीहरूको तिर त्यस्तो चलन छ ?”
हामी तीनजना थियौं । ड्राइभर साथी मनोज र म सँगै हुर्किएका हौं । नजिकको छिमेकी । अर्को साथी, जोसँग म पहिलोपटक हिँडिरहेको थिए । मनोजले उसलाई ‘बन्दिपुरे’ भनेर सम्बोधन गर्थ्यो । उसको थेगो रहेछ- ‘सम्झिने हो’ । यसो केही नयाँ योजना सुनाउने बित्तिकै ‘सम्झिने हो’ भनिहाल्थ्यो । क्याम्पस पढ्दा साथीहरूले भन्थे, “चट्ट, लोकल कुखुराको मासुको झोल हालेको सम्झिने अनि गुन्द्रुकसँग मुछेर भात खाने ।” उसको पारा त्यस्तै थियो ।
भूईचालो गएको चार महिना हुन थालिसक्यो । तर, गफको बिषय त्यही भूईचालोको वरिपरि घुमिरहेको छ । कसरी बाँचियो, कहाँ थिइस्, के गरिस् भन्ने जस्ता जिज्ञासापूर्तिमा अझै नयाँपन छ । रोचकता छ । उक्लिदैं गर्दा हामी पनि सम्झिन्छौं बेलाबेलामा । बाँच्नुको कथा कहिले पुरानो होला खै !
हामी तराईमा जन्मे हुर्केकालाई यो पहाडको उकालोले दिक्क लगाउँछ । पहाडका मान्छेहरू भारी बोकेर मज्जाले उकालो-ओरालो गरिरहेका हुन्छन् । हुन त के मज्जाले हिड्दा हुन् र ? परबाट हेर्दा भारी बोकेको मान्छे राम्रो देखिन्छ । कति गार्हो भइरहेको हुन्छ, उसैलाई थाहा हुन्छ ।
जङ्गलमा बाटो झन् ठाडो थियो । गाडी उक्लने रोड पनि थियो तर त्यो बाटोबाट हिँड्दा समय निकै लाग्ने भएकोले हामी छोटो बाटोबाट उक्लिरहेका थियौं । बेस्सरी गलेकोले मनोजले फर्किनुपर्छ कि भन्न थाल्यो । यसपटक बीचबाटै फर्किंदा फेरि कहिल्यै पनि यो ठाउँमा नआईने भएकोले जसरी पनि यो उक्लिनु पर्ने बिचार राखें । उसले पछिसम्म पनि गुनासो गर्दैथियो, मैले गर्दा नै उक्लिनु पर्यो भनेर ।
उकालो जति उक्लियो हिँडाईको गति उति नै सुस्त भएको थियो । शंखेकिरा स्टाईलमा हिडाई भईरहेको थियो । अझ चल्तिको भाषामा भन्दा ‘स्लो मोसन’ ।
हामी बेसीशहरबाट हिँड्दा घाम लागेको थिएन । तर उकालो उक्लिदैं गर्दा भने घाम पनि देखिन थाल्यो । दिउँसो घाम त्यति धेरै चर्कै त होइन तर पीरोमा तातोजस्तो भएको थियो । उकालोको गर्मीमा घाम । सासै जालाजस्तो ।
आफूले लगाएको जिन्स पाईन्ट र जुत्ताले झन् गार्हो थपिरहेको थियो । मैले भने, “उकालो उक्लिन तनाब होलाजस्तो छ ।” मनोजले जवाफ फर्कायो, “होलाजस्तो होईन, भई नै सक्यो ।” उकालो बाटोमा उसलाई बढि गार्हो भईरहेको थियो ।
निकै बेर हिँडपछि एउटी महिला भेटिईन् । उनलाई दरबार पुग्न लाग्ने समयबारे सोध्यौं । उनले ५-१० मिनेट लाग्छ भनिन् । मन निकै खुसी भयो । उनले अर्को घुम्तिबाट दरबार नै देखिने पनि बताएकी थिईन । दरबार त देखियो । दरबारै पुगेजस्तो भयो । उडेर जाने कुरा थिएन । हिड्नै पर्थ्यो । तर, अरू आधाघण्टा हिंड्दा पनि त्यो दरबारमा पुगिएन । हाम्रो हिँडाई ती महिलाले कल्पना गरेभन्दा सुस्त थियो । जे होस्, उनले हामीमा उत्साह थपिदिएकी थिईन् ।
गाउँ भेटिएपछि एउटा धारो देखियो । प्यास निकै लागेको थियो । बेसीमा पानी नखाई उकालो चढेका थियौं । बाटोमा पानी भेटिएन । प्यास लागेर पुरै मर्स्याङ्दी नदि सुकाईदिन्छु झैं भएको थियो । तर, चार अञ्जुली भन्दा बढि खान सकिएन ।
पानी खाएर हिड्नेबित्तिकै एउटी ११-१२ बर्षजतिको बहिनी भेट भईन् । उनलाई पनि दरबार पुग्न लाग्ने समय सोध्यौं । उनले ‘ऊ त्यहीँ हो’ भनिन् । अब दरबारको निकै नजिक पुगिसकेको जस्तो लाग्न थाल्यो । दरबार ओझेल परेकाले हामीले उनलाई सोधेका थियौं ।
उकालो उक्लिदै गर्दा बेसीको बेसीशहर गज्जब देखिंदो रहेछ । निकै आकर्षक । वरिपरि हरिया डाँडाहरू र बीचमा किरिङमिरिङ सेता घरहरू । कुनै अब्स्ट्रयाक चित्रजस्तो । म बेलाबेलामा बेसीशहरको फोटो खिचिरहन्छु । तर, मौसम उत्ती सफा छैन, त्यसकारण हिमालहरू देखिदैन । बेसीशहरबाटै देखिने हिमाल पनि देखिदैन । बादलसँगको लुकामारीमा कहिलेकाहीँ घामले मुख देखाउँछ । तर, मौसम सफा गर्न सक्दैन ।
हामीलाई हेर्दै दुईटा बच्चाहरू भागे । तिनीहरू खेल्दाखेल्दैको बस्तु छाडेर भागेका थिए! सायद सँगैकी युवतीले ‘पराई मान्छे आए’ भनिन् कि ! हाम्रोतिर कोही बच्चाले भनेको मानेनन् भने यसै भनिन्छ । पराई मान्छे खराब हुन्छन् भनेर हामीले सानैदेखि सिकाउने रहेछौं । त्यसैले हुनसक्छ, हामी अरू प्रति कम बिश्वास गर्छौं । बिश्वास गर्दैनौं भने पनि हुन्छ ।
एउटा बिद्यालय भेटियो- हेवेन हिल एकेडेमी । बिद्यालयको संरचना गज्जब छ। ढुङ्गा-माटोको घर । देख्दा राम्रो लागे पनि यस्ता घरसँग डरलाग्छ अचेल । बैशाखको भूईचालोमा म यस्तै घरको तेश्रो तलामा थिएँ । भुकम्पमा लथालिङ्गै भएर भत्किँदो रहेछ । वृताकार आकारको एउटा छुट्टै भवनमा बिद्यालयको नाम ठेगाना लेखिएको थियो । र, अन्तिम दोश्रो लाइनमा बिद्यालय क्षेत्र भएकाले गति सीमित गर्न सचेत गराएको थियो । ड्राईभर मनोजले प्रतिक्रिया दिईहाल्यो, “यो उकालोमा गति त्यत्तिकै सीमित हुन्छ । दौडे पो दौडाउनु ।” बिद्यालयले आफ्नो दायित्व पूरा गरेको होला सायद ! मनोजले पनि आफ्नो पेशागत अप्ठ्यारो सुनायो ।
हामी दरबार नजिकै पुग्यौं । वरिपरिबाट तारको बार लगाईएको रहेछ । गेट अलि माथितिर रहेछ । हामी तार उचालेर छिर्यो । गेटसम्म पुग्ने झण्झट गरिएन ।
दरबार शान्त थियो । निर्जन ठाउँ । केही परेवा चरिरहेका थिए । केही फूल फूलिरहेका थिए । वरिपरि घाँस बाक्लो थियो । कसैले काट्दैन कि जस्तो लाग्ने । फेरि कतै काटिएको जस्तो पनि देखिन्छ । जेसुकै होस्, हामी आफ्नो बारीको घाँस रूङ्न आएका होईनौं । हामीलाई के मतलब ?
सुनसान दरवारको फोटो खिच्दै गर्दा एउटा परेवा घुर्न थाल्यो सायद आफ्नो अस्तित्व देखायो । अस्तित्वको खोजी चर्को छ अहिले । आज बन्द गर्नेहरूले पनि आफ्नो अस्तित्व देखाउन खोजेका त होलान् नि ! राजनीतिमा हामी पनि छौं है भनेर देखाउन । नभए बन्दको बेलामा बाहेक अरू बेला कतिपय दलको नाम पनि सुनिन्न ।
केही पोज फोटो खिचेर हामी गेटबाट बाहिरियौं । दरबार र सँगै जोडिएको मन्दिरमा खास घुम्नलायक केही थिएन ।
गेटछेउमा एउटा किराना पसल रहेछ । पसलमै होटल पनि । गाउँतिर जहाँपनि त्यस्तै हो । कतिपय यस्ता पसलमा सियोदेखि कात्रोसम्म राखिन्छ । उस्तै परे सिटामोल र पेनकिलर पनि राखिन्छ । त्यहीँ खाजा खाने कुरा भयो । साहुनीले चाउचाउ अण्डा पकाउन सकिने बताईन् । गर्मीमा के चाउचाउ पकाउनु ? छ्याङ खाने कुरा भो ।
पसलमा चाउचाउ, चकलेट, बिस्कुट, कुरकुरे, लेज आदिईत्यादि थिए । अन्य सामानमा चाईनाको प्रभाव बढि देखिन्थ्यो । चाईनाले व्यापारमा नछोएको ठाउँ कुन होला र ? हाम्रो जस्तो देशमा एक किसिमले राम्रै पनि भा’को छ । नत्र एकजोर कपडा किन्न मध्यम वर्गीयले ‘एक दर्जन पटक’ सोच्नुपर्थ्यो । त्यसो त यो देशमा राजनीतिमा भारत , व्यापारमा चीनको हालिमुहाली छ । हुन त चीन पनि राजनीति गर्छ अचेल । हामी आफू कमजोर भएपछि अरूको हात समाएर हिड्नैपर्ने रहेछ ।
हामीले नेपालीकै व्यापार बढाउने सुर कस्यौं । कुरकुरे र चाउचाउ मगायौं । अनि स्थानीय श्रोत र सीपलाई सघाउ पुर्याउन- छ्याङ । देश विकासका निम्ति यो पनि ठूलै योगदान हो नि !!!
पसलमा ब्राण्डेड रक्सी पनि देखिन्थ्यो । खासमा यो देशमा दुई कुराको व्यापकता देखेर मलाई अचम्म लाग्छ । पहिलो, चर्च र दोश्रो रक्सी । स्कुल नबनेको ठाउँमा, बिद्यार्थीले पढ्ने पुस्तक नपुगेको ठाउँमा, सज्जनले पढ्ने पत्रिका नपुग्ने ठाउँमा चर्च र बाईबल पुग्छ । अनि, रक्सी पनि । दुर्गमका पसले बिद्यार्थीका निम्ति कापी, किताब, कलम र मसी पुर्याउँदैनन्, तर रक्सी पुर्याउँछन् ।
होटलमा खाजा खाँदै गर्दा मलाई एउटा कुराले उत्साहित बनाईरहेछ । यो गाउँमा ठाउँठाउँका डोको झुण्ड्याईएको छ । अघि तल पानी पिउने बेलामा पनि देखेको थिएँ । प्राय: डोको रूखमा झुण्ड्याइँदो रहेछ । करिब डेढदुई हात माथि । डोको पुराना छन् । र, त्यसमा छन्, प्लास्टिक, चुरोटको बट्टा लगायतका केही फोहोर । ठाउँठाउँमा राखिएको यस्तो फोहोर हाल्ने भाँडोले निकै खुसी तुल्याउँछ । जथाभावी हुने फोहोर एकीकृत र नष्ट गर्न सघाउ त हुन्छ नै, यसले स्थानीय सामानको सदुपयोग गर्ने तरिका पनि सिकाएको थियो । पून प्रयोगको यस किसिमको सानदार उदाहरण सलाम गर्न लायक थियो । जसले यस्तो चलन चलायो, उसलाई पनि सलाम !
पसलकी साहुनी बडो गज्जब कि रहिछिन् । छेउमै बसेर गफ मिसाउने । हाँस्ने जवाफ दिने । मैले दरवार र मन्दिरबारे सोध्न चाहँदा उनले भनेकी थिईन्, “सोध्नुस् न ! थाहा भएजति भन्दिउँला क्यारे !”
….
१५५० असार १५ गते तत्कालिन राजा कालु शाहले राज्यरोहण गरि शासन सञ्चालन गरेका दरबार रहेछ यो । दरबारसँगै लमजुङ कालिकाको मन्दिर पनि रहेछ । लमजुङ कालिकालाई शाह वंशको कुलदेवतासमेत मानिदो रहेछ । ती देवीलाई निकै शक्तिशाली र मनोकांक्षा पुरा गर्ने देवीका रूपमा पुजिने प्रचलन पनि रहेछ । चैत दशैको दिनमा पञ्चवली दिने गरिँदो रहेछ । चैत दशैँको मौकामा यहाँ विशेष मेला समेत लाग्दो रहेछ ।
नेपालको एकीकरणका क्रममा गोर्खाबाट लमजुङमा आक्रमण हुँदा यस दरबारमा रहेका पुरातत्वका दृष्टिले महत्वपूर्ण सामग्रीसहित कुलदेवताका रूपमा पुजिएकी कालिका देवीलाई समेत आक्रमणकारीले गोरखामा लगेका रहेछन् । त्यही कारणले गोरखा कालिकाको चर्चा उच्च छ, लमजुङको नाम सुनिदैन ।
….
“भाका पूरा हुन्छ ?”, साहुनीलाई सोध्छु ।
“हुन्छ नि ।”
“तपाईंको केही भाको छ ?”
“छ ।”
“के भा’को छ ? ” यतिबेला मैले मोबाईलको रेकर्डर अन गर्न चाहेको थिएँ । तर, उनी बाठी रहिछिन् । भन्न थालिन्, “मोबाइलमा भर्ने हो भने भन्दिनँ ।” मैले रेकर्ड गर्न खोजेको होईन भनेपछि उनी बोल्न थालिन्:
“मेरो छोराको काम केही सफल भएको थिएन । इण्डियन आर्मीमा भर्ना हुन जाँदा अन्तिममा फाल्दियो । नेपालमा नि भएन । बिदेश जान पनि मिलेन । गत दशैमा बोको काटेपछि चैतमा दुबईको भिसा लागेर गयो । देवीको शक्तिले भएको त हो नि ! ”
उनले अरू एउटा प्रसङ्ग पनि सुनाईन् । कसले हो खोटी बोको पूजा गर्न ल्याएको रै’छ । बोको त गेटमै लम्पसार परेर हिड्दै हिडेन रे ! अनि गाउँमै अर्को बोको किनेर पूजा गरेछन् ।
आस्था र विश्वासमा कुनै ‘क्रस चेक’ गरिन्न । विश्वास लागेपछि सकियो । बरू आजकालको मायाप्रेममा व्यापक क्रस चेक हुन्छ ।
बन्द भएकोले घुम्न पाईएको थियो । आउन त अरूबेला गाडी आउने रहेछ यहाँ, तर हामीलाई जुरेन । उनी भन्दैथिईन, “ड्राईभरहरू त्यत्तिकै बस्छन् । यसो घुम्न आए हाम्रो पनि व्यापार हुन्थ्यो ।” गाडी खुलेको बेलामा ड्राइभरको फुर्सद नै हुँदैन । बन्द भएको बेलामा त्यति माथि हिडेर के जालान् र खै !
“कति भयो व्यापार गर्न थालेको ?”, म सोध्छु ।
“२० बर्ष ।”
“ए बुढि भईसक्नुभएछ ।”, मैले भनिदिएँ । प्राय महिलालाई ‘बुढि भइछ’ भनेको मन पर्दैन भन्छन् तर यिनी भने हाँस्न थालिन् ।
“अँ बुढि भईयो”, उनले थपिन्, “नातिनी त कत्रि भईसकी ।”
नातिनी कत्री भईन भनेर हेर्नलाई उनी त्यहाँ थिइनन् । ठूली नै भईन् होली भनेर अनुमान गरियो ।
“कति, ५० पुग्नु भो ? ” , मैले सोधें । सोधेपछि याद भो, महिलाको उमेर नसोध्नु भनेर । तर, उनी खुल्दै गएकीले सहज भईरहेको थियो । होटलवालीसँग कुरा गर्न बढि सहज हुन्छ । विभिन्न गीतहरूमा पनि त्यस्तो झल्को पाईन्छ ।
“५० त होईन, ३८ देखि ४२ को बीचमा हो ल ।” मनोजले मार्जिन राखेर दाबी गर्यो ।
“४१ भएँ ।”,साहुनीले हाँस्दै भनिन् ।
पारिजातको ‘शिरिषको फूल’ उपन्यासमा एउटा पात्र छ- सुयोग । उसकै सम्झना गराईदियो मनोजले । सुयोगले महिलाको उमेर ठ्याक्कै मिलाउँछ । मनोजले पनि लगभग मिलायो । केटो निकै फरवार्ड भईसकेछ । ड्राइभर त पर्यो ।
हामी पसलमा खाजा खाँदै गर्दा एक झर पानी पर्यो । बाटो चिप्लो बनाउन त्यति पानी पर्याप्त थियो ।
खाजाको बिल तिरेर हामी त्यहाँबाट हिड्यौं । पेटमा छ्याङ बोकेर ओरालो अनि चिप्लो बाटो । ‘सक्किगो नि’ लेख्दा नै पर्याप्त होला ।
जङ्गलको बाटोमा हिँड्दै गर्दा थप पानी परेमा बिजोग हुन्थ्यो । त्यही डर मनमा राख्दै हामी ओरालो झर्यौ । वरिपरि बादल कालो भईरहेको थियो । पानी त पर्ने नै भयो । तर, ओत लाग्ने ठाउँमा पुगे त ठीकै थियो ।
गाउँको बाटो हल्ला गर्दै झरियो । बाटोमा केही महिला पनि भेटिए । उनीहरू डोको बोकेर तलतिरै झरिरहेका थिए । मनोजले गरेको ‘खड्का जी’को क्यारिकेचर रमाईलो लागेछ उनीहरूलाई । दोहोर्याउन लगाए । मनोज पनि के कम । दुईचार डाईलग सुनाईदियो । त्यो ग्रुप त्यतै रोकियो । हामी ओरालो झर्यौ ।
अलि तल चौतारामा आएपछि तीन जना महिलाको अर्को ग्रुप भेटियो । रमाईला खालका ग्रुप रहेछ । मज्जाले बोल्ने । तर उनीहरू माथितिर उक्लिदै गरेका, हामी तलतिर झर्दै गरेका ।
चौतारोमा ढुङ्गाको थान बनाएर त्यहाँमाथि दुईवटा लामा ढुङ्गा ठड्याईएको थियो । एउटा अलि लामो, अर्को छोटो । अघि माथितिर उक्लिँदै गर्दा यो ठाउँबारे कुरा गरेको थिएँ । मनोजले त्यहाँमाथि चढेर फोटो खिच्ने मन गर्यो । मैले ‘देउता’को थाम हुनसक्ने भएकोले नचढ्न भने । महिलालाई सोधेपछि थाहा भयो- चण्डीको थाम रहेछ त्यो । मनोज चढ्न मिल्ने रहेछ भन्न थाल्यो । चण्डीलाई चढ्नी भनेको सुनेछ क्यारे । हालत ठीक भएको भए पो !
ती महिलाले बताए अनुसार, माथि कालिका मन्दिरबाट देवीको फूलप्रसाद ल्याएर यहाँ परिक्रमा गराएर पून: माथि लगिने रहेछ ।
एकछिन रमाईलै भयो । हिँडे पनि तलतिरै, लडे पनि तलतिरै । लड्दैपड्दै ओरालो झरियो । मौसम पूरै अँध्यारो जस्तो थियो । आँखाभरि भएको आँसुजस्तो आकासको पानी कुनबेला दर्कने हो ठेगान थिएन । वारिपारि डाँडामा पानी परेको देखिन्थ्यो ।
जङ्गलको बाटो थोरै हिंड्नेबित्तिकै पानी दर्कियो । पानी पनि सानोतिनो हो र ? बमबर्षक बिमानले बम बर्षाए जस्तो । रूखको ओत लाग्यौं एकछिन । तर खासै काम भएर । पानीको थोपाले रूखको पात नै च्यातिदिएको छ कि जस्तो लाग्ने । पानीको त्यत्रो जोड यसअघि महसुस गरेको थिइनँ । हिड्नेबेलामा माथि पसलकी साहुनीसँग प्लास्टिक मागेका थियौं । मोबाइल र पर्स जोगाउन प्लास्टिक भित्र राखें । पसलमा वास्ता गरिएन, तर प्लास्टिकको तल्लो भाग च्यात्तिएको रहेछ । विकल्प थिएन ।
हामी हिड्न थाल्यौं । एकजना दाजु भेट भए छाता ओडेर बसेका । चिनजान नभए पनि म त्यहीँ घुस्रिएँ । अप्ठ्यारो परेको बेला सबैलाई आफन्त ठानिन्छ ! एकछिन गफ गरेपछि त्यो दाजु र म सँगसँगै ओरालो झर्यौं । म त पहिले नै भिजिसकेको थिएँ । छाता त बहाना मात्रै थियो । ठूलो पानी भरेकाले ती दाजु पनि भिजे । पानी बग्ने र मान्छे हिड्ने बाटो एउटै थियो । धेरैजसो ठाउँमा ढुङ्गाको खुड्किला भएकोले हिड्न निकै अप्ठ्यारो भईरहेको थियो । जिन्स पाईन्ट भिजेको थियो । जुत्तामा पानी पसेको थियो । बाटोमा पानीको बहाबले हिड्न उस्तै गार्हो । खुड्किलामा पानी छचल्किएको आधारमा पाईला राख्नुपर्ने !
साथीहरू छुट्टिएका थिए । मसँग मनोजको मोबाईल र पर्स पनि थियो । पछि अर्को साथीको मोबाइल पनि राखियो । च्यात्तिएको प्लास्टिक एउटा बाहना भएको थियो ।
गाउँमा आईपुगियो । एउटा पसलमा बस्ने योजना भयो । साथीहरू आईपुगे । मनोजलाई देखाउँदै अर्को साथी भन्न थाल्यो, “यसले पाप गरेको थियो । त्यही पाप पखाल्न पानी परेको हो ।” पानीले पखाल्ने के पाप गरेको थियो भनेर चाहीँ उसले भनेन ।
पसलमा चारपाँच जना केटीहरू थिए । बुढामान्छेहरू पनि थिए । तर, ध्यान केटीतिर मात्रै थियो । म अहिले पनि ती केटीहरूको अनुहार सम्झिन सक्छु तर बुढाहरू खासमा कतिजना थिए भन्नेसम्म याद छैन ।
हामी पसलमा हल्लाखल्ला गरिरहेका थियौँ । हाम्रो कुरा सुनेर केटीहरू बेलाबेलामा मुस्कुराउँथे । कपडाको लम्बाइ हेर्दा अलि आधुनिक लाग्ने केटीले मनोजलाई सोधी, “तपाईंको घर कता ?”
“बर्दिबास । पूर्व ।”, मनोजले जवाफ दियो ।
“त्यही भएर बढि बोल्नुहुँदो रहेछ ।”, केटीले जवाफ दिई ।
केटीको जवाफले एक क्षण हाँसो ल्यायो र शान्ति पनि । अब हल्लाखल्ला बन्द भयो ।
पूर्वका मान्छे बढि बोल्छन् र ? मलाई थाहा थिएन । कि, मनोजले जुन ठाउँ भनेर जवाफ दे’को भए नि उही जवाफ आउँथ्यो ?
हामी ओरालो झर्ने सुरसार गर्न थाल्यौं । त्यही दाईसँग छाता ‘सेयर’ गरेर म हिँडे । साथीहरू बिस्तारै आउने भन्न थाले ।
अलि तल आएपछि अर्की केटी भेटिई । यो गाउँमा केटीको सङ्ख्या नै बढि हो या हामीलाई संयोग परेको, म अहिले पनि अचम्म मानिरहेछु । प्रसङ्गमा नआएका अरू एकदुई ग्रुप केटी पनि भेटिएका थिए । यिनी चाहीँ दुईवटा छाता हातमा बोकेर अघिअघि हिड्दैथिईन् । तीनवटै छाता बोकेकी भनौं न । तेस्रोचाहिँ ओडेकी थिई । उनलाई भेट्टाएपछि सोधे, “बेसीशहर जाने हो ?” छाता बोक्नुको साटो मैले ओडेर हिड्दा उपयुक्त हुने अनुमान थियो । उनी चुपचाप बसिन् र हामीलाई बाटो छोडिदिईन् । दोहोर्याएर बोल्नु उपयुक्त थिएन । फेरि जिस्कायो भन्लिन् !!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)