~शान्ति प्रियवन्दना~
१.
थन्कियो धेरै दिन
नाम्लो फलैंचामुनि
नाम्लो थन्किनु यसरी
र बस्नु चुपचाप दबिएर
तिम्रा अध्याँरा जीवनका पाटा
र आर्तनादहरु हुन् हर्कबहादुर दाइ ।
२.
कथन कागको नै जोर्नु पर्ने
जहिल्यै नि संकेत र कटाक्ष गर्दै
पाकेको बेलसंग जोडेर
जोडियौ तिमी
बगायौ पसिना लोकतन्त्रको प्राप्तिमा समेत
र गणतन्त्रको पहरेदार समेत बन्यौ
तर आज लोकतन्त्र मात्र छिप्पिएन
तिमी समेत पाको भयौं
तर,
देश बन्द जहिले नि बन्दकी जस्तै
तिम्रो नाम्लो र फलैंचाको कथा
संगसंगै आउने,
मझेरीसंग जोडिएको चुल्हो
ओदान माथि बसालिने
खाली कसौडीको अनौठो संवाद
खै सुन्न वा धान्न सक्ला र ?
तिम्रो यो जर्जर शरीरले हर्कबहादुर दाइ ?
३.
विपतका कथा अरु पनि जोडिए
काप्यो धर्ती र
हल्लियो तिम्रो घरको जग
प्रकृतिको यो विनास लिला
तिमीलाई समेत हल्लाएर गयो
पखेटा फैलाएर उड्न थालेको
पक्षीजस्तो भएको छ
तिम्रो घरको छाना
ढलेको भए लालावाला सहित
कहाँ ओत लाग्ने थियौ तिमी हँ ?।
४.
मलाई थाहा छ
तिमी गवाह समेत हौ
मुक्ति र स्वतन्त्रताको
कफनको फोटा बाँधेर टाउकोमा
जनयुद्धको नाममा
निस्किएको होनहार सुपुत्र
फर्केर आएन आजसम्म
खाडीबाट बाकसमा बन्द भएर
फर्कियो अर्को छोरा समेत
जवान बुहारी बाटो लागिन्
भाउजु मैचाङ्ग पनि
श्यामश्वेत वर्तमान बोकेर
वेपत्ता छोराको बाटो हेर्दै
ओच्छाएर नजर गोरेटाहरुमा
आफै अस्ताउँदै छिन् सुस्तसुस्त
तर पनि,
भर्दैछौ उनका आँखाहरुमा
रंगीन सपना जसो तसो ।
५.
हरेक साल पर्वमै भए पनि
जुथ्र्यो छाक मीठो मसिनो
सिलिन्थ्यो—
एकसरो नयाँ लुगाफाटो समेत
तव न फक्रिएको देखिन्थ्यो
केटाकेटीको मुहारमा
मुस्कानका फूलहरु
तर यो साल
कोपिलाहरु समेत लाग्नै पाएनन् ।
६.
धेरै पहिल्यै देखी
तिमी जाने गर्दछौ काममा
बोकेर उही आदिम नाम्लो बोकेर
मेरो आगनको बटो हुँदै
तिमीलाई थाहै नदिई
पिछा गर्दै मेरा आँखाहरु समेत
पुग्दछन् तिम्रो दिनचर्या सम्म
र देख्ने गर्दछु
बलिरहेको सडक
लामा गाडीहरुको लस्कर
पैदल मार्च गरिरहेका बटुवाहरु
आपसमै रगतपच्छे भएका
एउटै आमाका सन्तानहरुका साथमा
तिमी पनि भौतारिइरहेका हुन्छौ
त्यही फलैंचा मुनि दविएर रहने
आदिम नाम्लो काँधमा बोकेर ।
७
वेपत्ता वा बाकसमा सजिएर
घर फर्केको जवान छोरो
अबोध लालाबाला र
क्षितिज नियाल्दै टोलाइरहने जहान
सदैव फलैंचामुनी थन्किएर रहने
उही केतुकीको आदिम नाम्लो
यी सबैको संमिश्रण हो तिम्रो जीवन
जव तिमी गोधुलीवेला
कामबाट फर्किरहेका हुन्छौ
मेरै घरको आगन भएर
थकित, क्लान्त र लखतरान हुँदै
म कसरी सोधौं हर्कबहादुर दाइ
दशै तिमी कसरी मनाउँछौ भनेर ?
हेटौडा—४, मकवानपुर ।