छन्द कविता : वृद्ध जीवन

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

जुँगा-दाह्री पाके शिर-वदन सेता हुनगए
दुवै गोडा थाके दिनदिन निहत्थासरि भए
गयो बढ्दै स्वाँस्वाँ लघु कथनमै रुद्ध छ गला
हिँडे भागे टाढा मिलन-सुखका सुन्दर पला ।।

बन्यो ढोकै टाढा कदम पर चाल्नै सकस छ
तुना गाँठो पारी ठिकसित फुकाल्नै सकस छ
भयो साथी लौरो र नजर दुवै धूमिल बने
बने “कन्था” आन्द्रा अनि उदर साह्रो नसहने ।।

सुकी झर्छन् पत्ता हर शिशिरमा पत्कर बनी
नयाँ लाग्छन् पत्ता रनवन सबै सुन्दर बनी
उषा डाक्छन् पन्छी रविकिरणको स्वागत गरी
जवानीका पाना पछितिर फिरेनन् किन हरि !!

जवानीमा भोकै रनवन चहार्दै दिन गए
बुढौलीमा खाने रहर मुखमै बञ्चित भए
“मरेँ ! ऐयाऐया ! अहँअहँ” विलौना भजन छन्
हरे ! “पानी ! पानी !!” द्रवित मन पार्ने कथन छन् ।।

भज्यो “बाबाआमा !” तर मरिसके ती विगतमा
भन्यो “छोराछोरी !” तर हिँडिसके ती इलममा
जता फर्क्यो भित्तो अतिशय कडा बन्धन भयो
विसौनीको थोत्रो अफल तरु झैं जीवन भयो ।।

कहाँ भागी अल्पे रसिक र सहेली मुखहरू
कहाँ भागे मेरा रसमय जवानी सुखहरू ?
हरे ! फोकाजस्तै भ्रममय कहानी किन बन्यो
हुनै पर्थ्यो बूढो क्षणभर जवानी किन बन्यो ?

हिजोका चल्ला ती नगद-घरका मालिक बने
पिता, माता हार्दै पथ-सडकका सालिक बने
भिखारीको जस्तै नजिक जनबाटै रिस हुने
नबोलेमा सास्ती शुभ वचन बोले विष हुने ।।

मिलेमा फर्कन्थेँ सुलभ वयको शैशव-तिर
म फक्रन्थेँ बन्थेँ प्रणय-सुखको “पोख्त अमिर”
हरे ! वैलाएको तृणसरि बनायो खटनले
धकेल्यो छायाले नजिकतिर डाक्दै छ वनले ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.