भलाकुसारी : साहित्यिक पत्रिकालाई विज्ञापनमाथि बन्देज लागेको छ – रोचक घिमिरे

~हरिगोविन्द लुइँटेल~

साहित्यिक पत्रकारिताका प्रमुख समस्याहरु के हुन् ?

– साहित्यिक पत्रकारिताका मुख्य समस्या दुईटा छन्, ती हुन्– विज्ञापन र वितरण । विज्ञापनमा बन्देज लागेको छ साहित्यिक पत्रिकालाई । सरकारले पनि यिनलाई विज्ञापन दिँदैन, व्यापारिक संस्थानहरुले पनि यिनलाई विज्ञापन दिंदैनन् । पत्रिकाको मूल आर्थिक स्रोत नै विज्ञापनलाई मानिन्छ । तर विज्ञापनबाट साहित्यिक पत्रिकाहरुलाई जसरी वञ्चित गरिएको छ । त्यसैगरी साहित्यिक पत्रिकाहरु निरर्थक हुन् पुगेका छन् । यिनको कुनै उपादेयता नै छैन, यस्तालाई संरक्षण गर्नु राष्ट्रिय साधनको दुरुपयोग गर्नु हो भन्ने जङ्गली विचार हाम्रो राष्ट्रका नीति निर्माताहरुमा आज पनि कायम नै छ । त्यसैको शिकार भइरहेका छन् साहित्यिक पत्रिकाहरु ! त्यस्तै वितरण पनि अर्काे मुख्य समस्या हो साहित्यिक पत्रिकाहरुको । पत्रिका छाप्यो आफैँ झोलामा बोकेर बाँड्यो, वितरण ग¥यो यस्तै स्थिति छ हाम्रा साहित्यिक पत्रिकाहरुको । एउटा भरपर्दाे वितरण संस्थाको अभावमा विक्रेताहरुलाई बेच्न दिएका पत्रिका बिकेर पनि प्रकाशकले पैसा पाउँदैन । अधिकांश पत्रिका विक्रेताहरु साहित्यिक पत्रिकाको पैसा दिनै पर्दैन भन्ने मानसिकताले ग्रस्त छन् । साहित्यिक पत्रिकाको हित चिन्तक, विश्वास गर्न लायक भरपर्दाे वितरण संस्थाले पत्रिका वितरणको चाँजो मिलाइदिने हो भने साहित्यिक पत्रिकाको सङ्कट अधिकांश मात्रामा हट्ने थियो ।

अहिले नेपाल साहित्यिक पत्रकार सङ्घले के काम गर्दैछ ?

– सरकारबाट साहित्यिक पत्रिकाहरुप्रति गरिने भेदभावको अन्त्य गरी तिनलाई तिनका हक अधिकार प्राप्त गराउन प्रयत्नरत छ, नेपाल साहित्यिक पत्रकार सङ्घ । नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको साहित्यिक पत्रिका सहयोग कोष रोकिएको तीन वर्ष देखिको सहयोग रकम फुकुवा गराउन प्रयत्नशील छ सङ्घ । यस निम्ति प्रज्ञामा नयाँ मूल्याङ्कन समिति बनेको छ र त्यसमा सङ्घका तर्फबाट शारदाका प्रधान सम्पादक नरेन्द्रबहादुर श्रेष्ठलाई प्रतिनिधि बनाइएको छ ।

साहित्यिक पत्रिकालाई पति प्रेस काउन्सिलले वर्गीकरण प्रकृयामा सामेल गरोस भन्ने माग पुरा गराउन सङ्घ सफल भएको छ । सबै साहित्यिक पत्रिकाहरुलाई हुलाक दर्ता दिइयोस्, साहित्यिक पत्रकाहरुलाई प्रेस पास उपलब्ध गराइयोस् भनेर सञ्चार मन्त्रालयहरुलाई घच्घच्याउने काम पनि गरिरहेको छ नेपाल साहित्यिक पत्रकार सङ्घ । साहित्यिक पत्रकारिताको मापदण्ड निर्धारित गर्न पनि प्रयत्नशील छ सङ्घ र यस निम्ति एउटा समिति पनि बनाइएको छ– वरिष्ठ साहित्यकार र साहित्यिक पत्रकारहरु सम्मिलित भएको ।
नेपालका साहित्यिक पत्रिकाहरुको एक मात्र आधिकाकि संस्था नेपाल साहित्यिक पत्रकार सङ्घ नै भएको हुँदा सबै साहित्यिक पत्रकारहरुलाई यसकै छहारीमा समेट्न प्रयत्नशील छ नेपाल साहित्यिक पत्रकार सङ्घ । यस निम्ति सदस्यता सङ्ख्या वृद्धि निम्ति पनि सङ्घ कार्यरत छ । हेटौँडामा कात्तिक १६ गते साहित्यिक पत्रकारिता गोष्ठी, सङ्घकै सकृयतामा सम्पन्न भएको छ । यसलाई मकवानपुर साहित्य सङ्गमले सघाएको हो । सारांशमा साहित्यिक पत्रकार र साहित्यिक पत्रिकाहरुको हक हित सुरक्षित पार्न र तिनीहरुप्रति राज्यबाट गरिने विभेद मेटाउन सङ्घर्षरत रहेको छ नेपाल साहित्यिक पत्रकार सङ्घ ।

प्रेस काउन्सिलले बनाएको साहित्यिक पत्रिकाहरुको वर्गीकरण मापदण्ड कस्तो लाग्यो ?

– साहित्यिक पत्रिकाहरुको वर्गीकरणको मादपण्ड बनाइनुपर्छ भनेर धेरै दिन देखि साहित्यिक पत्रकारहरुले उठाएको आवाजलाई प्रेस काउन्सिल नेपालले सुनुवाई गरेकोलाई सकारात्मक ठान्नु पर्दछ । तर त्रैमासिक सम्मलाई मात्र वर्गीकरण प्रकृयामा सामेल गराउने नीति आलोच्य रहेको छ । यहाँ चार महिने र ६ महिने पनि छन् साहित्यिक पत्रिका तिनलाई पनि वर्गीकरण प्रकृयामा सामेल गराइनुपर्दछ । वार्षिक अङ्क प्रकाशनमा मासिक र द्वैमासिकलाई अङ्क छुट दिए जस्तै त्रैमासिकलाई पनि दिनुपर्छ । यसो नगर्दा त्रैमासिक पत्रिकालाई अन्याय पर्न गएको छ । आजसम्म राज्यले र प्रेस काउन्सिलले कुनै सहयोग नै नगरेर निजी क्षेत्रले आफ्नै बलबुतामा निकालेका पत्रिकाहरुले प्रेस काउन्सिलमा लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान पनि तर्क सम्मत छैन । पहिलोपटक वर्गीकरणमा सामेल हुनेहरुलाई त्यस्तो झन्झटबाट मुक्त गराइनु उपयुक्त हुन्थ्यो । काउन्सिलको वर्गीकरणमा परेर विज्ञापन र सहयोग प्राप्त गर्न थालेपछि अर्काे वर्षदेखि मात्र लेखा परीक्षण रिपोर्ट पेस गर्न सक्ने नियम बनाएको भए उचित हुन्थ्यो ।

साहित्यिक पत्रकारितालाई कसरी परिभाषित गर्नु पर्दछ ?

– कथा, कविता, नाटक, एकाङ्की, संस्मरण, समीक्षा, लेख, निबन्ध आदि समेटिएको पत्रिका प्रकाशित गर्ने सम्पादित गर्ने व्यक्तिहरु साहित्यिक पत्रकार हुन् । त्यस बाहेक विभिन्न सञ्चार माध्यमहरुमा नियमितरुपले साहित्यिक स्तम्भ लेखेर साहित्यिक पत्रकारितालाई सघाउने व्यक्तिहरु पनि साहित्यिक पत्रकार नै हुन् । टेलिभिजन, रेडियो, एफएम आदि साहित्यिक कार्यक्रमका प्रस्तोताहरुलाई पनि साहित्यिक पत्रकार मान्नु उपयुक्त हुन्छ । वेभ साहित्यिक पत्रिका निकाल्ने सम्पादनहरु पनि यसै घेरामा पर्दछन् ।
नेपाल साहित्यिक पत्रकार सङ्घको सहभागिता कुन कुन ठाउँमा किन रहनुपर्दछ ?

– प्रेस काउन्सिल नेपाल पत्रकार महासङ्घको सभापति पदेन सदस्य रहने नियम छ भने साहित्यिक पत्रकारितामा पनि त्यस्तै हुनु न्यायोचित हुन्छ । साहित्यकारहरुको उत्पादनशाला भनेको नै साहित्यिक पत्रिकाहरु हुन् । अतः नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि नेपाल साहित्यिक पत्रकार सङ्घको प्रतिनिधित्व हुनुपर्दछ । प्रतिलिपि संरक्षण सम्बन्धी निकायमा र नेप्रप्रको साहित्यकार उपचार कोषमा पनि नेसापसको प्रतिनिधित्व हुनुपर्दछ । यसैगरी सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सबैमा र साझा प्रकाशनमा हुनुपर्छ ।

पाठ्यक्रम निर्माण गर्ने निकायमा, विश्वविद्यालय सभाहरुमा पनि सङ्घको प्रतिनिधित्व आवश्यक छ । विदेश जाने प्राज्ञिक शिष्ट मण्डलहरुमा, राष्ट्राध्यक्षहरुका भ्रमण दलमा सङ्घको सहभागिता अनिवार्य रुपले हुनुपर्दछ । राष्ट्रिय चेतनाको सम्बाहक मानिएका साहित्यिक पत्रकारहरुको एक मात्र आधिकाकि संस्थाको प्रतिनिधित्व उपयुक्त निकायहरुमा हुनु स्वाभाविक त हुँदै हो न्यायोचित पनि हुनेछ । संस्कृति र सञ्चार सम्बन्धी नीति नियम निर्माण गर्ने कुनै पनि निकाय, आयोग, समिति आदिमा नेपाल साहित्यिक पत्रकार सङ्घलाई पनि सहभागी गराइनु पर्दछ ।

साहित्यिक पत्रिकाको सम्पादन कुशलता कसरी बढाउन सकिन्छ ?

– विश्व साहित्यका आधुनिक धारा प्रवृत्ति र परिधिसँगको परिचयका साथै आफ्नो वाङ्मयसँग राम्रो जानकारी सम्पादन शिल्पीमा हुनु अनिवार्य शर्त हो । पाठकीय रुचिलाई ठम्याई तदनुरुप तिनको बौद्धिक तिर्खा मेटन् सक्षम सामग्री प्रस्तुत गर्ने प्रयत्न गर्नु सम्पादकीय कर्तव्य पर्दछ । आफ्नो समाज, आफ्नो परिवेश र आफ्नो माटोको सुवासप्रति गर्ववोध हुने सामग्री, आफ्नो पत्रिकामा सजाउन सके सम्पादन क्षमता सार्थक मान्न सकिन्छ । भाषा, व्याकरणको आधिकारिक जानकारी र लेखन शिल्पमा देखिने दक्षताले सम्पादन कौशलको परिचय दिन्छ । राष्ट्रका वेथिति, भ्रष्ट नीति, दुष्कर्म र दुराचारलाई आफ्नो कलमले झ्याँको झार्नु, निडर भएर जनता र राष्ट्र विरोधी राजनीतिक आचारलाई नङ्ग्याउन नछोड्नु पनि सम्पादकीय कर्तव्य र कुशलता भित्रै पर्दछ भन्ने मलाई लाग्दछ ।

नेपालको साहित्यिक पत्रिकाको सङ्क्षिप्त इतिहास कस्तो रहेको छ ?

– मोतीराम र उनका अनुयायी निस्वार्थ साहित्य सेवीहरुका रगत पसिनाको मल जल पाएर हुर्किएको तर नीति निर्माता, सत्ता र राजनेताहरुद्वारा अनुत्पादक भनेर हेला गरिएको नेपालको साहित्यिक पत्रकारिता अथवा साहित्यिक पत्रिकाको सङ्क्षिप्त इतिहास यही नै हो ।

– रोचक घिमिरे, अध्यक्ष, ने.सा.प.सङ्घ

(साभार : प्रेस काउन्सिल नेपालको ‘संहिता’ साउन–असोज २०६६)

This entry was posted in साहित्यिक भलाकुसारी and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.