~राधा कार्की~
वर्षौं वर्षदेखि उभिएको
फलामे पर्खाल
विद्यमान थियो
जनमानसमा त्राही–त्राही मच्चाउँथ्यो
मान्छेका सपना र मुटुहरू लुछ्थ्यो
मान्छेका रहर र आकाङ्क्षाहरू खोस्थ्यो
मान्छेलाई दबाउन अनेकौँ प्रपञ्च रच्थ्यो
यति सम्मकी हावाको बेगलाई
उल्टो दिशामा हिडाउँछु भन्थ्यो
फलामे पर्खाल
मान्छे चुपरहे पनि
मान्छेको मन चुप थिएन
मान्छेले हात बाँधेर धैर्य देखाए पनि
मान्छेको भित्री चेतना उत्कर्षमा थियो
फलतः मनहरूको जुलुसले
फलामे किल्ला ध्वस्त पारेरै छोड्यो
मान्छेको बस्तीमा
यसरी खुसीको द्विप बल्यो
र, मान्छेहरूले त्यो परिवर्तनकारी
हावाको बेगलाई सलाम गर्दै
फेरि फलामे पर्खालको
अनिष्ट नपरोस् भनेर
प्रतिरक्षाको निम्ति
एक ढिका हुने प्रण गरे !
(स्रोत : इ-मुल्यङ्कन डट कम)