~सुवास खनाल~
उसको आँखामा
मैले
जीवनको उद्गम कथा पढेँ
उसको खुसी फुल्ने मुहारमा
म मुस्कुराएँ
रोइदिएँ र खसिदिएँ उसका आँखाहरुदेखि
तोतेबोलीमा लर्बरिएँ बनेर जिब्रो
कमजोर हिँडाइका पदचापहरुमा
लडेँ कैयौँपटक
उसको घुँडामा लाग्ने चोट म नै हुँ
उसको दुख बस्ने मनको कुना
मेरो प्राकृतिक दुस्मन हो
धरती सोच्दछु काख जब खेल्दछ ऊ यहीँ
आकाश सम्झिन्छु छाती जब टाँसिन्छ प्रेमको पर्चाझैँ ऊ
अग्लिन्छु कुनै हिमालको उचाइ जब चढ्दछ ऊ मेरो काँध
सम्झिन्छु जीवनको दोष
जब हिर्काउँछ ऊ कमजोर पञ्जाहरुले मेरो गाला
उसले बोलेको पहिलो शब्द
मेरो अतिरिक्त ज्ञान हो
उसले लेखेको प्रारम्भिक अक्षर
मेरो खुसीको तस्वीर हो
उसले फेर्ने श्वास मेरो श्वासको रङ्ग हो
मेरो मन–आकासमा उड्ने चरा
उसका रहरका शृङ्खला हुन्
मेरो मन–बगैँचामा फुल्ने फूल
उसको ओठमा फक्रिने मुस्कान हो
मेरो जीवन बहारमा बसन्तको बतास
उसले गाउने तोते गीत
मैले
उसको अनुहारमा
आफ्नो पुर्खाको इतिहास पढेँ
मैले
उसको आँखामा
जीवनको उद्गम कथा पढेँ
छतिवन 0८,पावस, मकवानपुर
हाल : भरतपुर चितवन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)