~निर्मोही व्यास~
निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन् हो संस्मरण । यो उत्खनन् कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ । अझ त्यो किस्ताबन्दी पनि सिल्सिलेवार ढङ्गको हुन्छ वा हुनुपर्छ भन्ने पनि केही छैन । एकदम विशृङ्खलित तवरमा पनि हुन सक्छ । अनि हुन सक्छ पनि किन भन्नु ! प्रायः हुन्छ नै त्यस्तै। त, आज उत्खनन गरिन लागेको मेरो अतीत-प्रसङ्ग अतिथिसत्कारसित सम्बन्धित छ । झन्डै पचास वर्ष पुरानो प्रसङ्ग हो यो मेरो स्मृतिको भण्डारमा जीवन्त रूपले सञ्चित रहेको । त्यसको बेलिबिस्तार रिट्ठो नबिराई यसप्रकार छ – दुई हजार बीस/एक्काइस सालतिरको कुरा हो । म त्यस्तै दस/एघार वर्षको थिएँ । महिना मङ्सिर, पुस वा माघ खै कुन चाहिँ थियो कुन्नि, जाडो आफ्नो चरम विन्दुमा उक्लेको थियो । घाम अस्ताइसकेको थियो र साँझबत्ती बाल्ने तर्खरमा जुट्न थालिसकेका थिए, मेरो गाउँघर कलैया, भवानीपुरका छोरी, बुहारी र गृहिणीहरू । म आफ्नो घरदेखि त्यस्तै तीन-चार घर दक्षिणतिर धुले मूलसडकमा छिमेकी दौँतरीहरूसित गफगाफ र उफ्रीपाफ्रीमा मग्नमस्त थिएँ केहीबेरदेखि । हाम्रो उफ्रीपाफ्रीको समापन हुनैहुनै लाग्दा कुममा गह्रौं धोक्रे झोला झुन्ड्याएका दुई जना अधबैँसे पहाडे पुरुष पूर्वतिरबाट मूलसडकैसडक हामीछेउ आइपुगे । मैलोले काती परेका ठस्ठसी गन्हाउने कमेज-सुरुवाल-इस्कोट, कालो टोपी र कपडाको थोत्रो जुत्ता लगाएका थिए उनीहरूले ।
सडकमा त्यतिखेर हाम्रो बालमण्डलीबाहेक अरू ठूलो उमेरका मान्छेको उपस्थिति थिएन । सबै जना आ-आफ्नो घरभित्र पसिसकेका थिए । त, ती दुई नवआगन्तुकले हाम्रो मण्डलीसित कुनै घरमा बासको चाँजो मिलाइदिन अनुरोध गरे बिन्तीको पाराले । हामी आ-आफ्नो घरका घरमूली नभएर अभिभावकमा आश्रति केटाकेटी थियौँ । त्यसैले साथीहरूले त्यसै पाराको जबाफ दिएर आ-आफ्नो घरको बाटो तताए तर मेरो मन-मुटुले भने त्यस मध्यजाडो यामको झम्के साँझमा बासको लागि दयनीय पाराले याचना गरिरहेका ती परदेशी बबुराहरूलाई निरूपाय अवस्थामा बीच सडकमा त्यतिकै बिल्लीबाठ हुने गरी छोडेर निठुरी भई टिम्टिम परिहाल्न कसै गरी पनि सकेन ।
‘अतिथिदेवो भव’ अर्थात् अतिथिलाई देवता मान्ने होऊ भन्ने त हामी सनातनीहरूको ऋषिवचन वा नीतिवचन नै छ । त्यसैले अतिथिसत्कार एक त हाम्रो समाजकै परम्परागत संस्कार, त्यसमाथि झन् स्वभावैले पनि अतिथिपरायण, उदारमनका र ऋषितुल्य हुनुहुन्थ्यो मेरो बाबा । त्यसो हुँदा हाम्रो घरमा अतिथि-अभ्यागतको अनिकाल कहिल्यै हुँदैनथ्यो । ती अतिथिहरू के पहाड, के तराई, सबैतिरका हुन्थे र विभिन्न वर्ण र जातका हुन्थे । अझ कहिलेकाहीं त भारतको बिहार र उत्तर प्रदेशतिरका साधु-महात्मा, योगी-सन्न्यासी र पण्डाहरू पनि एक्लै वा दुई-चारको सङ्ख्यामा देशाटन-भिक्षाटनका क्रममा हामीकहाँ बास बस्ने गरी बिहानै, दिउँसै, बेलुकै जति बेला पनि टुप्लुक्किन्थे । यसरी अतिथिदेवताहरूको दर्शन र सक्तो सेवा-सत्कार गर्ने सौभाग्य हामी उहाँका सन्तानहरूलाईर् पनि पारिवारिक र आनुवंशिक संस्कारकै अभिन्न अङ्गका रूपमा नै मिल्दै आयो बालककालदेखि नै । मान्छेको जीवनमा वरिपरिको वातावरण र सामाजिक संस्कारले त प्रभाव पार्छ पार्छ, घरेलु वातावरण र पारिवारिक संस्कारले झन् बढी प्रभाव पार्छ । त्यसमाथि उसको शैक्षिक पृष्ठभूमि र परिवेश अनि उसले आर्जन गरेको ज्ञानसम्पदाको पनि उसको चेतनाको स्तर निर्माणमा उत्तिकै ठूलो भूमिका रहन्छ भन्ने लाग्छ मलाई ।
म त्यसताका स्थानीय सिद्धेश्वर संस्कृत महाविद्यालयमा प्रथमामा पढ्थेँ । पाठ्यपुस्तकहरूमध्येको संस्कृतको बालोपयोगी सरल आख्यानात्मक नीतिग्रन्थ हितोपदेशमा “अतिथिर्यस्य भग्नाशो गृहात्प्रतिनिवर्तते । सः तस्मै दुष्कृतं दत्वा पुण्यमादाय गच्छति” भन्ने श्लोक पढ्न पाएको थिएँ ।
‘यदि कसैको घरबाट कुनै अतिथि निराश भएर र्फकन्छ भने त्यतिबेला उसले आफ्नो भएजति पाप त्यही घरधनीलाई दिन्छ र उसको भएभरिको पुण्य आफूले लिएर जान्छ’ भन्ने अर्थ बोकेको त्यस श्लोकले पनि कम्ती गहिरो प्रभाव पारेको थिएन मेरो बालमस्तिष्कमा भने त्यसमाथि झन् महर्षि व्यासको वचन ‘परोपकारः पुण्याय पापाय परपीडनम्’ ले र महाकवि देवकोटाको मुना मदनको ‘मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ’ र ‘मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो’ जस्ता सूक्तिले पनि अझै बलियोसित थपथाप गरिदिएका थिए । त्यसैले मैले त्यस साँझ ती आशामुखी दुई जना परदेशीलाई निराश पार्न चाहिनँ र “हिँड्नोस्, मेरो घरमा जाऔँ” भनी साथै ल्याएर घरमा भित्रयाएँ ।
अँ त, उनीहरूलाई त्यसरी घरमा ल्याएर बाबाआमासित भेट गराएपछि आगन्तुकहरूले पनि आफू, आफ्नो गाउँठाउँ र समस्याबारे बेलिबिस्तार लगाउँदै रात्रिवासका निम्ति उहाँहरूसित अनुनयको पारामा अनुरोध गरे । एक त पाहुनाको नियमित स्वागत-सत्कारमा आनुवंशिकरूपमा अभ्यस्त हाम्रो घरपरिवार, त्यसमाथि मध्यजाडो यामको झम्के साँझका पाहुना, त्यसैले उनीहरूको अनुरोध बाबाआमाबाट अस्वीकृत हुने त कुरै कहाँबाट आउँथ्यो र ? सहजै लालमोहर लागिहाल्यो । बाबाआमाको भेउ पाएकोले ‘यस्तै हुन्छ नै’ भन्ने पक्कापक्की लागेरै त मनले जितेरै मैले पनि त्यसरी साँझमा चिन्नु न जान्नुका बटुवालाई पाहुना बनाएर घरमा सरासर ल्याउने आँट गरेको थिएँ नि त । जे होस्, अब उनीहरू हाम्रो घरपरिवारका आदरणीय अतिथि भए । अँ, कहिल्यै देख्नु न चिन्नु न जान्नुका मान्छेहरूलाई बाटोबाट आफूले बोलाएर घरमा ल्याई अभिभावकहरूबाट निर्विरोध र अझ सर्वसम्मतरूपले पाहुना तुल्याउने स्वीकृति पाएकोमा म मनमनै गर्वले चुलिएँ पनि एक छिन । त्यस घटनाबाट मलाई अब म पनि एकाएक वयस्क भएछु र घरमा मेरो पनि बोली बिक्ने भएछ, त्यो पनि पीठोको भाउमा नभएर खसोखास मसिनो चामलको भाउमा भन्ने लाग्यो । त्यसैले आफ्नो उमेर, उँचाइ र व्यक्तित्व अचानक छिनको छिनमै हृवात्त बढेको समेत अनुभूति भयो मलाई ।
नाउँ र थर चाहिँ मैले बिर्सें । बर्माका प्रवासी नेपाली रहेछन् उनीहरू र अहिले उतैबाट आफ्नो पुर्खौली थलो मन्थली गाउँ जान नेपाल भित्रिएका रहेछन् । त्यो मन्थली गाउँ चाहिं रामेछापको हो वा मकवानपुरको खै कहाँको चाहिं पो भनेका थिए ती अतिथि देवताहरूले अहिले मलाई ठ्याम्मै हेक्का छैन । भारतीय रेलबाट रक्सौल स्टेसनमा ओर्लेर वीरगन्ज आई त्यहाँबाट सोझो बाटो लाग्नुपर्ने मान्छे भुलेर एक स्टेसन पर आदापुरमा ओर्ली त्यहँादेखि उत्तरको बाटो चार कोस हिँडेर वीरगन्जभन्दा तीन कोस पूर्वको कलैया आइपुगेका रहेछन् उनीहरू ।
जे होस्, आमाले गच्छेअनुसार खस्रो-मसिनो पकाएर श्रद्धासाथ खुवाउनुभयो । खानपिनपछि बाबाले आफ्नो खाटमाथि खप्टेर ओछयाइएका केही जोर अतिरिक्त दरी, राडी र डस्नाहरूमध्येबाट एकेक जोर सरक्क झकिेर भुइँतलामा भर्याङको छेउमै राखिएको ठूलो खाटमा सुकुलमाथि ओछयाई बुट्टे तन्ना हालिदिएर र बाक्लो सिरकसमेत राखिदिएर सुकलाको राम्रो बन्दोबस्त मिलाई अतिथि देवताहरूको स्वागत-सत्कार बडो मनोयोगले गर्नुभयो । उनीहरू तृप्तिका साथ निदाए । हाम्रो परिवार पनि पुण्यार्जनको अनुभूतिले अभिभूत भयो । म र मभन्दा तीन वर्षमुनिको माहिलो भाइ शुकदेव मट्टीतेलले बल्ने र खुब ध्वाँसो फाल्ने डिबियाको कमलपित्तले गाँजेको पहेँलो ज्योतिको मधुरो उज्यालोमा छेउकै टेबुल-कुर्सीमा बसेर केही छिन लेखपढ गरी चोटाको आफ्नो ओछ्यानमा गएर सुत्यौं । कलैयामा त्यसताकासम्म त के, त्यसको झन्डै एकदशक पछिसम्म पनि बिजुली पुगेको थिएन ।
घरका हामी पूरै परिवारै ब्राहृममुहूर्तमा नै उठेर आ-आफ्नो नियमित दिनचर्यामा लाग्थ्यौँ । तदनुसार भोलिपल्ट बिहान बाबा सदाझैँ साढे तीन-चार बजेतिर उठेर दैलैछेउको इनारमा नुहाइवरी मझेरीको उत्तरपूर्वी कुनामा रहेको पूजाचौकामा बसी आफ्नो नित्य पाँच-छ घन्टे पूजापाठमा मग्न हुनुभयो । ब्रतबन्ध भइसकेका हामी दाइभाइ पनि आफूहरूलाई बाबाले आफू नुहाउन जाँदा उठाएर सँगै नुहाउन लगाई पूजाचौकाको नजिकै पढ्न बसाउने सधैँको दैनिकीअनुसार नुहाएर गायत्री जप गरी पढ्न थाल्यौँ । आमा बिहान भकारो सोहोर्ने, दैलो पोत्ने, बढारकुँढार गर्ने, नुहाइधुवाइ गर्ने, जप गर्ने, गाई दुहुने अनि भान्सामा पसेर चुलो धुवाँउने, दूध तताउने र भात बसाल्ने आदि आफ्नो निर्धारित दिनचर्यामा लाग्नुहुन्थ्यो । त्यस दिन पनि दैनिकीको क्रमानुसार बेला भएपछि उहाँले दूध तताउनुभयो । साढे छ बजेतिर पाहुनाहरू ब्यूँझेर नित्यक्रिया सकी बाटो लाग्न हतारिए । आमाले एकेक गिलास तात्तातो दूध खान दिएर उनीहरूलाई बिदा गर्नुभयो ।
उनीहरू बाटो लागेपछि बाबाको आदेशमा हामी दाजुभाइले अघिल्लो राति बाबाले आफ्नो खाटबाट झिकेर सरक्क गुट्मुट्याएर ल्याई पाहुनाहरूलाई ओछ्याइदिएका दरी, राडी, डस्ना, तन्ना र सिरक उनीहरू सुतेको खाटबाट एकेक गरी उठाएर टक्टक्याइवरी फेरि बाबाको खाटमा नै लगेर ओछ्याइदिन थाल्यौँ । त्यसक्रममा ती टक्टक्याइन थालेका दरी, राडी र डस्नाका विभिन्न पत्रबाट पाँच, दस र सयका समेत केही कम्पनी र नेपाली नोटहरू झरेर मझेरीमा बिस्कुनझैँ छरिए । हामीले बटुलेर गनिहेर्यौँ । छ सय कम्पनी र एक सय पैंतीस नेपाली नोटहरू रहेछन् । तराईतिर नेरुको प्रचलन एकदमै थोरै र भारुको प्रचलन चाहिँ व्यापकरूपमा थियो त्यसताक । अनि त्यस ताका पनि ने.रु.-भा.रु.को सटही दर अहिले जस्तै एक सय साठी नै प्रचलित थियो । त्यस हिसाबले छ सय भारुको नौ सय साठी र नेपाली एक सय पैँतीससमेत गरी जम्मा एक हजार पन्चान्नब्बे अर्थात् पाँच कम एघार सय रुपियाँ थियो त्यहाँ । हामीले उतिखेरै रुपियाँको गुजुल्टो बाबालाई देखाउँदै त्यो पाहुनाहरू सुतेको ओछ्यानबाट झरेको कुरा पनि सुनायौँ । मौन धारण गरेर जपमा लीन हुनु भएका बाबाले हाम्रो कुरा सुन्ने र रुपियाँ देख्नेबित्तिकै हत्तपत्त आचमन गरेर अत्तालिंंदै भन्नुभयो- “ओहो बाबू, राति सुतेका पाहुनाहरूको रुपियाँ छुटेछ । कस्ता सोझा रहेछन् बिचराहरू ! सुत्ताखेरि खल्तीबाट झिकेर सिरानमुनि बिछ्यौनाको पत्रमा घुसारेका रहेछन् क्यारे । उठेपछि बिर्सेर हतारिंदै बिदा भइहाले । वीरगन्ज जाने भन्थे । अहिले बसपार्क पुगे कि अथवा बाटैतिर पो छन् कि । ललल झट्टै दौडेर पुर्याउन गइहाल बाबू हो ! तिनीहरूलाई भेटेर तिनको नासो जिम्मा लगाइदिहाल । जान ढिलो भयो र तिनीहरू भेटिएनन् भने ती चिन्नु न जान्नुका बटुवाहरूलाई पछि फेरि कहिले, कहाँ, कसरी फेला पार्नु र जिम्मा लगाउनु ? एक त अर्काको धन, त्यसमाथि पनि आफूकहाँ राति शरण परेर बास बसेका बिचरा परदेशीहरूको, राख्न हुँदैन, घनघोर पाप लाग्छ ।” साथै “कठै ! कस्ता हुस्सू रहेछन् परदेशमा आफ्नो रुपियाँपैसाको हिफाजत गर्न पनि बिर्सने । कहाँ पुग्नुपर्ने मान्छेहरू, खल्तीमा अरू बाटोखर्च पनि छ कि छैन होला बबुराहरूसित ! अब भेटिएनन् भने पर्दैन त तिनीहरूलाई ठूलै आपत् ?” भन्दै चुक्चुकाउनसमेत थाल्नुभयो उहाँ ।
बाबाको वचन भुइँमा र्झन नपाउँदै हामी दाजुभाइ हुरी भएर कुद्यौँ घरदेखि त्यस्तै दस मिनेट जतिको पैदल दूरीमा रहेको बसपार्कतिर । बाटामा कतै भेटिएनन् उनीहरू । हस्याङ्फस्याङ् गर्दै बसपार्कमा पुग्दा वीरगन्ज जाने एउटा बस भरिभराउ भएर घार्रघुर्र र घाइँघुइँ गर्दै गुड्ने तर्खरमा रहेछ । हत्तपत्त अगाडिको ढोकाबाट भित्र छिरेर आँखा घुमायौँ सिटसिटमा । एउटा सिटमा देखापरे हाम्रा पाहुना र भाइको दाहिने हातको मुठीमा कस्सिएर रहेको रुपियाँको गुजुल्टो उनीहरूतिर बढाउँदै भन्यौं हामीले-“इः तपाईंहरूको रुपियाँ ओछ्यानमा छुटेको रहेछ, त्यही पुर्याउन हामी दौडिंँदै आएका । तै कसो भेट भइहाल्यो, लौ लिनोस् ।” हाम्रो यस कुराले उनीहरू एकछिन अक्मकिए, टोलाए । हामीले ठान्यौँ साँच्चैका हुस्सू त रहेछन् नै साथसाथै विचित्रका जीव पनि रहेछन् यिनीहरू । आफ्नो त्यतिका रुपियाँ बास बसेको ठाउँमा बिर्सेर हिँड्ने अनि बासधनीहरूले मायाले कुदाकुद गर्दै बसभित्रै ल्याएर दिन लाग्दा पनि टोलाउने ।
एकछिनको टोलाइपछि “ए, हाम्रो रुपियाँ छुटेको पो रेछ हगि ? लौ त देऊ” भन्दै एक जनाले हात पसारे । उनीहरूको त्यो नासो सकुशल उनीहरूलाई सुम्पिदियौँ हामीले र त्यसो गर्न पाउँदा काउसोबाट मुक्ति पाएझैँ हलुका र हाइसञ्चोको अनुभूति गरेर फुरुङ्ग पर्दै घर फक्र्यौं हामी । घरमा भित्रिनासाथ बाबाले व्यग्रतापूर्वक सोध्नुभयो-“फेला परे त बाबू, पाहुनाहरू ? जिम्मा लगाइदियौ त तिनीहरूको नासो ?” हामीले सबै बेलिबिस्तार लगाएपछि बाबाको अनुहार पनि उज्यालो भयो सन्तोषको भाव सल्बलाएर र सहानुभूतिपूर्वक भन्नुभयो-“बिचराहरू !”
कुरा आयो, गयो, सिद्धियो ।
त्यसै दिन एघार बजेतिर भातसात खाएर एक छिन आराम गरेपछि बाबालाई माल अड्डामा जानुपर्ने थियो खेतीको जग्गा किनेर रजिस्ट्रेसन पास गर्न । भर्खर पाँच-सात दिनअघि मात्र घरदेखि उत्तरतिर दुई कोस जति टाढा बेलवाडीह श्रीपुुर भन्ने ठाउँमा रहेको एक बिगाहा अब्बल धानखेत बेचिएको थियो आफैंले कमाएको । टाढा भएकाले आफूले हेरविचार गर्न गाह्रो भयो, अलि नजिकै कतै किन्ने भनेर । अब अर्को खेत हेरेर, मन पराएर मोलतोल पनि छिनिसकिएको थियो । जग्गाधनीका हातमा रुपियाँ राखिदिन र अड्डामा गएर रजिस्ट्रेसन पास गर्न मात्र बाँकी थियो र आजभोलिमै त्यो काम छिन्नु थियो । जग्गाधनीले ‘मलाई पैसाको निकै खाँचो परेको छ, जतिसक्तो चाँडो चाहिएको छ, त्यसैले आजै पास गरिहालाँैं अहिल्यै पास गरिहालौंँ,’ भनेर घरमै आई हुट्हुटी लगाउन थालेकाले ‘हुन्छ त नि’ भनेर बाबा लुगासुगा लगाएर उनीसित अड्डा जान तयार भई भित्र रुपियाँ झिक्न जानुभयो । खेत बेचेर आएको रुपियाँ फेरि तुरुन्तै दुई-चार दिनमै खेतमै हाल्नु छँदैछ, त्यसैले दुई-चार दिनका लागि मात्र बैङ्कमा राख्ने र झिक्ने झन्झट व्यर्थै किन बेसाउनु ? भन्ने लागेर त्यो रुपियाँ उहाँले बैङ्कको साटो घरमै राख्नुभएको थियो । अनि घरमा रुपियाँ राख्ने ठाउँ भनेको उही उहाँ सुत्ने ओछ्यानमा डस्नाको तह वा दरी-राडीको चेप नै थियो । त्यसैले अब उहाँले राखेको ठाउँबाट सरक्क झिक्न ढुक्कसित ओछ्यान खोतल्दा कठै ! त्यहाँ त एक्रै रुपियाँ पनि थिएन, कहाँको एक हजार पन्चान्नब्बे रुपियाँ फेला पर्नु !
अब मच्चियो खल्बली । घरभरिका जहानपरिवार मिलेर बाबाको खाटमा ओछ्याइएका भएभरिका डस्ना, दरी, राडी, तन्ना, सिरक र डस्ना-सिरकका खोलसमेत एकेक गरी खोतलखातल पार्न थाल्यौंँ । कतै खाटमुनि पो झरेको छ कि ? भित्ताको चेपतिर पो परेको छ कि ? भनेर मुटु ढुक्ढुकाउँदै सबैतिर हेर्यौं टर्चलाइटसमेत बालीबाली तर अहँ, कतै पनि हात लागेन । बन्दै फेला पर्दै परेन । बाबा रन्थनिनसम्म रन्थनिनुभयो । आमाको ओेठमुख सुक्यो । हामी केटाकेटीको अनुहार निन्याउरो भयो तर बाबाको ओछयानको पत्रमा राखेको त्यो रुपियाँको बिटो भने कसै गर्दा पनि फेला परेन । अहँ, पर्दै परेन ।
खोज्दाखोज्दा लखतरान भएर झोक्रिएको बेला अचानक झल्याँस्स भयौंँ सबै जना-‘एहे, हिजो रात यही ओछयानबाट त एकेक जोर दरी, राडी र डस्ना-सिरक बाबाले सरक्क झिकेर लगी तलको खाटमा पाहुनाहरूलाई सुत्ने व्यवस्था मिलाइदिनुभएको थियो नि आज बिहान पाहुनाहरू बिदा भएपछि हामी दाजुभाइले त्यो ओछयान लगेर फेरि बाबाको ओछयानमा खप्टिदिन एकेक गरी झारझुर पार्दा हो त त्यसबाट भारु र नेरु गरी ठयाक्कै एक हजार पन्चान्नब्बे रुपियाँ नै त मझेरीमा झरेको थियो र त्यो रुपियाँ पाहुनाहरूकै ठानी बाबाको आज्ञाले हामी दाजुभाइले कुद्दै बसपार्कमा गएर उनीहरूलाई सुम्पिदिएका थियौं । हरे शिव ! पाहुनाको भन्ठानेर धाएर गईगई आफैंँले उनीहरूलाई जिम्मा लगाएको रुपियाँ त केको उनीहरूको हुनु आफ्नै एक बिगाहा खेत बेचेर पाइएको र अर्को खेत किन्नलाई साँचिएकै रुपियाँ पो रहेछ ! उनीहरू केको हुस्सू हुन्थे ! उनीहरूलाई हुस्सू ठानिरहेका हामी नै पो महाहुस्सू रहेछौँ आफ्नै भएभरिको रुपियाँ पनि पटक्कै ख्याल नगरेर अर्काको ठानी धाईधाई गएर उनीहरूलाई दिइपठाउने भन्ने कुरामा अब घरका भएभरिका हामी सबैलाई कुनै किसिमको रती पनि शङ्का रहेन ।
त्यो रुपियाँ पुर्याउन जाने हामी दाजुभाइलाई अब बल्ल पो छयाङ्ङ भयो हामीले बिहान बसभित्र पसेर उनीहरूलाई रुपियाँ दिन लाग्दा उनीहरू एकछिन अकमक्क परेर टोलाएको र पछि बिस्तारै ‘अँ, हाम्रो रुपियाँ छुटेको रेछ हगि, लौ देऊ त’ भन्दै हाम्रो हातबाट त्यो लिनाको रहस्य । हामीले हुनसम्मका सोझा ठानेका हाम्रा अतिथिदेवता त हुनसम्मका चाम्रा र मुस्मुसे पो रहेछन् । त्यस्तरी अकमक्क परे, अन्तर्द्वन्द्वले टोलाए, एकछिन अन्कनाए तर ‘यो रुपियाँ हाम्रो होइन, हाम्रो रुपियाँ हराएकै छैन, बरु यो तिमीहरूकै पो होला, त्यस ओछयानमा पहिलेदेखि नै थियो होला’ भन्ने वाक्य तिनीहरूको मुखबाट र्झन सकेन, हस्याङफस्याङ गर्दै फ्याङ्लो कट्टु र कमेजका भरमा नाङ्गा खुट्टाले दौडँदै आएका फुकिढले जीउका हामी दुई कलिला बच्चाहरूका सामु पनि । सट्टामा झर्यो के त भन्दा ‘अँ, हाम्रो रुपियाँ छुटेको रेछ हगि, लौ देऊ त’ । यो थियो हाम्रा ती अतिथिदेवताहरूको देवत्व । लोभले बेस्मारी गाँज्यो, र्याल कढायो र त्यसरी ठाडै नाङ्गिन कत्ति पनि धक र लाज-सङ्कोच मानेनन् । ढिलोचाँडो यथार्थ खुलेपछि बासधनीले हामीलाई के ठान्लान् भन्ने इज्जत-प्रतिष्ठाको ख्याल र डरलाई पनि सहजै जिते उनीहरूले । हाम्रो घरबाट चोरेर निचोरेर नलगेका भए पनि र हामीले आफैं धाएर उनीहरूको पोल्टामा पारेका भए पनि कुरा त नियतको पो हो । हरे, नाङ्गा देवता ! बाङ्गा देवता ! बैगुनी देवता ! बेइमान देवता !
मान्छे नचिनेका परे पनि तिनको नियत चाहिं हामीले राम्रैगरी चिन्न पायौंँ तर यतिन्जेलसम्ममा कहाँकहाँ, कताकता पुगिसकेका ती परदेशीहरूलाई अब के गरी पछयाउनु ? कसरी खोज्दै हिंड्नु ? र कहाँ कता फेला पार्नु ? असम्भव कुराको पछि लागेर जानाजान किन आफूलाई झन् बढी दुःखी तुल्याउनु ? आजको जस्तो यातायात र सञ्चारको छयास्छयास्ती सुविधाको त कल्पनासम्म पनि अकल्पनीय रहेको त्यस जुगमा । त्यसैले चुक्चुकाउनुबाहेक अब अर्को केही उपाय नै थिएन । कठै !
आजभन्दा झन्डै पचास वर्षअघिको प्रसङ्ग हो यो । उति बेलाको एघार सय रुपियाँ आजको कति रुपियाँ बराबर होला ? तराईको एक बिगाहा अब्बल धान खेतको मूल्य आज कति होला ? सोच्ता मात्र पनि कहाली लाग्छ । त्यसैले भो, हिसाब नगरौंँ । खेत गयो-रुपियाँ आयो । रुपियाँ गयो खेत आएन । यस्तै भयो । त्यस घटनाबाट हाम्रो घरपरिवारको अवस्था कस्तो भयो होला ? अनि जान्ने बनेर आफैँले अघि सरी तिनीहरूलाई सडकबाट बोलाएर ल्याएर घरमा पाहुना तुल्याएको हुँदा अहिले आइलागेको विपत्तिको मूल कारणी आफूलाई नै ठानिरहेको म फुच्चेको मनोदशा त्यति बेला कस्तो भयो होला बाबाआमाले केही नभने पनि ? सहजै अनुमान गर्न सकिन्छ ।
‘अतिथिदेवो भव’ भन्ने नीति वचन र सनातनी संस्कारको त जहिले पनि उच्च सम्मान गनैं पर्छ तर अतिथि पनि थरीथरीका हुन्छन् । देवत्व नै नभएका अतिथिलाई त देवता कसरी मान्नु ! नत्र त देवताकै घनघोर अपमान हुन्छ नि ! होइन र ?
आधा शताब्दी पुरानो त्यस घटना-प्रसङ्गले मेरो मनमा यस्तै छाप छोडेको छ कहिल्यै नमेटिने गरी ।
(स्रोत : मधुपर्क २०६८ साउन)