~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको भैँसी बेचेर विदेशमा भेँडा चराउन नै किन नपरोस् । भलै घरको दूधे बच्चा छोडेर विदेशमा बेबी सिटिङ नै गर्न परोस्, झर्नुपर्यो डलर ।’ यात्रासंस्मरण कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको प्रारम्भिक अनुच्छेद हो यो ।
जब शेखर स्वदेशमा थिए, उनी प्रहरीको जागिरमा थिए । इमान्दार र सीधा विचारमा स्वाभिमानी भएर बाँच्दा उनले जागिर छोडेर विदेशिनु पर्यो । जीवनलाई कसरी डोेर्याउने भनेर सबैले आ-आफ्नो दृष्टिकोण बनाएको हुन्छ । उनले बनाएको दृष्टिकोण र सिद्धान्तले समाजमा बाँच्न नसक्ने देखेपछि उनले आफूमा कायापलट ल्याए । अर्थात् उनले विदेशिने निर्णयमा भिसा नपाएपछि जसरी पनि भिसा लिने बाटो अपनाए । विदेशिने प्रक्रियामा जसजसलाई जसरीजसरी, जेजे ढाँटे पनि उनले यात्रासंस्मरण लेख्नेक्रममा आफ्ना पाठकलाई केही ढाँटेका छैनन् भन्ने उनकै लेखाइले पुष्टि गरेको छ ।
भिसा पाएपछि अमेरिका पुगेका उनले पहिलो गाँसमै ढुङ्गा चपाउनुपर्यो । पहिलो साता नै लुटिए उनी । महिना दिनसम्म त्यो बिरानो मुलुकमा काम नपाउनुमा कति पीडा भोगे उनले ? जापान फड्को मारेपछि उनले बाँच्नका लागि रेस्टुरेन्टमा काम गरे । एकैपटक उच्च तहमा काम नपाएका उनले अपमानका कारण बुबाको मृत्यु भएको भन्ने झुठो बहानालाई सहारा बनाएर त्यहाँबाट पनि फुत्किए । विदा सकिएकाले पुनः प्रहरीमा पस्छन् । उता कमाएको केही रकमले होटल खोले पनि विविध कारणले बन्द गर्नुपर्यो उनले । प्रहरीमा सरुवा गरिएपछि अन्याय भएको भन्दै उल्टै राजीनामा दिन बाध्य हुन्छन् शेखर ।
संस्मरणमा जीवनको अतीतलाई यसरी नै समेटेका छन् शेखरले । माथिका केही सन्दर्भ त लामो जीवनको छोटो कहानी मात्र हो । उनका यी छोटा वाक्यमा लेखिएका सन्दर्भको विस्तृत रूप पढ्दा त पाठक स्वयम्ले पीडाबोध गर्छ, भक्कानिन्छ । उनका सास्ती, अपमान र सङ्घर्षका कथाव्यथाले पाठक शेखरको दुःखलाई बाँंड्न चाहन्छ । जुन व्यावहारिक हुँदैन । अर्थात् शेखरले पाठकलाई भावनात्मक ढङ्गले आफ्ना कथा र व्यथा, दुःख र पीडा आदि सबै साट्न सफल भएका छन् ।
लेखक स्वयम्ले पुस्तकमा उल्लेख गरेका छन्, कहिले मलाई भाग्यले देश बाहिर भगायो, कहिले म आफैँ भागेँ । कहिले रोजगारी खोज्दै विदेशिएँ, कहिले सुखको सपना साकार पार्न विदेशतिर लागेँ । उनले थपेका छन्, म थिएँ, मेरो मनमा नेपाल थियो र आज पनि अमिट बनेर मेरो छातीभरि नेपाल छ । उनले यात्रा संस्मरणको ध्येय विदेशमा भोग्नुपर्ने विविध समस्यालाई प्रकाश पार्ने रहेको बताएका छन् ।
दोस्रो खण्डमा ४७ वटा अभिव्यक्ति छन् । गणतन्त्र कि नेतातन्त्र ?, आफ्नो मूल्याङ्कन अरूबाट गरौँ, भारतको चाहनाभित्र नेपाली नेता, राष्ट्रभक्तिविहीन नेता, हाम्रो दुर्भाग्य, काङ्ग्रेसको अदूरदर्शी राजनीति, आफैँ बोक्सी आफैँ झाक्री, लोकतन्त्रमा ढोके प्रवृत्ति आदि । अभिव्यक्तिका शीर्षकबाटै पाठकले अनुमान लगाउन सक्छन् कि लेखकको चाहना अनि भावना । अभिव्यक्ति र नियात्रामा प्रसङ्ग जोड्दै गीत साभार र कविता प्रस्तुत गर्नुले कृतिका हरेक सन्दर्भ रोचक बनेका छन् । लेखकको यो शैली सराहनीय छ ।
कहीँकहीँ एउटै वाक्यमा धेरै कुरा भन्न खोजेकाले पाठकले मिलाएर बुझ्नुपर्ने अवस्था छ । विदेश भ्रमणको प्रसङ्गमा महाकवि देवकोटाको खण्डकाव्य मुनामदनलाई महाकाव्य भनिएको छ । यद्यपि घटनाक्रमलाई मदननामक पात्रको नियतिसँग जोडेर उदाहरणीय बनाउन विदेशिएको पीडालाई पोख्न खोजिएको छ । लेखकलाई विदेशको पीडा र भोगाइले नेपाली माटो र मनप्रति प्रतिवद्ध बनाएको छ । अझ उनको आँखा र मुटुभरि नेपाल उनिएको पाइन्छ, जब तपाईंले कहाँ छ मेरो देश ? पढ्नुहुन्छ । भूमिकामा श्रीओम श्रेष्ठ रोदनले लेखेका छन्, विदेश जान घरबार बेचेर मरिहत्ते गर्नेहरूका लागि लेखकले यो पुस्तक पढ्नैपर्ने बनाएका छन् ।
जे होस्, यात्रा साहित्यले जीवन र जगतलाई हरेक कोणबाट समेटिरहेको हुन्छ । यसलाई लेखक ढुङ्गेलले पूर्ण बनाउन भरमग्दुर प्रयास गरेका छन् ।
पुस्तक : कहाँ छ मेरो देश ? यात्रासंस्मरण र अभिव्यक्ति
लेखक : शेखर ढुङ्गेल
प्रकाशक : राजन कार्की
प्रकाशन : २०६६, फागुन
पृष्ठ : २००
मूल्य : रु. २००।-
gopiji2065@gmail.com
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल
(स्रोत : मधुपर्क २०६७ माघ)