समीक्षा : नेपाली उपन्यासमा मिथक

~रोहेज खतिवडा~

१. मिथकबाटै थालनी

नेपाली उपन्यासको पहिलो पाइला नै मिथकीय भयो। वीर चरित्रबाट नेपाली उपन्यासले यात्रा थालनी गर्नु संयोगमात्रै होइन, हाम्रो संस्कृतिमा मिथक अभिन्न रुपमा गाँसिनुको प्रमाण हो। मिथकहरु हाम्रा बिम्ब हुन्, आदर्श हुन् र हाम्रो जीवनशैलीसँग गाँसिएका छन्। उपन्यासमा त्यसैको प्रतिविम्ब देखिएको हो।

त्यसबखत वीर चरित्रका विभिन्न स्वरुपहरु प्रकाशन भएको नेपाली साहित्यका अन्वेषकहरुले उल्लेख गरेका छन्। यहाँ चर्चा गरिएको वीरचरित्रचाहिँ गिरिशवल्लभ जोशीको हो। यसको पहिलो भाग वि.सं. १९६०मा प्रकाशित भयो। यो नै नेपाली मौलिकतायुक्त पहिलो आख्यान हो जसलाई संरचनाका दृष्टिले पनि उपन्यास भन्न सकियोस्। उपन्यासको कथानक हेर्दा यसको स्रोत संस्कृत साहित्य हो भन्ने नै लाग्दैन। पहिलो खण्डमित्रलाभमा बाग्लुङको ब्राम्हण परिवारको यात्रा वर्णन छ। यसक्रममा भेटिने मासनदेवी, जलपिशाचीनी, वनझाँक्री जस्ता पात्रले नेपाली लोककथाले निर्माण गरेका मिथलाई प्रस्तुत गरेको छ। अन्य खण्डहरु सुहृद्भेद, विग्रह र सन्धिमा पनि यस्ता प्रसङ्ग अनेकौं छन्।

जोशीको वीरचरित्रअघि पनि आख्यान लेखनको अभ्यास भएको पाइन्छ। राजामहाराजाका यात्रा तथा किर्तिवर्णन, लोकगाथा आदि विषयमा आख्यानात्मक लेखन भएपनि तिनीहरू उपन्यासको संरचनामा रहेनन्। तर, आख्यानमा रोमाञ्चकता यिनले भित्र्याइसकेका थिए। त्यसैको प्रभाव वीरचरित्रमा पाइन्छ। उपन्यास विशेषत मध्यमवर्गको साहित्य भनिएता पनि संस्कृत साहित्यमा राजामहाराजाको गुणगान लेख्ने प्राचिन परम्परा भएको हुनाले दुवै यसको छाप पनि यहाँ छँदैछ। समग्रमा वीरचरित्र नेपाली लोकजीवनका मिथकहरुलाई सङ्गाल्दै लेखिएको मौलिक नेपाली उपन्यास हो जहाँँबाट नेपाली उपन्यासको यात्रा सुरु हुन्छ।

वि.सं १९९१मा रुद्रराज पाण्डेको रुपमती प्रकाशन नुहुन्जेलसम्म नेपाली उपन्यासको यात्रा वीरचरित्र मार्गमा नै भयो। तिनले नेपाली जनजीवनसँग जोडिएको विविध मिथकलाई लेख्य रुप दिए। संस्कृत साहित्यले स्थापना गरेका कतिपय मिथकलाई विनिर्माण गर्दै स्थानीय रुप दिए भने कतिपयलाई जस्ताको तस्तै नेपाली भाषामा प्रस्तुत गरे। अरबी फारसी संस्कृतिमा लोकप्रिय लोकआख्यानहरुलाई समेत यो समय नेपाली साहित्यमा भित्र्याउने काम भयो। जोशीकै बहादुर चरित्र तथाचन्द्रकला–आदित्यसेन उदाहरण हुन्। सदाशिव शर्मा अधिकारी, रामप्रसाद सत्याल, शम्भूप्रसाद ढुंगेलका आख्यानसामग्रीले पनि संस्कृतका महाआख्यान, नेपाली लोकसाहित्य र अरबीफारसी लोकगाथाहरुका मिथकहरुलाई समेटेका छन् तर तिनीहरुले उपन्यासको संरचना भने पाउन सकेनन्।

२. मिथकका मार्ग

नेपाली साहित्यमा मुख्य चारवटा मार्गबाट मिथक आएका छन्, उपन्यासमा पनि त्यसकै प्रभाव पाइन्छ। यथार्थवादी उपन्यासका कुरा छोड्ने हो भने नेपाली उपन्यासका कथा र पात्र संस्कृत महाआख्यान, नेपाली लोकगाथा र लोकसंस्कृति, अरबीफारसी लोककथाहरु र नेपाली इतिहासबाट नै आएका छन्। त्यसैले नेपाली उपन्यासमा मिथकको उपस्थितिलाई हेर्ने हो भने यी चार मार्गबाट आएका मिथक भएका आख्यानलाई छुट्टाछुट्टै अध्ययन गर्नु उपयुक्त हुन्छ।

२.१ वैदिक-पौराणीक मिथक

पूर्वीय सभ्यताका वेद र पुराण साहित्य सिर्जनाका असिमीत स्रोत हुन्। यहाँ भएका कथाहरुलाई जतिपटक पनि पुनर्लेखन गरिरहन सकिन्छ। भारतीय उपमहाद्विपको आर्य संस्कृतिमा यसको असिमित प्रभाव छ। हिन्दी, बंगाली आदि साहित्यमा पनि यसको व्यापक प्रभाव छ। अतः स्वाभाविक रुपमा नेपाली साहित्यमा पनि यसको प्रभाव छ। सबैभन्दा बढी प्रभाव त उपन्यासमा नै छ। उत्कृष्ट नेपाली उपन्यासको सूची तय गर्दा पौराणीक उपन्यास नै अगाडि आउँछन्। वीरचरित्र आफैंपनि यसको उदाहरण हो।

यसपछि रुपमती प्रकाशन नुहन्जेलसम्मका थुप्रै आख्यान यसै प्रकारका छन् तर संरचनागत दृष्टिमा कतिपय उपन्यास भएनन्। पछि रुपमतीमार्फत् रुद्रराज पाण्डेले सामाजिक यथार्थवादी उपन्यास लेख्न आव्हान गरे। र, नेपाली उपन्यासको आधुनिक यात्रा शुरु भयो। यसपछि पौराणीक तथा लोकगाथामा आधारित आख्यान लेख्ने क्रममा कमी आयो।समाजकै पात्र र कथा उपन्यासमा आउन थाले भने संरचना, प्रस्तुति  र शैलीमा उपन्यास परिष्कृत हुन पायो। त्यसैले, वि.सं. १९९१ पछि लेखिएका पौराणीक र वैदिक कथाका उपन्यासहरु यसअघि लेखिएका यस्ता आख्यान सामग्रीको तुलनामा निकै माथि आइपुगे। यसचरणमा लेखिएकामध्ये विष्णुचरण श्रेष्ठको भिष्मप्रतिज्ञामा महाभारतीय मिथकको प्रयोग छ। अर्को पौराणीक उपन्यास रामप्रसाद सत्यालको महासती अनुसुया पनि हो।

वि.संं. १९९१ मा आधुनिक क्षितिज स्पर्श गरेको नेपाली उपन्यासले वि.संं. २००४ सालमा आएर अझ फराकिलो मार्ग प्राप्त गर्‍यो, जब लैनसिंह बाङ्देलको उपन्यास मुलुकबाहिर प्रकाशीत भयो। यसपछि नेपाली उपन्यासले एकपछि अर्को गर्दै उचाइ चुम्न थाल्यो। बाङ्देलसँगै विजय मल्ल, गोविन्द मल्ल गोठाले, पारिजात जस्ता स्रष्टाको कलमले एकपछि अर्को उत्कृष्ट उपन्यास प्रस्तुत गरिरहे। तर, मिथकको प्रयोग भएको आधुनिक उपन्यासका लागि बिपी कोइरालाकै प्रतिक्षा गर्नुपर्‍यो।

बीपी कोइरालाको सुम्निामामा सोमदत्तमार्फत पौराणीक चरित्र प्रस्तुत गरिएको छ। मोदीआइन सम्पूर्ण रुपमा गीतामा आधारित छ। यो गीताको आदर्शको विनिर्माण हो। बीपीका यी उपन्यासले मिथकप्रयुक्त उपन्यासको सम्भावनाको ढोका खोलेका छन्। तीनको स्तरको सङ्केत गरेका छन्। पौराणीक उपन्यासकै जगमा सुरु भएको नेपाली उपन्यासमा झन्डै चालिस वर्ष यसको प्रयोग नै हुन नपाउनु निराशाजनक थियो। सुम्निमा र मोदीआइन मार्फत् कोइरालाले आशा जगाएका हुन्।

त्यसो त बीपीको सुम्निमाभन्दा अघि नै प्रकाशित ओकिउयामा ग्वाइनको सुनाखरी(२०२५) पनि महत्वपूर्ण पौराणीक उपन्यास हो। अमुर्त पात्र र कथामा बुनिएको काव्यात्मक शैलीको यो (अ)उपन्यास नेपाली उपन्यास क्षेत्रमा मिथक प्रयोगका कारणले मात्र होइन प्रयोगको विचित्रताका कारणले पनि उल्लेखनीय छ। तर, उनको लेखन उपन्यासको मूलधारको रुपमा समेटिन सम्भव थिएन। उनको मौलिक प्रयोगको रुपमा भने यो सम्झनै पर्ने उपन्यास हो।

मदनमणी दिक्षित लिखित माधवी (२०३९) मिथक प्रयोगको नमुना उपन्यास हो। वैदिककालीन मिथकको जगमा उभिएको यो उपन्यास समग्र नेपाली उपन्यासहरुमध्ये अग्लो स्थानमा उभिन सफल छ। महाभारतको उद्योग पर्वका १०६ देखि १२० सम्मका १५ अध्यायको कथा यहाँ छ। यो उपन्यासले अत्यन्तै ठूलो ‘सेटिङ्ग’को राजनीतिक, आर्थिक र सामाजिक चरित्र जीवन्त रुपमा प्रस्तुत गर्छ। वैदिककालमा दासप्रथा अन्त्यका लागि भएका विभिन्न प्रयासहरु प्रस्तुत गर्न गालव र माधवीको प्रेमकथाको सहारा लिइएको छ। यसले वेद र पुराणहरुमा सिर्जना भएका थुप्रै मिथकिय पात्रहरुलाई समेत प्रस्तुत गरेका छ। उनको अर्को उपन्यास, भूमिसुक्तर त्रीदेवी (२०५१) पनि यसैको निरन्तरता हो।

पौराणीक मिथक प्रयोग गर्ने बाटोमा देखा पर्ने अर्का सशक्त उपन्यासकार हुन्, दौलतविक्रम विष्ट। विष्टको ज्योती ज्योती महाज्योती उदाहरणीय मिथकयुक्त आख्यान हो। यो उपन्यासको केन्द्रमा शंकरलाई प्रस्तुत गरिएको छ। पशुपतिनाथ मन्दिरको वरपरको क्षेत्रलाई उपन्यासमा सचेततापूर्वक नै प्रयोग गरिएको हो। यहाँ विभिन्न समस्याबाट प्रताडित तीन भिन्दाभिन्दै शंकरलाई प्रयोेग गरिएको छ। यी पात्रहरुको महत्व पशुपतिनाथ शंकरसँगको तुलनामा नै स्थापना हुन्छ। यस्तै यहाँको अर्को पात्र परशु शिवभक्त परशुरामको प्रतिक हो।
ध्रुवचन्द्र गौतमको अलिखित (२०४०) पौराणीक मिथकको आंशिक प्रयोग भएको उपन्यास हो। यहाँ प्रयुक्त पोखरीको सान्दर्भिकता महाभारतकै कारण पुष्टि भएको छ। उनले अरु केही उपन्यासमा जनश्रुतिमा आधारित मिथकहरुको पनि प्रयोग गरेका छन्।

धच गोतामेका घामका पाइलाहरुमा पनि मिथकको उपस्थिति भेटिन्छ। यस्तै पौराणिक उपन्यासको कुरा गर्दा बिर्सन नसकिने नाम हो बिनोदप्रसाद धिताल। उनले उपन्यास योजनगन्धा(२०५२) मार्फत् महाभारतलाई नयाँ दृष्टिविन्दुबाट हेर्ने प्रयास गरेका छन्। महाभारतका रचयिता व्यासकी माता मत्स्यगन्धामार्फत् यो कथालाई उनले अभिव्यक्त गरेका छन्। यही किसिकको अर्को प्रस्तुति कृष्ण धरावासीको राधा (२०६२) हो। धरावासीले यो उपन्यासमा राधाको नजरबाट महाभारतका केही कथा र पात्र,  विशेष कृष्णको वर्णन गरेका छन्। जगदिश घिमिरेले सकस उपन्यासमा केही पौराणिक मिथकहरु प्रयोग गरेका छन्। यी केही उदाहरणहरण मात्र हुन्, थुप्रै छुटेका छन्।

जसरी हिमालय पर्वत गंगाको अन्नत स्रोत हो,पूर्वीय सभ्यतामा पौराणीक महाख्यानहरु साहित्यका त्यस्तै अनन्त स्रोत हुन् । त्यहाँका मिथकीय पात्र र कथाहरुलाई परिवर्तित समय, चेतना र दृष्टिकोणसँगै अनेकौंपटक भन्न सकिन्छ। मिथकमाथि आख्यान लेख्नु अथवा आख्यानमा मिथक प्रयोग गर्नु मिथकको पुनर्लेखन मात्रै होइन, सामयिक चेतनाको बलियो अभिव्यक्ति पनि हो। पश्चिमले सिर्जना गरेको उपन्यास विधाका लागि पूर्वीय सभ्यतामा यस्तो उर्वर स्रोत भेटिनु अत्यन्तै सुखद संयोग हो। अब समालोचकीय ढंगमा समेत यसको विश्लेषण हुनु जरुरी छ।

२.२ जनजातिय मिथक

जसरी नेपाल सयभन्दा धेरै जातिहरुको सुन्दर संयोजनमा मात्रै पूर्ण हुन्छ त्यसरी नै नेपाली साहित्य सबै भाषासंस्कृतिको प्रतिविम्बनमा मात्रै पूर्ण देखिन्छ। संस्कृतका महाआख्यानहरुले स्थापना गरेका झैं अनेकौं मिथकहरु यहाँका जनजातिका संस्कृति, धर्म र परम्पराले पनि स्थापना गरेका छन्। तर नेपाली साहित्यको पहिलो कालखण्डमा लामो समय यस्ता मिथकहरु प्रवेश गर्न सकेनन्। यिनीहरुलाई हार्दिकतापूर्वक स्वागत गर्नुभन्दा निषेध नै गरियो भन्ने आरोप लाग्ने गरेको छ। यता जनजातिय समूदायमा पनि यस्ता मिथकको प्रभावकारी प्रयोगमार्फत् सशक्त आख्यान लेख्ने आख्यानकार देखिएनन्। कवितामा बैरागी काइँलाहरुले जे गरे त्यो आख्यानमा हुन सकेन। तेस्रो आयमेली आख्यानकार इन्द्र बहादुर राईले पनि मिथकतिर त्यति ध्यान दिन भ्याएनन्।

पछिल्लो समय यस्ता मिथक प्रयुक्त सिर्जनाहरुले नेपाली साहित्यमा आफ्नो बलियो उपस्थिति दाबी गर्न थालेका छन्। यसले नेपाली साहित्यको दायरालाई अझ फराकिलो बनाउँदै गएको छ। यो बाटो निर्माणको जस कवि बैरागी काँइलालाई नै जान्छ। उनले आफ्ना कविताहरुमा मुन्धुमी लय र त्यसका मिथकहरुको व्यापक प्रयोग गरे। त्यतिमात्र नभएर अन्य जनजातीका मिथकहरु पनि उनले सचेततापूर्वक आफ्ना कवितामा प्रयोग गरे। पछि यही बाटो अझ फराकिलो भयो। अझै धेरै स्रष्टाहरु यो बाटोमा आइपुगे। आज त वैचारिक रुपमा यही बाटो नेपाली कविताको मुलबाटो भएको छ।

जनजातिय मिथक प्रयोग उपन्यास भन्दा कवितामा समृद्ध छ। पूर्वी नेपालका राई र लिम्बु समुदायका कविहरुले आफ्ना मिथकहरुलाई विद्रोही चेतनाका कविता मार्फत् सचेत रुपमा प्रयोग गर्दै आएका छन्। अरु समूदायहरुबाट पनि आइरहेका छन्। उपन्यासमा पनि केही उल्लेखनीय उदाहरण छन्।

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमामा किराँत मिथकको प्रयोग छ। यो उपन्यास विवादित पनि भयो/छ। उनी पूर्वाग्रही भएको र किराँत दर्शनलाई बुझ्न नसकेको वा होच्याएको आरोप समेत छ। तर, मानवीय मुल्यको खोजीमा लेखिएको यो उपन्यासले आर्यकिरात सहअस्थित्वको मुल मुद्धा बोकेको छ। पौराणीक मिथकसँगै किराँत मिथकहरुपनि प्रयोग भएको छ।

राजन मुकारुङको हेत्छाकुप्पा यसको अर्को उदाहरण हो। यहाँ जातिय विभेद र समाजको असमान संरचनाबाट पटकपटक पराजित भएको एक युवाको कथा छ। तर किराँत समुदायको पुर्खा हेत्छाकुप्पाको पुराकथामा नै यो उपन्यासको शक्ति छ। मिथकलाई बिर्सिएर कथानकमात्रै लिने हो भने उपन्यास खल्लो हुन्छ। देश सुब्बाको आदिवासी र अपमानमा पनि केही आदिवासी जनजातिका मिथकहरुको प्रयोग भेटिन्छ।

युग पाठकको उर्गेनको घोडा तामाङ जातिमा प्रचलित पुराकथामा आधारित छ। वर्तमान समाजमा संघीयता र जातिय पहिचान स्वीकारको आवश्यकता बोध गराउन यहाँ उर्गेनको मिथक प्रयोग गरिएको छ। ब्राम्हण समुदायका कोइरालाले सुम्निमामा जनजातिय मिथक चलाउँदा अन्याय भएको उनीहरुले महशुस गरे। त्यसको क्षतिपूर्ति उर्गेनको घोडामार्फत् पाठकले गरेका छन्।

यी उपन्यासहरुले नेपाली साहित्यको फरक क्षेत्रको सम्भावना देखाएका छन्। आफैंमा बलिया यी उपन्यासहरुले नेपालमा विद्यमान बहुसंस्कृतिमा रहेका मिथकबाट अनेकौं बलिया र शक्तिशाली आख्यान सिर्जना गर्न सकिने संकेत गरेका हुन्। जति उदार भएर यी मिथक र संस्कृतिलाई नेपाली भाषा–साहित्यले स्वागत गर्छ यसको उचाइ त्यति नै बढ्दै जान्छ। तराईका मिथिलाका केही मिथकहरु नेपाली साहित्यमा आए पनि थारु, अवधी, राजवंशी जस्ता भाषाका मिथक, लोक कथाहरु नेपाली साहित्यमा आइपुगेका छैनन्।

पहाडमै पनि गुरुङ, सुनुवार, थकालीजस्ता भाषाबाट मिथकहरु आउन सकेका छैनन्। नेवारी मिथक नै पनि उपन्यासमा छैनन्। अरु लेप्चा, थामी, सन्थाल आदि स–सानो संख्यामा मानिसहरुले प्रयोग गर्ने भाषामा पनि अनेकौं पुराकथाहरु लुकिरहेका छन्। चेपाङ, राउटे, कुसुन्डा आदि जातिका मिथक खोज्न कसै न कसैले मेहेनत गर्नैपर्छ। कर्णाली र सुदुरपश्चिम क्षेत्रमा खस आर्य संस्कृति र इतिहाससँग जोडिएका यस्तै अनेकौं लोककथा र मिथकहरु छन्।तीनीहरु नेपाली उपन्यासमा प्रयोग हुन सकेका छैनन्। ती सभ्यता र संस्कृतिलाई नेपाली पाठकहरु माझ प्रस्तुत गर्न ढिला भइसकेको छ। उपन्यास यसको राम्रो माध्यम हुनसक्छ।

२.३ अरबीफारसी मिथक

नेपाली भाषाले आफ्नो समद्धी यात्रामा अरबीफारसी भाषाबाट थुप्रै शब्द र शैली अङि्गकार गरेको छ। त्यसैले स्वभाविक रुपमा नेपाली जनजीवनमा थुप्र्रै अरबीफारसी लोककथाहरुले लोकप्रियता पाए। नेपाली उपन्यासले आफ्नो यात्रा शुरु गरेपछि ती आख्यानका सामग्री भए। माध्यमिक कालमा मधुमालतीको कथा, गुलाबकावलीको कथा, लालहीराको कथा, सुनकेशरा रानीको कथा आदि थुप्रै उदाहरणहरु हुन्। तर आधुनिक नेपाली उपन्यासमा यी पुराकथाहरुमा आधारित उपन्यास पाइदैन्। यो काम अग्रज लेखकहरुले आउने समयका लागि थाँती राख्दै गए।

नेपाली उपन्यासमा तिलस्मी तथा रहस्यका कथाहरु, राक्षस र परीका कथाहरु प्रयोग हुन्जेल अरबी मिथकहरुको प्रशस्त प्रयोग भयो। वि.सं. १९५० मा प्रकाशित लालहीराको कथा तथा वि.सं. १९५१ सालमा प्रकाशित मधुमालतीको कथाको लेखक थाहा हुन सकेको छैन्। त्यसपछि यी कथाहरुलाई गौरीप्रसाद उपाध्याय, होमनाथ केदारनाथ, भवानीशंकर खतिवडा, गौरीशङ्कर भट्टराई लगायतले पुनर्लेखन गरेका छन्।
वि.सं. १९९१ पछि सामाजिक यथार्थ उपन्यासको मुलधार भएपछि रोमान्टिक लेखन छायामा पर्‍यो। रहस्य र चमत्कारका कथा भएका अरबीफारसी पुराकथाको प्रयोग पनि हुन छोड्यो। पछिका रोमान्टिक उपन्यासमा पनि विशुद्ध प्रेमकथाहरु आउन थाले। त्यसैले, आधुनिक उपन्यासमा यी मिथक प्रयोग गर्नसक्ने सम्भावना हाम्रो सामुन्ने छ।

२.४ इतिहासका मिथकः

नेपालको इतिहास नै मिथकमा बाँचेको छ। धेरै पछि मात्रै वैज्ञानिक लेखन आरम्भ भएको हुँदा व्यवस्थिक इतिहास लेखनको प्रारम्भिक कालखण्डमै हामी बाँचिरहेका छौं। हाम्रो जे जति इतिहास छ, किंवदन्तीमा छ। यस्ता किंवदन्तीहरु नै नेपाली इतिहासबाट आएका मिथकहरु हुन्। ऐतिहासिक उपन्यासमा यस्ता मिथकहरु प्रयोग गरिएका छन्। नेपालमा ऐतिहासिक उपन्यास लेखनका शीर्ष पुरुष डायमण्ड शम्सेर राणाले बसन्ती, सेतो बाघ जस्ता उपन्यासमा राणा शासकहरु सम्बन्धि मिथकहरुको चर्चा गरेका छन्।

अरु पनि केही ऐतिहासिक उपन्यासमा मिथक समाविष्ट छन्, कति मिथकमा आधारित उपन्यास छन्। जस्तै नारायण ढकालको ऐतिहासिक उपन्यास ‘प्रेतकल्प’मा यस्ता मिथकहरु छन्। उनले राणा शासकहरुका नाममा बनेका मिथक त प्रयोग गरेका छन नै जनजीवनमा आफैं सिर्जना हुने मिथकहरु पनि प्रयोग गरेका छन्। यसमा उनले मिथकहरु कसरी बन्छन् र त्यस्ता मिथक किन बनाइन्छ भन्ने विश्लेषण समेत गरेका छन्। उनी आफ्नो वैचारिक दायरामा रहेर मिथकको राजनीतिक साइनोको प्रष्ट व्याख्या यही उपन्यासमा गर्छन्।
यस्तै उर्गेनको घोडामा उपन्यासकार पाठकले ऐतिहासिक मिथकको केही प्रयोग गरेका छन्। तामाङ जातिसँग जोडिएका केही ऐतिहासिक मिथकसँगै नेपाली इतिहासका मिथकका रुपमा रहेका रुपचन्द्र विष्टलाई प्रस्तुत गरेका छन्। थाहा आन्दोलनका प्रणेता रुप्चन आफ्नो क्षेत्रका जनमनमा मिथककै रुपमा बाँचिरहेका छन्। युगले त्यसैलाई टपक्कै टिपेर आफ्नो उपन्यासमा प्रयोग गरेका छन्।

यी चार मार्ग बाहेक अंग्रेजी साहित्यको माध्यमबाट समेत हामीकहाँ मिथक आइपुगेका छन्। चिनियाँ मिथकहरु पनि हामीकहाँ नआइपुगेका होइनन्। तर, आख्यानमा तीनको उल्लेखनीय प्रयोग भने भएको छैन। अझ अंग्रेजी भाषा मार्फत् विश्वका कुनाकुनाका साहित्य, संस्कृति र इतिहास हामीकहाँ आउँदा त्यहाँका मिथकहरु पनि आइरहेका छन्। गोविन्दराज भट्टाराईले सुकरातका पाइला र सुकरातको डायरीमा ग्रीसेली मिथकको प्रशंसनीय प्रयोग गरेका छन्। यद्यपी, उपन्यासकारको तीक्ष्ण दृष्टि यस्ता अनेकौं मिथकहरुमा पर्न बाँकी नै छ।

मिथ क्रिटिसिजम कता छ?

पश्चिमी समालोचना जगत्मा मिथकमा आधारित रहेर समालोचना गर्ने विधि प्रचलनमा आएको धेरै भइसक्यो। यसलाई उनीहरु मिथ क्रिटिसिजम भन्छन्। हामी मिथकमाथि लेखिरहेका मात्रै छैनौं मिथकमाथि बाँचिरहेका छौं। यहाँ इतिहासलाई पनि मिथक बनाइन्छ र जनतामाथि शासन गरिन्छ। तर मिथकीय समालोचना पद्धतिको भने प्रयोग गरिँदैन।

क्यानडाका समालोचक नर्थप फ्राइले यो समालोचना पद्धतिको आविष्कार गरेको आधा शताब्दी बितिसेकेको छ। तैपनि हामीले यो पद्धति अपनाएका छैनौं। उनले भनेझैं हाम्रा समालोचना/साहित्य विश्वभरीको साहित्यसँग मिल्छ कि मिल्दैन, दाँजेका छैनौं। हाम्रो साहित्यमा मिथकको प्रभाव कति छ? उनको सिद्धान्तमा नापेका छैनौं।
पश्चिमा जगतले प्रयोग गरेको यति लामो समय भइसक्दा पनि हामीसम्म यो समालोचना पद्धति किन आइपुगेन?सर्वमान्य समालोचकहरुमाथि प्रश्न गर्नु आवश्यक भएको छ।नेपाली साहित्यले पश्चिमी समालोचना सिद्धान्तका ठूल्ठूला ज्ञाता पाएको छ। उता आविष्कार भएका पद्धतिहरु कतिपय त सँगसँगै जस्तो नेपाल आइपुग्छन्। तिनीहरुको तत्कालै नेपाली भाषासाहित्यमा प्रयोग हुन्छ।तर समालोचकहरुले मिथक समालोचना किन प्रयोगमा ल्याएनन् त?जो बितेर गए उनीहरुलाई माफि दिउँ। जो आफ्नो योगदान दाबी गरिरहेका छन्, उनीहरुलाई प्रश्न भयो।

मिथक समालोचना पद्धतिमा गएको भए यति धेरै जनजाति समूदायमा विद्यमान मिथकहरुलाई प्रयोग गर्न उत्प्रेरणा हुन्थ्यो। सिमित जातिमा रहेका मिथकहरु आज नेपाली भाषाका मिथक हुन्थे। त्यसका आधारमा अरु हेत्छाकुप्पा अथवा उर्गेनको घोडा लेखिन सक्थे।

यता पौराणीक उपन्यास लेखनको पनि समालोचना हुन्थ्यो। अहिले लेखिएका उपन्यासमा भएका कमीकमजोरी वस्तुगत रुपमा केलाउन सकिन्थ्यो। अब केकस्ता उपन्यासहरु संस्कृत महाख्यानको सागरबाट झिक्न सकिन्छ भन्ने चेतना लेखकहरुमा जाग्थ्यो। अरु माधवी र योजनगन्धा लेखिन सक्थ्यो। किन यता समालोचकहरुको ध्यान जान नसकेको हो?

December 04, 2016

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.