~अरुणबहादुर खत्री “नदी”~
आजभन्दा करिब तीन दशक अघिदेखि म साहित्यिक क्षेत्रमा लाग्न थालेर घरमा आफ्नो मनमा केही कुरा उब्जेन थालेपछि पलेटी मारेर कविता कोर्न थालेको देखेपछि के लेखेर बसेको मेरी आमाले भन्नु हुन्थ्यो । आमालाई आफूले के ढाट्ने भनेर “मैले आज एउटा नयाँ कविता लेख्न लागेको हुं आमा” भन्दथे । “कविता लेखेर तैले के पाउछस् र ?” आमाले भन्नु हुन्थ्यो । “कविता लेखेपछि कुनै पनि पत्रिकामा छाप्न दिन पाउछु आमा कविता लेखेपछि मेरो मन सन्तुष्ट पनि हुन्छ कविता मैले पठाएको कुनै पनि पत्रिकामा छापिएपछि अरुले पढ्न पाउछन् र मेरो नाम पनि चम्किन्छ नि आमा” भन्दथे । कहिलेकाही शनिबार विदाको दिनमा आफूलाई साहित्यिक कार्यक्रमको निमन्त्रणा आएर आफू नगई नहुने साहि त्यिक कार्यक्रममा जान थालेको आमाले थाहा पाउनु भएपछि साहित्यिक कार्यक्रममा गएर तलाई कसले के दिन्छ भन्नु हुन्थ्यो ।
आमाले त्यसो भन्नुभएपछि एकप्रकारले मेरो मन पनि दुख्ने गर्दथ्यो । निम्तो पाउदैमा सबै ठाउँमा जान चाहि भ्याउने गर्थिन । नगई नहुने ठाउँमा चाहि समय निकालेर पुग्ने गर्दथे । विदाको दिनमा सधैभरि साहित्यिक कार्यक्रममा गएर समय दिदा घरमा बसेर लेख्न र अरुका कृतिहरु अनि साहित्यिक पत्रिकाहरु पढ्ने समय पनि गुम्ने गर्दथ्यो । साहित्यिक क्षेत्रमा लाग्न थालेको डेढ दशक बितेपछि विभिन्न साहित्यिक संस्थाहरुले सम्मान गर्न मलाई बोलाउन थालेपछि खुसी मान्दै मैले आमा मलाई सम्मान गर्न बोलाएको छ नि भन्दा आमाको मन खुसी हुने गर्दथ्यो । सम्मानपत्र बोकेर घरमा आउने बित्तिकै आमालाई देखाउने गर्दथे । एकप्रकारले मेरी आमाको मन ज्यादै खुसी पनि हुन्थ्यो । मैले आफूले पाएको सम्मानपत्र आमालाई देखाएपछि घरका भित्ताहरुमा किला ठोकेर झुण्ड्याउने गर्दथे । भित्तामा आमाले पनि मैले पाएको सम्मानपत्रलाई हेर्ने गर्नुहुन्थ्यो । कहिलेकाही अरु साहित्यकारहरुका राम्रा राम्रा किताब खोजेर पढ्न लागेको पनि आमाले देख्ने गर्नुहुन्थ्यो । अरुका किताब पढेपछि समीक्षा नलेखी चित्त बुझ्दैनथ्यो मलाई । समीक्षा लेखेपछि कुनै पनि साहित्यिक पत्रिकालाई कम्प्युटर टाइप गरेर इमेल गरेर पठाउने गर्दथे मैले । पत्रिकामा छापिएपछि खुसी पनि लाग्दथ्यो आफूलाई ।
एकदिनको कुरा हो बिहानीपख हुन लाग्दा मैले राम्रो सपना देखेको हुनाले आमालाई थाहा छ आमा आज मैले बिहानीपख भएर आफू उठ्नु अगाडि सपनामा मोटो जुँगा पालेको प्रहरी महानिरीक्षकले मलाई सम्मान गरेको सपना देखे नि, प्रहरी पत्रिकामा मेरा रचनाहरु बेला बेलामा प्रकाशित पनि भएका छन् विपनामा पनि प्रहरी महानिरीक्षकले सम्मान गरेमा आमालाई कति खुसी लाग्थ्यो होला भने । भगवान संग मनमनै मैले देखेको सपना पुरा हुन सकोस् भनेर पुकार पनि गरे । मेरो सपना पुरा भएमा आमालाई कति खुसी लाग्थ्यो होला पनि भने ।
मैले सपना देखेको चार महिना बितेपछि आमाको निधन हुन पुग्यो । आमाको निधन भएपछि आमा बाँच्नु हुदा मैले सम्मान पाएर आमालाई मेरो सम्मानपत्र देखाउन पाएको भए मेरो आमा कति खुसी हुनुहुन्थ्यो होला भन्ने सम्झेर मेरो मन असाध्यै रुन पुग्यो । मेरो सपना अधुरो रह्यो । आमा अझै चार पाँच वर्ष बाँचिदिनु भएको भए हुन्थ्यो नि । चार पाँच वर्षभित्र त मैले प्रहरी पत्रिकामा राम्रा राम्रा रचनाहरु पठाएर छापिदा एक दिन मेरो पनि प्रहरी दिवसको दिनमा सम्मानको पालो आउथ्यो कि भनेर मनमनै सोच्न पुगे आँखाबाट आँसु झारेर । मेरो सपना अब कहिले पुरा हुने होला ?
आमाको निधन भएपछि बेला बेलामा साहित्यिक क्षेत्रमा लागेर मैले राम्रो प्रगति गर्न सके भने कति खुसी लाग्थ्यो होला आमालाई आमा बाँच्नु भएको भए कहिलेकाही मनमनै भन्ने गर्दथे । मेरी आमाले हामी लाई छाडेर जानु भए पनि साहित्यिक क्षेत्रमा लागेर मैले राम्रा राम्रा रचनाहरु सृजना गर्न सकेर पत्रिकामा छपाएर सधैभरिको लागि राम्रो गर्न सक्छु भनेर आत्मसन्तुष्टि लिएर चित्त बुझाउने गरेको छु । प्रहरी पत्रिकामा आफू बाँचुञ्जेल आफ्ना नया नया लेखरचनाहरु लेखेर पठाइरहन्छु । एकदिन प्रहरी पत्रिकामा मेरो रचनाले उत्कृष्ट स्थान पाएर सम्मान पाउछु कि आमा भनेर आमाको तस्बीरमा हेर्छु ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : जनकपुर डट कम)