~कृष्ण प्रधान~
जाँदै थियौँ,
जाँदाजाँदै नदीले छेक्यो ।
कुनै पुल थिएन,
बाढी आएको थियो
पर्खियौँ
कुर्दाकुर्दै पानी सुक्यो नदीको
पार गर्यौँ ।
त्यहाँपनि बस्न मन थिएन
अघि बढ्यौँ,
फेरि त्यहाँ भयङ्कर हिउँ पर्यो।
पहाडहरू सेताम्मे भए
हिउँले हातगोडा चल्न सकेनन्
पर्खियौँ ;
अर्को साल आयो
हिउँ पग्लियो
फेरि अघि बढ्यौँ ।
त्यहाँपनि बस्न मन भएन
अझै अघि जानु थियो
बढ्यौँ,
तर त्यहाँबाट उता बढेको भए
तलतिर खसिने डर पलायो
टेबुलको पल्लो कुनामा पुगेर
अलमलिएको कमिलोझैँ
हामी अघि बढ्न सकेनौँ,
त्यसै दिनदेखि हामी अलमलिइरहेछौँ।