~मनोज बोगटी~
अमलिसो सुकौरो लागेको छेक पारेर
सरकारले हेपेरै मेरो नाम राख्यो सय दिने।
उनीहरू एकदिने
अथवा एक घण्टे।
अथवा…।
जीसीपीको पछिपछि कुद्दै पाक्छ हजिरा
रत्ने त घरमै बस्छ
देवीप्रसाद दिल्ली छन्।
भक्ते अफीस जान्छ।
दिलु बहिनी जहिल्यै झगडा गर्छे।
तिमेरु मत्तै खाने?
यसरी सोध्छे।
सयदिनलाई टुक्राएर
फुटाएर
च्यातेर
जे जे गर्न सक्छ सप्पै गरेर
पन्ध्रदिन पार्छ सर।
पन्ध्र दिनलाई पनि काटेर मलाई एकदिन दिन्छ
र भन्छ,
घर बसेर दुइटा शुन्य थप्नु।
कहॉंबाट थप्नु
पढ़ेको भा’ पो।
अब के गर्नु सर?
(स्रोत : रचनाकारको कविता सङ्ग्रह “पसीनाको छाला” बाट सभार )