~समीरबाबु कट्टेल~
केही लेखक यथार्थ घटनालाई काल्पनिक शब्द-शिल्पीले सिँगारेर औपन्यासिकता प्रदान गर्छन् त केही अनुसन्धानमा डटेर तथ्यपरक एवं विश्वासिलो सन्दर्भ सामग्री बनाउँछन् । यहाँ उपन्यासकार हरिमाया भेटवालले ‘कल्ली’ उपन्यासको माध्यमबाट समकालीन नेपाली समाजको चित्र उतार्न खोजेकी छन्।
महिलाका पीडालाई पाठकसामु ल्याएकी छन् उनले । आफ्नै गति र लयमा हिँडिरहेको पूर्वी पहाडी समाजदेखि व्यस्त काठमाडौं सहरलाई जोडेकी छन् । उपन्यासमा जोडिएका कुथुंग्रीमा पाठकले कतै न कतै आपूmलाई भेट्टाउँछ ।
उपन्यास गाउँले जीवनको प्रतिनिधित्व गर्ने कल्लीको संघर्षपूर्ण जीवनकथामात्र होइन; सहरिया, शिक्षित एवं सम्भ्रान्त परिवारकी पात्र विदूषीहरूको व्यथा पनि हो । यसमा लछिमा र गंगाजस्ता एकल महिलामाथि हुने हिंसामात्र छैन, सङ्लीजस्ता भट्टीवाल्नीले जीवन गुजाराकै नाममा समाजलाई कसरी कज्याउँछन् भनेर देखाइएको छ । त्यस्तै अशिक्षा र अन्धविश्वासका कारण पुत्र प्राप्तिको उत्कट अभिलाषा बोकेर लट्टे झाँक्रीजस्ता धुन्धुकारीको शरणमा पुग्ने सोमे र किस्ने हामै्र समाजका प्रतिनिधि पात्र हुन् ।
पैसा र सामाजिक प्रतिष्ठाको आडमा बूढो लाहुरेजस्ता पात्रका कुकर्म कसरी ढाकछोप हुन्छन् भन्ने विषय-विश्लेषण जटिल छ । उपन्यासमा प्रमुखकताका साथ उठान गरिएको वैदेशिक रोजगारीको पीडा, विदेशी जेलमा जाकिएको डिल्लुको कथा र सरकारी क्षेत्र मूकदर्शक बनेको प्रसंग संवेद्य छन् । मुख्य पात्र कल्लीलाई संरक्षण र साथ दिने ससुराबुवाको चरित्र प्रेरणादायी छ ।
मान्छे सपनामा रमाउने प्राणी हो । आफ्ना क्षमता र योग्यताले नभ्याए पनि सबै सपनाका पछि दुगुरिरहेकै हुन्छन् । सहर सपना पहिलो प्राथमिकतामा पर्छ । गाउँघरमा चुलोचौकोले कहिल्यै नछाडेका महिलाले सहरिया जीवनलाई फरक ढंगले सोचेका हुन्छन् । सभ्य र शिक्षित परिवारकी विदूषीको कथा आमधारणाभन्दा फरक छ, दुःखद छ । विदूषीका घरमा उसका श्रीमान्ले गरेको व्यवहार र वचनवाणले कल्ली अवाक् हुन्छे । ऊ भन्छे, ‘अन्याय सहनु हुन्न भनेर अरूलाई सम्झाउँदै न्यायको पक्षमा उभिन सिकाउने तपाईंजस्ती नारी यस्तो शोषणमा पिसिएर बाँच्या देख्दा टिठ लाग्यो मलाई । मलाई धेरै दुःख छ । तर वास्तवमा तपाईंले भोगिरहनुभएको दुःखको अगाडि मेरो दुःख त सानु ।’
राजनीतिक अस्थिरता र दिगो विकासको कमीजस्ता कारणले करिब अढाई दशकदेखि नेपाली समाज माथि उक्लिन सकेको छैन । रोजगारीका सम्भावना ज्यूँका त्यूँ छन् । शैक्षिक बेरोजगारी बढेर गएको छ । दैनिक करिब पन्ध्र सय युवा बिनासीप मजदुरीका लागि बिदेसिन बाध्य छन् । हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेको छ । अर्कातिर त्यसभित्रका पीडा र संवेदना छुट्टै छन् । स्थानीय भाषा नजानेकै कारण डिल्लु जेलमा पर्छ । मान्छे मारेको आरोपमा अदालतले मृृत्युदण्डको फैसला सुनाउँछ ।
लोग्नेलाई फर्काइछाड्ने संकल्प बोकेर सामाजिक कार्यकर्ता विदूषीले दिएको पैसाले गाडी भाडा तिरी काठमाडौं छिरेकी कल्लीको रोदन, देशविदेशबाट पचास लाख चन्दा उठाएर ब्लड मनी तिरेर लोग्नेलाई फर्काएको कथा उपन्यासको प्रमुख एवं गहन पक्ष हो । यसमा सरकारी पक्षबाट भएको लापरबाही र ढिलासुस्ती दुःखद छ । रेमिट्यान्समाथि गर्व गर्ने तर दुःखमा सहयोग नगर्ने सरकारी पक्षले समेत उपन्यास पढ्नुपर्छ ।
सहरमा कल्लीले देखेभोगेका समस्या र अड्चन वास्तविक लाग्छन्् । सरकारी काम छिटो फत्ते गराइदिन्छौं, आवश्यक मान्छे भेट्टाइदिन्छौं भनेर ठग्ने दलाल हाम्रै सरकारी अड्डाका सेरोफेरोका कलंक हुन् । आ श्रममा भेटिएका आफ्ना समस्याको गाँठो फुकाउन सहर पसेका दिदीबहिनीहरू कल्लीका मन बुझाउने ओखती हुन् ।
डिल्लु बलराम र सपनाबीचको त्रिपक्षीय प्रेम रोचक छ । यसले आमयुवापुस्ताको पानीफोके प्रेमलाई गिज्याउँछ । बाल्यकालमा विवाह गरेकी स्वास्नी, वृद्ध बाबु अनि परिवारको सपना सबैलाई लत्याएर डिल्लुबाट भएको व्यवहार असामाजिक छ । बलराम र डिल्लुबीच आपसमा भएको अविश्वास पीडादायी छ । यिनै कारणबाट उब्जिएको पारिवारिक खटपट भने मर्मस्पर्शी र हृदयविदारक छ ।
यस्ता समस्याकै कारण घर छाड्नुपर्नेसम्मको निर्णय हुनु नेपाली समाजको एक प्रतिनिधि घटना हो । उपन्यासमा कल्ली भन्छे, ‘तपाईंका छोरा मरेनन् । तर उनलाई बचाउँदा मभित्रको आशक्तता मरो बा । म भित्रकी कल्ली मरी । तपाईंकी ब्वारी मरी । अब यो जन्मलाई निरर्थक बित्न दिन्नँ म । एउटा संकल्प छ मनमा । म त्यै संकल्प पूरा गर्ने बाटामा जान्छु बा । म आफैं बाच्न चाहन्छु ।’ यो कल्लीको मात्र समस्या होइन । ठूलो सपना पालेर लोग्नेलाई विदेश पठाउने कल्लीजस्ता धेरै दिदीबहिनीको साझा समस्या हो ।
उपन्यासमा समेटिएका सबै घटनावली र पात्र गहन छन् । प्रायः सबै विषयवस्तु छुट्टाछुट्टै उपन्यासका विषय बन्नलायक छन् । महिला हिंसासँग जोडिएका यस्ता विषयमा राज्यको ध्यान जानु जरुरी छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाको ध्यानाकर्षण हुनु आवश्यक छ ।
विषयवस्तुका हिसाबले उपन्यास अब्बल छ । भाषा सरल छ । मात्राहरूमा तलमाथि भएको निकै भेटिन्छ । एउटै विषयवस्तु पटकपटक दोहोरिनाले पाठकलाई झिँझो लाग्छ । पात्रहरूको भाषा र अभिव्यक्तिमाथि उपन्यासकार हावी भएको प्रस्टै थाहा हुन्छ । जस्तै— लाहुरे बाको भाषा एउटै अनुच्छेदमा फरक ढंगले प्रस्तुत गरिँदा पाठक खुत्रुक्कै हुन्छन् । आफ्ना अनुकूलका शब्दहरू जुराउन पनि खप्पिस छिन्, उपन्यासकार । जस्तै— गुत्थमगुत्था, खुनखुनायो, ओराइपराई इत्यादि । यसले पाठकलाई असिनपसिन बनाउँछ ।
महिला उपन्यासकारले नारी पात्रलाई प्रधान बनाएर उनीहरूका समस्यालाई केलाएर लेखिएकाले किताब ओझिलो बन्न पुगेको छ, पठनीय भएको छ । यसमा महिलामाथि महिलाद्वारा हुने अन्यायलाई समेत जोडिएको भए अझ प्रभावकारी हुनेथियो । साथै यसै समय र परिवेशमा घटेको तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीचको कहालीलाग्दो सशस्त्र द्वन्दको कथा छुवाएर अस्पष्ट छाड्नुको सट्टा वस्तुगत रूपमा लेखिएको भए भावी पुस्ताका पाठकलाई पक्कै न्याय हुने थियो । अरू जेजे भए पनि उपन्यासले पाठकको समेत समय बोलेको छ । किताबभित्रका हरेक घटना र पात्रसँग पाठक जोडिएकै हुन्छ । यसको सबल पक्ष यही हो । त्यसैले पनि यो आस्वाद्य छ, पठनीय छ, संग्रहणीय छ ।
उपन्यास : कल्ली
लेखक : हरिमाया भेटवाल
प्रकाशक : शिखा बुक्स
मूल्य : ३७५ रुपैयाँ
पृष्ठ : २८८
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)