~भेषराज रिजाल~
वरिष्ठकवि सूर्यनाथ सापकोटा बहुआयामिक साहित्यिक व्यक्तित्वका धनी हुनुहुन्छ । बागलुङबाट प्रकाशित ज्योति पत्रिकामा कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका कविका कविता संग्रह, कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित भएका छन् । कविका प्रकाशित कृतिहरूमा पक्रैया (खण्डकाव्य, २०५२), बिन्तिपत्र (व्यङ्ग्य, २०५४), घायल मुटु (कथा सङ्ग्रह, २०५६), आगोभित्रको मान्छे (उपन्यास, २०५८), रातमाटा कालापानी (गीति खण्डकाव्य, २०६०), झर्दै फुल्दै फुल्दै झर्दै (सूत्रकथा, २०६०), श्रीलङ्का यात्राका अनुभूतिहरू (यात्रा संस्मरण, २०६५), सोमनाथलाई चिठ्ठी (पत्र गीतिकाव्य, २०६७), जागिरभित्र (आत्मवृतान्त, २०७०), मेरी आमा दिलभरि (गीत सङ्ग्रह, २०७१), एक दृश्य मेरो झुपडीको (कविता सङ्ग्रह, २०७२), महाकवि बन्नोस् (व्यङ्ग्य सङ्ग्रह, २०७२) आदि एकदर्जनभन्दा बढी कृति रहेका छन् भने विभिन्न विधाका थुप्रै कृतिहरू प्रकाशोन्मुखसमेत छन् ।
व्यङ्ग्य चेतयुक्त रचनाका साधक कवि सापकोटाको पचासदेखि सत्तरीको दशकमा लेखिएका व्यङ्ग्य कविताहरूको सङ्ग्रह हो ‘महाकवि बन्नोस्, २०७२’। हास्य व्यङ्ग्यबाट देशमा उज्यालो छर्नेलाई समर्पण गरिएको प्रस्तुत व्यङ्ग्य कविता सङ्ग्रह राप्ती साहित्य परिषद्, दाङले प्रकाशनमा ल्याएको हो । स्वयम्बर
हाङको आवरणमा सजिएको यस कृतिमा ११०+१६ पेज तथा मूल्य रू.१५०।– रहेको छ । प्राज्ञ एवं साहित्यकार डा. अमर गिरीको शुभकामना, राप्ती साहित्य परिषद्, दाङका अध्यक्ष एवं साहित्यकार पुरुषोत्तम खनालको प्रकाशकीय तथा साहित्यकार उत्तमकृष्ण मजगैयाँको भूमिका रहेको यस कृतिमा पचासवटा व्यङ्ग्य कविता समाविष्ट छन् ।
आर्थिक, सामाजिक, राजनीतिकलगायत राष्ट्रिय जीवनका हरेकजसो पक्षका विकृति, विसङ्गति, भ्रष्टाचार, कुशासन, अव्यवस्थाप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको कृति हो ‘महाकवि बन्नोस्, २०७२’ । दैनिक जीवनका साँघुरा अफ्टेराहरूमा घाँटी निमोठ्न आइपुग्ने अत्याचारका माखेसाङ्ला चुडाल्न पाठकलाई उर्जाशील उत्साह दिनुहुन्छ कविले । सरल विषयवस्तु, गहन प्रस्तुति, निर्भिक अभिव्यक्ति एवं मिहिन व्यङ्ग्य चेत कवि सापकोटाका विशेषता नै हुन् । प्रगतिवादी चिन्तनका उज्याला कवि सापकोटाले समकालीन साहित्यिक फाँटमा आफ्नो इमान्दार छविलाई समेत छर्लङ्ग पार्नुभएको छ ।
कविता सङ्ग्रहको पहिलो कविता हो ‘निर्देशनले त चल्यो देश’ । यस कवितामा नागरिकको निरीह दिनचर्याको पर्वाह नगरी कानुनले होइन, निर्देशन र आदेशले चल्ने मुलुकी शासनउपर व्यङ्ग्य गरिएको छ—
“आफ्ना इमान्दारी
सुठोको भाउमा बिकेकोमा
ऊ निकै रन्थनियो
… …
उसको त्रिचल्ली भो
… तर ऊ
कारमा चढ्ने सरकारको
आँखामा पर्नै सकेन”
‘बूढीबज्यैसँग’ कवितामा निर्वाह बाँच्न खोज्ने बूढीआमैको दैनिकी चित्रण गर्दै गतिलो सरकार बनाउन बूढीआमैलाई सल्लाह दिनुहुन्छ कवि । पद्दति अबलम्बन गर्नभन्दा सत्ताको खेलमा रम्ने सरकारको प्रवृत्तिप्रति आशंका राख्दै फेरि भन्नुहुन्छ कवि—
“सत्ताको लाइसेन्स हराएर
आफै मुडअफ छ सरकार
… …
के सुन्ला र ?
आँसुको पुकार”
‘जय नेपाल भने भयो’ कवितामा लाज ढाक्ने एकसरो कमिज सिलाउन कपडा नपुग्दा दमाईं दाईले पापी पेटजस्तो पाकेट नराखेर पाकेटमारदेखि बचाउन खोजेजस्तो ठूला पेट नियन्त्रण गरेर भ्रष्टाचार रोक्न सकिने गज्जब तर्क छ कविको ।
“एमानको पेट नराखे
भ्रष्टाचार र महङ्गी
कति चाँडो रोकिन्थ्यो ।”
‘कल्ले रोक्ने प्रजातन्त्र आयो’ कवितामा प्रजातन्त्रलाई छाडातन्त्रसरि व्यवहार गर्नाले नागरिकको आँगनमा खुसीले चियाउन नसकेको प्रति व्यङ्ग्य गर्नुहुन्छ कवि—
“कलम मोटाएर राइफल भयो
बम दुब्लाएर अन्नको गेडा भयो
वीर बलभद्र कारगिलमा मर्यो
कल्ले रोक्ने प्रजातन्त्र आयो !”
‘ठूलाको हिसाब नियाल्दा’ कवितामा जनताप्रति उत्तरदायी हुननपर्ने ठूलाबडाकै जगजगी भएको वर्तमान परिवेशको असली अनुहार चित्रित छ । जतिसुकै बेथिति भए पनि सर्वसाधारणले नदेखेझैँ, नसुनेझैँ गर्नुपर्ने बाध्यता यसरी व्यक्त भएको छ कवितामा–
“सरकारभन्दा उसको ठेकेदार ठूलो
ठेकेदारभन्दा उसको बुझो ठूलो
शहिदभन्दा उनको मूर्ति ठूलो
देशको शासनभन्दा नेताको आसन र रासन ठूलो
हाम्रा नेताभन्दा उनको भाषण ठूलो”
विकृति र विसङ्गतिले आहत भएकोले कालरात्रीपछि बिहान आउनेमा विश्वस्त हुनुहुन्छ ‘अब बिहान आउँछ’ कवितामा कवि । पैदल कठिन भएर पजेरोमा लुक्नुपर्ने, सुनमा घुन पसेर रुनुपर्ने, परदेशी पान खाएर स्वदेशमा थुक्नुपर्ने यस्ता कुसंस्कार एकदिन निमिट्यान्न हुनेमा आशावादी हुनुहुन्छ कवि ।
‘सौन्दर्य निर्यात पारखीहरू’ कवितामा माया प्रेमको नाटक गरेर आफ्ना चेलीबेटी बेचविखन गर्ने पातकीहरूको अनुहारमा कालोमोसो दलिदिनुभएको छ कविले । कर्तुतले कलंकित तिनको अनुहार अब त अवश्य चिन्ला समाजले ।
‘म को हुँ’ कवितामा चोर र साधु छुट्याउन कठिन भइरहेको वर्तमान परिप्रेक्ष्यमा व्यङ्ग्य वाण प्रहार गरेर चोरको अनुहारबाट मुकुण्डो उतारिदिनुभएको छ कविले–
“सुरक्षामा हुँदा पनि त्रस्त छु
भिटामिन खाँदा पनि रोगले ग्रस्त छु
कपडा लगाउँदा पनि सर्वाङ्ग नाङ्गो छु
वसन्त आउँदा पनि बाङ्गो छु”
‘किन होला सिंहदरबार गा’का ?’ कवितामा मुलुकी प्रशासनको केन्द्रबिन्दू सिंहदरबार पस्न भोग्नुपर्ने सास्ती र सिंहदरबारको हुलियाले तर्साएको छ कविलाई । बिनाभेटी ठूलाबडाको दर्शन गर्न खोजेको भनेर बिचौलियाले हकार्दा प्रक्रियामा अल्मलिएको सिंहदरबारको अनुहारबाट विरक्तिँदै व्यर्थै सिंहदरबार छिरेको अनुभूत हुन्छ कविलाई ।
‘म त जनता’ कवितामा नेता, अभिनेता, कर्मचारी, पुजारी सबैको पहिचान र मान भएको मुलुकमा निर्धो चित्रित छ जनता । जनता जनार्दनको देशमा रजाइँ गरेर जनतालाई नै रैती बनाउन खोजेको दयनीय शासनतन्त्रप्रति प्रखर व्यङ्ग्य छ ।
‘ठूलो हुनु बेकार रहेछ’ कवितामा ठूलोबडोमा गनिए पनि मुलुकका लागि असल गर्न नसकी जनमानसमा निचमा दरिएकाहरूप्रति तिव्र व्यङ्ग्य प्रहार छ । अनि, साना भनिए पनि असल काम गर्नेहरूप्रति अपार श्रद्धा पनि छ—
“बरु सानो हुनु
सियो नै हुनु
दमाईं दाईले सबैका नाङ्गा हर टाल्दै
काम सिद्धाएपछि
आफ्नो टोपीमा घुसार्छ”
‘के लेख्छौ ?’ कवितामा एघार शब्दका चार हरफे युगीन प्रश्न छ कविको । सानो परिवर्तन गर्न नसक्ने अनि ठूल्ठूलो क्रान्तिको कुरा गर्नेहरू निरुत्तर छन् कविसँग—
“एक घोगा मकैले
एक हुल बाँदर जिस्क्याएझैँ
के लेख्छौ
क्रान्तिका कविता ?”
‘अब म कमिला बन्छु’ कवितामा उत्पीडित जनताको पक्षपोषण गर्दै जनताविमुखी राज्य संयन्त्रउपर व्यङ्ग्य गर्नुहुन्छ कवि । जनयुद्धकालीन असुरक्षाबाट बच्न मात्र होइन निमुखाहरूको आँसु पुछ्न पनि कमिला बन्ने इच्छा छ कविको ।
“भ्रष्टाचारी र तस्करीका महलहरूमा
म ठाँटले पस्छु
तिनीहरूका धनसम्पत्ति बोकी
भकाभक झुप्राहरूमा ओसार्छु
गरिबका आँसु पुच्छु ।”
‘महाकवि बन्नोस्’ कवितामा साहित्य गरिब दुखी जनताको सहयोगी हुनुपर्नेमा महाकवि भनाउँदाहरू नै चम्चे भएको प्रति तिव्र रोष भए पनि घुमाउरो व्यङ्ग्य सोझ्याउनुहुन्छ कवि । चाकडी चाप्लुसीमा अभ्यस्त, स्वदेशी स्वाभिमानभन्दा विदेशी दलालीमा मस्त, अवसरवादमा सिद्धहस्त भएकाहरू नै महाकविमा दरिएको वर्तमानलाई खिसी ट्युँरी गरिएको छ यस कवितामा । प्रस्तुत कविता सङ्ग्रहकै शीर्षक कविता हो ‘महाकवि बन्नोस्’ । यस कवितामा स्वार्थसिद्धीलाई प्राथमिकतामा राख्नेहरूलाई महाकवि बन्न आगह छ कविको—
“जताततै महाकविहरूकै
मौसम छ
मौका छोप्नुस्
झलका माछा फुत्काएर
भोको पेटमा नदगुर्नुस्
महाकवि बन्नोस् !”
‘दाङ रुन्छ’ कवितामा आफू मात्रै देश हो भनेजसरी मुलुकका अरू भू–भागदेखि विमुख रही आफैसँग रल्लिएको र अनेक विकृतिका फोहोरमैलाले थलिएको काठमाडौँसँग धेरै गुनासा छन् कविका । एउटा आशा पाल्न सकिन्छ– यस कविताका हरफले सच्चिएर अरूलाई पनि असल नियतले हेर्छ कि काठमाडौँले !
“तपाईंले लालमोहर सदर नगर्नाले
मेरो दाङको छातीमा
तोरी सुन भएर फुल्दैन
… …
दाङ र काठमाडौँको भेट
मान्छेको झैँ हुनुपर्छ
खोलाको बगर भएर हराभरा दाङ रुन्छ ।”
‘सम्झौताको हस्ताक्षर’ कवितामा मुलुकलाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न राज्यको रूपमा चिरपर्यन्त देख्ने चाह छ कविको । सम्झौताका चस्काले रन्थनिए पनि हाम्रो देश कहिल्यै हराउँदैन, देश त मुटुमुटुपिच्छे धड्किरहेको छ भन्ने अवधारणा छ यस कवितामा ।
साहित्यले समाज व्युँझाउनुपर्नेमा लाजपचेको समाजका कुकृत्य देखे पनि साहित्य मौन बसेकोमा क्षुब्ध हुनुहुन्छ कवि ‘कविता किन लेख्नुपर्यो ?’ कवितामा ।
“मान्छे व्युँझाउन बम पड्क्यो
देश धान्ने रगतमा एड्स निस्क्यो
साथी भनी हात मिलाउँदा घात मिल्यो
… …
गौतम बुद्धले पनि राइफल भिर्यो”
‘यताको हालखबर’ कवितामा गाउँघरले आफ्नो खबर बताउँदै पेटबोलीमा राजधानीसँग सोधिरहेछ– यस्तै हो त हुनुपर्ने ?—
“पसिनाका उब्जा लिन
चाकडीका खेतमा जोतिनुपर्छ
मान्छेमा दर्ता हुन
पाटीमा नाम लेखिनुपर्छ
दिनप्रतिदिन बाँच्न पनि
अस्पताल धाउनुपर्छ
यताको हालखबर
यस्तै छ
त्यता कस्तो छ ?”
‘अस्वीकार’ कवितामा समय र सन्दर्भका स्वीकृतिहरूलाई बद्नाम गराउँदै फाइदा बटुल्नेहरूदेखि विरक्त हुनुहुन्छ कवि । असल नियतबिनाको कर्ममाथि प्रश्न उठाउनुहुन्छ कवि–
“मार्क्स, लेनिन र माओहरूका मायामा
मान्छे मार्ने पनि ठूलै बने
बुद्ध र गान्धीका अनुहारमा
कसाइहरू पनि उभिनथाले
यसैले पशुहरूले पनि
मान्छेका अनुहार लिन मानेनन् ।”
‘मान्छेले टोके पृथ्वी मर्छ’ कवितामा आफू उभिएको धरालाई माया नगर्ने कुरूप मान्छेका कुकृत्य उदाङ्गो पारिएको छ ।
“कुर्सीमा जन्मेका हरामलाई
राम मानी पुज्नुपर्छ
… …
राइफलले शान्तिका गीत गाउँदैन
आँसुले मान्छे रित्तिन्न
हाँसोले मान्छे पुरिन्न
… …
नारामा युग हराएको छ
मान्छेका आँखामा अजिङ्गर लुक्ने दुलो छ
मान्छेभन्दा आँखा ठूलो छ
कमिलाले टोके हात्ती मर्छ
मान्छेले टोके पृथ्वी मर्छ”
‘म मूर्ख छु साथी’ कवितामा पाखण्डी समाजमा सभ्यता मरेतुल्य ठानिनु स्वाभाविकै हो । उहिले महाकवि देवकोटाले आफूलाई पागल ठानेझैँ कविले आफूलाई मूर्ख ठान्नुभएको छ । आगोको ओच्छ्यानमा सुत्ने, आतङ्कलाई निल्ने, दरबारलाई कुल्चेर सडक बनाउने, देशमाराका नाक काट्दै हिमालको उचाइ थप्ने, गिट्टी फोर्नेका आँसुका गास देखेर ईश्वर मरेको घोषणा गर्ने, फुक्का आकासझैँ हाँस्ने, सूर्य छेक्ने हत्केलालाई छप्काउने यस्ता कृत्यले कविले आफूलाई मूर्ख ठाने पनि मुलुकका विकृत पक्षउपर चोटिलो प्रहार गर्ने कवि प्रबुद्ध र प्रगतिशील वर्गमै दरिनुभएको छ ।
‘मित्र मलाई गाली नगर्नुहोला’ कवितामा देशको वर्तमान बेथितिप्रति व्यङ्ग्य गर्नुहुन्छ कवि–
“आइएनजिओ र एनजिओको घरमा पसेर
देशको भोक मेट्नुहोला
… मलाई भर्याङ बनाएर सदनमा पुग्नुहोला
कामरेड मन्त्री बन्नुहोला
… मुखमा कालो लागे
कमिशनका रुमालले पुछ्नुहोला
हजुरलाई चिसोले भेटे
महङ्गीका रापले सेकिनुहोला”
नागरिकलाई बाँच्न कठिन भएको दैनिकीको फेहरिस्त छ ‘बाँच्न कठिन भो’ कवितामा । सबैलाई ढोग्दा पनि, चारखुट्टे पशु, दुईखुट्टे मान्छे र खुट्टाविहीन देवता बन्दा पनि, पेटको आगो र आँखाको पानी सरकारकहाँ पठाउँदा पनि बाँच्न कठिन भएको मुलुकको प्रतीकात्मक तस्वीर राम्ररी कोर्नुभएको छ कविले ।
‘सरकार’ कवितामा जनतालाई नीति नियमको आडभरोसाले मनोबलसम्पन्न बनाएर मुलुकमा समृद्धि ल्याउने सशक्त सरकार बन्नुपर्ने धारणा छ कविको । सरल र सरस शब्दमा कवि भन्नुहुन्छ–
“ताउली त दियौ सरकार लोकतन्त्रको
तर,
मानो पाइएन मानवताको !”
अपेक्षित स्वरूपको सरकार नदेख्दा विरक्तिएको कवि हृदय खुलस्त छ कवितामा–
“तपाईंलाई त टाटा बिडालाले बनाएझैँ
बलियो देख्छु
टनकपुर र कालापानीले धोएर हो कि ?
सधैँ सफा र उज्यालो देख्छु ।”
‘आकास र छाता’ कवितामा छातालाई घामपानीको साथी मानेर साथै लिएर हिँडे पनि आकास मै हूँ भन्ने छाताको घमण्ड देखेर मर्माहत हुनुभएको छ कवि । हेमराज स्मृति प्रतिष्ठान, पोखराको आँगनमा पुग्दा सुन्नुपरेको छाताको हृदयपीडक उद्गारलाई जवाफ दिँदै तत्कालै भनिदिनुभएथ्यो कविले–
“तँ त छातै होस्
आकास होइनस् !”
‘हाइब्रिड फर्सी’ कवितामा अमर पसिनाले मलजल गर्दा पन्पिएको हाइब्रिड फर्सीमा बतिलो नरहेपछि विशेषज्ञको भिटामिन दिनुपर्ने सल्लाह सुन्दा कविको मनमा चिसो पस्छ–
“यो हाइब्रिड फर्सीको जात पनि
भिटामिन नखाँदासम्म काम नगर्ने
लोकतन्त्रको हाकिम र कर्मचारीजस्तो !”
मेहनत, नैतिकता, इमान्दारिता, अनुशासन र कर्तव्यपालनालाई अबलम्न नगरे लोकतन्त्र आए पनि मुलुक बन्न कठिन हुने धारणा राख्नुहुन्छ कवि यस कवितामा ।
एकातिर मुलुक रोग, भोक, शोक, गरिबी र अभावमा चेपिएको छ भने अर्कोतर्फ हरेक पाइलामा टेकिन आइपुग्छन् भ्रष्टाचार, कुशासन, अन्याय र अत्याचारका गहिरा खाडलहरू । यस्तो दुर्दिन भोग्न बाध्य जनतालाई सचेत बनाएर मुलुकमा सुशासन र समृद्धि उदाएको देख्न चाहनुहुन्छ कवि सापकोटा । र त, कविले विकृति, विसङ्गतिले थलिएको वर्तमानलाई युगीन व्यङ्ग्य चेतले व्युँझाउन चाहनुहुन्छ । त्यही प्रगतिवादी चिन्तनको उपज हो प्रस्तुत व्यङ्ग्य कविता सङ्ग्रह– ‘महाकवि बन्नोस्’ ।
अवसरवादी वर्तमानलाई महाकवि बन्न आग्रह गर्दै कविले व्यङ्ग्यका झटाराले झपार्नुभएकोले पुस्तकको शीर्षकसमेत सार्थक देखिन्छ । सरल, सरस काव्यशैलीभित्र उनिएको व्यङ्ग्य चेतले मुलुकका समग्र कुरीति, विकृति एवं अव्यवस्थाहरूप्रति प्रहार गरेको छ यस कविता सङ्ग्रहमा । नवीन विम्ब, प्रतीक, उपमा र कथ्यको प्रयोगले व्यङ्ग्य कविताहरू उत्कृष्ट बन्नपुगेका छन् । अनुप्रास र गेयात्मकताले कवितामा बान्की थपेका छन् । समग्रमा, प्रस्तुत व्यङ्ग्य कविता सङ्ग्रह पठनीय एवं मननीय बन्न पुगेको छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )