~सुबेश घिमिरे~
छ बर्षकी मेरी छोरी
हरेक साँझ अनलाइन हुन्छे ।
कम्प्युटरको अन्तर-जालोमा
थरी-थरीका एनिमेसन पठाई
खित्का छाडी छाडी
उन्मूक्त हाँसो हाँस्छे
घरी मायाको चिन्ह साट्छे
घरी रीश अनि घुर्कीको संकेत फाल्छे ॥
प्रविधिको अनुपम शौगात
हामी दूर भएर पनि समीप छौं
विश्वव्यापीकरणको असह्य प्रतिघात
हामी दूर-दूर अफालिएका छौं ॥
समयको यो अन्तरबेलामा
कालान्तरको करलव मेलामा
छोरीसँगको यो कम्प्युटर-कल्पित सम्वाद
मेरो स्नायु-जालोलाई तरंगित गर्छ
ममा उत्साहको उन्माद छर्छ ॥
मानव सभ्यताको अनन्त-बक्र गोरेटोमा
वर्तमानको यो अपूर्व मोड
नया युगको प्राबिधिक उद्घोष-
भविष्यको कुनै कुनोमा
ब्रह्माण्डको कुनै दुलोमा
बिगतका यस्तै यस्तै
अनेकानेक नुतन काल जस्तै
अनुस्मृत काल नै त होला
क्षणभंगुर छाल नै त होला ॥
अनि यसरी नै
मानव सभ्यता अनादी कालसम्म
नव-प्रबिधिको मृग-तृष्णामा
ब्रह्माण्डको भवसागरमा
रुमल्लिई रहला !!
२००९।०८।२९
साप्पोरो, जापान !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)