कविता : चुनाव आयो

~पुजा पराजुली~

मुखिया बाको पिंढिमा रेडियोले समाचार फुक्दै थियो,
देशमा चुनाव आउन लागेको ।
त्यसैले पो रहेछ गुन्यु-चोलीमा
अविरले रङ्गीएका अनि फूलमाला भिरेका,ढाकाटोपी
दौरा-सुरुवालमा सजिएर
सुकिलामुकिलाहरु ‘गाम’ छिरेका ।

हिजोसम्म भेडाबाख्रा,गाई र भैंसी
हिड्ने यी साँघुरा गल्लिहरुमा ,
दश ठाउँमा च्यात्तिएका
अनि बीस ठाउँमा सिलाएका र
सयौं पटक लाज ढाकेका लुगाका
मान्छे हेर्ने बानी परेका
यी खाल्डाखुल्डी गोरेटोहरुले
आज त फुटेका पैतालाहरुको
चरचरबाट बगेका रगतहरुले
पोतिनु नपर्दा
विलासी जीवन टलक्क टल्केका
जुत्ता-चप्पलको स्पर्शमा आनन्द मान्दै होलान् ।

जसरी मानिस सुकिला भएर आएका छन्,

त्यसरी नै हातमा

रंगिन कागजका पर्चा पनि लिएर आएका छन् रे !
बिर्खे काकाको सानो छोराले
‘पिलेन’ बनाएर उडाउन र
डुंगा बनाएर खोलामा बगाउन
आफ्ना बलबुताले भ्याएसम्म
रुख, सूर्य, हसियाहतौडा, गाई ,
हलो, तारा आदि आदि चिन्न भएका
कागज बटुलेर घरमा ल्याएको छ ।
देशमा साच्चै चुनाव आएछ ।

जसरी वर्षेनी दशै र तिहार आउँछ नि ,
चाडपर्व झै चुनाव आउँछ र पो
गाउँमा जात्रा देख्न पाइन्छ !
नत्र हामी चन्खे र तारेलाई
जुधाएर गोरुजात्रा मात्र हेरिरहेका हुने थियौ ।

हामीले जात्रा हेर्नकै लागि भएपनी
धन्न देशमा चुनाव आएको छ ।
परार साल यसरी नै भोट माग्न आएका
नेताहरुले गाउँको बाटो नभुलुन् भनेर नै
देशमा चुनाव आएको छ ।

चिया पसलमा मास्टरसाहेवहरु बात मार्दै थिए,

विभिन्न पार्टीले ल्याएका चुनावी नाराहरुको ।
टिपिक्क लागेको तरलाइ चोर औलाले छेऊ
पन्छ्याउदै, चियाको चुस्की सुरुप्प लिदै,
साठी काटेका मानबहादुर
‘वृद्धभत्ता दोब्बर हुने रे’ भन्दै
मन्द मुस्कानमा जुँगा मठार्दै थिए।

खाडी छिरेको छोराको सन्चो बिसन्चोको
एउटा आवाज सुन्न गाविसमासम्म धाउने
चन्द्र काका र रामप्यारी काकी
‘फ्री वाइफाई आउने भो’ भनी
यसै साता मोबाइल किन्न सहर जाने
योजना बनाउदै, खर्चको जोरजाम गर्दै थिए।
मास्टरसाबले भन्दै थिए
‘अब बालबालिकालाई
पनि राम्रो हुन्छ। नि:शुल्क शिक्षा आउँछ कि!’

राजधानी का कुनकुन अस्पतालमा उपचार निःशुल्क भैसक्यो रे !

सात सालमा प्रजातन्त्र ल्याएका
नब्बे सालका भिमसेन हजुरबा
पनि भन्दै थिए,
‘देशमा त फेरि
राजा पो फिर्ने भए।’

के नेपाल काठमाडौं मात्रै हो र ?
के नेपाल राजधानी मात्रै हो र ?
के नेपाल शहर मात्रै हो र ?
हैन, भने किन हामी मोटर गाडी नदेखेकालाई
रेलमा गुडाउने सपना देखाउछौ नेताहरु ?
हुन त तिमीहरुले हुम्ला, जुम्ला, मनाङ र मुस्ताङको
नेपाल देखेकै छैनौं !
आखिर कुवाको भ्यागुतो न परयौ !
कुवाकै संसार काफी छ सायद तिमीहरुलाई ।

बालबालिकालाई राम्रो शिक्षादीक्षा देऊ,युवाहरूलाई विदेशिन रोक,

देशमै रोजगारीको अवसर बनाऊ ।

यहाँ कयौं कुपोषित बालबालिका,

रोगीहरु पलपलका क्षणहरुमा
मृत्युसँग लडिरहेका छन् ।
जस्को वर्तमानको टुङ्गो छैन,
तिमी वृद्धभत्ता दोब्बर बनाउने कुरा गर्छौ ?
त्यसैले हामीलाई वर्तमानमा जि उने वातावरण बनाईदेऊ ।

‘फ्रि वाइफाई’ चाहिन्न
हरेक साझ टुकीको धुवासङ्ग लड्ने
आखामा बिजुली बत्ती पुर्याइदेउ.।
पखाला लागेर सन्तान अनि
प्रसुती ब्यथा लागेर आमा गुमाउन नपरोस्,
केवल गाउँ–गाउँमा अस्पताल बनाइदेऊ ।

तिमीहरुलाई साच्चिकै भोट चाहिन्छ भने ,
तिम्रा एजेन्डा हैन,
हाम्रा एजेन्डा पूरा गर ।
तिमलिे हात जोड्दै हामसिामु आउनु पर्दैन,
हामी नै काँधमा राख्छौं । र, भोट दिनेछौं ।

त्यसो त बरु भोट खेरै जाओस् ।
हामीलाई चुनाव कागलाई बेल जस्तै नहोस्।

हैन भने ,
बिर्खे काकाको सानो छोरासँगै,
हामी ‘पिलेन’ उडाएर बस्छौ ।
डुंगा बगाएर बस्छौ ।
हामी जे छौं,ठिकै छौं ।
विथोल्न नआऊ,
भोट माग्न नआऊ ।

हाल : टेक्सास,अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.