~मेनका पोखरेल आचार्य~
रूपमतीले आधुनिक नेपाली उपन्यासका क्षेत्रमा आफूलाई परिचित गराएपछि विविध धारा र मोडमा विकसित हुँदै आएको नेपाली औपन्यासिक क्षेत्रमा भर्खरै मात्र उदाएकी छिन्, बाबा बस्नेत स्त्रीलिङ्गी शब्दको शीर्षक रहेको ‘रातकी रानी’ उपन्यासमार्फत् । प्रस्तुत उपन्यासले नारी समस्याको चित्रण अत्यन्त जीवन्त ढङ्गबाट गरेको पाइन्छ ।
हाम्रो समाजका नारी हरतरहबाट पुरुषद्वारा शोसित र पीडित छन्, चाहे ती विपन्न र अशिक्षित वर्गका हुन् या सम्भ्रान्त र शिक्षित वर्गकै किन नहुन् जाहीँतहीँ उनीहरू प्रताडित छन् । शारीरिकरूपमा होस् या मानसिकरूपमा उनीहरू थिलथिलो बनाइएका छन्, जुन कुरा यस उपन्यासकी मूल नायिका किनाराका साथै उसकी घरकी नोकर्नी चमेलीले आफ्नो पतिद्वारा पाएको यातनाले प्रष्ट्याएको छ । जसमध्ये आफ्नो प्रेमी उदयसँग वैवाहिक सम्बन्धमा बाँधिएपश्चात् असङ्ख्य सपनाको ताँती आँखामा समेट्दै सुहागरातमा आफ्नो पति (उदय) को प्रतीक्षामा रहेकी किनाराले पतिको सामीप्य नपाउँदा दुःखी र अपमानित बन्न पुगेकी छे । विवाह अगाडि पाकिस्तानमा प्रथम भेट हुँदाका क्षण किनाराको रूप र यौवनको मादकतामा लठ्ठिँदै प्रेम नामको आडमा उसको शरीरमा आफ्नो वासनाको छाप लगाउने उदय विवाहपश्चात् आफ्नी पत्नीसँग नभई विधवा भाउजू गुराँससँगको अनैतिक यौन क्रिडामा संलग्न भएको देख्दा किनाराको मुटु छियाछिया परेको छ, मानसिक आघात परेको छ । त्यस्तै, उसकी नोकर्नी चमेली, जो आफ्नो जड्याहा पतिको कामुकतालाई झेल्न नसकी घरवार त्यागी लुक्दैछिप्दै किनाराको घरमा आस्रय लिन पुगेकी छे । कुनै पनि नारी-पुरुषले गर्ने शारीरिक प्रेममा होइन आत्मिक प्रेममा मात्र आफूलाई समर्पण गर्न चाहन्छन् भन्ने कुरा पाकिस्तानमा उदयसँग स्वेच्छाले आफ्नो कौमार्य समर्पित गर्ने किनाराले उदयसँग विवाह भएपछि गुराँससँग उदयको नाजायज सम्बन्धबाट उसलाई टाढा राख्न बाध्यतावश मादक पदार्थको सेवन गरी उदयसमक्ष आफ्नो शरीर सुम्पदा किनाराबाट व्यक्त भएका निम्न भावले सावित गरेको छ -“परीक्षाको यो घडीसम्म आइपुग्न मलाई मादक पदार्थको सेवनसमेत गर्नु पर्यो । एउटी वेश्यासरह निर्लज्ज नाङ्गिँदै मैले आफ्नो स्वाभिमानमाथि विश्वासघात गर्नुपयो ।” आफ्नो कामुक पतिलाई सही मार्गमा ल्याउन र मुमाहजुरको खुसीका लागि किनाराले आफ्नो स्वाभिमानमाथि चोट पुयाएकी छे ।
त्यस्तै, उदयकी आमा मुमाहजुर पनि पीडित नारी पात्र हुन्, जसलाई उसको पति र छोरोले ऋणको भार बोकाएर यो संसारबाट बिदा भएका छन् भने जीवित हुँदा पनि उदयको व्यवहारले उनलाई सधैँ कष्ट र चिन्ता मात्र दिइरहेको हुन्छ । यता किनाराकी साथी भूमिका छे, जसले विदेशी नागरिक डा. अल्वर्टसँग विवाह गरेर सन्तान जन्माएकी छे, लामो समयपछि उक्त विदेशी पहिला नै विवाहित रहेको र नातिनातिनाको हजुरबाबुसमेत भएको कुरा भूमिकालाई ज्ञात भएपछि आफूमाथि छल गरिएको भन्दै आफ्नो स्वाभिमानका लागि सम्बन्धविच्छेद गर्छे र आफ्नो दुःख भुल्ने प्रयासमा रक्सीको सहायता लिन्छे भने यौनतृष्णा मेट्न डा. राजको । अन्त्यमा भिक्षुणीसमेत भएकी ऊ विक्षिप्त अवस्थामा पुगेकी छे । यसरी हेर्दै जाँदा उपन्यासका प्रायः पुरुष पात्रलाई चोखोरूपमा भेट्न सकिँदैन । जागिर खोज्ने सिलसिलामा सुनकोसी एफ.एम.को कार्यालयमा पुगेकी किनारा हाकिमको कामुक चरित्र चाल पाएपछि आफ्नो स्वाभिमान र अस्मिता रक्षार्थ हाकिम भनाउँदालाई शब्दको झापड दिँदै त्यहाँबाट हिँडेकी छे । सबै स्वास्नीमान्छे नामका लागि आफ्नो इज्जत बेच्न तयार हुँदैनन् भन्ने कुरा स्पष्ट पारिएको छ ।
उदय बिरामी भएपछि उपचारार्थ भारत लिएर जाँदा र अन्य समयमा राजले गरेको सहयोग साथै उदय र उसकी सासूको मृत्यु भएपछि एक्ली सुत्केरी अवस्थाकी किनाराको रेखदेख आफ्नै घरमा लगेर गर्नुले किनाराको मनमा डा. राजप्रति एक किसिमको आकर्षण थपिँदै गए पनि भूमिकासँगको डा. राजको नाजायज सम्बन्धले पुरुषको यस्तैखाले चरित्रलाई उजागर गरेको छ । जसले गर्दा डा. राजप्रति पनि वितृष्णा उत्पन्न भएको छ, किनाराको मनमा । त्यस्तै रात र घण्टाको मोल लगाउँदै स्वास्नीमान्छेको शरीर किन्न चाहने कामुक र निर्लज्ज पुरुषहरूको प्रतिनिधि पात्रका रूपमा एउटा ड्राइभरलाई खडा गराएकी छन् बाबा बस्नेतले । जुन ड्राइभरलाई पुलिसका जिम्मा लगाएर उसको गालामा चड्कन दिने युवतीले साहसी महिलाका रूपमा आफूलाई स्थापित गरेको पाइन्छ । हाम्रो समाजका नारीहरूमा यस्तै साहस, आँट जाग्रित हुन सकोस् भन्ने सङ्केत पनि उपन्यासकारले गरेको प्रतीक हुन्छ ।
किनाराको माध्यमबाट नारीहरू आनो कुलघराना, मर्यादाको पालनमा धर्तीझैँ बनेर हरेक कुरा सहन गर्दछन् भन्ने देखाइएको छ भने अर्कातर्फ कलङ्कित नारीको छवि गुराँसका माध्यमबाट देखाइएको छ । आनो देवर उदयलाई आफ्नो यौन आकर्षणले खिच्न असफल हुँदै गएपछि उसलाई नपुङ्सक मात्र बनाएर छाड्दिन हत्यासमेत गराउन पुगेकी छे । अन्त्यमा दुष्कर्मको पराजय देखाइएको छ भने महिला भएर अर्की महिलालाई चोट पुर्याउने गुराँस आफ्नो अपराधबोधले आत्महत्या गर्न पुगेकी छे ।
समाजमा घट्ने समस्यालाई आफ्ना भाव र विचारमा संयोजन गरेकी छन् उपन्यासकारले रातकी रानीमा । नारीहरू पुरुषको साथ बिना पनि बाँच्छन् र बाँच्न सक्नुपर्छ भन्ने सन्देश दिने उद्देश्य प्रतीत हुन्छ किनकि राजलाई छाडेर एक्लै जीवन बिताउन अघिबढेकी किनारा समाजसेवामा आफ्नो बाँकी जीवन उत्सर्ग गर्दै सुखानुभूति गर्न पुगेकी छे । यति ठूलो विचार बोकेकी किनारा कतैकतै धेरै कमजोरजस्ती पनि देखिएकी छे । राष्ट्रभाव, बौद्धिकता, तार्किकता, दार्शनिकता र कुतूहलसमेत रहेको यो उपन्यासमा आफ्नो संस्कृति, परम्परालाई पनि हातेमालो गरिएको छ । समग्रमा उपन्यास सफल देखिँदादेखिँदै पनि कतैकतै अनावश्यक प्रसङ्गहरू जोडिएका छन्, जसको सम्बन्ध मूल कथानकसँग खासै नभएझैँ पनि लाग्छ पढ्दै जाँदा । त्यस्तै, वासनात्मक प्रेमलाई उजागर गर्नेक्रममा कतैकतै अलि बढी नै खुला भएको झैँ पनि लाग्न सक्छ पाठकलाई ।
कृति : रातकी रानी (सामाजिक उपन्यास)
लेखक : बाबा बस्नेत
प्रकाशक : कताजाने पब्लिकेसन सेन्टर, काठमाडौँ
प्रकाशन : २०६६
पृष्ठ : २०२
मूल्य : रु. २५०।-
जोरपाटी—०२, काठमाण्डौं
(स्रोत : मधुपर्क २०६८ जेठ)