~रमेशचन्द्र घिमिरे ~
बाको हात समाउँदै स्कुलमा गा’को
फर्किँदा त बाभन्दा नि म पो पैला भा’को
हाम्रा बाचाहिँ ठुला सरलाई भेट्न जानुभयो
बालाई अफिस चिनाउन मिसले लानुभयो
त्यै मौकामा सुर भयो कक्षा छोडी भाग्ने
मेरो बानी नराम्रो छ पढ्न झ्याउ लाग्ने
पानी खान जान्छु भनी मनिटरलाई ढाँटेँ
बरु घरै जानुपर्ला मनैमनले आँटेँ
पानी खान नगईकन मूल गेटमा छड्केँ
गेट ढ्याम्मै लगारै’छ एकैछिन त अड्केँ
यसो हातले धकेलेको खुल्यो आफै गेट
अब घरै भाग्नुपर्ला होला जसो जे त
हतारिँदै घर पुगेँ कोठाभित्र पसेँ
रिमोट लिएँ हातमा अनि टिभी हेर्न बसेँ
आमालाई थाहा भयो बालाई खोज्नुभयो
“यति छिट्टै किन आइस् ?” प्रश्न सोध्नुभयो
आमासित भनेँ मैले “छुट्टी भई आ’को
त्यै भ´र हो बाभन्दा नि म पो पैला भा’को
“बालाई काम पर्यो अरे बजारतिर भुल्ने
मलाई पनि मन भएन बाटै बाटो डुल्ने
त्यै भएर स्कुलबाट सिधै सरासर
अन्त नगई कतैतिर आएँ आफ्नै घर”
एकैछिनमा बाबा पनि आउनुभयो घर
बालाई देखिसकेपछि लाग्यो मलाई डर
मलाई देख्नेबित्तिकै बा दङ्ग पर्नुभयो
“नपढेर किन आइस् ?” गाली गर्नुभयो
सातो गयो बालाई देख्दा झन्नै चड्कन खा´को
बाचाहिँ पुच्छे हुनुभयो म पो पैला भा´को
“बाआमाले जस्तो माया गर्दिनन् कि मिसले
अक्षर चिन्न नसकेर पिट्ने हुन् कि रिसले ?
त्यै भएर डराई डराई आएको हुँ घर
मेरा लागि काला अक्षर भैँसी बराबर”
मेरो कुरा सुनेर बा थोरै रिसाउनुभो
मुसुमुसु हाँस्नुभो र मलाई खिस्याउनुभो
“हैन बाबू यस्ता कुरा किन पत्याएको ?
हामी सोझा बाउअामालाई किन अत्याएको ?
अल्छी लाग्यो होला अनि यस्तो कुरा गर्छस्
यस्तै यस्तै भनिस् भने तैँले कैले पढ्छस् ?
कल्ले भन्यो तँलाई कान्छा मिसले पिट्नुहुन्छ
सर् मिस्ले त माया गरी मनले जित्नुहुन्छ
गीत गाएर, नचाउनुहुन्छ, चक्लेट दिनुहुन्छ
फकाई फकाई पढाएर काखमा लिनुहुन्छ”
बाको कुरा सुनेपछि बल्ल चेत अायो
अब स्कुल छोड्नु हुन्न भन्ने मनमा लायो
“भोलिदेखि स्कुल जान्छु दिनैभरि बस्छु
अब स्कुल हाप्दिनँ म पढ्न कम्मर कस्छु”
मैले यति भनेपछि माया पाएँ बाको
देखाइदिन्छु अर्को वर्ष कक्षा पैला भा´को !
मध्यनेपाल नगरपालिका – ६,
भोर्लेटार, लमजुङ ।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )