~किशोर दहाल~
मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल बिषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखे–मयुर टाईम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको बिषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादब मयुर टाईम्स दैनिककी सम्पादक हुन्छिन् भने लिसरा पुन सोहि पत्रिकाको पत्रकार ।
मुलुक जातिय र साम्रदायिक गोलचक्करमा उभिरहेको बेला मधेसमा पत्रकारिता कत्तिको चुनौतीपूर्ण छ भनेर वाग्लेले मयुर टाईम्स मार्फत देखाउन खोजेका छन् । पत्रकारिताको सिलसिलामा मानिसको निजी जीबन कुन कुनामा फालिन्छ, उसका रहर र आकांक्षाहरु कसरी निष्प्रभावी बन्छन् भनेर देखाउन मयुर टाइम्स सफल छ । उपन्यासकारले मधेसको असहज पत्रकारिता मात्रै नभई बिगतको नेपालसँग त्यसको सम्बन्ध पनि देखाएका छन् । त्यसैले असहज बन्दै गरेको पराग र लिसराको पत्रकारिता र अपहरणमा परेकी परागको बृतान्तसँगै सुरु भएको कथा परागकै फ्ल्यासब्याक पछ्याउँदै अन्नत ‘तत्कालको लागि’ उनको मुक्तिसँगै कथाबस्तु टुङ्गिएको छ । एकहप्ताभित्रै पत्रिका बन्द गर्ने थम्की खाएर पराग त अपहरणमुक्त भएकी छ तर आम नेपाली पत्रकारहरु भने यस्ता धम्कीबाट मुक्त हुन सकेका छैनन् । समाचार लेखेकै निहँुमा धम्की, अपहरण र आक्रमणको शिकार बनिरहेका आम नेपाली पत्रकारहरुको एउटा साझा अनुभुतिको दस्ताबेज हो– मयुर टाइम्स । समाचार लेखेकै निहुँमा आक्रमणमा परेका टिका बिष्ट र उमा सिंहजस्ता पत्रकारहरुको अघोषित अनुभब र सत्य पनि हो ।
‘ राती हतियार भिरेर हिड्ने र दिउँसो प्रेसकार्ड बोकेर हिड्ने’ पत्रकारहरुको बीचमा बसेर पराग र लिसराले सत्यतथ्य सुचनालाई पत्रिका मार्फत सार्बजानिक गर्दा झेल्नु परेका धम्की र पत्रिकालाई चुस्त–दुरुस्त बनाईराख्ने उनीहरुको दृढ संकल्पले उपन्यासलाई अगाडी बढाएको छ । पछिल्लो समय पत्रकारिताको नाममा कुनै अमुक पार्टी बिशेषको वा सरकारकै मुखपत्र बन्ने प्रबृत्ति बढ्दो छ । सशस्त्र समूहको धम्की, कमजोर प्रशासन, प्रहरी भित्रकै घुसपैठ, राजनितिक दलहरुभित्रको आपराधिक मानसिकता आदिजस्ता तथ्यले अन्नत राज्यलाई असफलतातिर लगिरहेको छ र त्यस्तो परिस्थितिमा बिकाउ पत्रकारले जनतामा कसरी भ्रम पार्न सक्छन् भन्ने तथ्य पनि उपन्यासमा उजागर गरिएको छ । यस अर्थमा पत्रकारिता आफैमा पनि त्रुटिरहित छैन भन्ने देखाउन पनि उपन्यासकार सफल भएका छन् ।
परागको फ्ल्यासब्याक मार्फत उपन्यासकारले जनयुद्ध र जनआन्दोलनको पनि सम्झना गरेका छन् । तर, तिनै जनयुद्ध र जनआन्दोलन बेकार साबित बन्दै गएको बुझिन्छ । बिशेषगरी उपन्यास दलहरुको अकर्मण्यताले उब्जाएको अनेकन समस्याहरु र त्यसले आम जनजीबन र निष्पक्ष पत्रकारितामा पारेको असरमा पनि केन्द्रित छ । दल र मन्त्रीको पछि लागेर चाडैँ धनी बन्दै गरेको ब्यक्तिदेखि ‘पाँचजना हतियारधारीलाई छाड्ने मन्त्री परिषद्को निर्णय’सम्मको समाचारबाट राज्यलाई कमजोर बनाउने राजनितिक दलहरु नै भएको निश्कर्ष निकाल्न सकिन्छ । ‘मनी र मसल’को राजनीतिले गर्दा हरेक क्षेत्र अस्तब्यस्त बन्दै गएको छ । यी सम्पूर्ण यथार्थहरु उपन्यासकारले परागको अनुभूति मार्फत बताएका छन् ।
आफ्नो मिसन र बिषयबस्तुप्रति न्याय गरेका छन्, उपन्यासकारले । उनी आफ्नो रोजाईको बिषयमा खरो उत्रिएका छन् । तर, त्यति हुँदाहुँदै पनि उपन्यास बत्तिसै लक्षणले पूर्ण छ भन्नु उचित हुदैन । ‘पल्पसा क्याफेका लेखकको’ भनेर यस उपन्यासको प्रचारप्रसार गरियो तर पल्पसा क्याफेको रस चाखिसकेका पाठकको लागि यो उपन्यास खल्लो लाग्न सक्छ । पल्पसा क्याफेसँग नजोडिएको भए र सनसनीपूर्ण बिज्ञापन नगरिएको भए यो उपन्यास पनि नेपाली बजारका अन्य उपन्यासभन्दा खासै फरक हुने थिएन । यदि फरक हुन्थ्यो भने त्यो केबल कथाबस्तु र लेखकको नामले मात्रै ।
उपन्यास अघि बढिरहँदा धेरै कुरा अस्वभाविक रुपमा आएका छन् । जुन आफैंमा बिरोधाभाषपूर्ण छन् । सबैभन्दा बिरोधाभाष परागको उमेरसँग सम्बन्धित छ । परागले गाउँ छाडेर पहाड जाने बेलामा उसकी आमाले “पहाडतिर माओवादीले रजाई गर्न थालेको”ले शान्ति छैन कि भन्ने चिन्ता प्रकट गर्छिन् र स्पष्ट नखुलाईए पनि त्यसबेला पराग २, ३ अथवा ४ कक्षातिर पढ्ने सानो बिद्यार्थीको रुपमा उनलाई चित्रण गरिएको छ । उनको व्यबहार र बोलीमा पनि सोहि झल्को दिईएको छ । र, तिनै परागले २०६२ सालमा २१ बर्षको उमेरमा ग्राजुयसन सकेकी उल्लेख छ । २०६२ सालमा ग्राजुयसन सक्न लगभग ४६÷४७ सालतिर उनी कक्षा १ मा भर्ना भएको हुनु पर्छ । सो अनुसार पराग पहाडतिर २०४९÷५० सालतिर गएको हुनुपर्छ । त्यसै समयमा माओवादी रजाई कहाँबाट सुरु भयो ? माओवादी जनयुद्ध २०५२ सालमा सुरु भएको हो । उपन्यासमा नखुलाएजस्तो पराग जनयुद्ध सुरु भईसकेपछि पहाड गएको हो भने उसको उमेर १२, १३ अथवा १४ बर्ष नै पुगिसकेको हुनुपर्छ । यसैलाई सत्य मान्ने हो भने पनि उपन्यासमा बताईएजस्तो त्यस उमेरकी बालिकाले ‘ट्वाईलेट जान मन नलागेर’ सुरुवालमै पिसाब फेर्न सम्भब छ ?
यस्ता धेरै कुराहरु उपन्यासमा लादिएका छन् । केहि घण्टा अघिसम्म बैङ्कको पब्लिक रिलेसन फाँटमा काम गर्ने अति उच्च ईच्छा भएकी पराग बाटामा गुडिरहँदा आन्दोलनले रोकिए पछि सोझै पत्रकार र त्यसमा पनि सम्पादक बन्ने निर्णय गर्छे । के जिन्दगीका सपनाहरु यति छिटो परिवर्तन हुन्छ ? जबकी पराग त्यति ‘तरल’ मानिस होईन, ऊ निकै ‘बोल्ड’ छे । उद्देश्यमा कटिबद्ध । एक अर्को अबस्थामा अपहरणमा पारिरहेकी परागको आँखामा पट्टी बाँधिएको हुन्छ र उसले केहि देख्न सक्ने स्थिति नरहेको ऊ आफैँले बताउँछे । तर, उपन्यासकारले उसलाई जबर्जस्त देख्न सक्ने बनाईदिएका छन्, ऊ भन्छे– “ड्राइभरले धुलो टक्टक्याउँदै एउटा चक्का निकाल्यो ।” अचम्म कहाँ छ भने पट्टी बाँधिएकाले अरु कुनै दृश्य देख्न नसकेकी परागले ड्राईभरले चक्का निकालेको स्पष्ट देखिरहेकी छ ।
यो उपन्यास चामलको मीठो भात हो तर, चामलमा मिसिएका मसिना ढुङ्गाको ख्याल नगरिएको बुझिन्छ । ‘हतारमा बजारमा उपलब्ध गराउने चाहनाले’ उपन्यास गाँसैपिच्छे ढुङ्गा भेटिने भातजस्तै भएको छ । आउँदो संस्करणमा यस्ता कमजोरीमाथि ध्यान दिए राम्रो हुने थियो ।*
१६ बैशाख २०६७ को बारा सन्देश साप्ताहिकमा प्रकाशित
(*उपन्यास सम्बन्धी यस धारणा उपन्यासको पहिलो संस्करणमा आधारित छन् । त्यसपछिको संस्करणबारे अनभिज्ञता प्रकट गर्दछु ।)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)